Comments Add Comment

चुनावका कारण कोरियन भाषा परीक्षा नरोकिने


१९ चैत, काठमाडौं । सरकारले स्थानीय तहको चुनावका कारण दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने भाषा परीक्षा नरोकिने स्पष्ट पारेको छ । परीक्षार्थीहरुमा चुनावका कारण भाषा परीक्षा हुने/नहुने अन्योल बढेपछि इपीएस परीक्षा निर्धारित मितिमै हुने वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले बताएको छ ।

जेठको २७ र २८ गते इपीएसको परीक्षा हुँदैछ । जेठ ३१ गते विभिन्न प्रदेश दोस्रो चरणमा स्थानीय तहको चुनाव भएकाले परीक्षार्थीहरु जाँच सकेर भोट हाल्न पुग्न भ्याउने इपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलार्इ जानकारी दिए ।

‘परीक्षामा बाधा आउँदैन । ढुक्कले परीक्षार्थीले तयारी गर्नुभए हुन्छ । परीक्षा दिएर गाउँ फर्किएर भोट हाल्न भ्याउने स्थिति छ’ खतिवडाले भने ।

यो वर्ष भाषा परीक्षाका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका थिए । त्यसमध्ये झण्डै ४ सयको फारम अवैध भएकाले खारेज गरिएको छ । कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ ।

गत वर्ष ३५ सयका लागि संख्या ६० हजार परीक्षार्थी सहभागी भएका थिए । तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ । यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो ।

कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनको आवेदन परेको छ ।

यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment