Comments Add Comment

व्यङ्ग्य: अराष्ट्रवादी, अर्ध-राष्ट्रवादी र पूर्ण राष्ट्रवादी

जसरी राष्ट्रिय झण्डाले मुलुकलाई चिनाउने काम गर्दछ, त्यसरी नै पार्टीको झण्डाले पार्टीलाई चिनाउने काम गर्दछ। तर, जब कुनै अमुक दलले आफ्नो दलीय कार्यक्रम, सभा, र्यालीमा र हुँदा हुँदा भोट माग्दा समेत आफ्नो पहिचान,आफ्नो शान, आफ्नो अभिमान आफ्नो दलको झण्डा छोडेर राष्ट्रिय झण्डाको प्रयोग अत्याधिक गर्ने गर्दछ, तब केही अनौठो पक्कै देखिन्छ।तथापि राष्ट्रिय झण्डाको प्रयोग आफैंमा नराम्रो भने हुँदै होइन।

कुरो नेकपा एमालेको हो। उसका मेला, भेला, सभा, आमसभातिर राष्ट्रिय झण्डाको प्रयोग व्यापक मात्रामा भएको देखिन्छ। । यसलाई नराम्रो जसले भन्छ, त्यो लम्पसारवादी नै हो।राष्ट्रघाती नै हो ।

दल नै राष्ट्रवादी भैसकेपछि राष्ट्रिय झण्डा यत्रतत्र सर्बत्र बोक्नुलाई अन्यथा लिनु हुँदैन। उसले आफ्नो दलको झण्डा नै छोपिने गरी राष्ट्रिय झण्डाको प्रयोगकिन गर्यो होला ? कारणहरू केलाउनतिर लाग्नुपर्छ-

पहिलो कारण:  हीनताबोध । आफ्नो दलको झण्डा अर्थात् हँसिया हथौडा अंकित रातो झण्डाप्रति हीनताबोध अथवा घृणाभाव पैदा भएको हुनुपर्छ । यसको सम्भावना पनि प्रचुर छ । किनभने `कम्युनिस्ट नाम त हाम्रो ब्राण्ड मात्रै हो´भनेर नाम प्रति उहिल्यै यस्तो भाव देखाइसकिएको हो । त्यतिले नपुगेर यो झण्डाका प्रणेताहरूको फोटो पनि हुर्याइसकेकोले कम्यूनिष्ट झण्डाप्रति घृणा गर्नु अस्वभाविक हुँदै होइन।जायज पनि हो।मनासिब पनि हो।

दोस्रो कारण: आफ्नो श्रेष्ठता सिद्ध गर्न । ऐरे, गैरे, भुरे, टाकुरेजम्मै कम्यूनिष्ट पार्टीले यही हँसिया हथौडा झण्डालाई आफ्नो दलको झण्डा बनाएका छन्।राजमोदेखि नेमकिपा सम्मका अनि विप्लव-वैध्य देखि माओवादी केन्द्र सम्मका जम्मै झिना मसिना कम्यूनिष्ट दलहरूको झण्डा यही हो। एमाले जस्तो जनसागरै जनसागरले भरिएको विशाल तथा महान् दललाई यस्तो झण्डा बोक्न शरम लाग्नु स्वाभाविक नै हो।

तेस्रो कारण:  अराष्ट्रवादीको आरोपबाट मुक्त हुन। काँग्रेस लगायत अन्य गैर-कम्युनिष्ट पार्टीहरूले `विदेशी झण्डा, विदेशी नेता र विदेशी सिद्धान्त बोकेर नेपालमा राजनीति गर्ने अनि हामीलाई राष्ट्रवादको पाठ पढाउने ?´ भनेर उहिल्यै देखि एमालेको हुर्मत लिंदै आएका थिए। यो हिसाबले उनीहरूको नजरमा एमाले त `अराष्ट्रवादी´ नै देखिने भयो- पञ्चहरूको नजरमा नेपाली काँग्रेस `अराष्ट्रिय´तत्व भए झैं । त्यसैले एमालेको लागि यो `अराष्ट्रवादी´को बिल्लाबाट मुक्ति पाई `राष्ट्रवादी´ बन्नु अति जरूरी थियो।

जगजाहेरै छ नेपाली काँग्रेस लगायतका गैर कम्यूनिष्ट दलहरूले नपत्याई,उनीहरूको काखमा लुटुपुटु नभई नेपालमा कम्यूनिष्ट दलहरूको ‘ उत्तरोत्तर प्रगति´ सम्भव नै छैन । इतिहासले पटक पटक पुष्टि गरिसकेको कुरा हो यो।

चौथो कारण: फोकटमा अर्काको चुनाव चिन्ह किन बोक्ने ?

संविधान सभाको पहिलो चुनावताकाको दृश्य सम्झंदा एमालेको प्राय: आमसभा भेलाहरूमा हँसिया हथौडा अंकित झण्डा भन्दा सूर्य अंकित झण्डाले आमसभाहरूको गरिमा बढाउँथे। हँसिया हथौडा फाट्टफुट्ट रूपमा एकादुई मात्र बोकिएको हुन्थ्यो भने चन्द्र सूर्य अंकित झण्डा एउटा पनि हुन्नथ्यो ।

स्वाभाविक नै थियो भोट सूर्यमा हाल्ने भएपछि माओवादीको चुनाव चिन्ह याने कि हँसिया हथौडा बोक्नु उचित पनि थिएन। दोस्रो संविधान सभाको चुनाव ताकाको दृश्य पनि यो भन्दा फरक थिएन।

पाँचौं कारणः अर्ध-राष्ट्रवादी मात्रै किन हुने ? हाम्रो राष्ट्रिय झण्डामा भएको चन्द्र सूर्य मध्ये सूर्य त पार्टीको चुनाव चिन्ह नै थियो। यतिले त अर्ध-राष्ट्रवादी मात्रै भइयो । चन्द्र सूर्य झण्डा नै डल्लै बोकिदिने हो भने त पूर्ण राष्ट्रवादी भइयो । यो तत्वज्ञान प्राप्त भएको हुनुपर्छ। राष्ट्रवादी हुने नै भएपछि अर्धराष्ट्रवादी मात्रै किन हुने ? पूर्ण राष्ट्रवादी नै हुने नि !

छैठौं कारण: लम्पसारवादी भन्नेलाई जवाफ इतिहासका बिभिन्न सन्धि,सम्झौता, काण्ड र प्रकरणहरू माथि टेकेर कसैले एमालेलाई लम्पसारवादी,राष्ट्रघाती, दलाल, बिस्तारबादी र साम्राज्यवादीको मतियार भन्छ भने तीनलाई मुखभरीको जवाफ हो चन्द्र सूर्य झण्डाको यस्तो व्यापक बोकाई। `हेर्नुस् आदरणीय जनसमुदायहरू! राष्ट्रिय झण्डा बोक्नेले कदापी राष्ट्रघात गर्न सक्दैन,लम्पसारवादी हुन् सक्दैन, खासमा हामी जति राष्ट्रवादी अरू कोही हुनै सक्दैन´भनेर जनतालाई आश्वस्त पार्न पनि हो । तपाइँ हामीले धेरै बिज्ञापनहरूमा हाम्रो चन्द्र सूर्य झण्डाको प्रयोग गरेको देखेका छौं। मिल्ने नमिल्ने जे भएपनि त्यसरी राष्ट्रिय झण्डा बोकेर बस्तु तथा सेवाको बिज्ञापन कसैले गर्छ भने उसको देश र जनता प्रतिको प्रेम र उत्तरदायित्व माथि कुनै किसिमको शंका गर्नु पाप हो।

सातौं कारण: म मात्रै देशभक्त हुँ भनेर देखाउन । नेकपा एमालेको राष्ट्रवादी ग्रन्थी एकाएक सक्रिय भएको नेपाली जनतालाई थाहा छ । यो ग्रन्थी कुनबेला सुसुप्त हुन्छ, कुन बेला सशक्त हुन्छ, त्यसको जनाउ दिन पनि चन्द्र सूर्य झण्डाको प्रयोग व्यापक बनाउनु जरूरी थियो। अब उसले चन्द्र सूर्य अंकित झण्डा बोक्यो भनेपछि यो ग्रन्थी सक्रिय भयो भनेर जाने हुन्छ । गणतन्त्र अघि राष्ट्रवादी ग्रन्थी जति सकृय भएपनि उसले यस्तो तरीका अपनाएको थिएन। राष्ट्रवादी ग्रन्थी जति नै सकृय भएपनि काँग्रेस लगायतका अरू दलहरू आफ्नो दलको मेला, भेला, सभा, आमसभामा आफ्नै दलको झण्डा मात्रै प्रयोग गर्छन्,आफ्नो दलको चुनाव चिन्हको झण्डा मात्रै प्रयोग गर्छन्। जति धेरै जति ठूलो,जति धेरै चन्द्र सूर्य झण्डा बोक्छ, फहराउँछ आजको नेपालमा उही धेरै र महान् राष्ट्रवादी हुन्छ भन्ने तथ्य स्थापित भैसकेको छ । यो एमालेकै देन हो।

आठौं कारण: यसो गर्दा पो अरूभन्दा फरक देखिन्छ कि! सामान्य भन्दा सामान्य मान्छेदेखि ठूला ठूला मान्छे सबैलाई अरू भन्दा फरक देखिने चाह हुनु स्वाभाविक नै हो। यो मानवोचित गुण नै हो। राजनीतिक दललाई त झनै यस्तो चाह हुनु जायज हुन्छ । नेपालका कुनै पनि दलले राष्ट्रिय झण्डालाई आफ्नो दलको सभा सम्मेलनमा यति व्यापक प्रयोग गरेका शायद छैनन् । यही तथ्यमा टेकेर उसले यो उपाय अपनाएको हुनुपर्छ।

नवौं कारण: विरोधाभासलाई न्यूनीकरण गर्नु नेकपा एमाले भनेको यो देशको सबै भन्दा धेरै एनजिओधारी पार्टी हो भन्नेमा दुइमत छैन । एनजीओ अर्थात् डलरको स्रोत । डलर र हँसिया हथौडा युक्त झण्डा परस्पर विरोधी कुराहरू हुन्। यो विरोधाभासलाई न्यूनीकरण गर्नु उसको लागि जरूरी नै भैसकेको थियो ।यसको रिहर्सल भने उहिल्यै गरिसकिएको हो जसको उदाहरण माथि दिइसकिएको छ । अहिले यो रोगले माओवादी पनि सङ्क्रमित भैसकेको छ ।

दशौं कारण: नारा राष्ट्रवादको झण्डा विदेशी ?

एमालेको अगाडि अहिले राष्ट्रवाद भन्दा अर्को उर्बर मुद्दै छैन । एकाउन्न सालको चुनाव ताका यस्तै मुद्दाले भोट बटुलेर सबैभन्दा ठूलो दल बनेको नजीर छ। `तपाईंको एक भोट देश बेच्ने लाइसेन्स नबनोस्´ यो त्यतिखेरको पपुलर नारा थियो। अहिले उ फेरि पुरानै अवस्थामा फर्किएको छ ।अर्थात् यो नाराले फेरि काम गर्ला भन्ने उसलाई लागेको छ। त्यसैले राष्ट्रवादको नारा उचालेको छ। नारा चाहिं राष्ट्रवादको लगाउने झण्डा चाहिं रक्तरञ्जित हँसिया हथौडा अर्थात्`विदेशी´ बोक्ने ? यो अलि असंगत भो।त्यसैले राष्ट्रिय झण्डा सहारा भो।

र, दुनियाँलाई थाहा छ यो झण्डा विश्वभरिका कम्युनिष्ट पार्टीहरूको साझा झण्डा हो । कम्युनिष्टरूको अन्तर्राष्ट्रिय झण्डा हो। र, दुनियाँलाई यो पनि थाहा छ विश्व कम्युनिष्ट आन्दोलन अहिले रक्षात्मक स्थितिमा छ।

पुँजीवादी मुलुकहरू यो झण्डा, यसका निर्माता र यसका अनुयायीहरूलाई फुटेको आँखाले पनि देख्न सक्दैनन्। यस्तो `अभिशप्त झण्डा´लाई आफ्नो दलको झण्डा बनाइसकियो।उहिले यो झण्डाको विश्वभरि चकचकी र जगजगी भएका बेला बडो गर्वका साथ पार्टीको झण्डा बनाइएको हो।

अब यसलाई फेरफार गर्ने जोखिम मोल्नतिर लाग्नु भन्दा मध्यमार्गी बाटो अपनाउनु नै उपयुक्त सम्झेको हुनुपर्छ । मध्यमार्गी मार्ग अर्थात् विधानत: दलको झण्डा त्यही नै हो तर कार्यकर्तालाई चन्द्र सूर्य झण्डा बोक्न प्रोत्साहित गर्ने र राष्ट्रवादको नारा लगाउन प्रेरित गर्ने । सर्प पनि मर्ने, लौरो पनि बच्ने उपाय।

अन्त्यमा,

पार्टी अफिसमा पनि दलीय झण्डा भन्दा राष्ट्रिय झण्डा नै फर्फराउन थालेपछि भने राष्ट्रवादको क्लाइमेक्स हुनेछ।

अब्बल राष्ट्रवादी देखाउन अहिले त राष्ट्रिय झण्डा मात्रै बोकेर हिंडेको अवस्था छ। भोलिका दिनमा `यो राष्ट्रवादी होइन´ भनेर जनताले शंका उपशंका गरे के गर्ने? यसको पनि उपाय निस्किसकेको छ।

पुरुष साथीहरू दौरा सुरुवाल,कोट र टोपीमा अनि महिला साथीहरू गुन्यू चोलीमा सजिएर एक हातमा राष्ट्रिय झण्डा छँदै छ, अर्को हातमा लालीगुराँसको झुप्पो,अगाडि पछाडि गौमाताका लश्करहरू लिएर सिन्दूर, अबीर लगाउँदै जुलुस निकाल्दा तीनलाई कुनचाहिँ माइकेलालले राष्ट्रवादी भन्दैन र ? भोटको त ओइरो! दुई तिहाइ होइन, तीन चौथाईकै ग्यारेन्टी रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment