Comments Add Comment

मतदान केन्द्रमा ४५ सेना र प्रहरी, २५ गुप्तचर र म्यादी !

चितवनको सुरक्षा थ्रेटः विप्लव समूहदेखि सीमा पारिका अपराधीसम्म

१६ वैशाख, चितवन । एउटा महानगरपालिकासमेत रहेको चितवन जिल्लामा स्थानीय प्रशासनले आगामी चुनावको मुख्य सुरक्षा चुनौतीका रुपमा विप्लव समूहलाई लिएको छ । साथै सीमा पारिबाट असंगठित अपराधीहरुले पनि चुनौती दिन सक्ने जिल्ला प्रशासनको आँकलन छ ।

चितवन जिल्ला प्रशासनले दिएको जानकारी अनुसार एएटा मतदान केन्द्रमा आवश्यकता हेरेर १० प्रहरी, ३६ सेना र २५ को संख्यामा सिभिल पोशाकमा गुप्तचर परिचालन गर्ने योजना बनाइएको छ । सेनाले बाहिरी घेराबाट सुरक्षा दिने छन् ।

कालो पोत्ने अभियानमा विप्लव समूह

प्रहरी प्रशासनले चितवनमा नेकपा बिप्लव समुहलाई प्रमुख सुरक्षा थ्रेटका रुपमा लिएको छ । विप्लव समूहले केही दिन अघि भरतपुरको चौबीस कोठी चोकमा गरेको आमसभामा प्रहरी र नेकपाका कार्यकर्ताबीच झडप समेत भएको थियो । अहिले पनि जिल्लाका बिभिन्न स्थानीय तहको कार्यालयहरुमा नेकपाका कार्यकर्ताहरुले कालो पोत्ने, जनसत्ताका कार्यालय भनेर प्रचार गर्ने काम गर्दै आएका छन् ।

भरतपुर महानगरपालिका र तीनवटा वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर निर्वाचनविरोधी नारा लेख्ने एक व्यक्तिलाई प्रहरीले शनिवार बिहानै नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भरतपुर-१८ का तिलबहादुर श्रेष्ठलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार शुक्रबार राति भरतपुर महानगरपालिका, महानगरको वडा नं १, ५, १८ र १९ संयुक्त वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, कथित निर्वाचन बहिष्कार गराँै, जनसत्ता स्थापना गराँै’ जस्ता नारा लेखिएका थिए ।

विप्लव समूहका अतिरिक्त भारतसँग खुल्ला सिमाना रहेका २ वटा नाकालाई पनि प्रहरीले बिषेश ध्यान दिएको चितवन प्रहरी प्रमुख थापाले जानकारी दिए ।

त्यस्तै असंगठित रुपमा निर्वाचनका काममा बाधा व्यवधान खडा गर्ने तत्वहरुको पनि पहिचान गरी निगरानी बढाइएको प्रहरी उपरीक्षक थापाले बताए ।

यस्तो छ सुरक्षा प्रवन्ध

चितवन प्रहरीले हरेक मतदान केन्द्रमा सुरक्षा संम्वेदनशीलता हेरेर ७ देखि २७ जनासम्म जनपथ प्रहरी परिचालन गर्नेछ । जिल्ला प्रहरी कार्यालयसँग सुरक्षाकर्मीको कुनै पनि अभाव नभएको चितवन प्रहरी प्रमुख दिपक थापाले बताए ।

जिल्लामा ९ सय १६ जनाको रिर्जभ फोर्स रहने छ । बैशाख २७ गतेअघि नै प्रहरीहरु सम्वन्धित मतदान केन्द्रमा परिचालन गरिनेछ ।

सम्वेदनशिल क्षेत्रहरूमा प्रहरी निरीक्षककै कमाण्डमा प्रहरीहरू रहने छन् । प्रहरीलाई २ दिनको निर्वाचन अनुशिक्षण तालिम दिइएको छ । ६० जनाको सशस्त्र प्रहरीको वेस सुरक्षा टोली जिल्लाका ७ वटै स्थानीय तहमा खटाइसकिएको छ । २ दिनभित्र म्यादी पनि सम्वन्धित स्थानमा पुगिसक्ने प्रहरी प्रमुख थापाले जानकारी दिए ।

निर्वाचन केन्द्रमा १० जनाको टोली दोस्रो घेरामा खटिने छ । तेस्रो घेरामा नेपाली सेना रहने छ । हरेक स्थानीय तहमा ३५ जनाको नेपाली सेनाको टोलीले तेस्रो घेरामा रहेर सुरक्षा दिनेछ । २५ जनाको नेपाल प्रहरीको अनुसन्धान विभागमा काम गर्ने गुप्तचरहरु खटिनेछन् ।

आवश्यक परे हेलिकोप्टरको माध्यमबाट समेत निर्वाचन सुरक्षाका लागि परिचालन गरिने प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । हरेक नगरपालिकामा २ वटा संयुक्त सुरक्षा मोवाइल टोली र गाउँपालिकामा १ वटा सुरक्षा मोवाइल टोली परिचालन गरिनेछ ।

‘एकीकृत सुरक्षा योजना बनाएका छौं,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ‘त्यसले मतदान केन्द्र, मतदान केन्द्रमा खटिएका कर्मचारी, मतदान सम्वन्धी सामाग्री, आम मतदाता, पत्रकार, पर्यवेक्षक सबैको सुरक्षा योजना बनाएको छ ।’

के गर्दैछ निर्वाचन कार्यालय ?

चितवनमा रहेका ७ वटा स्थानीय तहको निर्वाचनको अन्तिम तयारीमा जिल्ला निर्वाचन कार्यालय जुटिरहेको छ । बैशाख १९ गते उम्मेदवारी दर्ता र २२ गते अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेपछि कर्मचारीहरूका लागि २ दिनको निर्वाचन सम्वन्धी प्रशिक्षण ८ सय जनालाई दिइने छ ।

निर्वाचनका लागि जिल्लामा ३३ सय ५० कर्मचारी खटिनेछन् । बैशाख २७ गते सबै मतदान केन्द्रमा कर्मचारी, मतदाता परिचयपत्र र अन्य लजिष्टिक सामानहरू पुर्‍याई सकिने छ । बैशाख २८, २९ र ३० गते मतदान केन्द्रहरूबाट मतदाता परिचय पत्र वितरण गरिनेछ ।

निर्वाचनको तयारी ३ चरणमा गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए । ‘अहिले हामी पि्र-निर्वाचन तयारीमा छौं, यसपछि मतदानको तयारी तथा मतको सुरक्षा र मतगणनाको तयारी हुनेछ’ ढकालले भने । सबैजसो तयारी सामाग्रीहरू जिल्लामा आइसकेका छन् । ‘आर्थिक रूपमा पनि कुनै समस्या छैन’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ‘अब हामीलाई सौर्हादपूर्ण वातावरणमा निर्वाचन गराउने चुनौती मात्रै छ ।’

भरतपुर महानगरपालिका र समग्रलाई हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छ । यहाँ जिल्ला न्यायाधीश कविप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृत छन् । रत्ननगरमा गीता गुरूङ, माडीमा इन्ऽकुमारी थपलिया, कालिकामा नेत्रराज शर्मा, राप्तीमा परमेश्वर पराजुली र खैरहनीमा टेकराज निरौलालाई निर्वाचन अधिकृत तोकिएको छ । यस्तै, इच्छा कामना गाउँपालिकामा दिवाकर पौडेल निर्वाचन अधिकृत छन् ।

जिल्लामा ३ लाख १३ हजार २ मतदाता छन् । १६१ मतदान स्थलमा ३७६ मतदान केन्ऽ तोकिएको छ । यहाँ कुल ५ सय ४ जना जनप्रतिनिधीहरु निर्वाचित हुनेछन्। मतदानस्थलहरु ९० प्रतिशत सरकारी विद्यालयमा र १० प्रतिशत भने विभिन्न वडा कार्यालय र हेल्थ पोस्टहरुमा राखिने तयारी छ ।

चितवन जिल्लामा निर्वाचनका लागि २ वटा मतदानस्थललाई अपाङ्गमैत्री बनाइएको छ । जिल्लामा एकजना तेस्रोलिङ्गी मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment