Comments Add Comment

एमालेसँग कांग्रेस नेताहरू आक्रामक, संविधान संशोधनमा समर्थन गर्न आग्रह

एमाले नक्कली राष्ट्रवादको ठेकेदारः गगन थापा

१६ बैशाख, ललितपुर । संविधान संशोधन गर्न नदिने एमालेको अडानले नेपाली जनताको अपमान भएको कांग्रेसका नेताहरुले बताएका छन् । उनीहरुले देश र जनताप्रति जिम्मेवार बन्न पनि एमालेलाई सुझाव दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान स्थानीय तह निर्वाचनमा कांग्रेसको तयारीबारे जानकारी दिन भन्दै पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । तर, कार्यक्रममा कांग्रेस नेताहरु चुनावको तयारीबारे जानकारी दिनुभन्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध खनिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलहरुले पनि निर्वाचनमा भाग लिने वातावरण बनिरहेको भन्दै संविधान संशोधनलाई सहयोग गरेर जिम्मेवार प्रतिपक्षको भूमिका खेल्न एमालेलाई आग्रह गरे ।

‘संविधानमा सबैको भाबना समेट्नुपर्दछ । निर्वाचनको वातावरण बनाउनुपर्दछ । मधेसी दलहरुले पनि भाग लिने सम्भावना छ,’ उनले भने, ‘म जिम्मेवार पार्टी एमालेलाई संशोधन प्रस्तावमा सहयोग गर्न आग्रह गर्दछु ।’

उनले स्थानीय तहको चुनाव कुनै हालतमा नसर्ने बताए । हिमाल, पहाड, तराई सबैको भावना समेट्दै कांग्रेस अघि बढ्ने देउवाले बताए । उनले शान्ति र संविधान कांग्रेसकै पहलमा आएको भन्दै अहिले संविधान कार्यान्वयन गर्न स्थानीय तह निर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताए ।

एमालेले समस्या सिर्जना गर्‍योः रामचन्द्र पौडेल

यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई मिलाएर कांग्रेस अघि बढ्न खोजे पनि एमालेले समस्या सिर्जना गरिरहेको आरोप लगाए । उनले भने, ‘उहाँहरु (एमाले नेताहरु) समस्या सिर्जना गर्न सफल हुनुभएको छ । तर समाधान गर्नुभएको छैन । इतिहासमा पनि उहाँहरुबाट समस्या समाधान भएको देखिएको छैन ।’

स्थानीय तह निर्वाचन प्रचार प्रसार समिति संयोजक रमेश लेखकले संविधान कार्यान्वयनका लागि कांंग्रेसले जित्नुपर्ने बताए । उनले भने, ‘कांग्रेस विगतमा हार्दा संविधान बनेन । कांग्रेसले जित्दा संविधान बन्यो । त्यही भएर यसपटक पनि कांग्रेसले जित्नुपर्छ ।’

संविधानको स्र्वस्वीकार्यता बढाउने र यो संविधान मेरो संविधान हो भनेर जनतालाई विश्वस्त पार्ने राष्ट्रिय एजेण्डाका साथ कांग्रेस अघि बढिरहेको बताए ।

एमाले नक्कली राष्ट्रवादको ठेकेदारः गगन थापा

यसैगरी स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका सहसंयोजक गगन थापाले उनले संविधान संशोधन गर्न नदिने एमालेको अडान आपत्तीजनक भन्दै एमालेको अडानले निर्वाचन बिथोलिएमा आम नेपाली नागरिकको अपमान हुने बताए । एमालेलाई नक्कली राष्ट्रवादको ठेकेदारको संज्ञा दिँदै थापाले प्रदेशको सीमाना तलमाथि भए पनि देशको सिमाना तलमाथि हुन कांग्रेसले नदिने बताए ।

थापाले भने, ‘यसरी प्रचार गरिएको छ मानौं हामीलाई देशको अखण्डताको बारेमा चिन्ता छैन, मानौं हामीलाई राष्ट्रिय एकताबारे चिन्ता छैन, मानौं देशको सार्वभौमिकताकाबारे चिन्ता छैन, देशको स्वाभिमानको बारेमा चिन्ता छैन । देशको स्वाभिमानको ठेक्का लिने नक्कली ठेकेदारको बारेमा कांग्रेस प्रष्ट छ । त्यसकारण हामी आम जनतालाई प्रष्ट पार्न चाहान्छौं, हाम्रा प्रयास र प्रयत्नहरु देशलाई जोड्नका लागि हुन् । हामी भनिरहेका छौं प्रदेशको सिमाना तलमाथि होला तर देशको सिमाना तलमाथि हुन दिँदैनौं ।’

उनले अघि भने, ‘प्रदेश यस्तो हुनुहुँदैन भनेर राख्दैराख्दा के हेक्का राखिएको छैन भने प्रदेश यस्तो हुनुपर्छ देश जस्तो भए पनि होस् । हामी भनिरहेका छौं देश यस्तो हुनुपर्छ, प्रदेश जस्तो भए पनि होस् । यो दुईवटा कुरामध्ये कुन कुरा जनताको पक्षमा छ, कुन कुरा राष्ट्रको पक्षमा छ त्यो छुट्याउने विवेक नेपाली जनताले प्रयोग गर्छन् भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment