Comments Add Comment

गजब निबन्ध: खै खै !

कसले सुनिदेला यो गुनासो ? बाबुले हप्काई-हप्काई र आमाले फकाई-फकाई, कति भने केटाकेटीमा ‘चुरोट नखानू’ भनेर, कानमा बतास लाइएन । अब आज आएर पछुताउनुपरिरहेछ । खानु के छ र उही पनि यो महँगीको चुरोट न हो ! आफ्नो रगत-पसिनाको पच्चीस प्रतिशत आम्दानीलाई डाँडो कटाउनु छ र जीउ बिगार्नु छ । ताडीफ ! तैपनि म खाइ नै रहेछु ।

नेपालमा प्रत्येक मालको भाउ छिनमा तोला, छिनमा मासा भइरहन्छ । त्यस दिन सुनेँ, ‘चुरोटको भाउ धरहराको टुप्पामा चढ्यो ।’ आफू त भइयो पुड्के, हात पनि लामा भएनन् । धरहराको टुप्पामा पुग्ने त के हेर्दै पनि पछारिने डर ! पेट काटी, गाँस काटी गर्ज टार्दै छु ।

मैले तृप्तिका साथ चुरोट खान पाइनँ, मलाई बिताएको छ यो ‘खै खै’ ले पो त ! म देख्दछु, नेपालमा मान्छे प्राय: सलाई किन्दैनन् । ‘खै खै’ मै निर्भर भएर चुरोट खान्छन् ।

चुरोट सल्काएर म ढोका बाहिर पुग्न पाउन्नँ, अधिकारीहरुसँग जागिर माग्नेहरुले लित्ती कसे झैं यिनले मलाई पित्तपानी छदाएर छाड्छन् । ‘खै खै’ आफ्नो चुरोट सल्काउन यी हात बढाउँदै भनिहाल्छन् । एक मन त लाग्छ भनिदिऊँ- ‘दिन्नँ, के तिम्रा मुखमा आगो झोस्न तिम्रा पुर्खाले मलाई बिर्ता दिएर राखेका हुन् ?’ तर किन हो, भन्न अलि मुख फुक्दैन । दिन्छु म थपक्क आफ्नो सल्किएको चुरोट । भएन के जोर्दैखेरि नै ठ्वास्स पारेर जोर्छ, उसको चुरोटसँग मेरो चुरोटलाई । सके मेरो चुरोटको काँटी भाँचिएला ! सके कम्मर भाँचिएला, नभए भुँडी त फुटालि नै दिन्छ । म हेरिरहेको हुन्छु सल्काउने क्रिया, ऊ गाला फुलाएर खलाँती लाइरहेको हुन्छ । अन्तमा चुरोट मेरो हातमा त फर्कन्छ, तर नेप्टिएर, चेप्टिएर, बेकामको भएर, बिलकुल हिजोआजको ख्याउटे वनस्पति नेता जस्तो भएर ।

वनस्पति नेताको उपमा सुन्दा तपाईंलाई आश्चर्य लाग्ला स्वाभाविक पनि छ, किनकि भाँडिएको राजनीति भएको देशमा नेता दुई थरीका हुन्छन् भन्ने तपाईंलाई थाहा छैन होला, अब यसको पनि केही खुलस्त दिइहालूँ । छोटकरीमा भन्छु, चोखा घिउको पछाडि दूध, दही र नौनीको इतिहास हुन्छ । घासघुसबाट मेसिनद्वारा तत्कालै बनाइने कृत्रिम घिउलाई वनस्पति भनिन्छ । वनस्पति नेतालाई पनि तपाईं यस्तै सम्झनोस् ।

अँ, त चुरोट मेरो हातमा आउँछ बिलकुल हिजोआजका ख्याउटे वनस्पति नेता जस्तो भएर । मलाई झोंक त चल्छ, यस ठुटोलाई त्यही मिल्काइदिऊँ, तर देख्छु चुरोट प्राय: सिङ्गै नै छ, फेरि मेरो धीत पनि मरेको कहाँ हुन्छ र ? यो लिनु र दिनुमा मेरो त्यो चुरोट नमरे पनि अधमरा चाहिँ त भएको हुन्छ । यो ध्यान राख्नुहोला, मेरो चुरोट मैं जस्तो गरिब जातको हुन्छ । गरिब, चुरोट होस् या मान्छे, ठोसाइमा परेपछि झरिलो रहन सक्दो रहेनछ । अब मैले त्यस मधौरु चुरोटलाई जगाउन मृतसञ्जीवनी मन्त्र फुके झैं एक जोरदार फूँक फोक्सोदेखि लुँड्याएर झिकी फुक्नुपर्छ, खरानीसरानी झर्छन् अनि चुरोटलाई दुई ओठले च्यापी बडो तल्लीन भईकन गर्न थाल्नुपर्नेछ ‘सुई फूँ सुई फूँ ।’ तपाईं त्यहाँ हुनुभए देख्नुहुनेछ मेरो यस क्रियामा मेरा दुई ओठका अन्तरबाट र्‍याल तप्किरहेछ, नाकबाट पानी बगिरहेछ र चिम्लिएका आँखाका कोष चिसा छन् । बिस्तार-बिस्तार मेरो चुरोटमा प्राणको सञ्चार हुँदै आउँछ ।

धूवाँ बुङ्ग भएपछि यसो हेर्छु त चुरोट त कानु भएको । यत्तिकैमा पछाडिबाट कसैले साइनु लगाएर डाक्छ, ‘ए दाइ !’ यसो हेर्छु अपरिचित व्यक्ति हात तन्काउँदै भन्छ, ‘खै खै’ अनि त मेरो ब्रह्माण्ड खजमजिन्छ । तपाईं नपरेको मान्छे भन्नुहोला, ‘यस्तालाई जक्ख्याउनुपर्छ ।’ भो बाबा ! म त चेतबाबाकाशी भइसकेको छु यस्तासँग । सुन्नुहुन्छ ? त्यस दिन ठीक त्यस्तै काण्डमा परी असिना र पसिना गरेर मधौरु चुरोटलाई के जलाइसकेको मात्र थिएँ, पछाडिबाट एउटाले भन्यो, ‘खै खै’, मैले भनिहालेँ, ‘शरमछाडा ! मागी-मागी छोराको बिहा ! चुरोट खान सक्छौ त सलाई किन्न सक्दैनौ ?’मैले सारासँगको रिस त्यसैमाथि झारेँ । मान्छे त्यो पनि चर्को रहेछ, हान्ने राँगोको आँखाले झैं मलाई हेर्न थाल्यो । म प्राय: रन्कन्नँ, रन्केपछिफेरि थन्कन पनि थन्कन्नँ, यो देखी मैले झन् आगो हुँदै भनेँ, ‘के हेर्छौ निलुँला झैं ? गहतको झोलमा जात फाल्ने जातका हौ तिमी ।’

केशवराज पिँडाली

यसपछि झिमिक्क भएथ्यो, हेर्छु त चित्, म त्यहीँ भुइँमा । बाटो हिँड्नेले छेकथुन गरेर पो, नत्र त्यसै दिन मेरो मोक्षप्राप्ति हुने थियो । बाफरे बाफ ! त्यसपछि पनि सात दिनसम्म मेरो कम्मर दुखिरह्यो । त्यसैले अब म ‘खै खै’ लाई उपेक्षा गर्न सक्दिनँ । के गरुँ ? निर्धो मान्छे ! ‘खै खै’सुनियो कि झटपट म दिइहाल्छु । झोंक नचल्ने त कहाँ हो र !

अँ, अनि मेरो ब्रह्माण्ड खजमजियो । हुर्र पारेर फ्याँकिदिएँ ठुटोलाई सात हात पछाडि र फर्कंदै नफर्की बढेँ अगाडि सरासर । पैसा परेको माल यसरी अकार्थमा फ्याँक्नुपर्दा मलाई पनि थक्क-थक्क लागेर आउँछ । मन भन्छ, ‘टिप् फर्केर र तान् दुई-चार सर्को ।’ सडकमा यताउति पल्याकपुलुक मान्छे हेर्छु । मुन्टो बिस्तार-बिस्तार फर्काउँदै कर्के आँखा यसो चुरोट फ्याँकेकोतिर लाउँछु, तर देख्छु मान्छे ठुटो टिपेर चुरोट सल्कारहेछ । अनि म झन् छिटो-छिटो कदम चाल्छु ।

यस दृश्यले हो वा धीत नमर्नाले, मेरो चुरोट खाने तलतल झन्-झन् बढ्दै आउँछ । झिक्छु एउटा चुरोट खल्तीबाट, क्वार्र सलाई कोर्छु र थाल्छु सल्काउन । देख्छु, मेरो दायाँ-बायाँ अरु दुई टाउको पनि चुरोट लिएर सल्काउने प्रतीक्षामा छन् । लाग्छ मलाई, दुवै टाउकालाई समातेर त्यहीँ ढ्याङ्ग पारिदिऊँ, तर सम्झना हुन्छ फेरि त्यस दिनको त्यो कम्मरतोड जात्रा, झोसिदिन्छु । अनि दुवैको चुरोटमा सलाई, अनि लाग्छु म आफ्नो बाटो । अब चुरोटलाई मुठीभित्र लुकाएर तान्दै म बडो सतर्कतासाथ अगाडि बढ्न थालेको हुन्छु, तर जति गरौं, मुख टम्म पार्दा पनि धूवाँ चाहिँ त नाकको फोहराबाट निस्किहाल्दो रहेछ बाहिर । यत्तिकैमा चुरोट खाई आउने-जानेका प्रतीक्षामा नमालुम कुन बेलादेखि पेटीमा कुरेर बसेको मान्छे चिच्याएर उठ्छ, ‘ए दाइ ! पख्नोस्, ए दाइ ! पख्नोस् ।’ तपाईं भए सायद उपेक्षा गरेर हिँड्न सक्नु पनि हुँदो हो, तर थाहा पाइहाल्नुभएको छ, म त मार खाइसकेको मान्छे । टक्क अडिन्छु म त्यहीँ, मानौं दगुरिरहेको कारमा एक्सिडेन्ट हुन लाग्दा एक्कासि घ्याच्च फुटब्रेक लागे झैं । ऊ आइपुग्छ, आदानप्रदान चल्छ । अनि फेरि बढ्छु म अगाडि झन् सतर्क हुँदै ।

म एउटा साधारण मान्छे । दिनको सात पटक मैले हाटबजार गर्न हिँड्नुपर्छ । यी ‘खै खै’ का सन्तानले मलाई दश मिनेटको बाटोमा बीस मिनेट लगाइदिन्छन् । मानौं म कुनै धुपौरे हुँ, मानौं म नेपाली आहानको काशी जाने कुकुर हुँ, जसले कदम-कदममा जल चढाउनु अनिवार्य छ ।

देख्छु, पर सडकमा एक जना मान्छे नसल्केको चुरोट हातमा लिएर मैंलाई लक्ष्य गरी पर्खिरहेछ । पहिले त मलाई केही सुझ्दैन । अनि लगत्तै गिदीमा एउटा जुक्तिको स्फुरण हुन्छ, तत्कालै अनि म गर्दछु एबाउट टर्न र लेफ्टराइट मार्च थाल्दछु विपरीत दिशातिर । त्यसलाई यसरी जिल्याउन सकेकोमा मलाई खुशी लाग्छ, तर लाग्छ पछाडिबाट त्यसले मलाई भनिरहेछ, ‘पर्खी ।’ सायद ऊ मलाई भेट्टाउन आइ पनि रहेछ । इच्छा भए तापनि म पछाडि फर्केर हेर्दिनँ । छिटो-छिटो कदम चाल्दै सोच्न थाल्दछु ‘व्यर्थ फर्केँ, सल्काउनै दिएर आफ्नो गन्तव्य-दिशातिर गएको भए के हुन्थ्यो ?’ मेरो बेइमानीमा त्यो अवश्य झोक्कियो । अब भेट्टायो भने ! उफ् ! फेरि उठापटकी । म अब दगुर्न थाल्छु, दम फुलेर आउँछ, केही छिनमा असिनापसिना हुन्छ, केही लाग्दैन । म फेरि सोच्छु, ‘भो बाबा ! बरु माफी मागुँला दगुर्न त सक्दिनँ अब ।’ टक्क अडिन्छु, धड्कँदो हृदयले डराई-डराई पछाडि फर्केर हेर्छु । मेरो भ्रम थियो, ऊ आएकै थिएन । अब मलाई झन् बढ्ता थकाइ लागेको जस्तो हुन्छ, चुरोट तान्न खोज्छु, दम फुलेकोले खोकी लागेर आउँछ । थाकेको शरीरलाई अनि म सडकको छेउमा बिजुलीको लट्ठामा लगेर टेकाउँछु । मनमा बडो दिक्दारी उठ्छ ।

म प्राय: विचारशून्य नै बनेर कतिबेर यस्तै बस्दो हुँ, यदि कसैले यसै बेला ‘खै खै’ नभन्दो हो त ! मैले त्यस मान्छेको अनुहारसम्म पनि नहेरी ठुटो चुरोट भएको हात बढाइदिएँ ऊतिर । मलाई थाहा हुन्छ, ऊ आफ्नो चुरोट सल्काउँछ अनि फर्काउन खोज्छ ठुटोलाई, तर मलाई किन हो कुन्नि, त्यो चुरोट फिर्ता लिन मन लाग्दैन । म हात झड्कालेर त्यो ठुटो फ्याँकिदिन उसलाई इशारा गर्दछु । ऊ जिल्ल नै परिरहन्छ । म पनि फर्केर भन्छु, ‘हरे ! हरे ! जाऊ न अब ।’ ऊ ठुटोलाई त्यहीँ जुत्ताले किच्छ र अगाडि बढ्छ । अनि म मुन्टो उठाएर हेर्छु, ऊ मलाई फर्की-फर्की हेर्दै छ ।

म सधैं दुईपैसे चुरोट खाने मान्छे, असल चुरोटमा भ्रष्टाचार पनि चल्छ भन्ने त त्यस दिन पो थाहा पाएँ, जुन दिन मेरा एक जना खाइलाग्दा मित्रले मलाई एउटा चुरोट दिएका थिए । खूब चल्तीको; बडादमीहरु भेटिने सडकमा पुगेर त्यसलाई सल्काएँ । गम्म बास्ना आयो; मैले सोचेँ, ‘मेरा दायाँ-बायाँ हिँडेका भलादमीहरुको नाकमा पनि सायद यो बास्ना आउने धूवाँ घुस्दो हो ।’ मलाई त्यस बेला आफ्नो व्यक्तित्व अलि उठेको जस्तो लाग्यो । म झ्या-झ्यालमा आँखा तान्दै हिँड्न थालेँ । यत्तिकैमा ढ्याम्म म कसैसँग जुध्न पुगेँ । ‘सरी’ मैले भनेँ, तर मलाई लाज लागिरहेको थियो र डर पनि । सोचेँ, ‘अब त्यसले मलाई हपार्छ ।’

तर, मेरो आशाको विपरीत ऊ भन्छ, ‘खै खै !’ मैले चुपचाप आफ्नो त्यो असल चुरोटको ठुटो दिएँ । दिनुभन्दा अगाडि मैले हेरेको थिएँ, मेरो ठुटो अन्दाजी तीन अङ्गुल थियो । फिर्ता आएपछि हेर्छु त दुई अङ्गुल मात्र बाँकी । म त त्यसै जिल्ल परेँ, दङ्ग भएँ । यसरी असल चुरोट सल्काउनेले अञ्जानमै तान्दो रहेछ भन्ने पहिले मलाई कहाँ थाहा थियो र ! एक मन लाग्यो- ‘अब यो नखाऊँ ।’ तर, त्यो असल चुरोट थियो खाइदिएँ मैले त ! सात साल अगाडि भए जातै गएको ।

म एउटा साधारण मान्छे । दिनको सात पटक मैले हाटबजार गर्न हिँड्नुपर्छ । यी ‘खै खै’ का सन्तानले मलाई दश मिनेटको बाटोमा बीस मिनेट लगाइदिन्छन् । मानौं म कुनै धुपौरे हुँ, मानौं म नेपाली आहानको काशी जाने कुकुर हुँ, जसले कदम-कदममा जल चढाउनु अनिवार्य छ । यसरी समयको दुरुपयोग त कसरी सहने !

दिनहुँ राति घरमा हिसाब गर्छु- समयको दुरुपयोग कति भएछ ? त्यस दिन झ्वाट्ट मनमा आयो, म साइकलमा हिँड्ने किन नगरुँ ? अनि डेढ सयमा एउटा सेकेन्ड ह्यान्ड साइकल पनि किन्दछु । नघबडाउनुहोस् यो कथा पनि म कुनै दिन भन्ने नै छु ।

तपाईं भन्नुहोला ‘सडकमा नखा ।’ सम्भव छ र यो ? फेरि अम्मल भनेको वस्तु यस्तो हुन्छ कि जहाँ, जुन ठाउँमा निषेध हुन्छ, त्यहीँ नै त्यसको तलतल बढ्ता लाग्छ । फेरि तपाईंलाई थाहा छँदै छ, निषेधसिषेध नमान्ने प्रजातन्त्रवादीमध्येको म पनि एक हुँ । देख्नुभएको छैन, देशमा प्रजातन्त्र आउनासाथ हनुमानढोका इन्द्रयात्रामा राजाले गद्दी बस्ने चौतारोमा निषेध पन्छाई राजाधिकार मान्ने हामीहरु टेक्न पुगेका ?

पहिले त सडकमा मात्र किन, यी ‘खै खै’ का जात जहाँ पनि हुन्छन् । सिनेमा, होटेल र यस्तै अरु सार्वजनिक ठाउँमा त यी झन् धावा नै पो बोल्दछन् । यिनलाई पहिले नै चिनी या जानिराख्न यिनको कोही त्यस्तो श्रेणी या जात पनि त हुँदैन । राणाशाहीका अन्तिम दिनका जासुस झैं यी प्रत्येक जात, प्रत्येक श्रेणीमा पाइन्छन् । बगलको भलादमीलाई तपाईंले एउटा भद्र व्यक्ति सम्झिराख्नुभएको हुन्छ, तर त्यही पनि भइदिन्छ ‘खै खै’ को जात । चुरोट सल्काई धूवाँ फुर्र छाड्न पाएको हुन्न, महादेवको जटाबाट प्रेत पैदा भए झैं भइहाल्छन् यी त्यहीँ ।

यसैले अब त म भन्छु, धिक्करै होस् यी ‘खै खै’ हरुलाई । यिनले आत्मनिर्भर बन्न किन नजानेको ! सम्झाऊँ, शिक्षा दिऊँ, उल्टै झन् चित भइन्छ गुरु मान्ने त कताकता ! बाजेले मागी-मागी नै ‘गोरखा’ सल्काएँ, बाबुले यही चालाले ‘माई डार्लिङ’ उडाए । प्रजातन्त्र आइसक्यो, त्यही पनि यी मागी-मागी नै ‘मोटर’ तानिरहनेछन् र ‘कैंची’ चलाइरहेछन् ।

म कुन औधीको चुरोट खाने मान्छे- यो पनि म तपाईंलाई भनिदिइहालूँ । त्यस दिन सरकारले सगर्व रेडियो फुक्यो, ‘मुद्रा विनिमयदर नियन्त्रणका लागि चुरोटको आयतामा पचार प्रतिशत कमी गरिन्छ ।’ दुर्भाग्यको कुरो, बिजुलीमा भोल्टेज त्यसै बेला कम भएछ । चुरोटका व्यापारीहरुले सुनेछन्, ‘पैठारी भइसकेका सर्वजातका चुरोट भोलि सुन हुन्छन् ।’ अनि त के थियो, मैले बजारमा चुरोटको दर्शन पाउन त नास्तिकले भगवान्‌को दर्शन पाउनु जत्तिकै गाह्रो भयो । म त फत्र्याक-फत्र्याक त्यस दिन चुरोट खान नपाएर ।

अनेक स्तुतिगान, पूजापाठ, व्रत, उपासना आदिको प्रभावबाट चुरोट भवानीले बजारमा फेरि प्रकट भएर दर्शन दिनुभयो, तर डेढी मोटो भाउ धारण गरेर । मैले सोचेँ, ‘जे हुन्छ असलैको निम्ति हुन्छ, होस् न बीसको तीस्, केही धन्दा छैन । मुद्रा विनिमयदर नियन्त्रणमा आएपछि अरु थोक त सस्तो भइहाल्छ नि ! यस खण्डमा चुरोटले जति मोटो भाउ धारण गरे पनि जाबो चुरोट खान गाह्रो पर्ने छैन ।’

यस्तै आशाले म रोज सराफीकहाँ पुगेर मुद्राको विनिमयदर सोध्न थालेँ । मैले त्यो सराफी यति इमानको पाएँ कि चार महिनासम्म लगातार उसको भाउ एकदेखि दुई गरेन । म ठान्दै नै थिएँ दर नियन्त्रित भयो ।

त्यस दिन बजारमा फेरि चुरोट तीसको बीस भएको देखेँ । सुनेँ, पैठारीको कटौती नीति फेरि रहेन । मलाई साह्रै अपसोच लाग्यो । पाँच माना भाउमा चामल खाउँला भनेको, अभागीलाई के हुन्थ्यो ? अब फेरि उही पुरानै ढर्रामा म पनि छँदै छु माग्ने, ‘खै खै’ पनि छँदै छन् । दिनहुँ राति घरमा हिसाब गर्छु- समयको दुरुपयोग कति भएछ ? त्यस दिन झ्वाट्ट मनमा आयो, म साइकलमा हिँड्ने किन नगरुँ ? अनि डेढ सयमा एउटा सेकेन्ड ह्यान्ड साइकल पनि किन्दछु । नघबडाउनुहोस् यो कथा पनि म कुनै दिन भन्ने नै छु । अँ, त त्यस दिन म चुरोट एउटा च्यापेर त्यस घण्टी नै दिन आवश्यकता नभएको साइकलमा चुइँचुइँ गर्दै तोडले गइरहेको हुन्छु ।

यत्तिकैमा देख्छु, चिठी-तार आदिको खात लिएको मेरो परिचित पोस्टम्यान पन्ध्र हात टाढैदेखि मलाई अड्ने इशारा गर्दै आइरहेछ । मेरो मनमा झ्वास्स हुन्छ, ‘रेन्जर्स चिठीको पहिलो इनाम । तार आएको छ । खुल्ने दिन पनि त अस्ति थियो । पक्का पनि हो । साधारण चिठी भए साइकलबाट उत्रने नै थिएन ।’ ऊ आइपुग्छ, म पनि साइकलबाट उत्रेको हुन्छु । ‘के हँ ? तार !’ अत्तालिँदै सोध्छु ।

ऊ भन्छ, ‘हैन हजुर, खै बक्स्योस् ।’ देख्छु उसको हातमा निभेको ठुटो चुरोट छ । अनि मेरो मुखबाट एक्कासि निस्कन्छ, ‘धत्तेरिका !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment