Comments Add Comment

बैशाख ३१ को चुनाव सारेर एकै चरणमा गर्ने एमालेको प्रस्ताव

ओलीले देउवालाई भने- बजेट अघि नै चुनाव गरौं

१६ बैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३१ र जेठ ३१ का दुबै चरणको निर्वाचन सारेर बजेटअगावै एकै चरणमा चुनाव गर्ने प्रस्ताव अघि सारेका छन् ।

संविधान संशोधनबारे सहमति खोज्न सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु शनिबार विहान ओली निवास बालकोट पुगेका थिए ।

भेटमा एमाले अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने अडान लिए । उनले बरु बैशाख ३१ गतेका लागि तोकिएको पहिलो चरणको चुनाव सार्ने र जेठ १५ को बजेट अगावै एकै चरणमा गर्ने प्रस्ताव राखे ।

कांग्रेस नेताहरुसँगको भेटपछि बसेको पार्टी स्थायी कमिटीको बैठकमा ओलीले आफूहरुले कांग्रेस नेताहरुसामू एकै चरणमा चुनाव गर्ने प्रस्ताव राखेको बताए ।

एमालेका एक पदाधिकारीका अनुसार यसबारे एमालेले आधिकारिक निर्णय भने गरिसकेको छैन ।

कांग्रेस नेताहरुले पनि एमाले अध्यक्ष ओलीले बैशाख ३१ को चुनाव सारेर जेठ ११/११ गतेतिर एकै चरणमा गरौं भन्ने प्रस्ताव राखेको स्वीकार गरेका छन् । जवाफमा कांग्रेस नेताहरुले निर्वाचन तालिका आइसकेको भन्दै एमाले प्रस्ताव अस्वीकार गरेका छन् ।

एमालेविना दुई तिहाई नसोचे हुन्छ

संविधान संशोधनमा एमालेलाई मनाउने सत्तारुढ कांग्रेसको प्रयास पनि असफल भएको छ । बैठकमा कांग्रेस नेताहरुले मधेसी मोर्चालाई पनि समेटेर चुनाव गराउनुपर्ने भन्दै संविधान संशोधनमा सहमति गर्न प्रस्ताव गरेका छन् ।

तर, एमाले अध्यक्ष ओेलीले अस्वीकार गरेका छन् । संविधान संशोधन कुनै हालतमा पास हुन नदिने भन्दै उनले ‘एमालेविना दुई तिहाई पुर्‍याउँछु भन्ने नसोचे पनि हुन्छ’ भनेका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले एमाले नेतृत्वसँग लगातार दुई दिन छलफल गरेका थिए । तर, संशोधन पास हुन नदिने एमाले अडान कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment