Comments Add Comment

भरतपुर महानगर: रेणुले यसरी दिन थालिन् टक्कर

५ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालका वीच तीब्र प्रतिस्पर्धा सुरु भएको छ । शुरुवाती लिड गरेका ज्ञवाली वडा नम्बर ६ मा पुग्दा कमजोर देखिएका छन् भने रेणु दाहालले आफ्नो अवस्थामा सुधार गरेकी छिन् ।

महानगरको वडा नम्बर ५ मा प्रवेश गर्दा देवी ज्ञवालीले ७ हजार ३४७ मत ल्याएका थिए भने रेणुले ५ हजार ७३४ मत मात्रै पाएकी थिइन् । त्यस्तै वडा नम्बर ४ बाट ५ मा जाँदा ज्ञवाली र दाहालको मतान्तर १ हजार ६१३ थियो ।

वडा नम्वर ५ कांग्रेसको बलियो प्रभाव भएको क्षेत्र हो । तर, यो वडामा एमाले वडाध्यक्षका उम्मेदवार पदमपाणि सुवेदीले ९३ मतान्तरले कांग्रेसका उम्मेदवार भक्ति तिमिल्सिनालाई हराए । यो वडामा सुवेदीले आफुले मात्रै जितेनन्, ज्ञवालीलाई १ हजार ६१३ को अग्रतामा १६६ मत थपेर पठाइदिए ।

महानगरको वडा नम्बर ६ पनि कांग्रेस र माओवादीको बलियो प्रभाव क्षेत्र हो । यो वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार हरीबिलास कोइरालाले २ हजार ३१९ मत पाए । माओवादी केन्द्रका भागिरथ तिमिल्सिनाले १ हजार ४८० मत प्राप्त गरे । यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार बेदप्रसाद लामिछानेले ९०४ मत मात्रै पाए ।

यो वडाको गणितलाई हेर्दा एमाले वडाध्यक्ष उम्मेदवार लामिछाने भन्दा मेयरका उम्मेदवार ज्ञवालीले ५८४ मत बढी प्राप्त गरेका छन् । वडा नम्बर ६ बाट ज्ञवालीले १ हजार ४८८ मत थपे ।

वडा नम्बर ६ बाट रेणुले २ हजार ४५४ मत थपिन् । माओवादीले ल्याएको मतभन्दा रेणुले यहाँबाट ९९४ कांग्रेसको मत आफ्नो पक्षमा पारिन् ।

वडा नम्बर ६ पार हुँदासम्म देवी र रेणुको अग्रतान्तर ९७६ मा कमी आयो । यहाँबाट देवीले ७९३ मतको मात्रै अग्रता कायम गरे ।
वडा नम्बर ६ बाट कांग्रेसको ४२ प्रतिशत मत रेणुले पाएको देखिन्छ । ६ हजार ८०४ मतदाता रहेको यस वडामा ५ हजार १६५ मत खसेको थियो । रेणुलाई माथि उकास्न सहयोग गरेकोमा माओवादी वडाध्यक्ष उम्मेदवार भागिरथ तिमिल्सिनाले नेताहरुको वधाइ समेत खाएका छन् ।

एमालेले चुनौतीका रुपमा लिएको वडा नम्बर ६ पार गरेर वडा नम्बर ७ मा प्रवेश गर्दा देवीको मत १० हजार ६९० र रेणुको मत ९८९७ थियो ।

वडा नम्बर ७ मा एमालेका देवीले १ हजार २३६ मत ल्याउँदा माओवादीकी रेणुले १ हजार ८८० मत थपिन् ।

वडा नम्बर ७ मा माओवादी केन्द्रका उम्मेदवार शिव भट्टराई ८५० मत ल्याएर तेस्रो भएका छन् । दोस्रो भएका कांग्रेसका उम्मेदवार श्याम लामिछानले १ हजार ४८० मत ल्याए । यस वडाबाट कांग्रेसको १ हजार ३० मत माओवादीलाई गएको देखिन्छ । यहाँबाट कांग्रेसको झण्डै ७० प्रतिशत मत माओवादीकी रेणु दाहालले पाएको देखिन्छ । र, यही कारणले एमालेका देवीको अग्रता ७९३ बाट घटेर ५२९ कायम भयो ।

वडा नम्बर ७ मा एमाले उम्मेदवार राजेन्द्रमणि काफ्ले १ हजार ४९४ मत ल्याएर जित्दा देवीले एमालेभन्दा बाहिरको १२२ मत मात्रै अत्तिरिक्त प्राप्त गरे । जुन मत एमालेले अपेक्षा गरेको भन्दा धेरै कम हो ।

वडा नम्वर ७ बाट माओवादी उम्मेदवार रेणु दाहाललाई सन्तोषजनक मत आएको छ ।

अहिले वडा नम्बर ८ को गणना जारी छ । यहाँ कांग्रेस र एमालेकै बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसको अपेक्षाकृत मत वडा नम्बर ७ मा नआएजस्तै वडा नम्बर ८ मा पनि नआए एमालेलाई समस्या हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment