Comments Add Comment

काठमाडौंमा मतगणनाको भित्री कथाः कांग्रेसले हार स्वीकार्न बाँकी


७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको ८० हजार बढी मत गणना भइसक्यो । नेकपा एमालेका विद्यासुन्दर शाक्यले एकोहारो अग्रता लिइरहेका छन् ।

आइतबार विहानसम्म आइपुग्दा शाक्यले कांग्रेसका उम्मेदवार राजुराज जोशीको भन्दा ७ हजार बढी मत ल्याएका छन् । जेठ १ गतेबाट सुरु भएको मत गणनामा जोशीले एकपटक मात्रै अग्रता लिए । त्यो पनि धेरै टिक्न सकेन ।

अब पहिलो स्थानमा रहेका शाक्य र दोस्रो स्थानमा रहेका जोशीको मतान्तर ७ हजारबाट उकालो लागेको छ । अब आम सर्वसाधारणसँगै कांग्रेसकै नेता कार्यकर्ताले काठमाडौंमा ‘अब के हो ? के हो ?’ भन्न थालिसकेका छन् ।

कांग्रेसका मेयरका उम्मेदवार जोशीले पनि यो पटक नेपाली कांग्रेस चौतर्फी मारमा परेको अनलाइनखबरलाई बताए । तर, उनले अहिले नै हार मानेका छैनन् ।

कसरी काटियो कांग्रेसको भोट ?

काठमाडौंमा अहिलेसम्म १० वटा वडाको मतगणना सकिएको छ । ८ वटा वडाको गणना चलिरहेको छ भने १४ वटा वडाको मत गणना सुरु नै भएको छैन ।

तर, अहिलेसम्म गणना भएका वडाहरुले कांग्रेस उम्मेदवार जोशीलाई कहीँ पनि उत्साहित गराएका छैनन् ।

वडा नम्बर १ मा जोशीले ४५२ मत पाएका छन् भने शाक्यले ६४९ मत पाएका छन् । जबकि कांग्रेसकै उपमेयरका उम्मेदवारको मत ६५३ छ ।

नक्साल क्षेत्रको यो वडामा एमालेले वडाध्यक्ष जित्यो । एमाले र कांग्रेसले सदस्य २-२ जिते । ०५४ को स्थानीय चुनावमा कांग्रेस यहाँ राप्रपासँग हारेको थियो । थापा, ठकुरी, राणा, शाहहरुको बस्ती रहेको यो क्षेत्रबाट यो पटक साझा पार्टीका किशोर थापाले धेरै मत पाएका छन् ।

किशोर थापाले ३३० मत पाएका छन् भने विवेकशीलकी रञ्जु दर्शनाको मत ३९३ छ ।

वडा नम्बर २ मा त एमालेका विद्यासुन्दरले राजुराज जोशीले भन्दा दोब्बर मत पाए । यहाँ जोशीले भन्दा विवेकशीलकी रञ्जुले धेरै मत पाएकी छन् । जोशीले ५१५ मत पाउँदा दर्शनाले ५३२ र शाक्यले १ हजार २८८ मत पाएका छन् ।

वडा नम्बर २५ मा पनि त्यस्तै भयो । जोशीले ८७८ मत पाउँदा शाक्यले १ हजार ७३२ मत ल्याए । २७ मा जोशी झण्डै ३ सय मतले पछि परे जब कि उपमेयरकी उम्मेदवारले एमालेले भन्दा बढी मत पाएका छन् । यहाँ जोशीले १ हजार २७ मत पाए भने उपमेयरकी उम्मेदवार खड्गीको मत १ हजार ३७० छ । शाक्यको मत १ हजार ६२ छ ।

२८ मा दुबैको मत उस्तै छ । जोशीले ९०३ मत पाउँदा शाक्यले ९३७ मत पाएका छन् ।

कांग्रेसलाई नराम्रो झड्का वडा नम्बर २९ र ३० मा लाग्यो । यो दुबै वडा पूर्वमहामन्त्री प्रकाशमान सिंहको निर्वाचन क्षेत्र हो । अन्य स्थानमा एमालेले लिएको अग्रतालाई यो क्षेत्रका सहजै कभर गर्न सकिने कांग्रेसको आंकलन थियो ।

तर, यहाँ उसको मत बाँडियो । मेयरमा विवेकशील र साझा पार्टीले कांग्रेसको भोट नराम्ररी काटेको देखियो ।

२९ नम्बर वडाको जारी मत गणनामा कांग्रेसकी उपमेयरकी उम्मेदवार खड्काले १ हजार ७६७ मत पाएकी छन् । कांग्रेसले अपेक्षा गरेको भोट हो यो ।

तर, राजुराज जोशीले १ हजार १२५ मत पाए । यो वडामा विवेकशीलकी रञ्जुले ८३८ र साझाका किशोर थापाले ५९१ मत पाएका छन् । परिणाम त एमालेका विद्यासुन्दर शाक्यले आफ्नो मत पाउँदा पनि राजुराज जोशी सँगसँगै भए । उनले १ हजार ३३२ मत पाएको छन् ।

३० नम्बर वडाको दृश्य पनि यो भन्दा फरक रहेन । एक प्रकारले कांग्रेसका लागि सरप्राइज नै रहृयो । यो वडा प्रकाशमान सिंहको क्षेत्र मात्र होइन, गगन थापाको घर भएको वडा पनि हो, जुन कांग्रेसको गढ मानिन्छ ।

तर, यो पटक कांग्रेस उम्मेदवार राजुराजलाई विवेकशीलकी रञ्जुले राम्रै टक्कर दिएकी छन् ।

‘यो कहिल्यै पनि हामी नहार्ने वडा हो । तर, यो पटक पनि हाम्रो प्यानल आउँछ । तर, मेयरमा हामी पहिलो स्थानमा रहँदा स्टकोट दोस्रो भयो’ एक नेता भन्छन् ।

यो वडामा राजुराजले १३५८ मात्र पाए भने रञ्जुले ११७९ मत ल्याउँदा किशोरले ५८९ मत पाए । जब कि कांग्रेसले उपमेयरमा १८३१ मत पाएको छ ।

एमालेका विद्या शुन्दर शाक्यले ११७९ भोट, जुन एमालेको भोट मानिएको छ, ल्याउँदा झण्डै कांग्रेस उम्मेदवार राजुराज जोशीलाई जितेनन् । यसले प्रष्ट हुन्छ कि रञ्जु र किशोरले कांग्रेसकै धेरै मत काटेका छन् ।

वडा नम्बर ३१ र ३२ मा पनि राजुराज एमाले उम्मेदवार शाक्य भन्दा निकै पछि परेका छन् । ३१ मा शाक्यले जोशीभन्दा ६ सय र ३२ मा १२ सय मत बढी पाएका छन् । अन्य वडाको अवस्था पनि यो भन्दा फरक छैन । वडा नम्बर ३, ४, ५, ७, २२, २३ र २४ मा शाक्य नै अगाडि छन् । मात्र ६ नम्बर वडामा जोशी अगाडि छन्, त्यो पनि अग्रता २०० को पनि छैन ।

यसरी हेर्दा काठमाडौंको मेयर बन्ने दौडमा विद्या सुन्दर हरेक वडामा जित्दै गएका छन् भने कांग्रेसका राजुराज जोशी एकपछि अर्को वडामा पछि गर्दैछन् । यही आंकडाकै कारण कांग्रेस नेताहरु अब काठमाडौंको मेयर गुमाउने आंकलन गर्न थालेका छन् । तर, अझै एक लाख बढी मत गन्न बाँकी रहेका करण चुनावी परिणामबारे खुलेर कुरा गर्न चाहिरहेका छन् ।

मेयरका कांग्रेस उम्मेदवार स्वयंम राजुराज जोशीले भने धेरैतिर कांग्रेसको भोट काटिएको अनलाइनखबरलाई बताए । ‘२९ र ३० नम्बर वडामा हाम्रो भोट काटियो । हाम्रो भोट सबै ठाउँमा काटिएको छ’ उनले भने ।

तर, अझै हार मानेका रहेनछन् । उनले भने, ‘एक लाख गन्न बाँकी छ र अहिले ६/७ मात्र फरक छ ।’

१४/१३ हजार मत खसेका वडाहरुको मत गन्न बाँकी छ । कहिँ त्यहाँबाट कभर हुन्छ कि भन्ने कांग्रेस र जोशी स्वयंमको झिनो आश देखिन्छ ।

१०, ११, १३, १४, १६ जस्ता धेरै मत खसेको वडाहरुको गणना बाँकी नै छ । मेयरका उम्मेदवार जोशीको आफ्नै वडा २० को पनि बाँकी छ । तर, डर छ कि कतै त्यहाँ पनि रञ्जु र किशोरले भोट काट्छन् कि ? जोशीले शंका जनाए, ‘तर, हाम्रो भोट काटिएको छ, अहिले मैले भन्न सक्दिँन ?

यदि कांग्रेसको भोट नकाटिएको भए अहिलेको अवस्था के हुन्थ्यो त ? जोशीले आफ्नो हिसाव सुनाउँदै भने, ‘अहिलेसम्म त ३/४ हजारको लिड लिनु पर्ने हो । तर, हामीलाई चौतर्फी मार पर्‍यौं । राम्रो वडामा लिड गर्न सकेनौं ।’

उम्मेदवारी दर्ताका क्रममा कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशी र उपमेयरकी उम्मेदवार हरिप्रभा खड्गी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment