Comments Add Comment

‘गैरकानूनी नेपाली संस्थामाथि जापान प्रहरीले निगरानी गर्दैछ’- उपनियोग प्रमुख अर्याल

बढ्दै नेपाली समाज, घट्दै मानवताः अध्यक्ष थापा

२१ मे, टोकियो । जापानमा नेपालीहरुको सङ्ख्यामा वृद्धि भएसँगै विकृति विसङ्गतीका समस्याले पनि बिकराल रुप लिंदै गएको जापानस्थित नेपाली राजदूतवासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले गुनासो गरेका छन् ।

अर्यालले जापानमा कानुनविपरित खोलिएका नेपालीका थुप्रै संघसंस्थाको कार्यशैलीप्रति जापान प्रहरीले निगरानी गरिरहेको खुलासा गर्दै त्यस्ता संघसंस्थाकै कारण भविष्यमा नेपालीले आफ्नो शिर झुकाउन पर्ने अवस्था सिर्जना हुनेमा समेत चिन्ता व्यक्त गरे ।

पत्रकार महासंघ जापानद्धारा आयोजित ‘पत्रकार र संघसंस्थाबीच सहकार्य विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उपनियोग प्रमुख अर्यालले जापानमा रहेका नेपाली संघसंस्थाका कार्यशैलीले आफुहरुलाई समस्यामा पारेको पनि दुखेसो गरे ।

‘जापान प्रहरीले हामीलाई नेपालीहरु जापानलाई राजनीति गर्ने थलो बनाउँदै छन् भन्दै प्रश्न गर्छ ?’ अर्यालले भावुक हुँदै भने, ‘तर हामीहरु यहाँका नेपाली समाजको आचरण लुकाउन बिवश छौं । किनकि कसैको कारण अर्को नेपालीले अस्तित्व गुमाउनु हुन्न । हामी आफै सचेत बन्न जरुरी छ ।’

त्यस्तै उपनियोग प्रमुख अर्यालले राजदूतवासले नेपाली जनताप्रतिको उत्तरदायित्व वहन गर्न नसकेको भन्ने नेपाली समाजको गुनासोलाई खण्डन गर्दै आफुहरु नेपालीहरुको प्रत्येक सुखदुःखमा अभिभाकत्व वहन गर्दै आएको बताए । उनले राजदूतवासबारे भ्रम पैदा गर्नुभन्दा राजदूतवासले गर्ने हरेक कार्यमा जापानमा रहेका सत्तरी हजार नेपालीहरुले सहकार्य गर्नपर्ने उल्लेख गरे ।

त्यस्तै एनआरएन जापानका अध्यक्ष सुदन थापाले जापानमा सामाजसेवाका नाममा खोलिएका नेपाली संघसंस्थाहरु नारामै सीमित रहेको आरोप लगाए । पछिल्लो समय जापानमा बढ्दै गएको आत्महत्याका घटनाप्रति निकै गम्भीर र चिन्तित देखिएका अध्यक्ष थापाले यस्तो दुखद् घटनामा पनि नेपाली समाजले देखाएको उदासिन्ताका कारण जापानमा थप जटिलता उत्पन्न हुन सक्ने बताए ।

उनले समाजिक सेवाका नाममा खोलिएका कुनै पनि संघसंस्थाले आफ्नो समाजप्रतिको कर्तव्य र उत्तरदायित्व वहन गर्न सक्दैन भने समाजसेवाको नारा दिएर संस्था खोल्नुको अर्थ के ? भन्दै कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिबीच प्रश्न गरे ।

यस्तै कार्यक्रममा थापाले पछिल्लो समय जापानमा आई पर्ने समस्यामा जातीयता र राजनीति विषयले प्राथमिकता पाउँदा समस्याले थप पश्रय पाउने गरेको खुलाए । उनले हामी आफ्नो जाती र राजनीतिभन्दा पनि माथि उठेर समाजसेवामा अग्रसर हुनुपर्नेमा जोड दिए ।

जापानमै रहेका १२० भन्दाबढी संघसंस्थाबीच समन्वय र सहकार्य हुन नसक्दा निकै चिन्तित बनेका अध्यक्ष थापाले हरेक समाज जातीयता र राजनितिको कोणबाट टाढा रहनु पर्ने अभिव्यक्ति दिए ।

यता पत्रकार महासंघ नेपालकी केन्दि्रय सदस्य पवनबषर्ा शाहले जापानमा रहेका संघसंस्थाहरुले पत्रकारमाथि हर्ने दृष्टिकोण परिवर्तन गनुपर्ने बताइन् । जापानमा क्रियाशील पत्रकार र संघसंस्थाबीचको सम्बन्धलाई सुमुधुर बनाउन ‘पत्रकार र संघसंस्थाबीच सहकार्य बिषयक अन्तरक्रिया’ कार्यक्रम कोशेढुङ्गा साबित हुने बताएकी पत्रकार शाहले कार्यक्रममा पत्रकार कहिल्यै समाजको प्रतिपक्षमा नहुने कुरा दर्शाउँदै पत्रकारलाई मित्रताको रुपमा लिन आग्रह गरिन् ।

शाहले जापानमा रहेका नेपाली समाजका अगुवाहरुलाई नेपालको राजनितिक मुद्धालाई भन्दा पनि जापानमा रहेका सत्तरी हजार नेपालीको मुद्धालाई छलफलको बिषय बनाइनु पर्ने तर्क राखिन् ।

कार्यक्रममा नेपाल सरकारका अवैतानिक पर्यटन प्रतिनिधि एवं एनआरएन जापानका महासचिव अनुज थापा, बाँके वर्दियामैत्री समाजका अध्यक्ष जनकविक्रम शाही, नेपाली जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष पुष्करजंग थापा, तमुधीं जापानका अध्यक्ष श्रीभक्त गुरुङ, म नेपाली ग्रुपका इन्दिरा गौतमलगायतले पत्रकार महासंघ जापानलाई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment