Comments Add Comment

नुवाकोट: तीन तहमा एमाले र दुई तहमा कांग्रेसको अग्रता

१ जेठ, नुवाकोट । नुवाकोटमा २ नगरपालिका र १० गाउँपालिकाको मतगणना भइरहेको छ । जारी मतगणनामा नेकपा एमाले तीन तहमा र नेपाली कांग्रेस दुई तहमा अगाडि देखिएका छन् ।

एमालेले विदुर नगरपालिका, ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित अग्रता लिएको छ । कांग्रेसले तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित अग्रता लिएको छ ।

नुवाकोटका दुई नगरपालिकामध्ये विदुर नगरपालिकाको गए रातिबाटै मतगणना थालिएको हो । बिहानसम्ममा सबै गाउँपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको कुनै पनि तहको वडाको अन्तिम नतिजा आउन सकेको छैन ।

सूर्यगढीमा बिहानबाट मत गन्न सुरु भए पनि विवाद भएपछि रोकिएको छ । माओवादी केन्द्र र एमालेको चुनाव चिह्नको बीचमा पर्ने गरी लागेको स्वस्तिक छापका कारण विवाद भएको हो । विवाद समाधानका लागि छलफल भइरहेको छ । अन्य गाउँपालिका र नगरपालिकाको मतगणना भने जारी छ ।

विदुर नगरपालिकामा एमालेको प्यानल नै अगाडि देखिएको छ । वडा नम्बर १ बाट सुरु भएको मतगणना अनुसार सात वटै पदमा एमालेले अग्रता लिएको छ । विदुर नगरपालिकाको प्रमुखमा अहिलेसम्ममा एमालेले २९१, कांग्रेसले २०४ र माओवादी केन्द्रले ४९ मत प्राप्त गरेको छ । त्यस्तै, नगरपालिकाको उपप्रमुखमा एमालेको २१४, कांग्रेसको १९३ र माओवादी केन्द्रको ३३ रहेको छ । वडा नम्बर १ मा एमालेको २४१, कांग्रेसको १७३ र माओवादीको ३० मत छ । महिला सदस्य, दलित महिला सदस्य र खुल्ला दुई सदस्यमा पनि एमालेकै मत बढी छ ।

तादी गाउँपालिकामा अध्यक्षमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसको ३४८, एमालेको २८५ र माओवादी केन्द्रको १५४ मत रहेको छ । उपाध्यक्षमा तादी गाउँपालिकामा नेपाली कांग्रेसको ३५६, एमालेको २९६ र माओवादीको १२६ मत छ ।

शिवपुरी गाउँपालिकामा पनि नेपाली कांग्रेस अगाडि देखिएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसको १७८, एमालेको ५६ र माओवादीको ६५ मत छ । यस्तै, उपाध्यक्षमा कांग्रेसको मत ८२, एमालेको ५४ र माओवादीको ४६ रहेको छ ।

तारकेश्वर गाउँपालिकामा एमाले अगाडि देखिएको छ । गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवारले ८३, कांग्रेसले ५९, माओवादीले ३४ मत प्राप्त गरेको छ । त्यस्तै, ककनी गाउँपालिकामा पनि एमाले अगाडि देखिएको छ । गाउँपालिका अध्यक्षमा एमालेले ८९, माओवादी केन्द्रले ६७ र कांग्रेसले ६६ मत प्राप्त गरेको छ ।

बेल्कोटगढी नगरपालिका, लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको मतगणनाको विवरण भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment