Comments Add Comment

काठमाडौंका मतदाता : कोही भन्छन् महिला चाहियो, कोही नो भोट ! (भिडियोसहित)

'खुराफातीलाई भोट हालिन्न, स्थानीय मान्छे चाहिन्छ'

१५ बैशाख, काठमाडौं । स्थानीय निर्वाचन आउन दुईसाता मात्रै बाँकी रहँदा उम्मेदवारको त चर्चा भइरहेकै छ, तर मतदातालाई कसैले सोधेका छैनन् । काठमाडौं महानगरका केही मतदातासँग अनलाइनखबरको टोलीले तपाई कस्तो व्यक्तिलाई मेयरमा जिताउन चाहनुहुन्छ भनेर सोध्याै ।

हामीले काठमाडौं महानगरपालिकाका पुरानो बानेश्वर, बसन्तपुर लगायतका क्षेत्रमा पुगेर काठमाडौं महानगरका मतदातासँग स्थानीय तह निर्वाचनबारे जिज्ञासा राखेका थियौं ।

हामीले कुराकानी गरेका मध्ये केही प्रौढ मतदाताहरुले व्यक्ति भन्दा पनि पार्टी हेरेर मतदान गर्दै आएको बताए । प्रायः युवाहरु व्यक्तिगत भोटको पक्षमा देखिए भने केहिले पार्टीका उम्मेदवारको पहुँच धेरै हुने भएकाले चुनाव जितेपछि योजना कार्यान्वयन गर्न सजिलो हुने धारणा राखे ।

काठमाडौंमा अब जित्ने मेयरले पार्टीगत धारणाबाट नहेरी सबैलाई समान व्यवहार गर्नुपर्ने, पुरातात्विक सम्पदाहरुको संरक्षण गर्नुपर्ने र काठमाडौंको मुहार फेर्न सक्नुपर्ने मतदाताको साझा धारणा पाइयो ।

अधिकांश मतदातामा विगतमा जनप्रतिनिधिले राम्रो काम नगरेको र आफ्नो मात्रै स्वार्थ हेरेको गुनासो एवं निराशा प्रकट गरे । एकजना मतदाताले त सरकारसँग हिम्मत छ भने ‘नो भोट’को एउटा बाकसको पनि व्यवस्था गरिदेओस् भन्ने मागसमेत अनलाइनखबरमार्फत गरे ।

एकजना स्थानीय महिलाले काठमाडौंकै स्थानीय व्यक्ति मेयर, उयपमेयर र वडा अध्यक्ष हुनुपर्ने बताइन् । उनको संकेत नेवारी समुदायबाटै हुनुपर्छ भन्ने थियो ।

अर्का एकजना पुरुष मतदाताले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पनि स्त्री नै भएकाले काठमाडौं महानगरको मेयर पनि स्त्री नै हुनुपर्ने माग गरे ।

१७ लाख बढी जनसंख्या रहेको काठमाडौं जिल्लाका स्थानीय तहमा ५ लाख ५९ हजार ४ सय मात्रै मतदाता छन् । त्यसमध्ये काठमाडौं महानगरपालिकामा २ लाख ७० हजारभन्दा बढी मतदाता छन् ।

मतदाताहरु चुनावमा मताधिकार प्रयोग गर्न जति उत्साहित देखिन्थे त्यति नै नेपालको राजनीतिप्रति निराशसमेत देखिए । प्रतिनिधि मतदातासँगको कुराकानीमा उनीहरुको चासो बिकास निर्माणमा धेरै रहेको हामीले पायौं ।

काठमाडौंको धुलो धुवाँ, सडक, ढल तथा खानेपानीको व्यवस्थापन गर्न सक्ने उम्मेदवारलाई भोट दिने यहाँमा मतदाताको भनाइ छ ।

दुई दशकको अन्तरालमा पहिलो पटक स्थानीय निर्वाचन हुन लागेको छ । मुलुकमा नयाँ संविधानसँगै संघीयता कार्यान्वयनको रुपमा हुन लागेको निर्बाचनको माहोल देशैभर उत्तिकै तातेको छ । नागरिकहरु पनि मताधिकार प्रयोग गर्न आतूर छन् । काठमाडौंबासी पनि आफ्नो मताधिकार प्रयोग गर्न आतुर देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment