Comments Add Comment

संगीतसँगै बिहे !

तबलावादक सरिता मिश्रको जीवन


काठमाडौं शहर यतिबेला धुलाम्मे छ । यही शहरको व्यस्त चावहिल सडक नजिकै गौरीघाटमा गुञ्जिने संगीतको धुनले भने मन सङ्ल्याइदिने तागत राख्छ । त्यो धुन हो शास्त्रीय संगीतको ।

नेपालकी गिनेचुनेकी तबलावादकमा पर्ने सरिता मिश्र गौरीघाटको नाद संगीत पाठशालामा तबलाको तालमा रमाइरहेकी हुन्छिन् । सरिताले यो संगीत स्कूल सात वर्ष अगाडि खोलेकी हुन् ।

यो पाठशालमा असहाय र दुःख पाएका चेलीहरूले तबलाका साथै भ्वायलिन, हारमोनियम, बाँसुरी, गितार लगायत बाजा निःशुल्क रुपमा सिक्न पाउँछन् । हरेक बाजाको ६ वर्षे कोर्स छ ।

त्यसो त उनको स्कूलमा व्यावसायिक कक्षा पनि सञ्चालन हुन्छ । तर, मुख्य रुपमा निःशुल्क कक्षा चलाउने भएकाले घर भाडा, पढाउने शिक्षकहरुलाई खर्चबर्च आदिका कारण आर्थिक समस्याले पिरोलिरहन्छ ।

उनका कुशल औंलाहरु तबलामा जति चलायमान बन्छन्, स्कूलका लागि सहयोगी हातहरु खोज्न उनको व्यस्तता उत्तिकै हुन्छ । दाताहरुले दिने सरसहयोगकै भरमा संगीत स्कूल सञ्चालन हुँदै आएको छ ।

000

अग्रणी महिला तबलावादक सरिताको बाल्यकाल जोगी, साधु र जात्राहरुको केन्द्र पाशुपत क्षेत्रमा बितेको हो । बुवा हरिप्रसाद मिश्र गायक थिए ।

त्यसबेलाकी फुच्ची सरिता बाका साथी र साधुजन घरमा आएर गाना-बजानामा रमाइरहेको देख्थिन् । तर, ५-६ वर्षे कलिलो मजगले केही मेसो पाउँथेन ।

त्यही अबोध उमेरमै संगीतले साइनो गाँस्दै गयो । घरकै सांगीतिक रहनसहनबाट फक्रिएकी उनी भन्छिन्, ‘होश सम्हाल्ने उमेरमा आइपुग्दा म त तबलावादक बनिसकेछु ।’
सरिताले गुरुकुलीय परम्पराबाट शास्त्रीय संगीत अन्तर्गत तबलाको ज्ञान लिइन् । संगीतको छिपछिपे रुझान रहिरहँदा ०४५ सालदेखि उनले गुरु होमनाथ उपाध्यायको सान्निध्यमा तबला सिक्ने मौका पाइन् । त्यो सिकाइले उनलाई संगीतको व्यापकतासँग परिचित गराइदियो ।

उनको नजरमा संगीत मान्छे र ईश्वरबीचको पुल हो । किनभने संगीतले मान्छेलाई ईश्वरीय आनन्दको सयर गराउने उनको अनुभूति छ ।

सानैदेखि रगतमै संगीत रहे पनि साढे एक दशकअघि मात्रै बल्ल उनी संगीतको अनुभूति गर्ने अवस्थामा पुगिन् रे । त्यही दिन उनका लागि संगीत भनेकै अध्यात्म भन्ने कुरा साबित भयो ।

अध्यात्म र भक्तिकै तहमा संगीत उक्लिन सक्ने भएकाले भजनहरुमा तबला, हारमोनियम लगायतका बाजा छुट्दैनन् । भन्छिन्, ‘जुन चिजले आफूलाई बाँधेर राख्छ त्यही अध्यात्म हो ।’ मन बाँध्ने संगीतको सुरमा उनले आफूलाई उन्मुक्त छाडिदिएकी छिन् ।

संगीतले उनको जीवनमा यस्तो व्यस्तता दिएको छ, उमेर छउन्जेल बिहेबारे सोच्नै भ्याइनन् । चार दशक उमेर नाघिसकेको अबको अवस्थामा लगन जुराउने मोह र सम्भावना दुवै छैन । तर, उनको ‘गृहस्थी’ यस्तो छ, संगीतसँगै उनले बिहे गरेको झल्को मिल्छ ।

कहिले किराँतेश्वर डाँडामा शास्त्रीय संगीतको गुञ्जन, कहिले कुनै कार्यक्रमको पाहुना, क्याम्पसमा संगीत अध्यापनको काम र त्यसमाथि आफ्नो संगीत स्कूल सञ्चालनको धपेडी । सबैलाई संयोजन गर्दै उनी अघि बढिरहेकी छिन् ।

000

शास्त्रीय संगीतले बाहिर धेरै प्रचारबाजी गर्दै भड्किलोपन देखाउने कुरामा विश्वास गर्दैन । अनुशासित भएर साधना गर र आफूलाई भित्रभित्रै इँटा जस्तै पकाऊ, शास्त्रीय संगीतको मर्म यही हो ।

सरिता भन्छिन्, ‘अहिले संगीतक्षेत्रमा देखिए जस्तो ह्वार्र आएर क्षणमै चम्किहाल्ने जादु शास्त्रीय संगीतमा हुँदैन, निरन्तरता चाहिन्छ ।’

शास्त्रीय संगीत सिकेर आएका कलाकार टिकाउ हुने उनले उदाहरण नै देखेकी छिन् । अर्कातिर सुझबुझबिना रहर र लहडमा आएर एक समयमा आकाशै छुने चर्चा पाएका कत्ति कलाकार आँखैअघि तारा झैं झरेको कुरामा पनि उनी साक्षी छिन् ।

संगीतका सामान्य श्रोताले शास्त्रीय संगीतलाई पट्यारलाग्दो ध्वनि भनेर बुझ्छन् । त्यसमा पनि सितार र सरोद एकोहोरो र्‍याइँर्‍याइँ गरेको र आलाप तानेको सुनेर झर्को मान्ने नयाँ पुस्ता पनि छ । सरिता शास्त्रीय संगीतलाई करेलासँग दाँज्छिन्, ‘तीते करेला सुरुमा खाँदा पक्कै तीतो लाग्छ, तर बिस्तारै बानी बस्दै जाँदा मुख रसाउने हुन्छ ।’
एकचोटि झ्वाट्ट सुनेर शास्त्रीय संगीतको रस थाहा नहुने भएकाले चस्का लाग्नुपर्ने उनी बताउँछिन् ।

दशैंको बेलामा एक समय सरिता नेपाल टेलिभिजनको पर्दामा दशैं आयो भन्ने जनाउ दिने गरी झुल्किन्थिन् । मालश्री धुन बजाउने समूहमा उनी तबला बजाउँथिन् । यही ध्वनिले घरघरमा दशैंको उल्लास भित्र्याउँथ्यो ।

000
तबलाको इतिहास हेर्ने हो १७औं शताब्दीदेखि यो ताल बाजा अस्तित्वमा देखिएको पाइन्छ । यति पुरानो बाजाको कति ताल बजाउन सकिएला ? पाँच करोड गुणा पाँच करोड !
यति धेरै तालमध्ये सरिताले सिकाइको बेलामा ५० भन्दा बढी ताल सिकेकी थिइन् । तर, उनलाई अहिले २८ ताल मात्र बजाउन आउँछ ।

नेपाली तबलावादकहरूमा किशनलाल श्रेष्ठ, शम्भु मिश्र, झुमकलाल मिश्र, होमनाथ उपाध्याय, अतुल गौतमले आफ्नो सान राखे । पछिल्लो क्रममा सरिताका साथै अच्यूत भण्डारी, सुरेन्द्र वैद्य, जीवन राई, प्रमोद उपाध्याय लगायत स्मरणीय मानिन्छन् ।

आज तबला संगीतमा नभइनहुने बाजा बनेको छ । यो अवस्थालाई सरिता शरीरमा मुटु जस्तै संगीतमा तबलाको महत्व भनेर अथ्र्याउँछिन् । तबलाका विविध रुप छन् । ड्रम, मादल, कंगो लगायत तबलाका फरक स्वरुप हुन्, तर रिदम र बिट भने उही नै हो ।

यही रिदम र बिटमा सरिताको प्राण धड्किरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment