Comments Add Comment

पुनर्निर्माणमा महिलाः पुरुषको अभाव पूरा गर्दै, आयस्रोत बढाउँदै

   २६ वैशाख, दोलखा । दोलखा आलम्पु गाविस- ३ निवासी शनिमाया थामीको दैनिकी अहिले बदलिएको छ । घरको कामधन्दा र ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने उनको दैनिक कमाइ पहिले मुश्किलले २ सय रुपैयाँसम्म हुन्थ्यो ।

कतै घर लगायत भौतिक संरचना निर्माण हुँदा उनी ढुंगा-माटो बोक्ने र पानी ओसार्ने जस्ता काम गरेर पुरुष डकर्मीलाई सघाउँथिन् । त्यस्तो कामबाट उनले घर बनाउने तौरतरिका सिक्दै गइन् । ज्यामी वा मजदुरको रुपमा मात्रै संरचना निर्माणमा जुट्ने शनिमाया अहिले भने पुरुष डकर्मी झैं घर निर्माणमा खटिएकी छिन् । घरको योजना बनाउनेदेखि घरको गारो लगाउने कामसम्म उनले अरुलाई सोध्नुपर्दैन ।

गत वर्ष भदौमा आफ्नै गाविसमा सञ्चालित सातदिने डकर्मी तालिम कार्यक्रममा सहभागी भएकी उनी आजभोलि दैनिक ज्याला ५ सय रुपैयाँ पाउँछिन् । तालिम लिएपछि प्राविधिक सीप पाएर आत्मविश्वास बढेको उनको भनाइ छ ।

यता दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ निवासी ३६  वर्षीया विमला बस्नेत ६ महिनाअघिसम्म घरायसी काममै सीमित थिइन् ।

श्रीमान्को निधन भएपछि कहिले ज्याला मजदुरी गरेर दुई सन्तान र सासूको हेरचाह गर्ने विमलाले कुनै दिन घर बनाउने मिस्त्री बन्छु भन्ने सोचेकै थिइनन् ।

गत वर्षको मंसिरमा भीमेश्वर नगरपालिकामा भूकम्प प्रतिरोधी घर बनाउन भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको बलियो घर कार्यक्रमले ५० दिनको तालिम दिने भयो । विमला लगायत ६ जनाले डकर्मी तालिम लिन इच्छा देखाए र ढुङ्गा काट्ने, गारो लगाउनेदेखि नस कस्ने, रड काट्नेसम्मका कुरा सिके । तालिममा भूकम्प प्रतिरोधी घर बनाउने सैद्धान्तिक र व्यवहारिक सीप सिकेकी विमलालाई घरधनीहरुले घर बनाउन बुकिङ गर्न थाले ।

सुरुमा घर बनाउने काम पुरुषहरुको मात्रै हो कि भन्ने सोचे पनि आँट गरेर तालिम लिएकी विमलाले अनुभव सुनाइन्, ‘तालिम लिन लाग्दा गाउँलेहरुले मलाई होच्याएर बोलेका पनि थिए । तर तालिमप्राप्त भएपछि तिनै गाउँले मेरो घर बनाइदेऊ है भन्दै बोलाउन थालेका छन् ।’
शनिमाया र विमला प्रतिनिधि पात्र मात्रै हुन् । भूकम्पका कारण ढलेका घरहरुलाई उठाउन सुरक्षित पुनर्निर्माणको अभियानमा डकर्मीको रुपमा उदाएका महिलाहरु थुप्रै छन् । दोलखा मात्रै होइन, भूकम्पबाट अतिप्रभावित १४ वटै जिल्लामा महिला डकर्मीहरुको संख्या बढिरहेको छ । सरकारसँगको समन्वयमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट सञ्चालित तालिमले महिलाहरुको दैनिकी फेरिएको छ ।

नुवाकोटका महिलाहरु विश्वास आर्जन गर्दै 

समाजमा हालसम्म पनि पुरुषले गर्न सक्ने काम महिलाले गर्न सक्दैनन् भन्ने बुझाइ पाइन्छ । तर, नुवाकोटका महिलाहरु पुरुषसरह नै काम गर्न सकिन्छ र समान ज्याला आर्जन सकिन्छ भन्ने सन्देश दिन कम्मर कसेर लागेका छन् ।

नुवाकोटको थानापति गाविस १ राम्चे बस्ने ३४ वर्षीया रोशनी लामा घर बनाउने काममा संलग्न हुन थालेको तीन वर्ष भइसक्यो । उनी पहिले ज्यामी काम गर्ने र पुरुष डकर्मीलाई सघाउने गर्थिन् । तर, अहिले उनी ४-५ जना महिलाको नेतृत्व गर्दै मुख्य डकर्मीका रुपमा काम गरिरहेकी छन् ।

चार महिनाअघि आफ्नै गाविसमा सञ्चालित सातदिने डकर्मी तालिममा सहभागी भएपछि घरधनीहरुले रोशनीलाई विश्वास गर्न थालेका हुन् । उनी भन्छिन्, ‘तालिम लिनुअघि घरधनीहरु हामीलाई डकर्मीको रुपमा काम दिन हिच्किचाउँथे । अहिले भने धेरै ठाउँबाट घर बनाउन डिमान्ड आइरहेको छ ।’

भूकम्पका कारण हजारौं घर भत्किए पनि घर बनाउने मिस्त्रीको अभाव नै चुनौतीको रुपमा रहेको छ । अहिले उपलब्ध डकर्मीहरुको संख्याले मात्रै पाँच वर्षभित्र घर बनाउन सम्भव देखिँदैन । त्यसैले भर्खर तालिम लिएका नयाँ पुरुष डकर्मीसँगै महिलाहरु पनि घर बनाउने कामबारे चासो दिन थालेका छन् ।

विदुर नगरपालिका वडा नं. ५ माझीटारकी हर्सना खनाल अहिले ५० दिने कार्यगत तालिममा सहभागी भइरहेकी छन् । पुरुषहरु वैदेशिक रोजगारीमा गएकाले कामदार अभाव टार्न महिलाहरु अघि सर्नुपरेको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘गाउँघरमा पुरुष नभेटिने अहिलेको अवस्थामा भत्किएका यी सयौं घर कसले बनाउने ? त्यसैले हामी महिलाहरु पनि पुनर्निर्माणमा संलग्न हुनुपर्छ भनेर तालिम लिन लागेका छौं ।’

पहिले घरधनीहरुको अविश्वासका कारण घर बनाउन सक्ने महिलाहरुले पनि काम नपाउने अवस्था थियो । तर, अहिले डकर्मी तालिमसँगै भूकम्प प्रतिरोधी घर निर्माण गर्न सक्षम भएपछि महिलाहरुले काम पाउन थालेका छन् ।

श्रीमान्सँगै घर बनाउने काममा


केही महिना अगाडिसम्म धादिङको नीलकण्ठ नगरपालिका वडा नं २ भुलभुलेकी सिर्जना गुरुङ ज्याला मजदुरी गरेर गुजारा चलाउँथिन् । घर बनाउने काममा पुरुष डकर्मीहरुलाई सघाउँथिन् र बढीमा २ सय रुपैयाँसम्म ज्याला पाउँथिन् ।

उनका श्रीमान् डकर्मी भए पनि भूकम्पको बेला वैदेशिक रोजगारीमा थिए । गाउँ-गाउँमा हजारौं घर निर्माण गर्नुपर्ने बेला विदेश बसिरहन उनलाई मन लागेन र फर्किए । यता सिर्जना पनि युएसएआईडीको सहयोगमा एनसेटले सञ्चालन गरेको सातदिने डकर्मी तालिममा सहभागी भइन् । अहिले श्रीमान्सँगै सिर्जना भूकम्प प्रतिरोधी घर निर्माण गर्न जुटिरहेकी छन् ।

धादिङका विभिन्न गाविसमा महिला डकर्मीहरुको संख्या बढिरहेको छ । तालिम नलिईकन काम गरिरहेका पनि थुप्रै छन् । तर, भूकम्पपछि भूकम्पप्रतिरोधी घर बनाउँदा सरकारबाट अनुदान पनि सहजै पाउने भएपछि सबैले तालिमप्राप्त मिस्त्रीको प्रयोग गर्न थालेका छन् ।

भूकम्प प्रभावित जिल्लाहरुमा डकर्मीहरुको अभाव देखिरहेको बेला पुनर्निर्माणमा महिलाहरुको बढ्दो सक्रियताले सुखद संकेत दिएको छ । धादिङको दार्खा गाविस वडा नम्बर ८ भोकटेनीकी शान्ति तामाङले भनिन्, ‘भत्किएका घरहरु बनाउन कामदार खोज्दै भौंतारिनुभन्दा जोसँग सीप छ, उनीहरु त घर बनाउन लागिहाल्छन् । हामी जस्ता धेरै सीप नभएकाहरुले पनि सुरक्षित पुनर्निर्माणको लागि अहिले सञ्चालन भइरहेका तालिममा सहभागी भएर घर निर्माणमा लाग्नुको विकल्पै छैन । हामीले नगरे कसले गर्ने ?’

उनी आफैं भूकम्पमा परी घाइते भएकी थिइन् । घाइते भएर पनि घर निर्माणमा संलग्न हुन थालेपछि उनी अन्य महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन् ।

आम्दानीको स्रोत बढ्यो

घरको एक जनाले मात्रै काम गरेर परिवार पाल्नुपर्दा ग्रामीण भेगका परिवारहरुमा आर्थिक दबाव बढी थियो । बढ्दो महँगीमा घर व्यवहार चलाउन समेत गाह्रो परिरहेको अवस्थामा आवास पुनर्निर्माणको अभियानमा महिलाहरु पनि सहभागी हुन थालेपछि त्यस्ता परिवारको जीविकोपार्जन सहज हुन थालेको छ ।

श्रीमान् वा पुरुष सदस्यहरुको मात्रै भर पर्ने गरेका महिलाहरु आफैं घर निर्माणमा संलग्न हुनका लागि तालिममा सहभागी हुन थालेका छन् । तालिम लिइसकेकाहरु धमाधम घर बनाउन जुटेका छन् । यसले उनीहरुको परिवारको आर्थिक अवस्थामा पनि सुधार हुने देखिन्छ ।

तुलनात्मक रुपमा सुस्त गतिमा सञ्चालन भइरहेको पुनर्निर्माणको अभियानमा महिलाहरुको सहभागिताले पनि पाँच वर्षे यो अभियानको गति बढाउन मद्दत गर्ने देखिएको छ । वैदेशिक रोजगारी र शहर केन्द्रित प्रवृत्तिका कारण गाउँमा पुरुष डकर्मीहरु भेट्न समस्या परिरहेको अहिलेको अवस्थामा महिलाहरु डकर्मीको रुपमा सक्रिय हुँदा भूकम्पले ढलेका संरचनालाई समयमै उठाउन ठूलो योगदान हुने अपेक्षा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment