Comments Add Comment

रेणु दाहाललाई कांग्रेसको कति प्रतिशत भोट खस्दैछ ?

पाँचवटा वडाको मतगणनामा यस्तो देखियो

चुनावी सभामा रेणु र पार्वती । (फाइल फोटो)

४ जेठ, चितवन । भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीकी संयुक्त उम्मेदवार रेणु दाहाललाई नेपाली कांग्रेस समर्थकहरुको ५० प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

कांग्रेसको ५० प्रतिशत मात्रै मत आफूतिर आयो भने जित्न सकिने माओवादी नेताहरुको दाबी रहेको थियो ।

तर, माओवादीको आफ्नै भोट ज्यादै थोरै झरेकाले कांग्रेसको ५० प्रतिशत मत रेणुका लागि पर्याप्त हुने देखिँदैन । भरतपुरमा माओवादीकी रेणु र एमालेका देवी ज्ञवालीको मतान्तर निकै फराकिलो बन्दै गइरहेको छ ।

महानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनको मतको अवस्थाबारे हामीले विश्लेषण गर्ने प्रयास गरेका छौं । यसका लागि तीनवटा वडामा खसेको भोटको स्थितिलाई आधार मानेर हेरौंः

महानगरपालिकाको वडा नं १ मा सूर्य चिन्हमा १५१३ मत खसेको छ । त्यहाँ रेणु दाहालले ११३५ मतमात्रै पाइन् ।

वडा नम्बर १ मा माओवादीको आफ्नो भोट ६२१ मात्रै हो । किनभने यहाँको वडाध्यक्षमा माओवादीले ६२१ मतमात्रै पाएका छन् । रेणुलाई ५१४ मत बढी आएको छ, त्यो कांग्रेसबाट आएको मत हो ।

वडा नम्बर १ मा वडाध्यक्षमा खसेको मतका आधारमा एमालेको वास्तविक मत ११६३ हो । तर मेयर पदमा एमालेका देवी ज्ञवालीले १५१३ मत पाएका छन् । यहाँ ज्ञवालीलाई करिब ४ सय मत कांग्रेसबाट थपिएको देखिन्छ ।

वडानम्बर १ मा एमाले उपमेयर उम्मेदवारको मत ११८८ मात्रै छ भने मेयरमा १५ सय मत परेको छ ।

वडा नम्बर १ मा कांग्रेसकी उपमेयरलाई १४ सय मत परेको देखिन्छ, जुन माओवादी र कांग्रेसको कुल मत हो । भलै यसमा पनि केही मत स्वीप भएको देखिन्छ ।

यो तथ्यांकलाई हेर्दाखेरि वडा नम्बर १ बाट नेपाली कांग्रेसको कुल ११ सय मतबाट ५ सय मतमात्रै रेणुले पाएको देखिन्छ । कांग्रेसको सबै मत रेणुलाई खसेको भए वडा नम्बर १ मा देवी ज्ञवालीको ११ सय र रेणु दाहालको १७ सय मत हुनुपर्ने थियो ।

र, कांग्रेस उपमेयर पार्वती शाहको पनि त्यति नै संख्यामा मत खस्नुपर्ने थियो । वडा नम्बर १ मा पार्वतीको मत १४ सय हुनु र रेणुले ११ सय मात्रै पाउनुले केही गडबडीको संकेत गरेकै छ ।

अब वडा नम्बर २ को मत परिणामबारे विश्लेषण गरौंः

वडा नम्बर २ बाट एमालेका ज्ञवालीले १२३६ मत थपेर आफ्नो मतसंख्या २७४९ बनाए । देवी ज्ञवालीले चाहिँ वडा नम्बर २ बाट ७३४ मत मात्रै थपे । वडाध्यक्षले पाएको मतका आधारमा विश्लेषण गर्दा २ नम्बर वडामा कांग्रेसको मत ७६१ थियो, तर रेणुको भागमा कांग्रेसबाट ३ सय मत मात्रै थपियो । २ नम्बर वडामा माओवादी वडाध्यक्षको ४४६ मत खसेको देखिन्छ ।

उपमेयर पार्वतीलाई भने वडानम्बर २ बाट कांग्रेस र माओवादीको सबै मत इमान्दारितापूर्वक परेको देखिन्छ । मेयरमा देवी ज्ञवालीले कांग्रेसको करिब अढाइ सय तानेको देखिन्छ ।

अब तीन नम्बर वडाको चर्चा गरौं ।

तीन नम्बर वडाबाट एमालेका ज्ञवालीले २४६८ मत थपेर ५२१७ मत पुर्‍याएका छन् । तर, यो वडामा एमालेका वडाध्यक्षको मत ९४८ मात्रै छ । रेणुले यो वडाबाट १६७० मत थपेको देखिन्छ, जबकि यो वडामा माओवादीका वडाध्यक्षले पाएको मत ३१७ मात्रै हो । यो वडामा कांग्रेसको मत लगभग इमान्दारितापूर्वक रेणुलाई खसेको देखिन्छ । तर ज्ञवालीले अप्रत्यासित रुपमा यहाँबाट आफ्नो पार्टीको मतभन्दा झण्डै १६ सय बढी मत थपेका छन् । यो मत राप्रपा लगायतको थपिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

भरतपुरको वडा नम्बर ४ प्रधानमन्त्री पुष्पकमल दाहालले मतदान गरेको वडा हो । रेणु दाहाल र देवी ज्ञवालीले पनि यही वडाबाट मतदान गरेका हुन् ।

यो वडामा रेणुले देवीको भन्दा कम मत पाएकी छिन् । यो वडामा एमालेका वडाध्यक्ष ७ मत ल्याएर विजयी भए पनि कांग्रेसले पुनः मतगणनाको माग गरेपछि विवाद सिर्जना भएको छ । ४ नम्बर वडामा गाई चिन्हमा भोट बढेको देखिएको छ, जसले देवी ज्ञवालीलाई केही घाटा लागेको छ ।

भरतपुरमा अहिलेसम्म २० हजार भोट पनि गणना भइसकेको छैन । यहाँ करिब सवा लाख मत खसेको अनुमान गरिएको छ ।

वडा नम्बर ५ को पनि नतिजा आएको छ, जसमा एमालेले विजय हात पारेको छ । यो वडामा माओवादीका वडाध्यक्षको मत ४३२ मात्रै झरेको छ भने कांग्रेस र एमालेका वडाध्यक्षको मत १५/१६ सयको हाराहारीमा आएको छ । ४ नम्बर वडाको गणना सकिए पनि रिपोर्ट बाहिर अाएको छैन ।

पछिल्लो समयमा देवी ज्ञवालीको मत ७३७४ पुग्दा रेणु दाहाल २३४० मतले पछाडि थिइन् । तर, ज्ञवालीले ९२१२ मत पाउँदै गर्दा मतान्तर १७८० मा झरेको छ ।

कांग्रेसले रेणुलाई मत नै नहालेको अवस्था देखिँदैन । तर, केही मत कम परेको चाहिँ अवस्यै हो । किनभने उपमेयरकी उम्मेदवार पावर्तीको भन्दा रेणुलाई थोरै नै मत परिरहेको छ । पार्वतीले उपमेयरमा एमालेलाई पछि पारिरहेकी छिन् ।

यो पनि पढ्नुहोस्

भरतपुरमा रेणु जित्लिन् कि देवीले ? यस्तो छ गणित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment