Comments Add Comment

पराजित उम्मेदवारको डायरीः जहाँ अझै विवेकभन्दा लहड चल्छ !

पत्रकारिताको १० वर्षे करिअरमा मैले कुनै पेशागत संगठनको राजनीति गरिनँ । कुनै पार्टीको, भ्रातृ वा शुभेच्छुक संगठनको क्रियाशील सदस्यता पनि लिएको थिइनँ ।

मेरो परिवारको पुरानो पृष्ठभूमि राप्रपा थियो । त्यसैले केही राप्रपा नेतासँग मेरो निकट सम्बन्ध थियो । जसले गर्दा मलाई कतिपयले राप्रपा समर्थक पनि भन्ने गरेका छन् । त्यसको मैले खण्डन गरिनँ र गर्न जरुरी पनि ठानिनँ ।

पत्रकारिताको दौरान न्यूज २४ टिभीमा कार्यरत हुँदा ७ वर्षअघि पत्रकार महासंघको सदस्यता लिन दुई पटक फारम भर्दा समेत मेरो संस्थाका पेशागत संगठनका मित्रहरुले समन्वय नगरिदिँदा मैले सदस्यता पाइनँ । मेरो साथ–समर्थन र भोट नपाउने देखेर पनि होला, उनीहरुले सद्भाव नदेखाएको ।

त्यसो त मैले पत्रकारिता कर्म जारी राख्न कुनै संघ वा महासंघको सदस्यता आवश्यक थिएन । दुई पटक सदस्यता नपाएपछि मैले महासंघको सदस्यता लिन कुनै फारम भरिनँ । आजसम्म म पत्रकार महासंघको सदस्य समेत छैन । सदस्य नै नभएपछि पेशागत राजनीतिको कुरै भएन !

तर, राजनीति समाज सुधारको निर्विकल्प विधि हो भन्नेमा म पहिल्यैबाट प्रष्ट छु । राजनीति मेरो इच्छा पनि हो । विभिन्न परिवर्तनका नाममा पछिल्लो २० वर्षदेखि अस्थिर नेपालको राजनीति नयाँ संविधान र शासकीय व्यवस्थासँगै केही स्थिर हुने हो कि भन्ने आशा बढिरहेका बेला मैले कुनै न कुनै रुपमा राजनीतिमा प्रवेश गर्ने सोच बनाएको थिएँ । राजनीति त्यो पनि जनताको राजनीति, मूलधारको राजनीति ।

उद्धवराज भेटुवाल

राजनीतिमा पूरै होमिने स्थिति पनि नभएको र सक्रियता पनि बढाउनुपर्ने भएकाले मेरो लागि यो स्थानीय निर्वाचन उपयुक्त अवसर बन्यो । जन्मभूमि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ५ बाट वडाध्यक्षका लागि मैले उम्मेदवारी दिएँ । यो मेरा लागि जनताको घरदैलोसम्म पुग्ने र उनीहरुको राजनीतिक मनोविज्ञान बुझ्ने उत्कृष्ट अवसर थियो । यस्तै, भावी दिनमा राजनीति गर्न एउटा आधार पनि बन्ने थियो ।

१२ वर्षदेखि काठमाडौं केन्द्रित भएको हुँदा र गाउँमा कुनै राजनीतिक गतिविधिमा संलग्न नभएको मैले स्वतन्त्र उम्मेदवार बनेर चुनाव जित्ने सम्भावना छँदै थिएन । तैपनि मैले जबर्जस्त उम्मेदवारी दिएँ । यद्यपि चुनावमा उठिसकेपछि चुनाव हार्छु भन्दै हिँड्ने अवस्था पनि हुँदैन ।

आफ्नो पेशा-व्यवसायबाट केही समय छुट्याएर गाउँ पुगेको मैले कुनै ठूलो क्रान्ति गर्ने अवस्था थिएन । स्वतन्त्र उम्मेदवार भन्ने बित्तिकै स्थानीय संगठन हुँदैन । संगठन नहुँदा मैले सहजताका साथ राजनीतिक कार्यक्रम गर्न सक्ने अवस्था पनि थिएन । मैले निर्वाचन लड्न जानुअघि आफ्नो प्रतिबद्धताको सूची बनाएको थिएँ । त्यसैका साथ म आफ्नो घोषणापत्र लिएर सबै मतदाताको घरघरमा पुगेँ ।

भेटेका जति सबैलाई मैले आफूसँग कुनै झण्डा, संगठन वा समूह नभएको तर गाउँको विकास–निर्माणका स्पष्ट खाका भएको निवेदन गरेँ । मतदाताहरुलाई मैले मेरा योजना मन परेमा भोट दिनुहोला र मन नपरे नदिनुहोला भनेर अनुरोध गरेँ । सँगसँगै अरुलाई भोट दिँदा पनि योजना र एजेण्डाका आधारमा राम्रा मान्छेलाई भोट दिनुहोला भनेर सुझाएँ ।

यो निर्वाचनबाट आगामी पाँच वर्षका लागि स्थानीय नेतृत्व लिने भएकाले हल्ला, लहड र दयामायाका आधारमा नभई योजना र एजेण्डाका आधारमा भोट दिन मैले घरघरमा पुगेर आग्रह गरेँ । चुनावको शून्य समयभन्दा अगाडिसम्म मेरा घोषणापत्र र कुरा गाउँमा भाइरल नै भए । जसले गर्दा त्यहाँका अन्य स्थापित दलहरुलाई टाउको दुख्न थालिसकेको थियो ।

अन्य दलहरुले मसँग संगठन नहुनुको फाइदा उठाउँदै मेरा विरुद्ध अन्तिम समयमा भ्रम पैदा गरे ।

‘स्वतन्त्र उम्मेदवार भएकाले अरुको भोट काट्न उठेको’, ‘कुनै हालतमा नजित्नेलाई भोट दिनैहुन्न’, ‘भोट खेर नफालौं’, ‘जित्नेलाई भोट दिनुपर्छ’, ‘काठमाडौंमा बस्नेले गाउँमा के गर्छ ?’ भन्ने जस्ता विषय उठाएर मेरा सकारात्मक पक्षलाई ओझेलमा पार्ने काम भयो ।

संगठन अभावका कारण आफू विरुद्धका यी विषयहरुलाई मैले चिर्न सकिनँ । मसँग भएको धेरथोर जनमत पनि जोगाउन सकिनँ । अरु त अरु, मैले कार्यक्रम राखेको सुनेर उही स्थान र समयमा उनीहरुले सर्वदलीय बैठक राखे र मलाई पनि बोलाइयो । जसले गर्दा मेरो कार्यक्रम रद्द नै हुने अवस्था बन्यो ।

त्यस्तै, मैले चुनावमा आवश्यक सामान्य प्रचार खर्च बाहेक अन्य अनावश्यक खर्च गरिनँ । अर्थात् साम दाम दण्ड भेदको प्रयोग गरिनँ वा गर्ने मेरो नीति नै थिएन । ९० प्रतिशतभन्दा धेरै मतुवाली समुदाय बस्ने ठाउँमा चुनाव जित्न खुवाउनु–पिलाउनु पनि आवश्यक छ भन्ने मैले त्यहाँका केही अग्रजबाट सुनेको थिएँ । त्यो आवश्यकता पुरातनवादी दलहरुले सिर्जना गरिदिएको विडम्बना हो । त्यसो गर्नु पनि मेरो विधि थिएन ।

यस्तो अवस्थामा अन्य राजनीतिक दलहरुले खुवाइ–पियाइसँगै पैसा बाँड्नेसम्मको हर्कत समेत बाँकी राखेनन् । त्यसबेला मैले महसुस गरेँ, २० वर्षको दौरानमा पनि गाउँ र त्यहाँको मानसिकता उस्तै छ । यति भएसँगै चुनावको अन्तिम समयमा गाउँमा जित्नेलाई भोट दिने र भोट खेर नफाल्ने अभियान नै चल्यो ।

चुनाव अगाडि जसले धेरै हल्ला चलाउन सक्छ, उसैले चुनाव जित्ने भन्ने आधारमा भोट दिने हुँदो रै’छ । जसले गर्दा मेरा आफ्नै छरछिमेकले समेत भोट खेर नफाल्ने भनेर लहडको पछि लागेर अन्यत्रै भोट हाले । यसले मलाई ठूलो पीडा नदिए पनि नरमाइलो चाहिँ लाग्यो ।

त्यसो त यो चुनाव मलाई राजनीतिशास्त्रको प्रयोगात्मक अध्ययन थियो । हार वा जित मेरो लागि प्रतिष्ठा वा लज्जाको विषय पनि थिएन । कम्तीमा अबका दिनमा राजनीति गर्न मेरो आधारक्षेत्र बनिसकेको थियो । त्यहाँका समस्या, विकृति र अभ्यासहरु मैले थाहा पाउने अवसर बनेको थियो ।

कम्तीमा त्यहाँका स्थानीयले मलाई चिनेका छन् । जसले गर्दा मलाई अबको राजनीतिक यात्रा अघि बढाउन सहज भएको छ । यता चलिरहेको आफ्नो पेशा–व्यवसायलाई पनि जारी राख्दै राजनीतिक यात्रा तय गर्न यो निर्वाचनले मलाई धेरै सहज बनाएको छ । यो नै यो चुनावमा मैले पाएको उपलब्धि हो ।

अर्को निष्कर्ष भनेको अझै गाउँघरमा विचार बिक्ने बेला भएको छैन । त्यसका लागि हामी नयाँ पुस्ताले अझै धेरै जागरण फैलाउनुपर्ने अवस्था छ । हामीले कागजमा जति नै क्रान्तिकारी व्यवस्था ल्याए पनि गाउँघरमा जब विवेकको राजनीति सुरु हुँदैन, तबसम्म हाम्रा सबै गाउँघर र त्यहाँका नागरिक पूर्ववत् लहडमा भोट हाल्न छाड्ने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment