Comments Add Comment

कसरी पत्ता लगाउने सेयर बजारको ‘टेवा’ र ‘प्रतिरोध’ ?


सेयर बजारमा हुने उतार चढावको क्रममा कुनै यस्ता बिन्दुहरु आउछन्, जहाबाट बजारमा प्रवेश गर्नु वा बाहिरीनु राम्रो हुन्छ । सामान्यतया घटिरहेको बजार एक निश्चित बिन्दु आसपास पुगेर बढेमा त्यसबिन्दुलाई टेवा विन्दु मानिन्छ । यो बिन्दुमा प्रवेश गरेर प्रतिरोध बिन्दुमा पुगेर सेयर बिक्री गर्दा नाफा कमाउन सकिने हुन्छ । बजारले एक निश्चित बिन्दु आसपास पुगरे घटेमा त्यो विन्दु प्रतिरोध बिन्दुको रुपमा रहन्छ ।

कुनै संस्थाको मूल्यले कहा टेवा वा प्रतिरोध पाएको छ भनेर पनि हेर्न सकिन्छ भने समग्र बजार सुचककै टेवा वा प्रतिरोध पनि हेर्न सकिन्छ । यस्तो बिन्दु कसरी पत्ता लगाउने त ? यस्तो विन्दु पत्ता लगाउने एकभन्दा बढि तरिकाहरु छन् ।

रेखा चित्रको आधारमा हेर्ने तरिका

सामान्यतया सेयर बजार सूचक वा सेयर मूल्यको गतिविधिको आधारमा रेखा चित्र बनाएर पनि यस्तो विन्दु पत्ता लगाउन सक्न्छि ।

यदी कुनै निश्चित बिन्दु वा त्यसको आसपास पुगेर यसअघि बजार घट्ने वा बढ्ने गरेको छ कि छैन् भनेर त्यसलाई रेखा चित्रको आधारमा हेरेर पत्ता लगाउन सकिन्छ । एक्सेल फाइलमा सेयर मूल्य वा बजार सुचकको तथ्यांक क्रमिक रुपमा राखेर रेखा चित्र बनाउन सकिन्छ ।

टेवा वा प्रतिरोध बिन्दु एउटा निश्चित बिन्दु नै हुन्छ भन्ने छैन् । अर्थात् त्यस बिन्दुभन्दा केही तल वा माथी पुगेर घटिरहेको बजार छ भने बढ्ने र बढिरहेको बजार छ भने घट्ने हुन्छ । तर, रेखाचित्रको आधारमा हेरिने टेवा बिन्दु र प्रतिरोध बिन्दुको धेरै भर पर्नु सहि नहुन सक्छ । पटक पटक एउटा निश्चत बिन्दु आसपासमा टेवा वा प्रतिरोध पाएको देखिएमा भने यो दरिलो संकेत हुन सक्छ । दरिलो संकेतहरुमा भने लगानी हाल्ने, थप्ने वा झिक्ने निर्णय नि सकिन्छ ।

पीभट विश्लेषण

पीभट विश्लेषण रेखा चित्र विश्लेषणभन्दा केही जटिल हुन्छ । यो विधिमा बजार सुचक वा मूल्यको उतारचढाव हेरेर भन्दा पनि गणना नै गरिन्छ । यसको गणनाका पनि बिभिन्न तरिकाहरु छन् ।

बढि प्रचलित विश्लेषण तरिका भनेको सेयर वा परिसूचकको उच्च, न्युन र अन्तिम बिन्दुको आधारमा गणाना विधि पनि हो । मानौं कुनै कम्पनीको उच्च मूल्य ५ सय ५०, न्युन मूल्य ५ सय २० र अन्तिम मुल्य पनि ५ सय २० नै छ ।

अब हिसाब गरौं,

पीभट निकाल्दा एक्सेल फाइलको सेलमा = (उच्च+ न्युन +अन्तिम मूल्य)/३ गरेमा पीभट निस्कन्छ ।

माथीको उच्च, न्युन र बन्द मूल्य लिएर गरेको हिसाबले पीभट बिन्दु ५ सय ३० रुपैयाँ देखाउँछ ।

पहिलो टेवा = (पीभट मान x २)–उच्च बिन्दु । मान निस्कन्छ ५१०

दोस्रो टेवा = पीभट मान–(उच्च बिन्दु–न्युन बिन्दु) । मान निस्कन्छ ५००

तेस्रो टेवा = न्युन बिन्दु–२ (उच्च बिन्दु–न्युन बिन्दु) । मान निस्कन्छ ४८०

पहिलो प्रतिरोध = (पीभट मान x २)–न्युन बिन्दु । मान निस्कन्छ ५४०

दोस्रो प्रतिरोध = पीभट मान+(उच्च बिन्दु–न्युन बिन्दु) । मान निस्कन्छ ५६०

तेस्रो प्रतिरोध = उच्च बिन्दु+२ (पीभट बिन्दु–न्युन बिन्दु) । मान निस्कन्छ ५७०

आफुले एक्सेल फाइलमा राखेर यो हिसाब गर्न गाह्रो लागेमा अहिले अनलाइनमै यसरी हिसाब गरिदिने साइटहरु पाइन्छन् । तिनको पनि प्रयोग गर्न सकिन्छ ।

अर्को तरिका,
यदी आजको बन्द मुल्य वा विन्दु आजकै शुरु मूल्य वा बिन्दुभन्दा उच्च भएमा

उच्च + न्युन +बन्द+न्युन = क

भोलीको सम्भावित उच्च बिन्दु निकाल्न = क/२ – आजको न्युन बिन्दु

भोलीको सम्भावित न्युन बिन्दु निकाल्न = क/२ – आजको उच्च बिन्दु

यदी आजको शुरु मूल्य वा बिन्दुभन्दा आजकै बन्द मुल्य वा विन्दु उच्च भएमा
उच्च + न्युन +बन्द+ उच्च = क मान

भोलीको सम्भावित उच्च बिन्दु निकाल्न = क/२ – आजको न्युन बिन्दु

भोलीको सम्भावित न्युन बिन्दु निकाल्न = क/२ – आजको उच्च बिन्दु

यदी आजको शुरु मूल्य वा बिन्दु र आजकै बन्द मुल्य वा विन्दु समान भएमा
उच्च + न्युन +बन्द+ बन्द = क मान

भोलीको सम्भावित उच्च बिन्दु निकाल्न = क/२ – आजको न्युन बिन्दु

भोलीको सम्भावित न्युन बिन्दु निकाल्न =क/२ – आजको उच्च बिन्दु

अन्तराष्ट्रिय सेयर बजारमा अन्तरदिनमा नै एउटै सेयरको कारोबार पटक पटक हुनेगर्छ । अर्थात् रामसँग भएको कुनै कम्पनीको १ सय कित्ता सेयर श्यामले खरिद गरेर केही समयपछि नै हरीलाई त्यही सेयर बेच्न सक्छ । कारोबार हुने वित्तिकै सेयरको राफसाफ भइहाल्ने प्रणाली त्यहा रहेकोले पनि यस्तो सम्भव भएको हो । हाम्रो बजारमा भने कारोबारपछिको ३ दिन भित्रमा मात्र सेयर राफसाफ हुन्छ । अन्तराष्ट्रिय लगानीकर्ताहरु एक दिनकै उच्च न्युन र अन्तिम दिनको मानको आधारमा पनि अल्पकालिन अवधिको लागि पनि पीभट विश्लेषणको निकै गर्छन् ।

हाम्रो बजारमा पनि एक दिनको पीभट विश्लेषणबाट अर्को दिनको सम्भावित उच्च र न्युन निकाल्न नसकिने त होइन तर यसले वास्तविक परिणाम नदिन सक्छ । अर्थात् एकै दिनको विश्लेषणले बजारमा लगानी गर्ने, थप्ने वा निस्कने भन्ने निश्कर्ष निकाल्न मिल्दैन् । एक साताको तथ्यांक देखि महिना, बर्षदिनको आधारमा पनि पीभट गणाना गरेर दिर्घकालिन लगानी रणनीति बनाउन सकिन्छ ।

प्राविधिक विश्लेषणहरु लगानी रणनीति बनाउन नकै उपयोगी विधि हुन् । यद्यपी एकै दिनमा वा उच्च उतार चढाव हुने बजारमा कम प्रभाव राख्ने हुनसक्छ । त्यसबाहेक प्राविधिक विश्लेषणले एउटा नतिजा दिइरहेको समयमा पनि त्यो नतिजालाई कहिलेकाँही कुनै घटना (कम्पनीको घाटा, बैंकिङ अपराधका घटना, अनुमानभन्दा विपरित आउने नीतिगत व्यवस्था, नेपाल जस्तो देशमा भए बन्द, आन्दोलन जस्ता घटना) ले भने गतल साबित गरिदिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment