Comments Add Comment

निजी विद्यालयले बढाएको शुल्क फिर्ता लिने सहमति, विद्यार्थीको आन्दोलन फिर्ता

'शुल्क फिर्ता नलिने विद्यालयको दर्ता खारेजी'

शिक्षामन्त्री धनिराम पौडेल र विद्यार्थी संगठनका प्रतिनिधिहरुबीच शुक्रबार भएको वार्तामा चारबुँदे सहमति भएको छ ।

१५ बैशाख, काठमाडौं । सरकार र विद्यार्थी संगठनहरुबीचको वार्तामा निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता लिने सहमति भएको छ । शुल्क फिर्ता नलिने विद्यालयहरुको दर्ता खारेजी गर्ने पनि सहमति भएको छ ।

यो सहमतिसँगै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।

निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठन र शिक्षामन्त्री धनिराम पौडेलबीच शुक्रबार वार्ता भएको थियो । निजी विद्यालयका प्रतिनिधिबिना शिक्षा मन्त्रालयमा भएको वार्तामा चारबुँदे सहमति भएको छ ।

वार्तामा १५ दिनभित्र शुल्क फिर्ता लिने र फिर्ता नगर्ने विद्यालयको दर्ता खारेज गर्ने सहमति भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङले जानकारी दिए ।

सहमति पत्रमा लेखिएको छ, ‘संस्थागत विद्यालयले नियमावली तथा निर्देशिका विपरित बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्न तत्काल निर्देशन दिने । बुँदा नम्बर १ बमोजिमको निर्देशन कार्यान्वयन नगर्ने विद्यालयलाई शिक्षा ऐन तथा नियमावली बमोजिम दर्ता खारेजीसम्मको कारबाही गर्ने ।’

मन्त्रालयलाई सुझाव दिन सम्वाद समिति गठन

चर्को शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थी संगठनहरुले काठमाडौं उपत्यकाका निजी विद्यालयहरुमा तालाबन्दी गरेका छन् । उनीहरुले शुक्रबारै जिल्ला शिक्षा कार्यालय र शिक्षा बिभागमा समेत तालाबन्दी गरेका छन् ।

यसैगरी शिक्षाका समसामयिक विषयमा अन्तर्क्रिया गरी शिक्षा मन्त्रालयलाई सुझाव दिन विद्यार्थी संगठनका प्रतिनिधि रहने गरी शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा सम्वाद समिति गठन गर्ने सहमति पनि वार्तामा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment