Comments Add Comment

फुटबलर मेस्सीले नेपालमा स्वास्थ्य संस्था बनाउँदै

२२ वैशाख, काठमाडौं । विश्व फुटबलका सर्वाधिक चर्चित खेलाडी मेस्सीका प्रशंसकलाई यो खबरले खुसी तुल्याउने छ कि, उनी हाम्रो दुःखमा हातेमालो गरिरहेका छन् । यो सहयोग तिनै नेपालीप्रति लक्षित छ, जो विनासकारी भूकम्पको चपेटामा परे । खासगरी उनले भूकम्प प्रभावितका लागि स्वास्थ्य सेवामा प्रत्यक्ष सहयोग गरेका छन् ।

फुटबलर लियोनल मेस्सीले आफ्नो लोक कल्याणकारी संस्था ‘मेस्सी फाउन्डेसन’ मार्फत भूकम्पले ढलेका स्वास्थ्य संस्था ठड्याउँदैछन् । यसको मेलोमेसो मिलाएको हो, युनिसेफले । युनिसेफले मेस्सी फाउण्डेसनको सहयोगमा भूकम्प प्रभावित १४ जिल्लाका ७४ वटा स्वास्थ्य संस्था बनाइरहेको छ ।

युनिसेफलाई स्वास्थ्य संस्था पुनर्निर्माणका लागि विभिन्न दातृ निकायले सहयोग गर्दै आएको छ । जसमध्य मेस्सी फाउण्डेसन पनि एक हो । मेस्सी फाउण्डेसनलाई अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सीले सन् २००७ मा स्थापना गरेका हुन् । उनी हाल बार्सिलोनाका तर्फबाट फुटबल खेल्छन् । उनी सन् २०१० मा युनिसेफका ब्राण्ड एम्बास्डर नियुक्त गरिएका थिए ।

स्वास्थ्य मन्त्रालयले मेस्सी फाउण्डेनको संलग्नताबारे केही बताएको छैन । यद्यपी, मेस्सी फाउण्डेसनका सञ्चालक लियोनल मेस्सीले भने नेपालका भूकम्प प्रभावित क्षेत्रमा युनिसेफसित मिलेर स्वास्थ्य संस्था निर्माण गरेको देख्दा खुशी लागेको बताएका छन् । उनले गत मार्च २२ मा फेसबुक स्टाटसमार्फत उक्त प्रोजेक्ट अगाडि बढेकोमा खुशी प्रकट गरेका छन् ।

आउँदो असार मसान्तभित्रमा स्वास्थ्य संस्था पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित युनिसेफले कुल २२ करोड रुपैयाँ लागतमा भूकम्पद्वारा पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य संस्था निर्माणको कामलाई अगाडि बढाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य संस्था पुनर्निर्माण गरिने जिल्लाहरुमध्य काभ्रेमा १०, नुवाकोटमा ७, धादिङमा ४, दोलखामा ११, रामेछापमा १३, ओखलढुंगामा ६, गोरखामा, १२, सोलुखुम्बुमा ९ तथा ललितपुरमा २ रहेका छन् । त्यसमध्य ४० स्वास्थ्य संस्थाहरुमा पुनर्निर्माणको काम सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्री-फ्याब प्रणालीमा आधारित भूकम्प प्रतिरोधात्मक तथा बालमैत्री उक्त भवनमा चीनबाट आयातित उच्च गुणस्तरीय सामाग्रीहरु प्रयोग गरिएका छन् । विभिन्न सुविधायुक्त ती भवनहरुमा स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक पर्ने सबै भौतिक पूर्वाधार सामाग्री तथा आवश्यक सबै उपकरण युनिसेफले नै उपलब्ध गराउने जनाएको छ ।

‘भूकम्पले पुर्‍याएको क्षतिका आधारमा मन्त्रालयले यही असार मसान्तसम्ममा पुनर्निर्माणको काम सक्ने लक्ष्यसहित गत आर्थिक वर्षको पुसमा युनिसेफसित प्रस्ताव गरेको थियो । त्यही प्रस्तावका आधारमा युनिसेफले यही आउँदो असार मसान्तसम्ममा सम्पूर्ण भवन पुनर्निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य लिएको थियो ।
तर विभिन्न कारणबस पुनर्निर्माणको कार्य समयमै सक्ने लक्षण नदेखिएपछि मन्त्रालयले समय थप गरेको मन्त्रालय स्रोतले बताएको छ ।

जग्गा विवाद, मन्त्रालयको आफ्नै जग्गा नहुनु, भएको जग्गा भिरालो स्थानमा हुनु, जग्गा भएपनि स्थानान्तर गर्ने स्थानीयको चाहना, बजेट, सामग्री आयात गर्नमा समस्या, वर्षालगायतका विभिन्न कारणबस निर्माण कार्यमा ढिलाई हँुदै आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आगामी पाँच वर्ष भित्रमा भूकम्पले क्षति पुर्‍याएका ३१० वटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने योजनाअन्तर्गत गत वर्षदेखि नै स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणको कामलाई तिव्रताका साथ अघि बढाएको थियो ।

सो क्रममा मन्त्रालयले करिब २०० वटा स्वास्थ्य संस्था पुनर्निर्माणको काम सम्पन्न गरिसकेको छ । त्यसबाहेक, स्थायी पुनर्निर्माण अन्तर्गत मन्त्रालयले आउँदो आर्थिक वर्षदेखि भूकम्पले क्षतिग्रस्त बनाएका थप ५०० वटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने योजना बनाएको छ । त्यसको लागि स्वास्थ्य मन्त्रालयले करिब तीन करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश अधिकारीले अनलाइनखबरलाई बताए ।

त्यसबाहेक, भूकम्पबाट क्षतिग्रस्त भवन पुनर्निर्माणकै लागि मन्त्रालयले नेपाल सरकार तथा विभिन्न दातृ निकाय लगायतसित विभिन्न चरणमा साढे सात अर्ब रुपैयाँ बराबरको सम्झौतासमेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment