Comments Add Comment

स्थानीय तह बढाउने प्रचण्डको प्रस्ताव, एमालेद्वारा ठाडै अस्वीकार

५ जेठ, काठमाडौं । स्थानीय तहको संख्या थप्न र संविधान संशोधन गर्न प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव नेकपा एमालेले अस्वीकार गरेको छ ।

संविधान संशोधन लगायतका विषयमा छलफल गर्न शुक्रबार साँझ प्रमुख सात राजनीतिक दलको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रचण्डले दोस्रो चरणको चुनावको वातावरण बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने भन्दै नेताहरुको राय मागेका थिए ।

बैठकमा प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचन सम्पन्न हुनु देशकै लागि गौरवको विषय भएको बताउँदै अब दोस्रो चरणको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियालाई पूर्णतामा लैजान राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए ।

तर, एमालेले चुनाव गराउने विषयमा विमति नभए पनि संविधान संशोधन र स्थानीय तह थपको प्रस्ताव ठाडै अस्वीकार गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच नम्बर प्रदेश टुक्राउने गरी आउन लागेको संविधान संशोधन मान्न नसकिने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने मधेसी मोर्चालाई पनि साथमा लिएर चुनावमा जानुपर्ने भएकाले संविधान संशोधन आवश्यक रहेको बताएका थिए ।

बैठकमा आगामी बजेटबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदार, एमाले उपाध्यक्षद्वव सुवास नेम्वाङ, भीम रावल, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा नेताहरु विक्रम पाण्डे, सुनिलबहादुर थापा, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, संघीय समाजवादी फोरमका नेता अशोक कुमार राई लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment