Comments Add Comment

भरतपुरमा रेणु जित्लिन् कि देवीले ? यस्तो छ गणित


३ जेठ, काठमाडौं । देशैभरिका ४ वटा महानगरपालिकाको मतगणना कछुवा गतिमा भइरहँदा भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीको मतान्तर निकै फराकिलो बन्दै गइरहेको छ । एमालेका मेयर उम्मेदवार ज्ञवालीले माओवादी-कांग्रेस गठबन्धनकी रेणुलाई फराकिलो अन्तरले पछाडि छाड्दै गइरहेका छन् ।

भरतपुर महानगरको मतान्तर फराकिलो बन्न थालेपछि रेणुले हार्ने लगभग निश्चित भएको एमाले पंक्तिको आँकलन छ । तर, गठबन्धन पक्षधरहरु नेताहरु भने अझै पनि रेणुको जितको सम्भावना नसकिएको दाबी गर्दैछन् ।

भरतपुर महानगरमा कसले जित्ला ? कुल १ लाख ५१ हजार ६ सय ४१ मतदाता रहेको महानगरपालिकामा ७/८ हजार मत गनिसक्दा नै परिणामको आँकलन गर्नु हतारो हुन सक्छ । तैपनि मानिसहरुको चासोलाई समाधान गर्न हामीले भरतपुर महानगरको केही तथ्यहरु पाठकसमक्ष राख्ने प्रयास गरेका छौं ।

भरतपुर महानगरका केही तथ्यहरु यस्ता छन्ः

महानगरको कुल मतदाता संख्या १५१६४१ छ ।

खसेको मत -(७५ प्रतिशत) अनुमानित- ११३ ७३०

जित्नका लागि अावश्यक मत- करिब ५० हजार ।

महानगरपालिकाको जम्मा वडा संख्या-२९ रहेको छ ।

– ०५४ सालको स्थानीय चुनावमा एमालेका देवी ज्ञवालीले उपमेयरमा जित हात पारेका थिए । उनी ४० वर्षदेखि भरतपुरमा खाईखेली राजनीति गरेका पुराना एवं लोकपि्रय राजनीतिकर्मी हुन् ।

-रेणु दाहाल नयाँ, अनुभव नभएकी युवापु्स्ताकी उम्मेदवार हुन् । ज्ञवालीको तुलनामा उनी भरतपुरबासीसँग कम भिजेकी छिन् । तर, प्रधानमन्त्रीको छोरी भएका कारण उनको ‘प्रोफाइल’ चर्चामा छ । र, उनी महिला भएकाले महिलाको सहानुभूति  पाउने अपेक्षा गरिएको छ ।

-कांग्रेस र माओवादीवीच तालमेल भएको अवस्थामा त्यसलाई इमान्दारितापूर्वक पालना भएको अवस्थामा एमाले स्वतः अल्पमतमा पर्छ । तर, गठबन्धनबाट कांग्रेसको ठूलो पंक्ति असन्तुष्ट भएकाले कांग्रेसको भोटसमेत एमाले उम्मेदवारलाई जाने र ज्ञवालीले जित्ने एमाले नेताहरुको विश्वास छ । प्रारम्भिक मत परिणामलाई हेर्दाखेरि एमाले नेताहरुले गरेको अनुमान सत्यको नजिक गइरहेको छ ।

– एमालेले ०५४ सालको चुनावमा त्यसबेलाका १४ वडामध्ये ८ वटामा जितेको थियो । त्यसबेला एमालेले वडा नं १, २, ८। ९, १०, ११, १२ र १३ नम्बर वडामा जित हासिल गरेको थियो । तिनै वडाको बलले त्यसबेला ज्ञवालीले उपमेयरमा जित हात पारेका थिए ।

– अहिले पश्चिम चितवन महानगरपालिकामा गाभिएको छ । त्यहाँको मेघौलीमा एमाले, कांग्रेस र राप्रपा तीनै दलको प्रभाव सामान्यतः देखिए पनि त्यहाँ एमालेकै पकड बलियो छ ।

– भरतपुर महानगरको वडा नं ११ सबैभन्दा बढी मतदाता भएको वडा हो । त्यहाँ १० हजार ५४ मतदाता छन् । र, यो वडामा एमालेको बलियो पकड छ ।

– हाल कायम रहेका वडा नं २, ९, ११, १२ र १६ नम्बरमा एमालेको प्रभाव बलियो छ । वडा नं ३ र १५ मा कांग्रेस बलियो छ । वडा नम्बर ४ मा कांग्रेस थोरैले मात्र अगाडि छ ।

-भरतपुरको मुख्य केन्द्र वडा नम्बर १० हो । यो वडामा कांग्रेस र एमाले दुबैको चर्को प्रतिस्पर्धा छ । तर, असन्तुष्ट कांग्रेसको भोट ज्ञवालीतिर जाँदा यहाँ रेणुको पल्ला कमजोर हुने देखिन्छ ।

– महानगरका जगतपुर, शुक्रनगर, दिव्यनगर, गीतानगर, फुलबारी आदि ठाउँमा कांग्रेसको बलियो पकड मानिन्छ । पटिहानी र शिवनगरमा  माओवादीको अपेक्षाकृत प्रभाव छ । शिवनरगर प्रचण्डको घर भएको ठाउँ हो । गीतानगर, शारदानगर, गुञ्जनगरमा एमालेको कम मत आउने गठबन्धनका नेताहरुको दाबी छ ।

-नेपाली कांग्रेसका जिल्ला नेता भरत अधिकारीलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यममा प्रकाशित दाबी अनुसार वडा नं ३, ४, ६, १६, १७ र १८ नम्बरमा कांग्रेस बलियो छ । वडा नम्बर २७ र २८ मा कांग्रेस कमजोर छ भने वडा नम्बर ९ र १२ मा कांग्रेस र एमालेवीच तीब्र प्रतिस्पर्धा छ ।

-साविकको कविलास गाविस हाल भरतपुर महानगरमा गाभिएको छ । यो गाविस हाल महानगरको २९ नम्बर वडा हो । एमालेकै जोडबलमा यो गाविसलाई महानगरमा गाभिएको हो । र, यहाँ एमालेको पडक बलियो छ । यो वडामा २ हजार ९ सय ५२ मतदाता छन् । एमालेका लागि यो आफ्नो पकेटको मत हो भन्दा पनि फरक पर्दैन ।

– महानगरको सोलोडोलो विश्लेषण अनुसार विगतको पछिल्लो मत परिणाम अनुसार भरतपुर महानगरमा कांग्रेसले पाएको मत ४० हजार हो । त्यस्तै एमालेको मत ३६ हजारका हाराहारीमा हो भने माओवादीको मत १५ हजारको हाराहारीमा थियो । यसमध्ये कांग्रेसको मत करिब ५० प्रतिशत मात्रै रेणुका पक्षमा झर्ने विश्लेषण महानगरबासीले गर्दै आएका छन् । यो हिसाबले हेर्दा रेणु दाहालले देवी ज्ञवालीलाई जित्न मुस्किल देखिन्छ ।

– संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन एकीकृत नेकपा माओवादी हालको माओवादी केन्द्रले चितवनका ५ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटामा भारी मतले जितेको थियो भने एमालेले एउटा मात्रै निर्वाचन क्षेत्रमा जितेको थियो । हाल महानगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर ३, क्षेत्र नम्बर ४ र क्षेत्र नम्वर ५ गरी ३ वटै निर्वाचन क्षेत्रमा जितेको माओवादी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाबाट नै ँनिल’ भयो । क्षेत्र नम्बर ३ र ४ मा तेस्रो भएको माओवादी क्षेत्र नम्बर ५ मा चौथो नम्वरमा झर्यो ।

– हाल जारी मतगणनाको ट्रेन्डलाई हेर्दाखेरि एमालेको प्रभावक्षेत्र भनिएको वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्ष जयराम श्रेष्ठले जितेका छन् । तर, उनले एमालेकी गीता श्रेष्ठलाई १४ मतले मात्रै हराएका हुन् । एमालेको प्रभाव रहेको भनिएकै वडामा कांग्रेसले जिते पनि रेणका लागि यहाँको परिणाम निरशाजनक आएको छ । किनभने कांग्रेसले वडाध्यक्षसहित ३ वडा सदस्य जितेको यो वडामा रेणु दाहाल फराकिलो मतले ज्ञवालीभन्दा पछि परिन् ।

यही रुपमा कांग्रेसको भोट अन्यत्र ‘स्विप’ हुँदै गयो भने रेणु दाहालको हार लगभग निश्चितजस्तै देखिन्छ ।

को हुन् देवी ज्ञवाली ?

पर्वत जिल्लाको रानीपानीमा वि।स। २०१९ असार ११ गते देवी ज्ञवालीको जन्म भएको हो । हाल भरतपुर महानगरपालिका वडा नः ४ का स्थायी बासिन्दा ज्ञवालीले सानै उमेरदेखि वामपन्थी राजनीतिमा रहेर काम गर्दै आएका छन् ।

प्रवेशिका उर्त्तिण गरेका ज्ञवालीले ०३० सालमा पुष्पलाल समुहको बाल सांस्कृतिक समुहमा आवद्ध भएर विद्यार्थी राजनीति शुरु गरेका थिए । ०३२ सालमा चितवन झरेका ज्ञवाली ०३४ सालमा रेड गार्डको सदस्य, ०३५ सालमा वामपन्थीहरुको युवक संगठन युथ लिगको सचिव, ०३६ मा अनेरास्ववियु एकताको पाचौँ संस्थापक अध्यक्ष, ०३८ मा पार्टीको संगठित सदस्यता लिएर मकवानपुरको पूर्व भेग हेर्ने जिम्मेवारी पाएका थिए ।

०४६ मा बारा जिल्ला कमिटीको सचिव, ०४७ मा नेकपा माले चितवनको सचिव, ०५० मा एमाले नारायणी अञ्चल सचिव, ०५४ मा भरतपुर नगरपालिकाको उपमेयर र ०५९ देखि ०६१ सम्म चितवन जिल्ला पार्टी प्रमुख भएर उनले काम गरे । ०६२र०६३ मा भएको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका ज्ञवाली ०६४ मा भएको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नं। ३ बाट एमाले उम्मेदवार बनेर पराजित भएका थिए ।

वुटवलमा ०६५ मा भएको आठौं महाधिबेशनबाट एमाले केन्द्रीय सदस्य निर्वाचित भएका ज्ञवाली ०७० मा भएको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भए । उनी अहिले एमाले केन्द्रीय सल्लाहकार परिषदको सदस्य छन् । भरतपुर उपमहानगरपालिकालाई महानगरपालिका बनाउने क्रममा पार्टीको तर्फबाट उनले भूमिका खेलका थिए ।

रेणु दाहालको प्रोफाइल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालकी जेठी पुत्री हुन् रेणु दाहाल । प्रधानमन्त्री दाहालको चाहनाअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उनलाई उम्मेदवार बनाइएको हो ।

पश्चिम चितवनको साविक शारदानगर-८ भिमसेन नगरमा २०३३ असार २२ गते जन्मिएकी रेणुले एसएलसीसम्मको अध्ययन गरेकी छिन् । २०५२ सालदेखि माओवादी आन्दोलनमा लागेकी रेणु अनेमसंघ क्रान्तिकारी भारत प्रवास शाखा अध्यक्ष, युद्धकालमा नै माओवादी रोल्पा पार्टी सेक्रेटरी, सह इन्चार्ज, काठमाडौं जिल्ला कमिटीको सचिव भएर काम गरेकी छन् ।

हाल माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य रहेकी उनी अनेम संघ क्रान्तिकारीकी महासचिव पनि हुन् । २०६४ मा भएको संविधानसभा निर्वाचनपछि समानुपातिक सांसदका रुपमा काम गरेकी दाहाल २०७० सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्वर १ बाट काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् । अनिलकुमार पाठकसँग विवाह गरेकी रेणुका १ छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment