Comments Add Comment

यम बुद्धको सम्झनामा अष्ट्रेलियामा बृहत् सांगीतिक कार्यक्रम हुने

१९ मे, सिड्नी । र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को सम्झनामा अष्ट्रेलियाको सिड्नीमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

यम बुद्ध जन्मिएकै दिन मे ३० को सन्दर्भ पारेर सिड्नीको मेट्रो थिएटरमा ‘द यम नाइट’ कार्यक्रम गरिन लागेको हो । नेपाल रिपोर्ट्सको आयोजनामा हुने कार्यक्रममा दिवंगत र्‍यापर यमबुद्धलाई विभिन्न गायक तथा र्‍यापरले सांगीतिक श्रद्धाञ्जली अर्पण गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

कार्यक्रममा नेपालका पहिलो र्‍यापर गिरीश खतिवडा (गोर्खाली जी), नेपालका पहिलो बिट–बक्सर निशान्त गौचन, चर्चित युवा र्‍यापर युनिक पोएट, र्‍यापर साकार अधिकारी लगायतको मुख्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।

साथै, अष्ट्रेलियाको स्थानीय हिपहप ब्याण्डले यमबुद्धका चर्चित गीतहरुमा धुन प्रस्तुत गर्नेछ । मेलबर्नका चर्चित डिजे मिस्टा र सिड्नीका चर्चित डिजे सोमनले उल्ट अस्ट्रेलियन ब्यान्डलाई सघाउनेछन् ।

कार्यक्रममा र्‍याप ब्याटल, बि–बोइङ, स्ल्याम पोएट्री लगायत हिपहपका अन्य विधाका प्रस्तुति पनि राखिएको छ । कार्यक्रममा बाबा एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन एवं ग्लोबल कन्सल्ट र रेस्ट ग्रुपको सह-प्रायोजन हुनेछ ।

सांगीतिक कार्यक्रम भए पनि यसको मूल नारा ‘से नो टु सुसाइड, से यस टु लाइफ’ राखिएको छ । कार्यक्रम मार्फत प्रवासमा रहेका नेपाली युवाहरुमा जिन्दगीप्रति सकारात्मक सोच वृद्धि गराउने उद्देश्य राखिएको छ ।

गायक यम बुद्धले भौतिक शरीर अन्त्यको बाटो आफैंले रोजे जस्तै प्रवासमा रहेका युवाले त्यसो नगरुन् भन्ने सन्देश फैलाउन विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

यसका लागि मे १ देखि नै एक महिनासम्मका लागि सिड्नीका विभिन्न स्थानमा विभिन्न प्रेरक व्यक्तिहरुसँग २०/२५ जना युवाको अनौपचारिक कार्यशाला आयोजना गर्दै प्रत्यक्ष अन्तरक्रिया गर्ने क्रम जारी छ ।

कार्यशालाहरुमा नेपाल रिपोर्ट्सका कार्यक्रम निर्माता तथा लोकप्रिय कार्यक्रम ‘योङ एचिभर्स’ का सञ्चालक रन जेरेमीको संयोजकत्वमा विविध प्रतिभा प्रष्फुटन अभियान सञ्चालन हुँदै आएको छ ।

सांगीतिक कार्यक्रमबाट संकलति रकम प्रवासी युवामा हुने डिप्रेसन न्यूनीकरणमा मद्दत पुर्‍याउने खालका श्रव्य-दृश्य सामग्रीको निर्माणमा खर्च गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment