Comments Add Comment

स्थानीय चुनावको भवितव्यः क्रस भोटिङ, तालमेल र बदर मत

आयोगले ध्यान दिएन, नेताले पनि भोटमात्रै मागे

रामेछापको लिखु गाउँपालिका वडा नम्बर १ त्रिपुरेश्वर मावि दुरागाउँ मतदान केन्द्रबाट बाहिरिँदै गर्दा एक महिलाले भनिन्- लहरै ६ वटा छाप लाएँ, अन्तिममा दुईवटा सूर्यमा दुई छाप लाएँ । जम्मा ८ वटा छाप हानें ।

उनीभन्दा अलि पछाडि निस्किएका अर्का एक मतदाताले पनि अन्तिममा दुईवटा रुखमा दुई छाप लाएको निकटस्थलाई सुनाए ।

यो जानकारी हामीलाई पत्रकार माधव पौडेलले मतदानस्थलबाट दिएका हुन् । पौडेलले भने- यसपालि धेरै मत बदर हुने देखिएको छ । सबै पार्टीका प्रतिनिधिहरु बदर मत बढ्ने चिन्तामा छन् । आफ्नै मतदाता बाहिर आएर यसरी मत दिएँ भन्दा उम्मेदवार र नेताहरु थक्थकाइरहेका छन् ।

यी दृष्टान्तले के देखाएको छ भने यसपटक स्थानीय तहको निर्वाचनमा खसेका मतहरु उल्लेख्य रुपमा बदर हुने सम्भावना देखिएको छ ।

बदर मत कम गर्न विगतमा जस्तो निर्वाचन आयोगले घर-घरमा शिक्षक र स्वयंसेवी खटाएर मत हाल्ने तरिका नसिकाएका कारण पनि बदर मत बढ्न सक्ने देखिएको हो ।

शहरमा पनि उस्तै

काठमाडौं महानगरपालिका वडा नम्बर ६ को कैलाश बोधी स्कूलको मतदान केन्द्रबाट मतदान गरेकी एक बृद्ध महिलालाई एमालेका कार्यकर्ताले सोधे- ‘भोट त मिलाएर दिनुभयो नि ? एमाले समर्थक ती महिलाले भनिन्- अँ सातै सूर्यमा भोट दिएँ, अन्त त हातै जाँदैन ।’

उनलाई एमाले र राप्रपाबीच तालमेल भएको र उपमेयरको मत गाईमा दिनुपर्छ भन्ने जानकारी एमालेका स्थानीय कार्यकर्ताले गराएका थिएनन् । त्यसैले एमालेको उम्मेदवार नै नभएको उपमेयरको ठाउँमा समेत उनको मत गयो । त्यो मत बदर नभए पनि औचित्यहीन हुने भयो ।

अर्को उदाहरणका लागि पोखरा महानगरपालिकालाई पनि लिन सकिन्छ । पोखरामा माओवादी केन्द्रले कांग्रेसका मेयरलाई समर्थन गरेको छ । तर, उपमेयरमा कांग्रेस र माओवादी दुवै पार्टीका उम्मेदवार छन् । सामान्य मतदाताले जुन पार्टीप्रतिको आस्था हो, मेयर र उपमेयरमा उसैलाई मत दिन सक्छन् ।

बदर मतले परिणाम उल्टोपाल्टो पारिदिने चिन्ता

राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरुले पनि मतदातालाई भोट हाल्न सिकाउने भन्दा पनि भोट माग्नेमै आफूलाई केन्दि्रत गरे ।

बदर मतकै कारण धेरै ठाउँमा मतगणनाका क्रममा समस्या आउने र अवरोध उत्पन्न हुने अवस्था पनि आउन सक्ने देखिन्छ ।

गाउँमा मात्र होइन, शहरी मतदातामै पनि मतदानको बारेमा ज्ञान कम देखियो । शहरकै पनि उल्लेख्य संख्यामा मत बदर हुने सम्भावना देखिएको छ । दलहरुबीच तालमेल भएको स्थानमा अझ बढी मत बदर हुन सक्ने देखिएको छ ।

कांग्रेस र माओवादीबीच तालमेल भएका ठाउँमा पनि यस्तै बदर मतहरु खसेका छन् ।

क्रस भोटको संख्या पनि बढ्ने

क्रस भोट गर्नेहरुको झनै ठूलो संख्यामा मत बदर हुने देखिएको छ । आफूलाई पार्टी मन नपरे पनि चिनेको व्यक्तिलाई भोट हाल्ने क्रममा कति नम्बरमा भन्ने थाहा नपाएर एकै लहरमा दुई चिन्हमा मत गएको धेरैको आशंका छ ।

तालमेल भएका ठाउँमा मतदाताले दुवै पार्टीका चुनाव चिन्हमा उम्मेदवार अनुसार मिलाएर मत दिन नजान्दा बदर मतको संख्या बढ्न सक्ने पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् । सात चिन्ह मध्ये जुन जुन कोठामा लगाएको मत बदर हुन्छ, ती मात्रै बदरमा गनिने र अरु पदका मत सदर हुनेछन् ।

धेरै ठूलो र लामो मतपत्र, चुनाव चिन्ह दायाँ र बायाँ हुनु अनि क्रस भोटिङ, तालमेल र सातौं लहरमा दुईवटा चिन्हका कारण बदर मत बढ्ने सबै दलका उम्मेदवारहरु पनि स्वीकार गरेका छन् ।

मतगणनाका क्रममा यही कारण धेरै झमेला हुन सक्ने देखिन्छ ।

यी पनि पढ्नुस्

चार महानगरमा कसले मार्ला बाजी ?

पहिलो चरणको चुनावः ६ सन्देश, केही प्रश्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment