Comments Add Comment

बहसः जीतपुर सिमरा उपमहानगर कस्तो बनाउने ?

समृद्ध महानगरको २५ वर्षे आधारसुत्र


गत फागुन २७ गतेको दिन जीतपुर सिमरा उपमहानगरपालिका घोषणा हुनेबित्तिकै मैले लेखेको थिएँ: ‘अब कमजोर अवस्था र बलियो सम्भावनावीच नमूना र समृद्ध महानगरको साझा सपना जगाउनु छ ।’ नगरपालिका भर्खरै बने पनि पूर्वाधार बनेकै थिएन, उपमहानगर त निकै टाढाको विषय थियो । साँच्चै जीतपुर सिमरा उपमहानगरपालिका हाम्रा लागि नसोचेको अनि नमागेको उपलब्धि बन्यो ।

१. वि.सं. ०३८ सालमा छिमेकी जिल्ला मकवानपुरबाट बाबुआमाको हातमा झुण्डिएर हामी डुमरवानामा बसाइँ आएका थियौं । हेटौडाको मूल्यवान जमिन राज्यलाई बुझाएर उसैले दिएको खोरियामा रगत पसीना साटेर जीवनको सार्थकता नियाल्न थाल्यौं । डुमरवाना हातिसार बजारमा कच्ची प्राथमिक स्कूलमा पढ्न थालियो । हेटौडा बजारको रमझमबाट कहाँ हो कहाँ, जंगल र अति ग्रामीण जीवन अत्यासलाग्दो थियो । जताततै झाडीबुट्यान, हात्ती, स्याल, बांदर, डरलाग्दा साप, बिच्छी र खजुरहरु, काफी सिमसार क्षेत्र, उखुबारी, जामुनअँठेर, घुर्मी, स्कूल, गाईभैशी र घाँस दाउरामा हाम्रो जीवन सामान्यीकरण हुँदै गयो ।

सौभाग्य भनौं वा अवसर, म तराईको यही भूमिमा एक सचेत नागरिकको परिचय पाएँ । जन्म जहाँ भए पनि जीवन, समाज र परिवर्तन यही जानें । राजनीतिक चेतना आएदेखि यहीँ परिवर्तनका लागि हरेक मोर्चामा जुटें, जेलनेल पनि भोगें । पार्टी मात्रै होइन, जनआन्दोलन र सामाजिक आन्दोलनका हरेक आयामहरुमा सक्रिय रहें । स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रियसम्म यहींको गीत गाएँ ।

यही माटोले मलाई प्राथमिकदेखि विद्यावारिधिसम्मको शिक्षा हासिल गर्ने अवसर दियो । अनि प्राथमिकदेखि स्नातकसम्म २० वर्ष यहीँ पढाएँ ।

आज यहीँका नागरिकको जीवन, सुखदुख, ऋणधन, उद्यम व्यवसाय, समृद्धि र सामाजिक एकताको आधार सहकारी अभियानमा सरीक रहें ।

राजनीतिक लोकतन्त्रदेखि आर्थिक लोकतन्त्रका आयामहरु बुझदै र बुझाउँदै अघि बढे । राजनीतिलाई पेशा व्यवसाय बनाउने वा राजनीतिमा लागेकै आधारमा अकुत सम्पत्ति कमाउने वा राजनीतिकै कारण बिल्टुवा बन्ने प्रवृतिबाट टाढा रहें ।

२. सिमरा चोकमा दुईचार घर थिए । डुमरवानाबाट गोरेटो, उखुबारी र जंगल छिचोल्दै सिमरा आइपुग्थ्यौं र जीतपुरसम्म पुग्थ्यौं बजार गर्न । गाँऊमा मोटरसाइकल थिएन, साइकलहरु फाटफुट थिए, काठेगाडाहरु प्रशस्त देखिन्थे डुमरवाना सिमरा सडकमा ।

वीरगञ्च चिनी कारखानाले बनाएको कच्ची बाटो चल्तीमा थियो । सिमरामा बसहरु सितिमिति रोकिँदैनथ्यो । वीरगञ्ज, हेटौडा वा अन्यत्र कही जानका लागि गाडी चढ्न जीतपुर पुग्नुपथ्र्यो । हाइस्कूल पनि जीतपुरमा मात्रै थियो । सिमराको सीमित क्षेत्रबाहेक कहीँ बिजुलीबत्ती थिएन, खानेपानी थिएन अनि घर बाटो केही पनि व्यवस्थित थिएन । कच्ची रन वे सहितको ऐतिहासिक विमानस्थल थियो, सिमरासँग । विमानस्थलको बारबन्देज थिएन, डुमरवानालगायत पूर्व जाने बाटो रन वे वीचबाटै थियो । जहाज आउने समयमा पैदलयात्रीको आवागमन रोकिन्थ्यो । दुधौरा, बालगंगा र पसाहा पूर्वक्षेत्रको अभिशाप बनेको थियो । खहरेले थुप्रै गांऊको बिल्लिीबाठ बनाएको थियो । वर्षातको समयमा आवागमन नै कठिन थियो ।

सीमित र साँघुरा बाटोहरु हिलाम्मे, गाडाहरु फसेर गोरुलाई तान्न हम्मे हुन्थ्यो । बजार सानै भएपनि जीतपुरको चहलपहल थियो । खासगरी बजार, हाइस्कूल अनि भैशीबजारले बारा पर्साको उत्तरी क्षेत्रको आकर्षण खिचेको थियो, जीतपुरले । आज त्यही जीतपुर र सिमराको नाममा उपमहानगर भएको छ । जसमा डुमरवाना, छातापिप्रा, फत्तेपुर, अमलेखगञ्ज, इनर्वासिराको पुरै भाग अनि मनहर्वा, हरैया (रामनगर), रामपुरटोकनीको आंशिक भाग समेटिएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुभौगोलिक र धेरै बहुआयामिक विशिष्टतासहित अघि बढेको आफनो धर्ती राम्रो बनाउने चाहना कुन नागरिकलाई नहोला र ? आज १ लाख १४ हजार जनताको आशा र भरोसाको केन्द्र बनेको छ, जीतपुरसिमरा । अनि ५६ हजार मतदाताले यसको भाग्य र भविष्य तय गर्दैछन, अवको एक महिनामा ।

४. समाज नबनी नागरिक बन्दैनन् भन्ने कुरा बुझ्दैछु अनि बुझाउन चाहन्छु । केही भएन भनेर अरुलाई देखाएर वा अघिल्लो पुस्तालाई देखाएर वा नेता वा राज्यलाई गाली गरेर हामी पन्छिन पाउदैनौं । परिवर्तन र समृद्धिको चाहना हाम्रो पुस्ताको मात्रै होइन, हामी त प्रौढ पुस्तामा उक्लदैछौं । अव समृद्ध समाज निर्माण युवाहरुका लागि हो, १२/१४ वर्षका मेरा छोराछोरी अर्थात बालपुस्ताका लागि हो, अझै अघि बढ्दा भावी पुस्ताका लागि हो । अघिल्लो स्थानीय निर्वाचन ०५४ पछि जन्मिएकाहरु आज आफ्नो प्रतिनिधि छान्न मताधिकारसहित सचेत नागरिक बनिसकें । अब हामीले तिनका लागि काम गर्नुपर्छ । अहिले गरेनौं वा गर्न सकेनौं भने अर्काे निर्वाचनमा उनीहरु अघि आउनेछन् ।

हामीले अभियान र रुपान्तरणको मोर्चा फेर्न तयार हुुनुपर्दछ । अब हामी कल्पना गरौं, अबको ५ वर्ष, १० वर्ष र २० वर्षमा यसलाई कस्तो उपमहानगर बनाउने ? अबको २५ वर्षमा हाम्रो मौलिक सम्वतको नयाँ अर्थात २२ सौं शताब्दीमा प्रवेश गर्छौं । मेरो उमेरसमूहको सामान्य जीवनसीमाको बिन्दु त्यही नै हो । कस्तो समाज भावी पुस्तालाई छाडेर जाने ?

जापान आज त्यसै बनेन, कयौं पुस्ताले आफनो सुख हेरेन, भावी पुस्ताको सुखका लागि रातदिन दुःख गर्‍यो । उसँग केही थिएन, न जंगल न पर्याप्त जमीन, न जल न खनिज न पेट्रोलियम, न प्रकृति न पर्यटन । आज जापानले दुनियाँबाट कौडीको मोलमा सामान किन्यो, श्रम र वुद्धि लगाएर गुणस्तरीय सामान तीनैलाई हिराको मोलमा बेच्यो । वाह आजको जापान  आज त्यही कथा, अमेरिकाको हो इजरायलको हो अनि सिंगापुरको ।

हामी दर्जनौं त्यस्ता मुलुकको समृद्धिको कथा पढ्दैछौं । हामीसँग के छैन ? जंगल, जलस्रोत, भूमि, प्रकृति पर्यटन सबै छ, तर त्यसको सदुपयोग गर्न सकेनौं ।

आज ५० लाख युवाहरु बाहिर छन् । देशले समृद्धि मांगिरहेको छ, तर त्यसलाई मार्गदर्शन दिने राज्य भएन । अनि वौद्धिक र श्रमशक्तिले योगदान गर्न पाएनन् ।

५. विश्वमा विकासको चापले निकै रफ्तार लिएको छ । सौभाग्य नै भन्नुपर्छ, मैले आफ्नै आँखाले ४ करोड जनसंख्या भएको समृद्ध टोकियो महानगरको एक महिने स्थलगत अवलोकन गर्ने अवसर जुर्‍यो, गगनचुम्बी महलको ४६/४७ तलामा रहेको महानगरपालिका कार्यालयको स्थलगत अवलोकन नै गरें । जापानकै करीव दुई करोड जनसंख्याको ओशाका र एक करोड जनसंख्याको नगोया महानगर, ५५ लाख जनसंख्याको सिंगापुर महानगर, दक्षिण कोरियाको साढे दुई करोड जनसंख्याको सिउल, पाकिस्तानको ३ करोड जनसंंख्याको कराँची, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, श्रीलंकाको कोलम्बो, भारतको नयां दिल्ली, मुम्बई, चेन्नई, पुने, पटनालगायत महानगरहरुको स्थलगत साक्षात्कार गर्ने अवसर मिल्यो ।

त्यस्ता धेरै महानगरहरु जसले आफनै विशिष्टताका आधारमा विकासको पथमा तीव्ररुपमा अघि बढेका छन् । अनि सम्झिएँ, त्यहाँको समृद्धिको विरासत मनमनै कल्पिएँ अनि तुलना गरें, ती महानगरहरु अनि यो उपमहानगर । सम्भव छ, उनीहरुलाई पच्छ्याउन र यहाँको विकासमा साझेदारी स्थापित गर्न ?

६. एकजना विद्वानले भन्नुभएको छ- उचाइमा पुग्नुभन्दा त्यहीँ टिकिरहन कठिन हुन्छ । हामी यो उचाइमा टिकिरहने मात्रै होइन, यसबाट अझै अगाडि बढनु छ । जेजे कमी भए पनि जे जे खटकिए पनि मुलुकको १७ उच्च स्थानीय तहमा हामी पर्नुलाई सौभाग्य मान्नुपर्दछ ।

न्युनतम क्षेत्र र जनसंख्या पुर्‍याउने क्रममा बजारको रुपमा पनि विकास नभएका कतिपय गाउँले उपमहानगरमा हाइजम्प गरेका छन् । दुईतीन दशक अघिसम्म खासमा पहिचान बन्न नसकेको यो क्षेत्र मध्यतराईको एक महत्वपूर्ण गन्तव्य बनेको छ ।

जीतपुर सिमरा उपमहानगर आफुमात्र होइन, यो मुलुकभरका नवोदित उपमहानगर र नगरहरुको एक बहुआयामिक विकासको सम्भावनाको हिसावले प्रतिनिधि पात्र पनि हो । यहाँ तराई पनि छ, पहाड पनि छ । पहाडी र मधेसीको मिश्रति सहिष्णु सम्वन्ध र बसोबास छ । मुलुकका विभिन्न भूभागका नागरिकहरुको जमघट छ । छिमेकी मुलुक भारतका नागरिकहरु पनि व्यवसाय र रोजगारीका लागि प्रशस्त आएका छन् ।

अत्यन्त राम्रो सम्भावनासहित यो उपमहानगर विकास र समृद्धिको पथमा अघि बढिरहेको छ । त्यसैले यसको विशेषता, बुझाइ र अनुभव अरुका लागि पनि उदाहरण बन्न सक्छ ।

राजधानी काठमाण्डौंसँग अत्यन्त नजिक रहेकाले वैकल्पिक राजधानी मात्रै होइन, विकासको सम्भावनालाई यथार्थमा रुपान्तरण गर्नसके अन्तरराष्ट्रिय र क्षेत्रीय तहमै एक रणनीतिक महत्वको विन्दु बन्नेछ । सचेत नागरिक छन, गौरवपूर्ण विरासत छ, स्रोतहरु छन, स्थानीयदेखि अन्तरराष्ट्रिय तहमा नै विकासको साझेदारी जोडन सकिनेछ ।

संकल्प र अठोटसाथ अघि बढ्दा अनि रणनीतिक योजना र कुशल नेतृत्वकर्ता हुदा बहुआयामिक समृद्धियात्रा उत्साहजनक रुपमा अघि बढनेछ । नेपाल मात्रै होइन, संसारको मानचित्रमा हामी हाम्रै पालामा यसलाई सुव्यवस्थित महानगर बनाउन र भावी पुस्तालाई हस्तान्तरण गर्न सक्ने सम्भावनाहरु छन् ।

७. जीतपुरसिमराको जुन विशिष्टता छ, स्रोत र सम्भावना छ । म त भन्छु रणनीतिक योजना र गुरुयोजना अनि मार्गचित्र र अल्पकालीन तथा दीर्घकालीन योजनाको प्राथमिकीकरण अनुसार प्रभावकारी रुपमा काम गर्ने हो भने अवको चार/पाँच वर्षमा महानगरको आधार खडा गर्न सकिन्छ । अन्तरराष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोड्ने द्रुतमार्ग, पूर्वपश्चिम रेलवे, वीरगञ्ज अमलेखगञ्ज एशियाली मार्ग, विशेष आर्थिक क्षेत्र, पर्सा वन्यजन्तु आरक्षको निकुञ्ज रुपान्तरण महानगर निर्माणको प्रमुख आधार हुनेछ । काठमाण्डौंमा विमानस्थल अन्तरराष्ट्रिय मापदण्डको हुनै सकेन । यहाँ बन्ने विमानस्थल नेपालको एकमात्र अन्तरराष्ट्रिय मापदण्डको हुनेछ ।

यसैले हामीलाई अन्तरराष्ट्रिय क्षेत्रीय रणनीतिक ट्रान्जिट बनाउनेछ । यी पूर्वाधारहरुको निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन ध्यान दिनुपर्दछ । टांगियाबस्ती गाउँको स्थानान्तरण र व्यवस्थापन अन्तरराष्ट्रिय बिमानस्थल निर्माणको मुख्य शर्त हो । स्थानीय तह राष्ट्रभित्र स्वायत्त र अधिकारसम्पन्न निकाय हुँदैहुन् ।

अन्तरराष्ट्रिय तहमा विभिन्न केेन्द्र र स्थानीय सरकारसँग मिलेर काम गर्ने विभिन्न सम्भावनाहरु हुन्छन् । हामी सिधै टोकियो, वासिंगटन र संसारका कुनै पनि समृद्ध महानगरसँग सीधा सम्पर्क जोड्न सक्ने छौं । राष्ट्रिय अन्तरराष्ट्रिय कनेक्टिभिटीका आधारमा अर्बौंको बजेट, सीप, प्रविधि र अभ्यासहरुको स्थानीयकरण गर्न सक्नेछौं ।

यतिखेर हामी तीनवटा उपमहानगरसँग जोडिएका र केन्द्रविन्दुमा छौंः वीरगञ्ज, हेटौडा र कलैया उपमहानगर । वीरगञ्ज महानगरपालिकामा प्रस्तावित छ भने हेटौडा देशकै एक सफल उपमहानगर हो ।

आर्थिक राजधानी, दुईतिहाई बाह्य व्यापारको नाका, महत्वपूर्ण औद्योगिक करिडोर, मध्यतराईसंग जोडिएको पर्यटन पूर्वाधारको गन्तव्यको आधारमा हामी फोकल र ट्रान्जिट प्वाइन्टको आधारमा पनि धेरै कुरा गर्न सक्छौं ।

८. समृद्ध महानगरका लागि फराकिला चिल्ला बाटोहरु, पुलपुलेसा, ढललगायत पूर्वाधारहरुको पर्याप्त विकास अनिवार्य शर्त हो । यो उपमहानगरको मुटु सिमराको मुख्य केन्द्रबाट पश्चिम नरबस्ती र रामबन जाने बाटो हेरौं, अहिले असनको गल्ली जस्तो छ भने पच्चीस पचास वर्षपछि के हालत होला ? त्यस्तै गांउगांऊमा फराकिलो बाटोको समस्या छ । बाटोहरु छिटपुट पीच र स्ल्याब ढलान हुन थालेका छन् । त्यसमा पनि गुणस्तरीयता र एकरुपता छैन । सिंगो उपमहानगरलाई दुई घेरामा फराकिलो चक्रपथ बनाउनुपर्दछ । प्रत्येक वडास्तरमा एकरुप र गुणस्तरका पिच बनाउनुपर्दछ । पाँच वर्षभित्रै वडास्तरका सबै बाटोहरु फराकिलो र पक्की बनाउन सकिनेछ । औद्योगिक क्षेत्र र बस्तीको व्यवस्थापन छैन ।

शहरको वीचमा भएका उद्योगधन्दाहरु जसले प्रदुषण र विभिन्न प्रतिकुलताहरु उत्पादन गरिरहेका छन् । प्रदुषण र फोहोर अनि अस्तव्यस्तताको कारण सिमरा बस्न लायक छैन । अव्यवस्थित प्लटिङले उर्वर जमीन क्षय भइरहेको छ भने जग्गाको मूल्य अकाशिएको छ ।

मैले जापान र कोरियामा देखें, बस्तीहरु मुख्य शहर र बाटोमा छैनन । अलिभित्र पहाडको फेदीमा सबै पूर्वाधार र सुविधाहरुसहित व्यवस्थापन गरिएको । शहरमा व्यवसाय छ, हाइवेको आसपसास व्यवस्थित खेतीहरु छन, ठुलठुला टनेलहरु । किसानहरु टुक्रे र निर्वाहमुखी खेतीमा होइन, हेक्टर हेक्टरमा छन् । कार चढेर आउँछन, अत्याधुनिक यन्त्र र विधिबाट ठूलो पैमानामा उत्पादन र सुपरीवेक्षणमा संलग्न हुन्छन्, साँझ घर र्फकन्छन् । जापानमा कृषि पेशामा ४ प्रतिशत छन, सिंगो जापानलाई पालेका छन् र विदेश निर्यात पनि गर्छन् ।

आज जापानी किसानहरुलाई जापानका शहरहरुमा मात्रै होइन, चीनको बेइजिङलगायत शहरहरुमा ठूलाठूला डिपार्टमेण्टल स्टोरहरुमा देख्न पाइन्छ । हामी त्यसलाई अनुशरण गर्न सक्छौं । हामीसँग डुमरवाना, फत्तेपुर, छातापिप्रा, इनर्वासिरामा उर्वर खेतीका फाँटहरु छन् ।

अव्यवस्थित प्लटिङ रोक्नुपर्दछ, उद्योगधन्दाहरुलाई बस्तीभन्दा टाढा राखिनुपर्दछ । बस्तीहरुलाई आवश्यक पर्ने सबै सुविधाहरुको स्थानीयकरण गर्नुपर्दछ ।

जमिनहरु बढदैनन्, तिनको व्यवस्थापनमा ध्यान दिनुपर्दछ । सबै अव्यवस्थित जग्गाहरुलाई व्यवस्थित गर्ने, सार्वजनिक जमिनहरुको संरक्षण गर्ने र आवश्यक पूर्वाधारहरुको विकासमा ध्यान केन्दि्रत गर्नुपर्दछ । सार्वजनिक जग्गा, नदीनाला र वनको जग्गा अतिक्रमणमा परेका छन् । भूमाफियाहरुको चलखेल पूर्णतः नियन्त्रण गर्ने उपायहरु अवलम्वन गर्नुपर्दछ ।

९. हामीले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण क्षेत्र शिक्षा हो । यो क्षेत्रमा सार्वजनिक तथा निजी शिक्षालयहरु प्रशस्त छन । तीनवटा सामुदायिक क्याम्पसहरु र करीव एक सयको हाराहारीमा विद्यालयहरु छन र सोही संख्यामा निजी विद्यालयहरु छन् । सामुदायिक शिक्षालयहरुमा गुणस्तरीयता कमजोर छ । निजी विद्यालयहरुमा गुणस्तरीयता भए पनि व्यवहारिकता कमजोर छ ।

प्राविधिक तथा स्वरोजगारमूलक शिक्षाको अवस्था शुन्यप्रायः छ । कृषि, पशुपालन, स्वास्थ्य, औद्योगिक, निर्माणलगायतको प्राविधिक जनशक्तिको एकातर्फ खडेरी छ भने अर्कोतर्फ हातमा सीप नभएका शिक्षित र अर्धशिक्षित जनशक्तिको चाप छ । खासगरी सामुदायिक, निजी र सहकारीको अवधारणामा प्राविधिक शिक्षालयहरु स्थापना गरेर स्थानीय रुपमा धेरै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ ।

हामीले नगरी नहुने अर्को महत्वपूर्ण क्षेत्र स्वास्थ्य हो । स्वास्थ्य र सरसफाइप्रतिको जनचेतनालाई फराकिलो बनाउनुपर्दछ । वडास्तरमा प्राथमिक सेवा, प्रसुतीसेवा, सर्पदंश उपचार व्यवस्थासहित एक न्युनतम पाँच शैय्याको स्वास्थ्यकेन्द्र, उपमहानगरस्तरमा न्युनतम ५० शैय्याको सरकारी अस्पतालको व्यवस्था गर्नुपर्दछ । त्यस्तै हरेक घरमा स्वच्छ खानेपानी, अनिवार्य शौचालय र गार्डेनको व्यवस्था गर्नुपर्दछ ।

खेलकुदको सन्दर्भमा हरेक वडामा एक क्लवघर, खेलमैदान, व्यायामशाला अनि उपमहानगरस्तरमा रंगशाला र विभिन्न खेलका लागि आवश्यक हल र सामाग्रीहरुको व्यवस्थापन गर्नुपर्दछ । सिमरामा फुलवल गोल्डकपको निरन्तरता, रंगशालाको पूर्णता र एकाडेमी सञ्चालन अतिआवश्यक बनेको छ ।

१०. हाम्रो सामाजिक एकता र समृद्धिको एक महत्वपूर्ण क्षेत्र सहकारी हो । यो उपमहानगर सहकारीको उर्वर भूमि पनि हो । डुमरवाना, मनहर्वा, इनर्वासिरामा रहेका साना किसान कृषि सहकारी संस्थाहरु, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था, हातेमालो बचत तथा ऋण सहकारी संस्था, समाजसुधार कृषि सहकारी संस्था, सिमरा महिला साकोसलगायत सहकारीहरुमा अहिले यसभेगका करीव २० हजार नागरिकहरु, अर्बौंको कारोवार, सयौंको रोजगारी र हजारौंको स्वरोजगारी सिर्जना गरिरहेका छन । ती सहकारीहरुले वित्तिय सशक्तीकरण, समावेशीकरण र आयआर्जनका क्रियाकलापहरु समुदायवीच चलाइरहेका छन् । उपमहानगरले ती सहकारीहरुसंगको सहकार्यमा समुदायमा गरीवी न्युनीकरण, वित्तीय सशक्तीकरण, आयआर्जन र सानाठूला उद्यम व्यवसाय सञ्चालन गराएर जीवनस्तरमा परिवर्तन ल्याउन सक्छ ।

विशेषतः कृषिको क्षेत्रमा व्यापक काम सहकारीमार्फत हुन सक्छ । स्थानीय तहले सहकारीमार्फत उद्योग व्यवसाय सञ्चालन गर्न र उत्पादन तथा आर्थिक क्रियाकलापमा जोड्न सक्छ । गैरसरकारी संस्थाहरुको माध्यमबाट सामाजिक कार्यमा सहकार्य र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई सामाजिक विकासमा जोडन सकिनेछ ।

११. विकासको परिभाषा पूर्वाधार र सेवाहरु मात्रै होइन, चेतना र सभ्यताको उन्नयन पनि हो । अत्यन्त सचेत र नैतिकतायुक्त समाज विकासवान मानव मानकहरु पनि हुन । उपमहानगरभित्रका सबै बालबालिकाहरुलाई उपयुक्त शैक्षिक वातावरण, युवाहरुलाई सारीरिक सुगठन, योग्यता क्षमता अनुसारको रोजगारी, उद्योग कलकारखानामा सुरक्षित रोजगारी, समाजमा रहेका महिला, दलित, अपांग, सीमान्तीकृत, अल्पसंख्यक र गरीवीको रेखामुनीका समुदायलाई स्थानीय सरकारको अनुभूति हुने गरी अवसरहरुको सिर्जना र त्यसको माध्यमबाट सशक्तीकरण र समावेशीकरणको वातावरण निर्माण गर्न सक्नुपर्दछ । महिलाहरु विशेषतः मधेशी, थारु, दलित, धांगड तथा सीमान्तीकृत समुदायका छोरी बुहारीहरुलाई समाजका हरक्षेत्रमा अग्रभागमा ल्याउनका अवसर र जिम्मेवारीको व्यवस्थापन गर्नुपर्नेछ । मातृशिशु स्याहारलाई थप प्र्रवर्द्धन गर्नुका साथै चेलिबेटी बेचबिखन, महिलाहिंसा, दाइजोलगायत सबै प्रकारका बेथितिहरुलाई शुन्य बनाउनेतर्फ ध्यान पुग्नुपर्दछ ।

१२. हामीसँग उद्योग व्यवसाय र रोजगारीको प्रचुर सम्भावनाहरु छन । राष्ट्रिय गौरवका आयोजनाहरुको सम्पन्नताले उद्योग व्यवसाय, रोजगारी र बहुआयामिक विकासको मार्गप्रशस्त गर्नेछ । त्यस्तै विशेष आर्थिक क्षेत्रले यसलाई एक व्यवसायिक हवको रुपमा अघि बढाउनेछ र अन्य सहयोगी व्यवसायहरु प्रवर्द्धनसंगै हजारौंलाई रोजगारीको अवसर सिर्जना गर्न सकिनेछ । पर्यटन तथा होटल व्यवसायको सम्भावना पनि त्यतिकै प्रचुर छ ।

कृषिको व्यवसायीकरणमार्फत प्रचुर स्वरोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ । परम्परागत सीपमा आधारित उद्यमहरुलाई आधुनिकीकरण गरेर व्यवसाय र स्वरोजगारीका अवसरहरु सिजर्ना गर्न सकिन्छ । हामीले रोेजगारी र स्वरोजगारीका अवसरहरुलाई व्यवस्थापन गर्ने हो भने यहांका कोही पनि युवाहरु रोजगारीका लागि विदेशिनुपर्ने छैन र विदेशिएकालाई फर्काउन सकिन्छ ।

१३. आजको युग सूचना प्रविधिको युग हो । वेवसाइट र सामाजिक सञ्जालको प्रवाह यति तीव्र भएको छ, निमेषभरमा सूचनाको प्रवाह र धारणा विकास हुन सक्छ । हातहातमा मोबाइल, घरघरमा वाइफाई र सञ्चारका अन्य माध्यमहरुको विकासले सूचना, विकास र समृद्धिको प्रवाहीकरण तीब्र बनेको छ । उपमहानगर र नागरिकवीच छोटो र जीवन्त सम्पर्क र सहकार्य स्थापित गर्न सकिन्छ । फ्रि-वाइफाई, आइटी पार्क र अन्य माध्यमबाट प्रविधिको स्थानीयकरण गर्ने र त्यसमार्फत विकासलाई दीगो र प्रभावकारी बनाउन ध्यान दिन सकिनेछ । उपमहानगरमा प्रत्येक नागरिक परिवारको विवरण अनलाइन राख्ने र उनीहरुलाई विद्युतीय रुपमा जोेडने कार्य गर्न सक्दा काम र विश्वसनियता अभिवृद्धि गर्न सकिनेछ । उपमहानगरका लागि आधारभूत पूर्वाधारहरु बसपार्क, सार्वजनिक शौचालयहरु, ल्याण्डफिल्डसाइड, दमकल, पुस्तकालय, वाचनालय, व्यायामशाला, संग्रहालय, गार्डेनहरुको स्थापना र प्रवर्द्धनमा ध्यान पुग्नुपर्दछ । अनि समृद्ध महानगर निर्माणका आधारहरु खडा गर्न सकिन्छ ।

१४. विकास र समृद्धि भनेको राज्यको मात्रै दायित्व होइन । नागरिक समुदायमा तीव्र विकासको जुन अपेक्षा छ, उनीहरुलाई नै विकासको प्रक्रियामा सामेल गर्न सकेनौं भने हामी एकातर्फ सन्तुष्ट बनाउन सक्दैनौं भने अर्कोतर्फ त्यस्तो विकास दीगो पनि हुन सक्दैन । यसमा नागरिकको सहभागिता र अपनत्व पनि अपेक्षित हुन्छ । नागरिक विकासमा सहभागी बन्न चाहन्छ । त्यसको सदुपयोगिता चाहिएको छ, सुशासन र भ्रष्टाचारमुक्त वातावरण निर्माण गर्न सक्ने हो भने विकासका लागि स्रोतको कमी हुदैन । नागरिक सहभागिताको विकास दीगो र सुरक्षित हुन्छ र स्थानीय तहले त्यसको प्र्रत्याभुत गर्नुपर्दछ । त्यस्तै विकास भनेको खर्चमात्रै होइन, लगानीमैत्री पनि हुनुपर्दछ ।

विकासले समुदायको जीवनस्तरमा कति परिवर्तन ल्याउन सक्छ र त्यसले स्रोतहरुको दीगो विकास गर्न सक्छ की सक्दैन भन्ने कुरामा पनि ध्यान पुग्नुपर्दछ । विकासका लागि आवधिक योजना, कार्यान्वयन, समिक्षा, सामाजिक परीक्षण र प्रभाव मूल्यांकन आदि कुराहरु पनि संगसंगै जोडिएर जानुपर्दछ । उपमहानगर बन्न, चल्न र विकासवान हुनका लागि धेरै कुराहरुको आवश्यकता पर्दछ । जसको यथोचित संयोजनका लागि योग्य, क्षमतावान र योजनाकार नेतृत्व चयनका लागि राजनीतिक दलहरु र आम मतदाता उपमहानगरवासीहरु गम्भीर हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment