Comments Add Comment

फरेन्सिक जाँचको रिपोर्टः नवराज सिलवालले कीर्ते गरे, अर्यालको अंकलाई आफ्नो देखाए

१५ बैशाख, काठमाडौं । नेपाल प्रहरीको फरेन्सिक जाँचले डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा चैत २९ गते पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमु) फाइल कीर्ते गरेको पुष्टि गरेको छ ।

सिलवालले अदालतमा पेश गरेको र सरकारसँग भएको कासमुमा फरक-फरक परेपछि प्रहरीको अपराध अनुसन्धान विभाग अन्तरगतको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अध्ययन गरेको थियो ।

सिलवालले आफूले कीर्ते नगरेको दाबी गरेका छन् र, उनको पक्षमा प्रमुख विपक्षी दल एमाले खुलेर आएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट डीआईजी नवराज सिलवालले नभई सरकार आफैंले कीर्ते गरेको दाबी गरेका छन् ।

तर, प्रहरीको फरेन्सिक जाँचको रिपोर्टले भन्छ-नवराज सिलवालले कीर्ते गरे, प्रकाश अर्यालको अंकलाई आफ्नो कासमुमा आफ्नो देखाए ।’

साथै थप अनुसन्धान गरी सिलवाललाई कारबाही गर्न सुझाएको छ ।

के-के देखियो अध्ययनमा ?

डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा बुझाएको र सरकारसँग भएको उनको कार्यसम्पादन मूल्यांकन अरु मिल्यो तर, पछिल्लो आर्थिक वर्ष २०७२/७३ को कासमु फरक पर्‍यो ।

फरेन्सिक जाँचका क्रममा यो आर्थिक वर्षमा प्रकाश अर्यालको कासमुमा कालिमाटी फन्ट प्रयोग भएको छ ।

तर, सिलवालको उत्सहका साथै कालिमाटी फन्टको प्रयोग भएको पाइएको छ । ‘अर्यालको कासमुमा कालिमाटी नेपाली फन्ट प्रयोग भएको छ । पुरै डकुमेन्टमा सुरुदेखि अन्त्यसम्म एकरुपता र अनुकुल तालमेल देखिन्छ’ प्रहरीको फरेन्सिक जाँचको रिपोर्टमा भनिएको छ, ‘सिलवालको कासमुकोका पहिलेाचार पानामा उत्सह, पाँचौमा कालिामाटी र छैटौंमा उत्सह र कालिमाटी फन्ट प्रयोग भएका छन् । डकुमेन्टमा एकरुपता र अनुकुल तालमेल देखिँदैन ।’

रिपोर्टमा भनिएको छ- रिट निवेदन सिलवालले आफ्नो वास्तविक भनी संलग्न राखेको विवादित कासमुमा देखिएको भिन्नता र अन्य विशेषताहरुलाई मध्यनगर गर्दा शकां गर्नु पर्ने पर्याप्त कारणहरु छन्

रोचक त के छ भने डीआईजी सिलवालको विवादित (बढी नम्बर देखाइएको) कासमुको पाँचौ पाना र प्रकाश अर्यालको तेस्रो पानको प्रकृति र फन्ट एउटै छ । सिलवालको कासमुको छैटौं पाना र अर्यालको चौथो पानाको खण्ड ३ र ४ को प्रकृति र फन्ट पनि एउटै छ तर, त्यसपछि फरक छ ।

सिलवालको कासमुको छैटौं पानामा एकरुपता र तालमेल छैन भने अर्यालको खण्ड ३ र ४ सहित चौथो पानामा एकरुपता र तालमेल छ । रिपोर्टमा भनिएको छ, ‘सिलवालको कासमुको छैटौं पाना र अर्यालको चौथो पानाको टेबल, फन्ट, हृयाण्डराइटिङ, स्पेसिङ लगायतका इलमेन्सलाई गरिरिएर हेर्दा दुबै पानाहरुमा एकअर्कामा हुबहु मिल्छ, जुन संयोग मात्र हो भन्न सकिँदैन ।’

फरेन्सिक जाँचले डीआईजी नवराज सिलवालले कीर्ते गरी प्रकाश अर्यालको कासमुबाट आफ्नोमा राखेको प्रष्ट संकेत दिएको छ । अर्यालको कासमुको टेबल मिलेको तर, सिलवालकोमा अक्षर नै तलमाथि पाइएको भन्दै रिपोर्टमा सिलवालले कीर्ते गरेको देखिएको भाव व्यक्त छ ।

रिपोर्टमा भनिएको छ, कासमुहरुमा पाइएको समानता र फरक हुनु संयोग मात्र हो भन्ने अवस्था देखिँदैन र हुबहु मिल्न गएको अशंले हाल सर्वोच्चमा भएको भएको रिट निवेदनको पक्ष वा विपक्षमा निर्णायक भूमिका खेल्ने निश्चित छ । तसर्थ प्रस्तुत कासमु मध्ये कुन वास्तविक हो ? त्यो यकिन हुनै पर्छ । अदालतले लोकसेवा, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट झिकाएको सक्कल कासमुबाट हाल रिट निवेदनका साथ पेश गरिउको कासमु मध्ये कुन वास्तविक हो सप्रमाण पत्ता लागिहाल्नेछ ।’

यसबारे सर्वोच्चमा १९ गतेबाट पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

तर, रिट निवेदनले समेत अर्यालको कासमु वास्तविक भएको भनेर रिटमा उल्लेख गरेको र उनको कासमुमा एकरुपता र अनुकुल तालमेल रहेकाले प्रहरीको फरेन्सिक जाँचको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा भनिएको छ, रिट निवेदन सिलवालले आफ्नो वास्तविक भनी संलग्न राखेको विवादित कासमुमा देखिएको भिन्नता र अन्य विशेषताहरुलाई मध्यनगर गर्दा शकां गर्नु पर्ने पर्याप्त कारणहरु छन् ।’

प्रहरीको फरेन्सिक जाँच रिपोर्टमा कतै सरकारसँग भएको सिलवालको कासमु नै नक्कली हो कि भन्ने आशंकाको पनि जवाफ छ । मन्त्रिपरिषदमा पेश भएको सिलवालको कासमु फारममा एकरुपता र तालमेल रहेको भन्दै नक्कली भन्न सकिने अवस्था नरहेको उल्लेख गरिएको छ ।

रिपोर्टमा सिलवालले नै कीर्ते गरिएको कासमु सञ्चार माध्यमहरुलाई दिएको हुनसक्ने भन्दै अनुसन्धान गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment