Comments Add Comment

चितवन पुगेर प्रचण्डले भने-चुनाव गराउनु नै मेरो जित हो

५ जेठ, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा कुनै दल विशेष जित्यो भन्नु भन्दा पनि सिंगो देशले जितेको टिप्पणी गरेका छन् ।

चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन उदघाटन समारोहलाई शुक्रबार सम्वोधन गरेका प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन परीणाम प्रति टिप्पणी गर्दै भने ‘निर्वाचनमा कांग्रेसले जितेपनि, एमालेले जिते पनि, माओवादीले जितेपनि आफैले र देशले नै जितेजस्तो लाग्छ ।’

उनले थपे, ‘मलाई कुन पार्टी जित्यो भन्नेसँग मतलव छैन, घरमा टिभी हेर्न पनि छाडिदिएँ ।’

पहिलो चरणको स्थानीय तहको निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन पहिलो चरणको निर्वाचन गर्नुभन्दा अझै बढी चुनौतीपूर्ण र गम्भीर रहेको बताए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई अझै बढी उत्साह र उमंगका साथ सम्पन्न गर्नुपर्ने चुनौती सरकारका सामु रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘आजै मैले दोस्रो चरणको निर्वाचनका सन्दर्भमा छलफल गर्न मधेशी मोर्चा र प्रमुख दलहरुको बैठक बालुवाटारमा बोलाएको छु, एउटा निकास तत्कालै निस्कन्छ ।’

दोस्रो चरणको निर्वाचन पछि देशमा आएको राजनीतिक परीवर्तन संस्थागत हुने विश्वास उनले व्यक्त गरे ।

त्रिवि र एएफयूको विवाद समाधान

नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय कृषि तथा वनबिज्ञान विश्वविद्यालय र त्रिविका बीच देखिएको स्वामित्व हस्तान्तरण सम्वन्धी विवाद मन्त्रिपरिषदबाटै समाधान गरेको दावी प्रधानमन्त्री दाहालले सो अवसरमा गरे । ०७४ बैशाख ७ गते बसेको मन्त्रिपरिषदको बैठकले दुबै विश्वविद्यालयको समस्या समाधानका लागि सुझाव दिन गठित समितिले दिएको प्रतिवदेन पास गरेर कार्यान्वयन गरेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

सरकारले स्वामित्व हस्तान्तरण सम्वन्धी विवाद समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशीको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

प्रधानमन्त्रीले प्रचण्डले त्रिविको सिनेट बोलाएर बाँकी समस्या समाधान गर्ने प्रतिवद्धता कार्यक्रममा जनाएका छन् ।

अन्य विश्वविद्यालय भन्दा पहिल्यै कृषि तथा वनबिज्ञान विश्वविद्यालय स्थापना हुनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको शिक्षा किसानहरुको हित र सम्वद्धिसँग जोडिने खालको हुनुपर्ने बताए । सैद्धान्तिक ज्ञान लिने मान्छेहरुका ब्रेन ड्रेन (बौद्धिक पलायन) डरलाग्दो रुपमा रहेको भन्दै प्रधानमन्त्रीले चिन्ता व्यक्त गरे । ‘जति बढी शिक्षित र प्राविधिक जनशक्ति तयार भएको छ उति नै देश परनिर्भर भएको छ’ प्रधानमन्त्री दाहालले भने ।

‘पोल्ट्रीमा एकदमै मेहेनतका साथ केही साथीहरुले देशलाई आत्मनिर्भर बनाउनुभएको छ, अब सरकारको लगानी र प्रयासमा बन, माछा फलफूल र तरकारीमा पनि आत्मनिर्भर बनाउनुपर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

३६ करोडमा शानदार भवन

झण्डै ३३ करोडको सरकारी लगानीमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय सानदार भवन निर्माण पूरा भएको छ । रामपुरमा ३ वटा भवन सरकारको पूर्ण लगानीमा निर्माण गरिएको हो । नवनिर्मित प्रशासकीय भवनमा विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, सेवा आयोग, निर्देशनालय, केन्द्र र निर्देशकहरुको कार्यालय रहनेछन् । ५ सय क्षमता भएको बहुउद्देश्यीय सुविधा सम्पन्न हल समेत निर्माण गरिएको छ ।

भवन उदघाटन पछि प्रधानमन्त्री दाहालले भने ‘तपाईहरुले भवन त अन्तर्राष्ट्रिय स्तरकै बनाउनुभएको रहेछ । अब प्रशासनिक काम र गतिविधि अन्तर्राष्ट्रिय स्तरको हुन्छ कि हुँदैन हेर्ने बेला आएको छ ।’

०६७ साल असारमा स्थापना भएको कृषि तथा वनविज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय यसअघि भरतपुरको हामिक चोकमा थियो । विश्वविद्यालयमा १ हजार ८८३ विद्यार्थी अध्ययनरत छन् भने, १०७ जना शिक्षक र २५५ जना कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment