Comments Add Comment

‘नयाँ मेयरले काठमाडौंका घरबेटीको कठालो समात्न सक्छ’

काठमाडौंका मतदाता अधिकारमुखी भए, उम्मेदवारले एजेण्डा नै बुझेनन्


२६ बैशाख, काठमाडौं । पुल्चोकमा रहेको दुर्गम क्षेत्र विकास समितिको कार्यालयमा पुग्दा सोमबार अपराहृन सो कार्यालयका हाकिम रुद्रसिंह तामाङ नयाँ स्थानीय विकास मन्त्रीको स्वागतका लागि सिंहदरबार जाने तयारीमा थिए ।

रुद्रसिंह काठमाडौं महानगरपालिकाका पूर्वकार्यकारी प्रमुख हुन् । महानगरमा हुँदा उनको चर्चा विद्युत प्राधिकरणका कुलमान घिसिङको भन्दा कम थिएन । हाल उनी स्थानीय विकास मन्त्रालयमा सहसचिव पदमा कार्यरत छन् । र, स्थानीय विकासमन्त्री अध्यक्ष रहने दुर्गम क्षेत्र विकास समितिको सदस्य सचिवको रूपमा थप कार्यभार पनि सम्हालेका छन् । 

हामीले तामाङलाई भेट्नुको उद्देश्य दुर्गम क्षेत्रका विषयमा नभएर सुगम काठमाडौं महानगरका बारेमा कुरा बुझ्नु थियो । महानगरपालिकालाई हाँकेको अनुभव संगालेका तामाङले यहाँभित्रका समस्यालाई कसरी हेरिरहेका छन् ? भावी जनप्रतिनिधिहरुलाई उनको सुझाव के छ ? यसबारे पाठकहरुलाई जानकारी गराउने उद्देश्यले हामीले तामाङसँग कुराकानी गर्‍यौं ।

कुराकानीका क्रममा तामाङले राजनीतिक दलका नेताहरुको मात्रै आलोचना गरेनन्, काठमाडौंका घरबेटीहरुको पनि कडा आलोचना गरे । जहाँ बाटो बन्छ, त्यहाँ घरबेटीले घरभाडा बढाउने गरेको उनले गुनासो गरे ।

अधिकारमुखी सोचाइका काठमाडौंका घरबेटीहरुले आफ्नै घर अगाडिको खाल्डो पुर्न कुनै दायित्व ननिभाएको भन्दै तामाङले अब जित्ने मेयरले घरबेटीहरुको कठालो झ्याप्प समातेर उनीहरुबाट घरबहाल कर उठाउनुपर्ने सुझावसमेत दिए ।

काठमाडौं महानगरका समस्या र स्थानीय चुनावमा देखिएको ‘ट्रेण्ड’बारे रुद्रसिंह तामाङ यसरी प्रस्तुत भएः

तपाईं काठमाडौं महानगरपालिकाको प्रमुखमा कति समय बस्नुभयो ?

२१ महिना ६ दिन जति ।

त्यहाँ त कर्मचारीले कार्यकारीलाई टिकी खान दिँदैनन् भन्ने छ नि ?

त्यो मान्छे हेरेर फरक पर्छ । त्यो मान्छेको काम गर्ने एप्रोचले पनि फरक पर्छ । म अलि फरक अवस्थामा त्यहाँ गएको थिएँ । एउटा मन्त्रीका पालामा ३ वटा कार्यकारी चेञ्ज भएको र म चौंथो कार्यकारीका रुपमा गएको थिएँ । त्यहाँ अलि कार्यकारीको स्थायित्व नभएको अवस्था मै पुगेको थिएँ ।

फरक के पनि भयो भने, म भूकम्पले त्राहिमाम भएका अवस्थमा त्यहाँ गएँ । न बस्ने ठाउँ थियो, न काम गर्ने वातावरण थियो । त्यही अप्ठेरो अवस्थामा मैले जिम्मेवारी सम्हालेकोले महानगरपालिकालाई शुन्यबाट विस्तारै सुधारेर ल्याउने अवसर पाएँ ।

त्यही भएर पनि मलाई संस्थागत रुपमा ठूलो अप्ठेरा दिन आएनन् । मैले त्यहाँ रहँदा नै ३ वटा मन्त्रीसँग काम गरेँ । ५ वटा सचिवसँग काम गरेँ । दुई दिन थप बसेको भए ४ वटा मन्त्री र ६ वटा सचिवसँग काम गर्थेँ । सरुवा हुँदा मेरो आफ्नो पनि रहर हो ।

तर, अरुले जति भोगे, मैले त्यति अप्ठेरो चाँही भोगिनँ । तर, पनि केही अप्ठेरा त भोगिहाँले । केही २०/२५ जनाको कहिल्यै नसुधि्रने खालको समूह छ । यो समूह जुनीमै त्यो समूह सुधि्रने देखेको छैन । त्यसैले मैले सहयोग गर्न सक्नेको टिम बनाएर काम गरेँ । मलाई त्यति अप्ठेरो चाँहि लागेन ।

काठमाडौंको मेयरमा बहालवाला मन्त्री गगन थापा, नवीन्द्रराज जोशीदेखि लिएर एमाले सचिव योगेश भट्टराईसम्मले रहर गरेको चर्चा थियो । पछि ‘लो प्रोफाइल’ का उम्मेदवारहरु मैदानमा उत्रिए । अहिलेका उम्मेद्वारहरु काठमाडौं महानगर हाँक्न सक्ने खालका छन् कि उनीहरुलाई गाह्रो पर्न सक्छ ?

काठमाडौंमा धेरैले रहर गर्नुपर्ने कारणहरु थिए । अहिले पनि एउटा एजेण्डा निर्णयहीन अवस्थामा छ, काठमाडौंलाई मेट्रो सीटीका रुपमा विकास गर्ने । विगतमा हामीले भारतको नक्कल गर्‍यौं । दिल्ली डेभलपमेन्ट अथोरिटीलाई हामीले काठमाडौं उपत्यका विकास प्राधिकरण भनेझै ठ्याक्कै कपी गर्‍यौं । तर त्यहाँ र यहाँ धेरै फरक छ । हामीले धेरै इन्स्िटच्युसनहरु जन्मायौं, अब एउटा युनिट बनाएर काम गर्नुपर्छ भन्दाखेरि यहाँको मेयर बन्न धेरैले रहर पनि गरेका हुन् ।

तर, पछिल्लोेचोटि फेरि काठमाडौं महानगरको साइज खुम्चियो । महानगरको साइज खुम्चिएकै हो । अहिलेको महानगरलाई महानगर बनाउन लायक ठाउँले पुग्दैन । हामी पहिलेकै साइजमा खुम्चियौं ।

महानगरको साइज खुम्चिएकैले काठमाडौंको मेयरमा साना साइजका नेताहरु आएका हुन् त ?

तर, यसका चुनौतीसँगै अवसरहरु पनि छन् । सम्भवतः अब इतिहासको कालचक्रमा समयले, अथवा भवितव्यले नेतृत्व जन्माउने छ । यो चुनावपछि आउने टीम सफल भयो भने राम्रो नेतृत्व जन्मेला । सफल भएन भने एउटा टीमको परीक्षा हुन्छ र भोलिको दिनमा अर्को टीमले ठाउँ पाउला ।

त्यसैले अहिलेको चुनाव भनेको क्षमता नाप्ने एउटा अवसर चाहिँ हो । अहिले हामीले राम्रा भनिरहेका मानिसहरुले पनि भोलि काम गर्न नसक्लान् ।

हिजो महानगरपालिकामा दलीय संयन्त्रमा बसेर लामो समय काम गरेका व्यक्तिहरु नै महानगरको मेयरमा उठेका छन् । उनीहरु पहिल्यै ‘टेस्टेड’ भइसकेका छन् भन्ने पनि सुनिँदैछ नि ? तपाई के भन्नुहुन्छ ?

जतिखेर म महानगरमा गएँ, त्यतिखेर दलीय संयन्त्र कानूनतः खारेज भइसकेको थियो । त्यसो हुनाले मसित उहाँहरुको एक प्रकारको साथीभाइको सम्बन्ध, अनौपचारिक फोरमजस्तो मात्रै भयो । दलीय संयन्त्रको बैठक बोलाइएन । उहाँहरु भन्न त हामी दलीय संयन्त्र हौं भन्नुहुन्थ्यो, तर हामी कानूनतः मान्दैनथ्यौं ।

चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारले उठाउनुपर्ने स्थानीय एजेण्डा उठाएजस्तो लाग्छ तपाईलाई ?

हैन । स्थानीय एजेण्डा उठाउनुपर्छ भन्ने नै मान्छेहरुको दिमागमा छिर्‍या छैन जस्तो लाग्यो क्या मलाई । यसो मैले पत्रपत्रिकामा हेर्छु, धेरैजसो नेताहरुलाई एजेण्डा नै के हो भन्ने पनि थाहा छैन जस्तो लाग्छ । मैले धेरै नेताज्युहरुको भनाइ हेरें । मलाई त दलहरु एजेण्डाविहीन भए कि जस्तो लाग्यो ।

जस्तै- राजनीतिक दलहरुले केन्द्रबाट घोषणापत्र निकाल्न थाले । केन्द्रले घोषणापत्र निकाल्ने होइनजस्तो लाग्छ मलाई । २० वर्षे प्लान केन्द्रले निकाल्ने होइन । जुन तहमा जो निर्वाचन हुन्छ, उसले यो गर्नुपर्ने हो ।

त्यसकारण, केन्द्रदेखि नै हामी दिग्भ्रमित भइरहेका छौं । स्थानीय चुनावमा त महानगरपालिकामा म यो गर्न सक्छु भनेर आधारसहित घोषणापत्र आउनुपथ्र्यो । म यसरी गर्न सक्छु भन्ने प्रमाणसहित आउनुपर्थ्यो  । तर, यो ईस्यु बेसमा आएन । यहाँ त प्रतिस्पर्धा भयो । हिजो हामीले वृद्धभत्ता दिइरहेका थियौं, सरकारले दिइसकेको छ, अब हामी धान्न सक्दैनौं । अब यहाँ म सुन्छु, ६० वर्षमा दिने, भोलि गएर ४० वर्षलाई दिने भन्देला ।

यसरी गलत ढंगको नजिरहरुलाई अगाडि बढाएर भन्दा हामीले आर्थिकरुपमा गतिशील काठमाडौं बनाउनेतिर लाग्नुपर्छ । सांस्कृतिक रुपमा ऐतिहासिक एवं जीवन्त काठमाडौं बनाउनुपर्छ । बस्न लायक काठमाडौं बनाउनुपर्छ । कहीँ न काहीँ भर गर्न सक्ने काठमाडौं बनाउनुपर्छ । एकचोटि घुमौं घुमौं लाग्ने काठमाडौं बनाउनुपर्छ । यो देशको मुटु हो काठमाडौं । यो देशको नेतृत्व काठमाडौंले गर्छ, नेतृत्वकर्ता काठमाडौं होे भन्ने किसिमले आउनुपर्छ । यसरी-यसरी काम गर्छु भनेर १, २, ३ यो यो काम गर्छु भनेर आउनुपर्छ ।
उम्मेदवारले रेल गुडाउनेदेखि, सडक पखाल्नेसम्म कुरा गरेकै छन् त ?

यहाँ त दीर्घकालीन कुरोहरु कसैले गरेका छैनन् । कहिलेकाहीँ धुलो नियन्त्रण गर्छु भन्छन् । धुलो नियन्त्रण दीर्घकालीन लक्ष होइन । दीर्घकालीन लक्ष के हुनुपर्छ भने राम्रो पूर्वाधार विकास । धुलो नियन्त्रण गर्नैपर्दैन । वातावरण मैत्री काठमाडौं बनाउनुपर्छ । पूर्वाधारहरु त्यही अनुसारको बनाइदिनुपर्छ ।

यातायातका साधनहरु इलेक्टि्रक यातायात हो कि, मास ट्रान्जिटमा मोनोरेल, मेट्रो रेल अथवा बसहरु सञ्चालन गर्ने हो कि ? राज्यको दायित्व के हो भन्ने ढंगबाट जानुपर्ने ठाउँमा हामी त धूलो बढारेर दिनका दिन पखाल्छु । मेलम्चीको पानी ल्याएर पखाल्छु भन्नु दीर्घकालीन भिजन होइन । यो त दैनिक गर्नुपर्ने ड्युटी हो । दैनिक गर्नुपर्ने काम एजेण्डा होइन । काठमाडौंलाई दैनिक बढारेर सफा राख्छु, त्यो एजेण्डा होइन ।

कसैले भ्रष्टाचारको विरोधलाई पनि महानगरको एजेण्डा बनाएका छन्….

कोही भ्रष्टाचार नियन्त्रण गर्छु भन्छन् । यो अमूर्त भयो क्या ! के चाहिँ भ्रष्टाचार हो ? काममा ढीलासुस्ती भ्रष्टाचार हो कि ? गर्दिनुपर्ने काम नगरेर भ्रष्टाचार हो कि ? नगुर्नपर्ने काम गरेर भ्रष्टाचार भएको हो कि ? नीतिमा परिवर्तन गरेर हुने भ्रष्टाचार हो कि ? मान्छेहरुलाई प्रष्टसँग भन्नुपर्‍यो क्या !

कोही कोहीका एजेण्डाहरु मैले कस्ता देखें भने २४ सै घण्टा वडा कार्यालय सञ्चालन गर्ने रे Û रातको एक बजे वडा कार्यालय किन चाहियो भन्या क्या ? रातको १ बजे त क्लिनिक खोल्नोस् न । रातको १ बजे त मार्केट खोल्ने व्यवस्था गर्नोस न । रातको १ बजे पुलिस हिँड्ने व्यवस्था गर्नोस् न । रातको १ बजे हिँड्नेहरुलाई बत्ती राखिदिनोस् न । र, रातको १ बजे हिँड्नुपर्‍यो भने मैले बस चढ्न पाउँछु भन्ने ग्यारेन्टी गर्दिनोस् न । किन वडा कार्यालय खोल्ने भन्या क्या ?

मैले नबुझेको हो कि, बुझाउन नसकेका हुन् कि ! स्थानीय तहका एजेण्डाहरुको हामीले प्राथमिकता निर्धारण गर्न सकेनौं । यस्तो भइसकेपछि पब्लिकमा जाने कुराहरुमा हामी अवरुद्ध भयौं ।

यस्तो एजेण्डाविहीन चुनावले देशमा परिवर्तन ल्याउला भन्नेमा तपाई कति उत्साहित हुनुहुन्छ ?

उत्साहित त म उत्साहित छु । म लामो समय स्थानीय विकासमा काम गरेको व्यक्ति हुँ । म ब्युरोक्र्याटका साथै राजनीतिज्ञका रुपमा दोहोरो भूमिकामा पनि काम गरिसकेको व्यक्ति भएको हुनाले उत्साहित हुने ठाउँ चाहिँ छ है ।

काठमाडौंबासीहरु दलका नेता र सरकारी कर्मचारीहरुसँग वाक्क दिक्क छन् भन्ने गरिन्छ । तपाईले महानगरपालिकामा काम गर्दा कस्तो पाउनुभयो ? घर अगाडि खाल्डो पर्‍यो भने धरानमा तुरुन्तै पुरिन्छ, तर काठमाडौंमा किन पुरिन्न ?

एउटा खाल्डो पर्‍यो भने त्यो खाल्डो बनाउनुपर्छ भन्ने कुरा तीन महिनापछि थाहा हुन्छ । तीन महिनापछि त्यहाँ गएर इस्टिमेट गरेर टेण्डर हुँदाखेरि अर्को ६ महिना लाग्छ । ६ महिनापछि त्यहाँ जाँदा हिजोको ३ मिटरको प्वाल ७ मीटरको भइसक्छ । अनि फेरि हामी तीन मिटर टालेर हिँड्छौं । ७ मिटर नै टाल्न त फेरि त्यहाँ भेरिएसन अर्डर गर्नुपर्छ, त्यो पनि १५ प्रतिशत भन्दा बढी पाइँदैन ।

हिजो यो किसिमको विकासको मोडल थियो । तर, मैले केही सुरुवात चाहिँ गरिदिएको छु । काठमाडौं महानगरपालिकामा केही सुधारका कार्यक्रमहरु अघि बढेका छन् ।

जस्तै ?

धरानमा त नगरपालिका र स्थानीय जनताले ५०/५० प्रतिशत लगानी गर्छन् । उस्तै परे जनताले ६० र नगरले ४० प्रतिशतमात्रै बजेट हालेर पनि विकास भएको छ । यहाँ काठमाडौंमा त त्यस्तो छैन ।

सुरुमा मैले भनेको थिएँ, अनलाइनले राम्रो कभरेज पनि गरेको थियो । ७०/३० को प्रोग्राम राख्ने भनेर मैले काठमाडौंमा प्रयास गरें । कसैले ३० प्रतिशत पैसा जम्मा गर्न आयो भने उसले जुनसुकै शीर्षकमा जतिसुकै बेलामा पनि पैसा पाउँथ्यो । महानगरपालिकामा यो प्रोग्राम अहिले पनि छ । म हिँड्ने बेलामा ठ्याक्क स्वीकृत गरेर हिँडेको हो ।

तर, किन काठमाडौंमा यो कार्यक्रम प्रभावकारी भएन ? यहाँका जनता सचेत नभएका त पक्कै होइनन् होला….

काठमाडौंमा त कस्तो अधिकारमुखी कल्चर भयो भने नेतालाई गाली गर्ने, कर्मचारीलाई गाली गर्ने, क-कसलाई गाली गर्नुपर्छ, सबैलाई गाली गर्ने । तर, आफू केही पनि नगर्ने क्या ।

एकचोटि महानगरपालिका कार्यालयमा ठमेलका पर्यटन व्यवसायीहरुको टीम आयो । उनीहरुले हामीलाई १/२ करोडको योजना चाहियो भने । मैले उहाँहरुलाई भनें, एक दुई करोड हैन, म ५ करोड बजेट राखिदिन्छु, तपाईहरुले समग्र ठमेललाई हेर्न लायकको पर्यटकीय विकासको योजना ल्याउनोस् ।

त्यो काम पछि गर्दैजाँदा डेढ करोड पनि खर्च सकिएन । अहिले जम्मा ६० लाखको काम हुँदैछ भन्ने सुनेको छु । दुई वर्षमा पुग नपुग डेढ करोडसम्म खर्च हुन्छ कि ।

किन यस्तो हुन्छ काठमाडौंमा ?

किन भयो भन्दाखेरि व्यवसायीहरु ‘सर अस्ति पीच गरेको, घरबेटीले मेरो त घरभाडा बढायो’ भन्छन् । सरकारले पैसाले त्यहाँका व्यापारीहरुले सडक पीच गर्न खोज्दा त्यहाँका घरबेटीले घरभाडा बढाउँछन् । उनीहरुलाई कुनै दायित्व छैन, आफ्नो घर अगाडि खाल्टो परोस् नपरोस् ।

दरबारमार्गमा तपाई अर्को उदाहरण हेर्नुहोस् । त्यहाँ ढलको ठूलो समस्या छ । त्यहाँ एक करोड रुपैयाँ महानगरले हाल्यो । २० लाख रुपैयाँ त्यहाँका व्यापारीहरुले उठाए । पछि व्यापारीहरु मलाई के भन्दै थिए भने ‘सर २० लाख त हामीले उठायौं, तर यसको कति प्रतिशत भाडा बढ्ने हो, थाहा छैन । उल्टो !

मैले यो आफूले चाहेर पनि सुधार गर्न सक्दैनथें । तर, अबको मेयरले त के हो भने झ्याप्प कठालो समातेर ल्याएर जति प्रतिशत भाडा बढाउँछ, त्यसको अबको १० प्रतिशत बहाल कर नतिर् त । सरकारलाई, महानगरलाई घर बहाल कर नतिर् त । अब त मेयरले यसो गर्न सक्दैन ? अब त सक्छ ।

काठमाडौं महानगरभित्रको कुरा गर्दा त्यहाँ कमिसनको खेल पनि हुन्छ ? महानगरलाई दलका कार्यकर्ताहरुको भर्तीकेन्द्र बनाइएको छ भन्छन् नि ? के यो सही हो ?

हिजोका दिनमा त सबै त्यसैगरी नै चलेको थियो नि । हिजोको कर्मचारीतन्त्रमा त अहिले केही न केही फेरबदल ल्याउनैपर्छ । १८ वर्षसम्म कर्मचारीले मात्रै चलाएर एक किसिमको माइन सेटअप बनेका मान्छेहरुको त मानसिकता परिवर्तन गर्नैपर्छ । यही मानसिकताले अहिलेको कर्मचारीतन्त्रबाट काम गर्न सक्ने स्थिति छैन । मान्छे त्यही होला, तर उसले काम गर्ने शैली परिवर्तन गर्नुपर्छ । अहिलेको प्रभाव र दबावबाट फरक हुनुपर्छ, फरक भएर काम गर्नुपर्छ ।

महानगरपालिकामा त्यो खालको टीम छ ?

त्योखालको टीम त निर्वाचित जनप्रतिनिधिले बनाउने हो । कर्मचारी त एउटा टुल्स हो, साधन हो । गाडीजस्तै हो क्या ! गाडी थोत्रे नै भए पनि सावधानीपूर्वक चलायो भने गन्तव्यमा पुर्‍याउँछ । नयाँ गाडी भए पनि सावधानी अपनाएन भने दुर्घटना हुन्छ ।

काठमाडौं महानगरपालिका नयाँ गाडी हो कि थोत्रे ?

अहिलेको काठमाडौं महानगपालिका भनेको सावधानीपूर्वक चलाउनुपर्ने गाडी हो । सावधानी अपनाउन सक्नुपर्‍यो । त्यो अनुसारको टीम बनाउनुपर्छ ।

अहिलेको टीमले चल्दैन ?

अहिलेको टीमलाई त तपाई सोच्दै नसोच्नोस् न । समग्र रुपमा यो हिजोको टीममा काम गर्ने नै होइन । अबको दिनमा त कृषिको, शिक्षाको, सिंचाइ, सडक, सप्पै चिज त्यहाँ आउँछ ।

त्यसैले अबको मेनपावर भनेको हिजो काठमाडौं महानगरपालिकामा निर्वाचितले राखेका, जाँच दिएर पास भएर आएका, टीका लगाएर स्वतः स्थायी भएकाहरुको सोचमा जानै हुँदैन । यसरी जाने हो भने केही पनि बन्दैन । अबको नेतृत्व भनेको त स्थानीय तहमा निजामती कर्मचारीसमेत भएर, मिसिएर छुट्टै संरचना बन्छ । त्यो संरचनामा नयाँ टीम बन्छ र त्यसले गति लिन्छ ।

काठमाडौंको भावी मेयरलाई तपाई के भन्नुहुन्छ ?

अबको निर्वाचित मेयरले मैले हिजो भोगेको जस्तो अवरोधहरु भोग्नुपर्दैन । मेरा पालामा त मन्त्रीलाई एउटा कुरा भन्नुपर्थ्यो, सचिवलाई एउटा कुरा भन्नुपर्थ्यो । मुख्यसचिवकहाँ एउटा कुरा गर्नुपर्थ्यो । एउटा पार्टीलाई एकतिर कुरा गुर्नपर्थ्यो, अर्को पार्टीलाई अर्कोतिर कुरा गर्नुपर्थ्यो । पत्रकारको एउटा टीम छुट्टै हुन्थ्यो । नागरिक समाजमा अर्को छुट्टै टीम हुन्थ्यो । कर्मचारीहरुका १५ वटा युनियन थिए । मेरा यति धेरै अब्स्ट्रयाकल (अवरोध)हरु थिए ।

हिजोको कानून पनि आजको जस्तो थिएन । हिजो मलाई धेरै ठाउँबाट अवरोध गर्नेखालका कानूनहरु थिए । तर, आज यी चिजहरु त छैनन् नि । पैसा छ । निकाल्न सक्छ । अथोरिटी छ । बोलेको कुरा पुर्‍याउन सकिन्छ । हिम्मत चाहिँ हुनुपर्छ ।

हिम्मत हुनुपर्‍यो र भिजन चाहिँ हुनुपर्‍यो । काठमाडौंको धुलो मुक्त गर्छु भनेर मेरो भिजन हुँदैन । त्यो त मेरो ‘डे टु डे’ काम हो । दैनिक काम हो ।

अहिले हुनेवाला सम्भावित धेरैजना मेयरहरुसँग मेरो राम्रो सम्बन्ध छ । कतिपय हिजोको समयले उहाँहरुलाई सपोर्ट गर्दैनथ्यो । हुन त कतिपय राम्रा उम्मेदवारको भोट नआउला, कतिपय नराम्रा उम्मेदवारको पनि भोट आउला, त्यो आफ्नो ठाउँमा छ । तर, काठमाडौंले एउटा परिपक्व नेतृत्व चाहिँ खोजेको छ है । उरन्ठेउला नेतृत्वको काम छैन ।

किनकि, यो देशको राजधानी शहर हो । यसको इज्जत जोगाउन हामीले पर्छ । यसमा राष्ट्रिय अन्तरराष्ट्रिय प्रभावहरु पनि पर्छ । हाम्रो महानगरपालिकाको अन्तरराष्ट्रिय क्षेत्रमा राम्रो गुडविल पनि हुनुपर्छ । म आफैं महानगरपालिकामा बस्दा पनि तीनवटा विदेशका शहरसँग भगिनी सम्बन्ध बनाएको थिएँ । लोकल कुरामात्रै होइन, अन्तरराष्ट्रिय क्षेत्रमा पनि काठमाडौंलाई कसरी चिनाउने भन्ने सोच्नुपर्छ ।

यहाँले अन्तरवार्ताका क्रममा राजनीतिक दलहरुले चुनावी एजेण्डाको प्राथमिकता नै बुझेनन् भन्नुभयो, तपाईको विचारमा काठमाडौंको चुनावी एजेण्डा कस्तो हुनुपर्थ्यो ?

मैले के भन्छु भने उत्कृष्ठ पूर्वाधारहरु बनाउँछु । काठमाडौंको वातावरण स्वच्छ र सफा राख्छु भन्थें । धुलो त सफा राख्नैपर्छ, बढारेर हुन्छ कि पखालेर हुन्छ कि । कुचो लगाएर हुन्छ कि, पुछेर हुन्छ कि । मैले मान्छे खटाएर सडक बढार्न लगाएँ, भनेर वाहवाही गर्नु ठीक हैन भन्छु । किनकि पब्लिकले त त्यसका लागि पैसा तिरिराखेको छ नि । मेरो खल्तीबाट खर्च गरेर सडक सफा बनाएको हो र ? पब्लिकको पैसा त्यहाँ अव्यवहारिक ठाउँमा खर्च भइराखेको छ ।

तपाईले त त्यहीखालको पूर्वाधार बनाइदिनोस् न । अपाङ्गलाई सरर पब्लिक बस चढ्ने ठाउँमा पुग्ने बाटो बनाइदिनोस् न । संसारको कुनै शहरमा आँखा नदेख्ने व्यक्ति सेतो छडी टकटक टकटक हिर्काउँदै सहरको केन्द्रसम्म पुग्न सक्छ । तर, हाम्रोमा त कुनै पनि ठाउँ व्यवस्थित छैन । हिजो मैले फुटपाथ बनाउनुपर्‍यो भने सडकको अनुमति लिनुपर्थ्यो  । अब त नपर्ला नि ? एउटा ढल फुट्यो भने त्यसलाई फेर्न पनि सडकको अनुमति लिनुपर्थ्यो  ।

त्यसैले अबको दिनमा नयाँ नेतृत्वले यस्तो चिजहरुमा विचार पुर्‍याउनुपर्छ ।

मैले देखेको अर्को कुरा भनेको सुशासन प्रवर्द्धनका लागि अब आइटी बेसमा जानुपर्छ । मैले हिजो धेरै चिजहरुलाई आइटी बेसमा लान खोजेको थिएँ । हामीले अहिले मार्स सिस्टमलाई देशभरि रोलआउट गर्ने भनेका छौं । काठमाडौंमा मैले सुरुवात गरें ।

अब हामी मान्छेले फाइल बोकेर यता उता दौडने भन्दा पनि अब टेक्नोलोजीले ब्याक अप गर्नुपर्छ । अब धेरै मान्छेहरु अगाडि पछाडि राखेर यो स्टिमबाट हुँदैन । अब अनलाइन बेसमा काम गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

काठमाडौंका भित्री शहर मृत भइसके, गरीबलाई बाँच्न गाह्रो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment