Comments Add Comment

मीनभवनमा यातायात विभागले आफ्नै ट्रायल सेन्टर चलाउँदै


१६ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले पहिलोपटक आफ्नै ‘ड्राइभिङ ट्रायल’ सेन्टर बनाउने काम अन्तिम चरणमा पुर्‍याएको छ । विभागको मिनभवनस्थित कार्यालयको परिसरमा रहेको मोटरसाइकल ट्रायल सेन्टरलाई विभागले चारपाङ्ग्रेका लागि पनि विस्तार गरिँदैछ ।

सर्वोच्च अदालतबाट अन्तरिम आदेश आएपछि विभागले आफ्नै ट्रायल सेन्टर स्थापनका लागि पहल थालेको थियो । अब विभागले मीनभवनको नयाँ ट्रायल सेन्टर केही समयभित्रै विस्तारित क्षमतामा सञ्चालनमा ल्याउने विभागका प्रवक्ता टोकराज पाण्डेले बताए ।

सरकारले उपत्यकाभित्र ३ वटा लाइसेन्स वितरण कार्यालय थप गरेपनि ट्रायल सेन्टर नथपिँदा समस्या हुँदै आएको छ । विभागसँग मीनभवनको दुईपांग्रे र सिंहदरबार परिसरको चार पांग्रे ट्रायल सेन्टरबाहेक अन्य पूर्वाधार नहुँदा क्षमताअनुसार लाइसेन्स वितरण गर्न सकिएको छैन ।

अब विभाग परिसरका निर्माणाधीन ट्रायल सेन्टर पूर्ण क्षमतामा सञ्चालनमा आएपछि विभागलाई लाइसेन्सको ट्रायल लिने काममा निकै सहजता आउने पाण्डेले बताए ।

‘ट्रायल सेन्टर नहुँदा नागरिकले सेवा लिन धेरै सास्ती भोगे । अब सास्ती हटाउन हामी सक्रिय भएका छौं’ प्रवक्ता पाण्डेले भने, ‘विभाग परिसरको ट्रायल सेन्टरलाई आधुनिक र सुविधासम्पन्न बनाएर चलाउँछौं ।’  अहिले  विभागको भवन परिसरमा रहेको ३६ रोपनी जग्गामा सुविधा सम्पन्न ट्रायल सेन्टर निर्माण भइरहेको छ ।

यसअघि विभागले निजी क्षेत्रको ‘सुजुकी ड्राइभिङ’ स्कुललाई सेन्टर भाडामा लिएर सञ्चालन गर्ने अनुमति दिएको थियो । सेन्टरको मापदण्ड नपुगेको ठहर गर्दै अदालतले सम्झौता कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

सेवाग्राहीसँग चर्को शुलक असुल्ने गरी सम्झौता गरिएपछि त्यसको आलोचना भएको थियो ।   ‘अब हामी विभाग ट्रायल सेन्टर चलाउँछौं’ प्रवक्ता पाण्डेले भने,’ ट्रायल दिँदा भोग्नुपर्ने सास्ती अब कम हुन्छ । लाइसेन्स लिने प्रक्रियालाई सरल र सहज बनाउन विभागले प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment