Comments Add Comment

एक साताभित्र सबै नतिजा सार्वजनिक हुन्छ: प्रमुख निर्वाचन आयुक्त

मत परिणामको जानकारी दिन विद्युतीय ‘डिस्प्ले’ राखिने

३ जेठ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सबै मतपरिणाम सार्वजनिक हुने बताएका छन् । मतपत्र ठूलो भएकाले गणना गर्दा ढिलाइ भएको भन्दै उनले अब मतगणना डेस्क थप्ने जानकारी दिए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने, ‘मतगणना भइरहेको छ, तर ढिलाइ भएको पक्कै हो । यसको प्रमुख कारण मतपत्र ठूलो भएर हो, अब हामी मतगणना डेस्क बढाउँछौं ।’

उनका अनुसार काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरमा मतगणना डेक्स थपिनेछ । काठमामाडौंमा मतगणना डेस्क ११ सम्म पुर्‍याउने उनले जानकारी दिए ।

उनले आयोगले मतगणना द्रुत गतिमा अघि बढाउन निर्वाचन आयोगले निर्देशन समेत दिइसकेको बताए ।

०५४ सालको स्थानीय निर्वाचनको सम्पूर्ण मतपरिणाम आउन ६ दिन लागेको उदाहरण दिँदै प्रमुख आयुक्त यादवले भने, ‘अहिले त मतपत्र पनि ठूलो छ, मतदाताहरुको संख्या पनि धेरै छ, समय त लाग्नु स्वाभाविकै हो ।’

उनले थपे, ‘बढी समय लाग्दा आत्तिनुपर्ने आवश्यकता छैन । २० वर्ष निर्वाचन नहुँदा चुप लागेर बस्नेहरु अहिले एक हप्ता धैर्य गर्न किन नसकेका होलान् ? मलाई त अचम्म लागेको छ ।’

प्रमुख आयुक्त यादवले मतपरिणाम सार्वजनिक गर्न विद्युतीय डिस्प्ले पनि राख्ने तयारी भएको जानकारी दिए । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा पनि यही मतपत्र प्रयोग हुने भएकाले अहिलेको अनुभव अनुसार आफूहरुले दोस्रो चरणको निर्वाचनको मतगणना गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment