Comments Add Comment

समीरको ‘भूकम्पमा मल्हमपट्टी’ लाई उत्तम शान्ति पुरस्कार

६ जेठ, काठमाडौं । यस वर्षको उत्तम शान्ति पुरस्कार भूकम्पसम्बन्धी रवीन्द्र समीरको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई दिइने भएको छ ।

उत्तम कुँवर स्मारक पुरस्कार गुठीले ०७३ सालभरिमा प्रकाशित गैरआख्यान कृतिमध्ये समीरको सो कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । दुई वर्षअघिको भूकम्पका बेला चिकित्सकको रुपमा खटिएर मानवीय कार्यमा संलग्न हुँदा अनुभूति गरेका भावलाई सुन्दर र सहज रुपमा प्रस्तुत गरेकाले ‘भूकम्पमा मल्हमपट्टी’ लाई पुरस्कारको लागि चयन गरेको गुठीले जनाएको छ । समीर पेशाले चिकित्सक हुन् ।

पुरस्कार रकम ५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । कुँवरको जन्मजयन्तीको दिन जेठ १२ गते शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ ।

लेखक समीरले भने पुरस्कारको नगद राशि पुस्तकभित्र आएका पात्रलाई  समर्पण गर्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् ।

०२० को दशकमा साहित्यिक मासिक पत्रिका ‘रुप-रेखा’ प्रकाशन र सम्पादन गरेर नेपाली साहित्यिक पत्रकारिताका स्थापित स्व. उत्तम कुँवरको सम्झनामा स्थापित स्मारक पुरस्कार गुठीले हरेक वर्ष यो पुरस्कार अर्पण गर्दै आएको छ । ०४४ सालमा स्थापित पुरस्कार निबन्ध, संस्मरण, आत्मकथा, जीवनी जस्ता आख्यान बाहेकका कृतिलाई दिने गरिएको छ ।

‘रुप-रेखा’ को कुशल सम्पादकका साथै कुँवरको परिचय निबन्ध साहित्यमा पनि विशिष्ट मानिन्छ । विभिन्न कवि, लेखक, समालोचक, कोशकार लगायतसँग अन्तरंग अन्तर्वार्ता गरी निबन्ध शैलीमा लेखिएको ‘स्रष्टा र साहित्य’ उनको चर्चित कृति हो । सो कृतिले ०२३ सालको मदन पुरस्कार पाएको थियो ।

कुँवरको निजात्मक निबन्धहरुको संग्रह ‘अनुभव र अनुभूति’ पनि प्रकाशित छ । १९९५ जेठ १२ गते जन्मिएका कुँवरको ०३९ साल साउन १५ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment