Comments Add Comment

डोल्पा-मुस्ताङको रोमाञ्चक पदयात्रा (फोटो फिचर)

यात्रा भन्नेबित्तिकै धेरैले उड्नु र गुड्नुलाई सम्झने गर्छन् । तर, यात्राका खास पारखीहरु भन्छन्, यात्राको असली मज्जा पदयात्रामा पाइन्छ ।
त्यस्ता पदयात्रीका लागि डोल्पादेखि मुस्ताङको कागबेनी पदयात्रा राम्रो विकल्प हुन सक्छ । पछिल्लो समय विस्तारै चर्चामा आउन थालेको यो पदमार्ग लामो समय यात्रा गर्न रुचाउनेहरुका लागि त झन् छुटाउनै नहुने गन्तव्य हो ।हुन पनि स्थानीयतामा भिज्न पाइने भएकाले पदयात्राले आनन्दका साथै धेरै कुरा सिकाउँछ पनि । प्रकृति, सम्पदा र स्थानीय जीवनशैलीलाई नजिकबाट छाम्न, हेर्न र बुझ्न पाइने भएकाले यात्राका पारखीहरु नयाँ-नयाँ पदमार्ग खोजिरहेका हुन्छन् ।

डोल्पादेखि कागबेनी जान दुई वटा रुट छन् । तल्लो डोल्पा हुँदै जान १९ दिन लाग्छ भने माथिल्लो डोल्पाबाट २८ दिनको पदयात्रा छिचोल्नुपर्छ । सडक सञ्जालले छुने प्रयासमा रहेकोे डोल्पाको एकमात्र विकल्प हवाईजहाज हो ।

 

तल्लो डोल्पाको हकमा नेपालगञ्जबाट दुनैसम्म हवाई यात्रापछि पदयात्रा सुरु हुन्छ । यहाँबाट ताराकोट, मुुसीे खोला, मुकुट गाउँ, काकोट, याकखर्क, झिरिङ गाउँ, मुका गाउँ, सालदाङ पास, क्याम्प, मिलुगुम्बे पास (५,८४२ मिटर), सान्ता, क्याम्प हुँदै कागबेनी पुगेर पदयात्रा सकिन्छ ।

यस्तै, माथिल्लो डोल्पाबाट पदयात्रा गर्ने हो भने नेपालगञ्जदेखि जुफाल विमानस्थलसम्म हवाई यात्रा गरेपछि पदमार्ग सुरु हुन्छ । यस क्रममा दुनै, फोकसुण्डो ताल, द्यो तराप, लुक्लाबागला पास (४,८०० मिटर) साल्दाङ पास हुँदै कागबेनीमा पुगिन्छ ।

यी पदयात्रामा टी हाउसको व्यवस्था नभएका कारण बन्दोबस्त भने आफैं गर्नुपर्ने हुन्छ । त्यसैले यो यात्रा केही महँगो हुने गर्छ ।

डोल्पा पुगेपछि यहाँको फोक्सुण्डो ताल अवलोकन नगरे यात्रा अपूरो हुन जान्छ । नेपालको सबैभन्दा गहिरो यो तालमा पानीको रङ छिनछिनमै परिवर्तन भइरहने भएकाले चित्ताकर्षक देखिन्छ । समुद्री सतहबाट तीन हजार ६ सय ११ मिटर उँचाइमा रहेको तालमा कुनै जलचर पाइँदैन । फ्रान्सका फिल्ममेकर एरिक भ्यालीले ‘हिमालय क्याराभान’ फिल्म बनाएपछि फोक्सुण्डो तालसहित डोल्पाको सौन्दर्य विश्वभर परिचित भयो । यही कारणले होला, डोल्पा पुग्ने पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च हुने गरेका छन् ।

डोल्पा पदमार्गमा पर्यटकको रुचि बढ्दो छ

मोहन लम्साल, पूर्व महासचिव, टान एवं पर्यटन व्यवसायी

नेपाल आउने अधिकांश विदेशी पर्यटकहरुले खासगरी सगरमाथा, अन्नपूर्ण र लाङटाङ क्षेत्रको पदमार्ग रोज्ने गरेका छन् । अन्य पदमार्गको आवश्यक चर्चा र प्रचार नहुनु यसको मुख्य कारण हो ।

पछिल्लो समय भने डोल्पा-कागबेनी पदमार्गमा पनि पर्यटकको रुचि बढ्न थालेको छ । वर्षमा एक सयको हाराहारीमा पर्यटकहरु सो पदमार्गमा जान थाल्नुलाई राम्रो सुरुवात मान्नुपर्छ ।

साहसिक पदयात्रा गर्न चाहने पर्यटकका लागि यो पदमार्ग निकै उपयुक्त भए पनि यहाँ अझै धेरै काम गर्न बाँकी छ । पदमार्गका ठाउँठाउँमा सूचना र संकेतहरु समेत राखिएको छैन । यसमा सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।

मुस्ताङ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment