Comments Add Comment

‘नमस्ते काठमाडौं’ मा यौन विद्रोहका कथा

६ जेठ, काठमाडौं । पत्रकार डब्बु क्षत्रीको कथासङ्ग्रह ‘नमस्ते काठमान्डु’ सार्वजनिक भएको छ ।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा शनिबार रङ्गकर्मीहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे । सर्वनामका कलाकार राज शाहको निर्देशनमा कलाकारहरुले कथाहरुको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सङ्ग्रहका कथाहरुको भाव समेटेर बनाइएको गीत पनि सार्वजनिक गरिएको थियो । गीतमा जुगल डङ्गोलको संगीत र सन्देश पाठकको स्वर छ ।

पुस्तक लोकार्पणपछि सचिन घिमिरेले सहजीकरण गर्दै अभिनेत्री ऋचा शर्मा, पत्रकार यज्ञश, उपन्यासकार जया ओझा र कथासङ्ग्रहका लेखक क्षेत्रीसँग अन्तरक्रिया गरेका थिए ।

अभिनेत्री शर्माले सङ्ग्रहका कथाहरुमा आएका घटना र पात्रहरु समाजमा देख्दै आएको बताइन् । आफू कलाकार भएको हिसाबमा उनले कथाका पात्रहरुको भावदशा चलचित्रमा उतार्न सहज नदेखेको बताइन् । पात्रको चरित्रचित्रणलाई चलचित्रसँग जोड्दै उनले भनिन्, ‘कतिपय पात्रहरु यति मनोविक्षिप्त छन्, फिल्ममा उनीहरुको भूमिका निर्वाह गर्न निकै चुनौतीपूर्ण हुने ठानेको छु ।’

पत्रकार यज्ञशले डब्बु क्षत्री लामो समयदेखि पत्रकारितामा आबद्ध भएको सन्दर्भ गाँस्दै सङ्ग्रहका कथाहरुमा पत्रकारिताको लेखन शैली झल्किएको टिप्पणी गरे । समाजका विभिन्न वर्ग, धर्म, भाषा र लिङ्गलाई कथामा समेटिएको भन्दै उनले कथाहरु सबैका लागि लेखिएको बताए ।

अर्की वक्ता ओझाले सङ्ग्रहका कथाहरु यौनबारे केन्द्रित भएर पनि पटक्कै अश्लील नभएको र जो काेहीको मन छुने बताइन् । ‘तर कथाहरुलाई शीर्षकमा वर्ग नछुट्याई कुन कथा कुन वर्गको हो भनेर छुट्याउने जिम्मा पाठकलाई नै दिएको भए हुन्थ्यो’, उनले सुझाव समेत दिइन् ।

कथाकार क्षत्रीले आफूले समाजमा देखेका घटनाहरुलाई कथामा बुनेर ल्याएको बताउँदै  कथाहरुमा यौन विद्रोह पोखिएको दाबी गरे । यो उनको पहिलो कथासङ्ग्रह हो ।

शिखा बुक्सले प्रकाशन गरेको सङ्ग्रहमा १८ वटा कथा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment