Comments Add Comment

रञ्जु र किशोरले कति भोट ल्याउलान् ?


५ जेठ, काठमाडौं । स्थानीय चुनावअन्तरगत काठमाडौं महानगरको मतगणना कछुवा गतिमा अघि बढिरहेको छ । अहिलेसम्मको परिणाममा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य अगाडि छन् भने उनलाई कांग्रेस उम्मेदवार राजुराज जोशीले पछ्याइरहेका छन् ।

तर, यतिबेला ‘टक अफ दी टाउन’ बनेका छन्, विवेकशीलकी पार्टीकी उम्मेदवार रञ्जु दर्शना र साझा पार्टीका किशोर थापा । मेयरको दौडमा विस्तारै पछि पर्दै गए पनि उनीहरुले उल्लेख्य भोट ल्याउने निश्चित देखिएको छ, जुन धेरैका लागि आश्चर्यको विषय हो ।

शुक्रबार बेलुकीसम्ममा काठमाडौंको लगभग ३२ हजार मत गणना भएको छ । जबकि काठमाडौंमा झण्डै दुई लाख मत खसेको छ । १ लाख ७० हजार मत गन्नै बाँकी रहेको अवस्थामा अहिले नै सम्भावित परिणामबारे ठोकुवा गर्न सकिन्न । यद्यपि सामान्य आँकलन चाहिँ गर्न सकिन्छ ।

पछिल्लो अपडेटमा एमाले उम्मेदवार शाक्यले १२ हजार ७ सय ३३ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार राजुराज जोशीले ८ हजार ३ सय ३३ मत ल्याएका छन् । यसैगरी रञ्जु र किशोरले क्रमश ५ हजार १ सय ९७ र ३ हजार ७ सय ७४ मत ल्याएका छन् ।

पहिलो स्थानमा रहेका शाक्यभन्दा रञ्जु करिब साढे ७ हजार मतले र किशोर करिब ९ हजार भोटले पछाडि छन् । यो खाडल घट्नुको साटो बढ्दै जान सक्ने अनुमान यसकारण लगाउन सकिन्छ कि मतगणना अब काठमाडौंको कोर एरियाहरुमा प्रवेश गरेको छ, जहाँ रञ्जु र किशोरको प्रभाव तुलनात्मक रुपमा कम रहेको मानिन्छ । यी क्षेत्रहरुमा काठमाडौंका रैथानेहरुको बसोबास रहेको छ, जो परम्परागत शक्तिहरुमा बढी आस्था राख्छन् ।

यसप्रकारले काठमाडौंको मेयरमा रञ्जु र किशोरको दाबेदारी क्रमशः सिथिल बन्दै गएको छ ।

कति भोट ल्याउलान् ?

अहिलेसम्मको कुल गणनामा रञ्जुले लगभग १५ प्रतिशत मत ल्याएकी छिन् भने किशोरले ११ प्रतिशतको हाराहारीमा । यही रफ्तारमा उनीहरुको भोट बढिरह्यो भने अन्तिम परिणाममा रञ्जुले ३० हजारको नजिक भोट ल्याउन सक्छिन् । यस्तै किशोरले २२ हजार भोट कटाउन सक्छन् ।

यसअघि काठमाडौंको मेयरमा जित्न १ लाखको हाराहारीमा मत ल्याउनुपर्ने आँकलन गरिएको थियो । तर, रञ्जु र किशोरले ल्याएको उल्लेख्य भोटले गर्दा विजेताले ल्याउने भोट घट्ने छ । अहिलेको हिसाबमा करिब ८० हजार भोट ल्याउने उम्मेदवारले चुनाव जित्न सक्छन् ।

कसको भोट काटे ?

रञ्जु र किशोरले आफ्नो भोट काटेको कांग्रेस र एमाले दुवैलाई लागेको छ । उनीहरुले दुबै दलको भोट पक्कै काटेका छन्, तर कसको भोट बढी काटे होला त ?

रञ्जु र किशोरको भोट बैंक भनेका तटस्थ मतदाताहरु नै हुन् । राजनीतिक रुपमा तटस्थ युवा पिँढीका मतदाताहरुले रञ्जुलाई भोट दिए । यसैगरी ठूला पार्टीहरुबाट विरक्तिएका बौद्धिक मतदाताले किशोरलाई पत्याए ।

यदि दुवै उम्मेदवार नउठेका भए यी दुवैथरी मतदाताहरु एमालेतर्फ आकषिर्त हुन सक्ने सम्भावना प्रवल थियो । यसको कारण हो, एमालेले पछिल्लो समय लिएको राष्ट्रवादी लाइन । तर व्यक्ति छान्ने अवसर पाएपछि उनीहरुले एमालेलाई बिर्सिए ।

यस हिसाबले रन्जु र किशोरले पाएको भोटको बढी घाटा विद्यासुन्दरले व्यहोरेको अनुमान लगाउन सकिन्छ । यद्यपि, राजुराजको भोट उनीहरुले काट्दै काटेनन् भन्ने होइन ।

मिलेको भए के हुन्थ्यो ?

विवेकशील र साझा पार्टीलाई मिलेर चुनाव लड्न पहिलेदेखि नै समर्थक र सुभेच्छुकहरुले दवाव दिँदै आएका थिए । दुवै पार्टीले तालमेलको प्रयास पनि गरेका थिए, तर अन्ततः सम्भव भएन । मेयर आफूले पाउनुपर्ने दुवै पार्टीको अडानले गर्दा तालमेल प्रयास तुहिएको थियो ।

अहिले प्राप्त मत परिणाम हेर्दा यदि साझा र विवेकशील मिलेर चुनाव लडेको भए मेयरमा बलियो दावेदारी पेश गर्न सक्थे भन्ने देखिन्छ । सोझो हिसाबमा रन्जु र किशोरको अहिलेसम्मको मत जोड्दा ८ हजार ८ सयको हाराहारीमा हुन्छ जुन विद्यासुन्दरको भन्दा अझै ४ हजार कम हो ।

तर, राजनीतिमा यति सोझो हिसाब हुँदैन । मेयरमा रन्जु र उपमेयरमा किशोर वा मेयरमा किशोर र उपमेयरमा रन्जुले मिलेर उम्मेदवारी दिएको भए त्यसले छुट्टै तरंग ल्याउने थियो । ‘आखिरमा हारिहाल्छन्’ भन्ने मानसिकताले गर्दा धेरै मतदाता किशोर र रन्जुलाई भोट दिनबाट हच्किएको पाइन्छ । यदि मिलेर लडेको भए ती मतहरु सोहोरिन सक्थे । त्यस्तो अवस्थामा उनीहरुले काठमाडौंको मेयर र उपमेयर दुवै पड्काउन असम्भव थिएन ।

यसरी दुवै दलको प्रतिष्ठाको लडाईले गर्दा एउटा स्वणिर्म अवसर खेर जाने संकेत देखिएको छ । यो उनीहरुका लागि ठूलो पाठ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment