Comments Add Comment

गर्भ संस्कारः बच्चालाई सुसंस्कृत र प्रतिभाशाली कसरी बनाउने ?

हरेक अभिभावक चाहन्छन्, बच्चा सुसंस्कृत, बुद्धिमान र प्रतिभाशाली होस् । यसका लागि बच्चालाई राम्रो बिद्यालय पठाएर वा महँगो शिक्षा दिएर मात्र पुग्दैन । बरु, घरपरिवारबाटै उचित संस्कार दिनुपर्छ । अझ के भनिन्छ भने, गर्भ रहेदेखि नै बच्चामा बाह्य प्रभाव रहन्छ ।

त्यसैले गर्भवतीको व्यवहार, सोचाइ, खानपान आदिले बच्चा कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ । यही कारण नै वैदिक कालदेखि नै गर्भ संस्कारको विकास भएको हो । गर्भ संस्कार आमा र बच्चा दुबैको लागि लाभदायक मानिन्छ ।

गर्भावस्थामा संगीतले बच्चाको दिमागी विकास

संगीत वा लयबद्ध धुनले मनलाई शान्त र खुसी तुल्याउँछ । गर्भावस्थामा यसले महिलाको तनाव हटाउने काम गर्छ । आफ्नो इन्द्रियलाई शान्त गरेर आराम दिन संगीत राम्रो माध्यम हो ।

केही राग, श्लोक र मन्त्रले गर्भवतीलाई त फाइदा गर्छ नै, बच्चामा पनि राम्रो फाइदा गर्छ । तपाईंको बच्चाले तेस्रो महिनादेखि बाह्य वातावरणको आवाज सुन्न सक्छन् । अनुसन्धान अनुसार संगीतले बच्चाको मस्तिष्कको विकास र सुन्ने भावना विकास गर्छ । यसैले सुमधुर संगीत खासगरी वाद्यसंगीतले गर्भको बच्चामा सकारात्मक प्रभाव पार्छ ।

स्वस्थ बच्चाका लागि पौष्टिक भोजन

गर्भवतीले खाने खानाको सोझो प्रभाव बच्चामा पर्छ । गर्भ संस्कार अनुसार यस अवस्थामा सात्विक, शुद्ध र ताजा भोजन खानु राम्रो मानिन्छ । मसालेदार, चिल्लो, पिरो, मासुजन्य खानेकुरा सेवन नगरेकै राम्रो हुन्छ । यद्यपि खानेकुरा सन्तुलित भने हुनुपर्छ, जसमा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र खनिजको अनुपात मिल्नुपर्छ । यस किसिमको खानपानले गर्भदेखि नै बच्चा स्वस्थ र निरोगी हुन्छन् ।

सकारात्मक रहने

गर्भावस्थामा हर्मोनको विभिन्न स्तरको कारण तपाईंको मुड बदलिन सक्छ । यो तपाईं र तपाईंको जीवनसाथी दुबैको लागि समस्या बन्न सक्छ । त्यसैले गर्भावस्थामा तपाईं जे कुरामा रमाउनुहुन्छ, सकेसम्म त्यही कुरा गर्नुहोस् । यसले तपाईंलाई सकारात्मक बनाइराख्छ ।
जस्तो, राम्रो किताब पढ्ने, राम्रो फिल्म हेर्ने, रमाइलो स्थानमा घुमफिर गर्ने जस्ता कुराले तपाईंलाई खुसी राख्छ । यसको सोझो प्रभाव गर्भको बच्चामा पनि पर्छ ।

रचनात्मक हुनुको फाइदा

गर्भावस्थामा तपाई रचनात्मक काममा लाग्नु अति राम्रो हो । यसले तपाईको मस्तिष्क सक्रिय हुन्छ, जसले बच्चालाई समेत रचनात्मक बनाउन सहयोग गर्छ । लेख्ने, पेन्टिङ गर्ने, गार्डेनिङको काम गर्ने, हस्तकलाको सामग्री बनाउने जस्ता क्रियाकलाप गर्न सकिन्छ ।

व्यायामले बच्चा खुसी

गर्भावस्थामा गरिने व्यायामले तपाईंको शरीरलाई फूर्तिलो र तन्दुरुस्त राख्छ । यसले सम्भावित शारीरिक पीडा पनि हटाउँछ । व्यायामले शरीरमा एन्डोर्फिन श्राव हुन्छ, जसले तपाईंलाई आनन्दित महसुस गराउँछ । जब तपाईं आनन्दित महसुस गर्नुहुन्छ, त्यसको प्रभाव गर्भमा रहेको बच्चामा पनि पर्छ ।

ध्यानले सुखी बच्चा

मेडिटेशन अर्थात् ध्यानले तनाव हटाउन महत्वपूर्ण भूमिका खेल्छ । एकाग्रता र गहिरो सास लिने अभ्यासले तपाईंको मनमा शान्तिपूर्ण विचार प्रवाह हुन्छ । यदि गर्भावस्थामा दैनिक रुपले ध्यान र योगा गर्नुभयो भने त्यसले बच्चाको क्षमता पनि विकास हुन्छ ।

बच्चासँग कुरा गर्नुहोस्

आमा र बच्चाको सम्बन्ध बच्चा जन्मिएपछि मात्र होइन, गर्भदेखि नै विकसित हुन्छ । आफ्ना बच्चासँग कुरा गर्नु, उसलाई सुविचार सुनाउनु, प्रेमपूर्वक सुमसुम्याउने जस्ता कुराले बच्चालाई सुख मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment