Comments Add Comment

सर्वोच्चको आदेशः महाअभियोग अघि नबढाऊ, प्रधानन्यायाधीश कार्की काममा फर्कनू

२२ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा विचाराधीन महाअभियोग अघि नबढाउन आन्तरिम आदेश दिएको छ । साथै कार्कीलाई तत्काल काम र्फकन पनि भनिएको छ ।

महाअभियोगविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले महाअभियोग प्रस्ताव संविधानको मर्म र भावना अनुसार नआएको बताएको छ ।

सर्वोच्चले रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । साथै प्रधानन्यायाधीश कार्कीलाई आजै आफ्नो काम गर्न दिन भनेको छ ।

न्यायाधीयबाट गरिने व्यवहार, आचरण र न्याय सम्पादनमा गभ्भीर विचलन भए-नभएको छलफल भएर निस्कने परिणाम वस्तुगत र प्रमाणयोग्य आधार भए मात्र महाअभियोग प्रस्ताव संवैधानिक र जायज हुने आदेशमा उल्लेख छ ।

सर्वोच्चको आदेशमा निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुनु नपर्ने १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीको नाममा भनेको छ ।

सर्वोच्चको फैसलाको महाअभियोगको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वागत गरेको छ । महाअभियोग प्रस्ताव दर्ता गर्ने सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरु भने अन्तरिक छलफलमा जुटेका छन् ।

कार्की काममा फर्किइन्

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की काममा फर्किएकी छन् । ‘सर्वोच्चले आजै काममा फर्कनु भएकाले उहाँ आएर हाजिर गर्नुभयो र केही प्रशासनिक निर्णय पनि गर्नु भएको छ’ सहायक प्रवक्ता पुष्पराज पौडेलले भने ।

प्रधानन्यायाधीश कार्कीले न्यायिक काम भने आइतबारबाट गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment