Comments Add Comment

चोलेन्द्रले सुशीलालाई ‘गुनले मारेको’ त्यो साँझ !

एक जना 'निष्ठावान न्यायाधीश'माथिको नैतिक मजाक

२४ बैशाख, काठमाडौं । भनिन्छ, न्यायका नौ सिङ हुन्छन् । शुक्रबार साँझ सर्वोच्च अदालतमा त्यस्तै एउटा सिङ पलायो ! सुशीला कार्कीलाई काममा र्फकन बाटो खोलिदिने निर्णय त्यति रोचक छैन, जति रोचक त सुशीला कार्की र चोलेन्द्र समशेर जबराको सम्बन्ध जो छ !

आफैंले ‘भ्रष्ट’ करार गरेको न्यायाधीशले दिएको ‘अभयदान’ लाई शीरोधार्य गर्दै सुशीला कार्की शुक्रबार सम्साँझै सर्वोच्चको कुर्सी सम्हाल्न हतारिइन् ।

सुशीला कार्कीका लागि जनप्रतिधिमूलक संस्था व्यवस्थापिका संसदभन्दा आफैंले दुत्कारेका चोलेन्द्र समशेरको आदेश ठूलो ठहरियो त्यो साँझ । तर, यो उनको स्वच्छ छवि, स्वाभिमान र निष्ठामाथिको एउटा पीडादायी हँसीमजाक थियो । जुन कुरा न्यायमूर्तिले महसुस गर्न सकिनन् ।

सर्वोच्च अदालत स्रोत भन्छ- ‘चोलेन्द्र श्रीमान र सुशीला श्रीमानवीच राम्रो सम्बन्ध थिएन, यतिसम्म कि उहाँहरुवीच बोलचालसमेत थिएन ।’

तर, अचम्मै छ ! बोलचालै नभएको व्यक्तिको पक्षमा चोलेन्द्रले कसरी यस्तो भावुक आदेश सुनाए ? यसका पछाडि एउटा रोचक प्रहसन लुकेको छ ।

सुशीला कार्कीले न्यायाधीश चोलेन्द्रमाथि भेदभाव र अन्याय गर्दै आएको बुझाइ केही न्यायाधीशमा छ । शुक्रबार चोलेन्द्रले ‘बैगुनीलाई गुनले मारिदिने’ निर्णय सुनाएको न्यायालयभित्र चर्चा परिचर्चा सुरु भएको छ ।

जसले आफूलाई दपेटेर राखेको थियो, उसैलाई चोलेन्द्रले अदालत फर्काएर कुर्सीमा राखिदिए । यसबाट न्यायाधीश चोलेन्द्रको ‘मोराल’ उच्च भएको छ, केपी ओलीले समेत चोलेन्द्रको प्रशंसा गरेका छन् । एमाले कार्यकर्ताहरु एकै स्वरमा चोलेन्द्रले न्यायलाई मर्न नदिएको भन्दै संसदको सर्वोच्चता कुल्चिएकोप्रति अनदेखा गरिरहेका छन् ।

तर, सुशीला कार्की नि ? उनी चोलेन्द्र समशेरप्रति नतमस्तक बनेकी छिन् । चोलेन्द्रको आदेश सुन्नासाथ उनी संसदको अवहेलना हुने /नहुने केही विचार नगरी, आदेशको पाठसम्म पनि राम्ररी अध्ययन नगरी अदालतमा हाजिर हुन गइन् ।

‘भ्रष्ट’ र ‘शत्रु’ भनिएकाबाटै अभयदान ?

सुशीला कार्कीको नेतृत्वमा सर्वोच्च अदालतका न्यायाधीशहरु दुई खेमामा ध्रुवीकृत हुँदै आएका छन् । कार्कीले केही न्यायाधीशलाई काखा र केहीलाई पाखाको व्यवहार गरेको कतिपय न्यायाधीशहरुको गुनासो छ । तीमध्ये गोपाल पराजुली र चोलेन्द्र समशेर जबरा सुशीला कार्कीबाट सबैभन्दा बढी खेदिएका थिए ।

तर, सुशीलाले अघोषित रुपमा पराजुली र राणा दुबैलाई भ्रष्टको ‘क्याटागोरी’ मा राखेकी थिइन् र सोही अनुसारको व्यवहार गर्दै आएकी थिइन् । उनीहरुको बेञ्चमा मुद्दा पारिँदैनथ्यो । मन परेका न्यायाधीशकोमा मात्रै मुद्दाको सेटिङ मिलाइन्थ्यो । अरुलाई न्याय दिनुपर्ने अदालतमा राजनीतिक दलमा जस्तै भयंकर गुटबन्दी थियो ।

न्यायाधीश पराजुलीले उमेर सच्याएको र एसएसलसीको प्रमाणपत्र लुकाएको लगायतका आरोपमा उनलाई कारवाही गर्ने सुशीला कार्कीको प्रयास रहँदै आएको थियो ।

चोलेन्द्रलाई भ्रष्टाचारीको पक्षमा फैसला गरेको भन्दै सुशीलाले अदालतमा आएदेखि नै राम्रो व्यवहार गरिनन् । अहिलेसम्म चोलेन्द्रसँग उनले एकचोटि पनि बेञ्च सेयर गरिनन् । तर, उनै चालेन्द्रको आदेशमा टेकेर उनी अदालतमा हाजिर हुन गइन्, जतिखेर उनले सम्मानित संसदमा महाअभियोग विचारधीन रहेका बेला त्यसलाई सम्मान गर्नु न्यायमूर्तिको कर्तव्य हो भन्ने सोच्दै सोचिनन् ।

कसैलाई मन परे पनि, नपरे पनि न्यायाधीशद्वय चोलेन्द्रसमशेर र गोपाल पराजुली संसदीय सनुवाइको प्रक्रिया पार गरेरै न्यायाधीश भएका हुन । तैपनि सुशीलाको नजरमा उनीहरु सधैं भ्रष्टाचारीकै मतियारका रुपमा रहँदै आए । तर, आफैंलेे त्यस्तो ‘खराबको सूची’ मा राखेको व्यक्तिबाटै पुनर्बहाली ग्रहण गर्नु आफ्नै निष्ठामाथिको अवहेलना हो ?

शुक्रबार घाम अस्ताएपछि अदालतमा यस्तो वैरागलाग्दो दृश्य देखियो, जहाँ एउटा न्यामूर्तिको निष्ठामाथि नै अनौठो व्यंग्य प्रहार भयो ।

जतिखेर अधिवक्ता सुनील रञ्जन सिंह सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावविरुद्ध रिट लिएर सर्वोच्चमा पुगे, कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले त्यो रीट दरपीठ गरिदिन सक्थे, तर पराजुलीले त्यसो गरेनन् र कार्कीको मुद्दालाई अदालतमा प्रवेश गराए । यो उनको उदारता थियो ।

अर्को अचम्म, सुशीला कार्कीको मुद्दालाई त्यस्तो न्यायाधीशको एकल बेञ्चमा पारियो, जोसँग सुशीलाको पुरानो रीसईवी थियो । उनीहरुवीच बोलचालसम्म थिएन । यसरी चोलेन्द्रको बेञ्चमा सुशीलाको मुद्दा पर्दा धेरैलाई लागेको थियो कि यो रिट खारेज हुन्छ ।

तर, सुशीलाबाट पीडित चोलेन्द्रले संसदको क्षेत्राधिकारमाथि समेत हस्तक्षेप गरेर सुशीलालाई तुरुन्त काममा र्फकन आदेश दिए । राणाले यो मुद्दालाई एउटा अवसरका रुपमा प्रयोग गरे ।

अदालतको उच्च स्रोतले अनलाइनखबरसँग भन्यो- ‘बैगुनीलाई गुनले मार्नू’ भन्ने आहानजस्तै चोलेन्द्र श्रीमानले सुशीला श्रीमानमाथि गुन लगाउनुभयो । रिट दर्ता गर्ने अनुमति दिएर गोपाल पराजुली श्रीमानले पनि गुन लगाउनुभयो, र अब गुन तिर्ने पालो सुशीला श्रीमानको हो ।’

के यो ‘अभयदान’ बाट सुशीला श्रीमानको मन प्रशन्न भएको होला ? व्यवस्थापिका संसदले महाअभियोग लगाइसकेपछि उनले संसदबाटै न्याय खोज्नुपथ्र्यो । र, त्यसपछिमात्रै अदालतमा टेकेको भए उनको उचाइ अरु बढ्ने थियो कि ?

यो पनि पढ्नुस्

सुशीला श्रीमान विदामा बस्लिन् ? प्रचण्डलाई भेटेर ओलीले भने – अब मिलौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment