शनिबार, १३ जेठ, २०७४
OnlineKhabar.com

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन अपील गर्छु

अनलाइनखबर

खासमा मौन समय भनेको के हो ? चुनावका बेला ४८ घण्टा किन यस्तो समय छुट्याइन्छ ?

यो मौन समय मतदातालाई निर्वाचनको दिन कसलाई मतदान गर्ने भन्ने निर्णय गर्न दिइएको समय हो । यस अवधिमा मतदातालाई स्वतन्त्र रुपमा छोडिनुपर्छ । यो अवधिमा निर्वाचन आयोगले मतदाता केन्द्रमा बुथ निर्माण गर्ने, मतपेटिका व्यवस्थापन गर्ने काम गर्छ ।

यो मौन समयमा दलका कार्यकर्ताहरुले जनताका घरदैलोमा गएर मतदान गर्ने तरिका सिकाउन मिल्दैन ?

मिल्दैन । किनभने संसारभरिकै अभ्यास के हो भने प्रतिस्पर्धी उम्मेदवारहरुले यो मौन समयमा कुनै पनि राजनीतिक गतिविधि गर्न सक्दैनन् ।

तर, निर्वाचन आयोगले मतदाता शिक्षा राम्रोसँग सञ्चालन गर्न नसकेको गुनासो आइरहेको छ । यसपालि मतपत्र बदर हुने सम्भावना बढी देखिएको हो ?

अहिले हामीलाई पनि मतदाता शिक्षा पुगेन भन्ने लागेको छ, यो स्वाभाविक पनि हो । किनभने, छोटो समयमा हामीले धेरै कुरा गर्नुपर्‍यो । धेरै तयारीका साथै मतदाता शिक्षाका लागि कस्ता-कस्ता सामाग्री बनाउने भन्ने डिजाइन गर्नुपर्‍यो । कसरी गर्ने, कस्तो र कति परिणाममा गर्ने भन्ने निर्णय गर्नुपर्‍यो । त्यसपछि छाप्नुपर्‍यो । मतदाता शिक्षा प्रचारका लागि कर्मचारी नियुक्त पनि गर्नुपर्‍यो । त्यसपछि उनीहरुलाई तालिम दिनुपर्‍यो ।

यही बीचमा निर्वाचनबारे केही अन्योलको वातावरण पनि बन्यो । त्यस्तो वातावरणले पनि निर्वाचन शिक्षामा असर पार्‍यो । पछि एक चरणको निर्वाचनलाई दुई चरणको निर्वाचन बनाइयो । यसले गर्दा आयोगले अप्ठेरो महसुस गर्नुपर्‍यो । यसकारण हामीले मतदाता शिक्षालाई सकेसम्म जोड दिएका छौँ ।

मुख्यतः निर्वाचन शिक्षाका लागि राजनीतिक दल र तिनका उम्मेदवारहरु बढ्ता जिम्मेवार हुन्छन् । उनीहरुले सकेसम्म आफ्ना कार्यकर्ता मार्फत घरघरमा गएर आफ्ना मतदातालाई मतदाता शिक्षा सिकाउने काम गरेका थिए । त्यो अभियानले केही सुधार होला भन्ने अपेक्षा छ ।

आयोगले पनि करिब २३ हजार मतदाता शिक्षा कार्यकर्तालाई घर-घरमा खटाएको छ । आयोगले सबै प्रकारको मतदाता शिक्षा दिएकाले मतदाता शिक्षा केही हदसम्म सुधार होला । किनकि निर्वाचन आयोगले नमूना मतपत्रमा सिकाएको छ । हरेक मतदान केन्द्रमा गएर सिकाएको छ । अर्को पक्ष मतदाताले पनि कसरी मतदान गर्ने भन्नेमा चासो राखेका छन् ।

अहिले आयोगले तयार पारेको मतपत्रलाई सजिलो भन्ने कि अप्ठ्यारो ?

यसपटकको निर्वाचनमा मतपत्र केही अप्ठेरो छ । एउटा मतदाताले एकै पटक ७ जना उम्मेदवारलाई मत दिनुपर्छ । यसका लागि हाम्रा मतदातासँग राम्रो अभ्यास पनि छैन । पुराना मतदातामा समेत अनुभव छैन भने नयाँ मतदातालाई यसको मेसो पनि छैन । यसले गर्दा बदर नगरी मतदान गर्नु मतदाताका लागि मुख्य चुनौतीको विषय हो ।

मतदाता शिक्षाको समय पनि सकिइसक्यो, अबको दुई दिनमा बदर मत घटाउन के गर्न सकिएला ?

अब आयोगसँग घर-घरमा गएर मतदाता शिक्षा दिने समय सकिएको छ । हामी सबै घरमा पुग्न पनि सकेनौँ । अब मतदाताले मतदानका लागि जाँदा कम्तिमा कसरी मतदान गर्नुपर्छ भन्नेमा ध्यान दिनुपर्‍यो ।

मतदान गर्ने क्रममा के-के कुरामा सावधानी अपनाउनुपर्छ भन्ने जस्ता कुराहरु मतदाताका लागि निकै महत्वपूर्ण विषय हुन् । अब भनेको हरेक शिक्षित मतदाताले आफ्नो घरमा आफ्ना अविभावकलाई मतदान गर्ने तरिका सिकाउँछन् भन्ने आयोगको विश्वास छ ।

म यो अपील पनि गर्न चाहन्छु कि तपाईहरुले मौन समयमा पनि आ-आफ्नो परिवारका सदस्यलाई एकपटक मतदान गर्ने तरिका सिकाउनुहोला । यति गर्न सक्दा पनि बदर मत प्रतिशत घट्न जान्छ ।

अब निर्वाचनका अन्य तयारीका विषयमा कुरा गरौं, यो निर्वाचनमा हुलदंगा र धाँधली हुने सम्भावना कत्तिको छ ? र, त्यसलाई रोक्न आयोगको पूर्वतयारी कस्तो छ ?

निर्वाचनमा प्रतिस्पर्धा हुने र हरेक खेलाडीले जित्न चाहने भएकाले केही घटना हुन सक्छन् । यस्ता दुर्घटना रोक्न हामीले वडा स्तरसम्म प्रहरी संयन्त्र पुर्‍याएका छौँ ।

हामीले राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि बोलाएर निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र निर्वाचन सुरक्षा निश्चित गर्न प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएका छौँ । उहाँहरुले जारी गरेको प्रतिवद्धताका आधारमा पनि धाँधली हुन्न भन्ने आयोगलाई विश्वास छ ।

तर, आयोगले आफ्नो सुरक्षा सयन्त्रलाई प्रभावकारी बनाएको छ । कुनै पनि त्यस्तो घटना हुन दिदैनौँ, यो निर्वाचन आयोगको प्रतिवद्धता हो । म तपाईको अनलाइनमार्फत निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरुलाई सहयोगको अपील पनि गर्छु ।

तर, दोलखा, रुकुम गोरखा लगायतका जिल्लाको स्थितिलाई हेर्दा त कसरी विश्वस्त हुने ?

दोलखा घटनापछि आयोग निकै संवेदनशील भएको छ । हामीले अहिले सुरक्षा सतर्कता उच्च राखेका छौँ । अहिले आयोगले चनाखो भएर निर्वाचन सुरक्षामा जोड दिएको छ । आयोगले सुरक्षा निकायलाई कहिँ कतै झडपको स्थिति आउन नदिन निर्देशन दिएको छ ।

आयोग र सुरक्षाकर्मीको आँखा छल्दै कुनै दलका कार्यकर्ताले निर्वाचन आचार संहिता विपरीत काम गर्छन् भने आयोगले त्यस क्षेत्रको उम्मेदवारी खारेजसम्म गरिदिन सक्छ । त्यसैले दलहरु सचेत हुन् भन्ने मेरो आग्रह छ ।

मेरो अर्को आग्रह के छ भने निर्वाचनका बेलामा यस्ता दुर्घटनाहरु केही बढ्छन् । तर, अन्य अपराधिक क्रियाकलापलाई पनि निर्वाचनसँगै जोडेर विश्लेषण गरिने गरिएको छ, यसैले निर्वाचन सुरक्षाको कुरा गर्दा अर्को अपराधिक क्रियाकलाप पनि नियन्त्रण गर्नुपर्ने हुन्छ ।

उसोभए बैशाख ३१ गते बिहानैदेखि मतदाताहरुले ढुक्क भएर मतदान केन्द्रमा जाने र मतदान गर्ने स्थिति बनेको छ ?

म प्रमुख निर्वाचन आयुक्तको हैसियतमा मतदातालाई विश्वास दिलाउँछु, तपाई ढुक्क भएर मतदाता केन्द्रमा गएर मतदान गर्नुस् । तपाईले कुन उम्मेदवारलाई मतदान गर्ने हो, त्यो कुरा बैशाख ३१ गते बिहानै निर्णय गर्नुस् । तर, तपाईले आफूबाहेक त्यो निर्णय कसैलाई पनि नभनिदिनुस् । मतदान अघि र मतदानपछि पनि कसलाई मत दिने र दिएँ भनेर नभनिदिन मतदातालाई आग्रह गर्छु ।

मतदाताको उक्त सहयोगले निर्वाचन सुरक्षा व्यवस्थापनमा धेरै सहयोग पुग्छ । र, अर्को कुरा मतदान गरिसकेपछि कोही पनि मतदाता त्यस आसपास नबसिदिनुहोला । मतदाताले यति गरिदिनु भयो भने निर्वाचनमा कुनै धाँधली र निर्वाचन असुरक्षाको प्रश्न उठ्ने ठाउँपनि बाँकी बस्दैन ।

निर्वाचनका बेलामा मतदाताहरुले ख्याल गर्नुपर्ने थप विषयहरु के हुन् ?

हरेक मतदाताले बुझ्नुपर्छ कि तपाईको एउटा मतले कस्तो मान्छे निर्वाचित हुन्छ भन्ने निर्णय हुन्छ । तपाईको एक मतले तपाईको भाग्य र भविश्यको फैसला हुन्छ । त्यसैले आफ्नो मतलाई अर्काको लहैलहैमा जथाभावी प्रयोग नगर्नुस् । त्यसमा कतै कसैको अवरोध हुँदैन । गत निर्वाचनको अनुभवलाई हेर्दा पनि त्यस्तो अवरोध भएको पाइँदैन । किनकि निर्वाचनमा खटिएका सुरक्षाकर्मी सतर्क अवस्थामा हुन्छन् ।

अब अलिकति फरक प्रशंगतिर जाऔं, निकै छोटो समयमा चुनावको तयारी गर्नुपर्दा आयोगले भोगेका कठिनाइ र चुनौती के के हुन् ?

सरकारले छोटो समयमा निर्वाचन मिति घोषणा गर्दा निकै अप्ठ्यारो थियो । केही च्यालेञ्ज पनि थियो । तैपनि आयोगले सबै चुनौतीहरु व्यवस्थापन गर्दै निर्वाचन व्यवस्थापन राम्रो गरिरहेको छ । मुख्यतः अहिले मतदाताको संख्या बढेको छ । यसपटक हामीले सबै मतदातालाई नयाँ मतदाता परिचय पत्र दिनुपर्ने थियो । यो चुनौतीपूर्ण काम थियो । हामीले यो काम समयमा सम्पन्न गरेका छौँ । मतदाता परिचयपत्रको छपाइ समयमै सकेर वितरणको काम भइरहेको छ ।

स्थानीय तहको निर्वाचन गराउँदै गर्दा दलीय सहमति र असहमतिका विषयहरु पनि हामीले देखिरहेका छौँ । संविधान जारी भएदेखि नै राजनीतिक असमझदारीको विषय रहेको छ । त्यो दलीय वातावरणले निर्वाचनका लागि निकै अप्ठेरो थियो । तर, पछिल्लो समयमा दलहरुको प्रयासमा दलीय सहमतिको वातावरण राम्रो बन्यो ।

छोटो समयमा निर्वाचन व्यवस्थापन गर्दा मतपत्र छाप्नु थियो । परिचय पत्र छाप्यौँ । कर्मचारी व्यवस्थापन गर्‍यौँ । सामाग्री व्यवस्थापनमा चुनौती थियो । निर्वाचनका लागि आवश्यक सबै सामाग्रीहरु बाहिरबाट लिनुपर्ने थियो ।

यतिसम्म कि त्यो छोटो समयमा सियो धागोसम्म पनि बाहिरी देशबाट किन्नुपर्ने स्थिति आयो । हामीलाई आवश्यक हरेक बन्दोबस्तीको व्यवस्थापनमा पनि चुनौती थियो । जनशक्ति व्यवस्थापनमा पनि जटिलता आयो ।

चुनावमा खटिने कर्मचारीको व्यवस्थापनमा के-कस्ता चुनौती आए ?

यसपटक कर्मचारी व्यवस्थापन गर्दा निकै अप्ठेरो भयो । कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने, सुगममा भने सबै जान चाहने । कर्मचारीमा यस्तो खालको ट्रेण्ड देखियो । कोही कर्मचारीले जान नपाएर असन्तुष्टि पोखे, केहीले जानुपर्‍यो भनेर असन्तुष्टि पोखे । मतदान अधिकृत र निर्वाचन अधिकृत दुवैको हकमा यस्तो भयो । यसले जनशक्ति व्यवस्थापनमा निकै गाह्रो भयो ।

तैपनि आयोगले निर्वाचन व्यवस्थापनको काम सकेको छ । अहिले हरेक मतदान केन्द्रमा मतदान अधिकृत पुगिसकेका छन् ।

आचार संहिता उल्लंघनका घटनाहरु बढिरहेको सुनिन्छ, निर्वाचन आचारसंहिता कार्यान्वयनको स्थितिलाई ०७० को चुनावसँग तुलना गर्दा अहिलेको कस्तो पाउनुभयो ?

आचार संहिताको सम्वन्धमा भन्दा तुलनात्मक रुपमा भन्दा राम्रोसँग पालना गरेको देखिएको छ । पूरै पालना गरेको मैले पनि भन्दिनँ । किनभने म आफैँ अनुगमनमा जाँदा पनि आचारसंहिता उल्लंघनका घटना देखेर कारबाही गरेको छु । त्यसैले निर्वाचनमा सतप्रतिशत पालना नभए पनि ०७० सँग तुलना गर्दा राम्रो छ । आशा गरौँ, आचार संहिता कार्यान्वयनको स्थिति अझै सुदृढ भएर जानेछ ।

यो स्थानीय चुनावमा मिडिया र सामाजिक सञ्जालको भूमिका कस्तो रह्यो ?

मिडियाको भूमिका राम्रो छ । कहिलेकाँही अलिकति बाहिर गएको हो कि भन्ने पनि लाग्छ । तर, समग्रमा हेर्दा निर्वाचनको वातारवण बनाउन र निर्वाचन शिक्षा प्रभावकारी बनाउन मिडियाको विशेष भूमिका छ ।

सामाजिक सञ्चालले पनि चाँडै सन्देश पुर्‍याउने भएकाले भूमिका सकारात्मक छ । तर, सामाजिक सञ्चालले कहिलेकाँही सीमा नाघेको देखिन्छ । निर्वाचन आयोगले विभिन्न माध्यमबाट त्यस्ता विकृत पक्षलाई रोक्ने कोसिस पनि गरिरहेको छ ।

एउटा चिन्ताको कुरा के हो भने मिडियाको प्रचार-प्रसार शहरी क्षेत्रमा केन्दि्रत भयो । त्यसो हुँदा निर्वाचन शिक्षा शहरी क्षेत्रमा जति प्रभावकारी भयो, गाउँ-गाउँमा त्यस्तो छैन । मलाई गाउँ क्षेत्रमा बदरमत प्रतिशत बढ्छ कि भन्ने चिन्ता छ ।

२०७४ वैशाख २९ गते २३:१८ मा प्रकाशित (२०७४ वैशाख ३१ गते १५:५८मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • nayabichar लेख्नुहुन्छ    |   २०७४ जेठ २ गते १६:३४

    gaunpalika nirbachan adhikrit ko office ma yogya ra dakchha staff ra spaceko avable mat ganana slow vayo.

    1
    0
    Share

  • राजन लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते १७:४७

    यो अन्तरबार्ता लीईने को खाते पर्नु भयो, यसो कुनै कुनामा लेख्दिएको भए राम्रो हुन्थ्यो कि?

    0
    0
    Share

  • नारायण लेख्नुहुन्छ    |   २०७४ जेठ ६ गते २०:२९

    सरकारले एक पछि अर्को चुनावलाइ प्रभावित गर्ने निर्णय गर्दा चुनाव अायोग चुप लागेर बस्नु धाँधली हो कि होइन ।
    सत्ताधारी र निर्वाचन अायोगको गठजोड हो कि होइन ??
    अार्थीक वर्षको अन्त्यमा तथाकथीत अाचारसँहीताको नाममा गाउँमा काम गर्न नदिने तर दिनदिनै मन्त्रीपरिषद्मा मन्त्री नियुक्त गर्नु धाँधली हो कि होइन ।
    चुनावको मुखमा करोडोैँ रकम विषेश क्षेत्रलाइ रकमान्तर गर्नु अनि चुनाव अायोग कानमा तेल हालेर बस्नु के हो ?
    चरम अात‌कका फाैजदारी मुद्दा फिर्ता लिने निर्णय गर्दा के हेरेर बसेको छ यो अायोग ?

    0
    0
    Share

  • kurinpari लेख्नुहुन्छ    |   २०७४ जेठ १० गते ६:३३

    karmachari ko britibikas ma acharsanhita ko naun ma roknu ghor annyaya vayo.

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this