Comments Add Comment

कम उमेरका जागरुक मतदाता ! सुनौं कसलाई भोट हाले ?

काठमाडौंमा युवा पुस्ताको रोजाइ-पार्टी हैन योग्यता

आइतबार अपराह्न १ बजेको चर्को घाम । काठमाडौं महानगरपालिका वडा नम्बर १० मा पर्ने रत्नराज्य मावि मतदान केन्द्र पुग्दा भोट हाल्नेहरुको चाप घट्दो क्रममा थियो ।

भोट हालिसकेकाहरु परिवार र आफन्तलाई कुरिरहेका थिए । कोही भोट हाल्ने दिनलाई उत्सवका रुपमा लिँदै साथीभाइसँग गफिँदै थिए । कतिपय भने मताधिकारको प्रयोग गर्न घरका पाका सदस्यहरुलाई मतदान केन्द्रमा धमाधम ल्याइरहेका थिए ।
हामी स्थानीय चुनावमा अधबैंसे र पाका सदस्यहरुको उत्साह नियाल्दै तन्नेरीहरुका तर्कना सुन्ने सुरमा हिँडेका थियौं ।

अनलाइनखबरले खोजेजस्तै टन्टलापुर घाम छल्दै एउटा पसलको आडमा बसेका भेटिए एक हुल तन्नेरी ।

त्यो हुलमा भर्खरै भोट हालेर सुस्ताइरहेका सहोदर दिदी-भाइ नै रहेछन् । नाम पनि सुशीला श्रेष्ठ, २३ र सुशील, २२ ।

सुशीलाले यसअघि दोस्रोे संविधानसभा निर्वाचनमा भोट हालिसके पनि उनका भाइले पहिलो पटक चुनावमा भोट हालेका हुन् । पहिलो पटक भोट हाल्दाको अनुभव सोध्दा उनी निकै उत्साहित सुनिए ।

‘छुट्टै किसिमको रमाइलो लागिरहेको छ’, वडा नम्बर १० बानेश्वर निवासी सुशील आफ्नो मताधिकारको सदुपयोग हुनेमा ढुक्क देखिए, ‘आफ्नो ठाउँको विकास हुन्छ कि भनेर भोट हालेको हो, चेन्ज हुन्छ होला ।’

भनेका बेलामा सवारी साधन नपाइने, सडकमा जाम हुने, धारामा पानी नआउने, फोहोर लिन महानगरको गाडी समयमा नआउने जस्ता समस्याले यी किशोरलाई बिझाएको रहेछ ।

संविधानसभा चुनावमा भोट हालिसकेकी सुशीलाले पनि आफ्नो ठाउँको विकाससँग जोडिएको चुनाव भएकाले यसलाई अझ विशेष रुपले हेरेकी रहिछिन् ।

जुन पार्टीको उम्मेदवारले जिते पनि आफ्नो ठाउँजस्तै अरु ठाउँहरुको विकास भएर देशको विकास हुने सुशीलाको धारणा छ । उनले पनि धुलाम्मे सडक, यातायात असुविधा, थोत्रा गाडी, भित्री गल्लीसम्म सडकबत्तीको अभाव जस्ता कुरालाई समस्या देखेकी छिन् ।

कुन उम्मेदवार कस्तो भनेर घर सल्लाह भए पनि यी दिदी-भाइले आफ्नै विवेक प्रयोग गरेर भोट हालेको सुनाए ।

माइक्रो बायोलोजीमा बीएस्सी गरेर हाल स्कूलमा पढाउँदै आएकी सुशीलाले कक्षामा पढाएजस्तै खरर्र भनिन्, ‘राइट टु भोट भन्ने कुरा अनुसार आफैंले सोचेर भोट हालियो । पहिले नै केही काम गरिसकेको अलि अनुभवी र त्यो पोजिसनका लागि सही मान्छे हो कि होइन भन्ने विचार गरेर भोट हालेकी हुँ ।’

रत्नराज्य स्कुलकै सामुन्ने भेटिएका २४ वर्षीय सशांक ढुंगेलको विचार पनि सुशीलाको जस्तै देखियो ।

०७० सालको संविधानसभा निर्वाचनपछि यसपालि दोस्रोपटक मताधिकारको प्रयोग गरेका ढुंगेललाई जनताको आवाज सुन्ने प्रतिनिधि छान्ने भएकाले यो चुनाव विशेष लागेको छ । यसैले उनी यसपालि भोट हाल्ने कुरामा निकै रोमाञ्चित थिए ।

‘पहिलाको चुनावमा भोट हालिसकेपछि चुनिएको व्यक्ति फर्केर आएजस्तो लाग्दैन । तर, यो स्थानीय चुनावमा जसलाई चुनिन्छ, केही समस्या पर्‍यो भने उहाँसामु आफ्नो समस्या भन्न जान पाइन्छ नि !’

कतिपय युवा ‘यी नेताहरुले आखिरमा गर्ने केही हैनन्, बेकारमा किन धाएर भोट हाल्ने’ भन्ने सोचाइ राख्छन् । तर, ढुंगेलले भने भोट हालिसकेपछि आफ्ना प्रतिनिधिलाई प्रश्न पनि गर्न सकिन्छ भनेर आफ्नो मताधिकारको प्रयोग गरेको बताए ।
ढुंगेलले वडा तहका उम्मेदवार चयन गर्नुअघि वानेश्वर क्षेत्रमा कत्तिको लागिपरेको मान्छे हो, कत्तिको सबैको कुरा समेट्ने मान्छे हो भन्ने विचार गरेका रहेछन् ।

‘जसले काम गर्न सक्छ जस्तो लाग्छ, त्यसलाई हाल्ने हो’, उनले भने ।

शहरलाई सडक, खानेपानी जस्ता समस्याले पिरोलिरहँदा हाल पुतलीसडकमा चार्टर्ड एकाउन्टेन्ट पढिरहेका ढुंगेलले युवाहरुको रोजगारीको समस्यालाई दलहरुले सम्बोधन गर्नुपर्ने बताए ।

सुरुमा लजालु हुँदै बोल्न सुरु गरेकी १९ वर्षीया सृष्टि अधिकारीको कुरा पनि सुनिहालौं ।

ममीसँगै भोट दिन आएकी उनी ‘मलाई बोल्न आउँदैन’ भनेर हिच्किचाएपछि ममी गोमा अधिकारीले ढाडस दिइन्, ‘बोल न बोल, म सिकाइदिन्छु ।’

ममीले नै जोड गरेपछि अनलाइनखबरसँग बोल्न राजी भएकी उनले त्यसपछि भने संकोचलाई टाढै राखिन् । आखिर मताधिकारको प्रयोग गर्ने उमेरकी वालिग न ठहरिइन् !

जीवनमा पहिलोपटक भोट दिएकी उनले उम्मेदवारलाई भोट हाल्नेबारे बुवा-ममीसँग सल्लाह लिएकी थिइन् । तर, मतदान केन्द्रको बुथमा पुग्दा भने उनले आफ्नै विवेकको ढोका ढक्ढक्याइन् ।

अघिकी लजालु सृष्टिको वाक्य यसपालि मजाले खुल्यो, ‘आफूलाई जो चाहिँ सक्षमजस्तो लाग्यो, उसैलाई भोट हालेँ ।’
सही उम्मेदवार छान्न उनले के कुरालाई आधार बनाइन् त ?

भोटिङको कालो मसी दलेको औंला गर्वसाथ देखाउँदै उनले सुनाइन्, ‘उम्मेदवारहरुको ब्याक ग्राउन्ड, पहिलाको अनुभव र अन्य उम्मेदवारसँग कम्प्यारिजन गरेर राम्रो उम्मेदवार छानेँ ।’

उनकी आमा गोमा (४०) ले पहिले पार्टी अनुसार भोट हाले पनि यो स्थानीय चुनावमा योग्य उम्मेदवारलाई भोट हालेको बताइन् । ‘पार्टीले नातावाद र कृपावाद गर्दो रै’छ अनि सबैमा क्षमता पनि हुँदोरहेनछ । योग्य व्यक्तिले चाहिँ केही गर्न सक्छ कि भनेर यसपालि परीक्षण गर्न मन लाग्यो ।’

२८ वर्षीय प्रज्वल ढकाल भने स्थानीय चुनावमा भोट हाल्नकै लागि हतारिएर कतारबाट काठमाडौं झरेका रहेछन् । कतारस्थित नेपाली दूतावासमा काम गर्ने बुवाको कार्यकाल सकिएसँगै चुनावमा भोट हाल्न भ्याउने गरी शनिबार मात्रै उनी काठमाडौं आएका हुन् ।

उनले फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा उम्मेदवारहरुको भाषण र प्रचार सामग्री हेरेर उपयुक्त उम्मेदवारको टुंगो लगाएको सुनाए । ‘यो पालि त्यति नाम नसुनेका नयाँ र युवा मान्छे पनि उम्मेदवार उठेका रहेछन् । मलाई त नयाँमाथि विश्वास लाग्यो’, उनले सुनाए ।

वडा तहमा भने उनले घरसल्लाह अनुसार चिनेकै उम्मेदवारहरुलाई भोट हाले ।

धेरैले पहिल्याएजस्तै सडक, यातायात जस्ता कुरालाई समस्या देख्ने उनले रोजगारी अभावलाई युवाहरुको मूल समस्या औंल्याएका छन् । ‘मुख्य समस्या जब पाइँदैन, अब जब खोज्नुपर्नेछ’, उनले भने, ‘अब जितेर आउने उम्मेदवारहरुले ‘रोजगारी उत्पादनमा पनि केही केही गर्लान् कि भन्ने आश छ ।’

त्यस्तै युके रिटर्न सरिता श्रेष्ठले यसअघिका संविधानसभा निर्वाचनमा देश बाहिरै रहेकाले यसपालि पहिलोपटक भोट हालेकी हुन् ।

जोश-जाँगरसहित उत्साहित मुद्रामा देखिएकी उनले भोट हाल्दा रमाइलै लागेको अनुभव साटिन् । ‘घरपरिवारले कसलाई भोट हाल्नु भनेर केही भन्नै परेन’, उनले भनिन्, ‘वडा र टोलहरुको सुधार हुन्छ कि भनेर भोट हाल्न आएकी हुँ ।’

सरिताले वडा तहमा पहिलोचोटि उठेको स्थानीय लोकपि्रय अनुहारलाई भोट दिइन् भने मेयरमा चर्चा र प्रोफाइल हेरेर रोजिन् । उनले कूटनीतिक पारामा भोटको रहस्य खोलिन्, ‘पुरानो मान्छेको काम धेरै देखिसकियो, नयाँमा त्यति पत्यार छैन, त्यसैले बीचको मान्छेलाई हालियो ।’

उनले विभिन्न दलहरुको घोषणापत्र पढ्दा त एकसे एक नै पाइन् । घोषणापत्रको आकर्षक योजनाले ताने पनि त्यस अनुसार काम होला भन्नेमा उनलाई शंकै छ ।

सरिताजस्ता सशंकित युवा वाचा अनुसार स्थानीय तहमा काम नदेखिए आगामी चुनावमा ‘नो भोट’ को पक्षमा पनि छन् ।
‘भोट माग्नलाई मात्र आकर्षक योजनाको पासो थापेको हो भने त अर्को पालि कुन उत्साहले भोट दिनु र !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment