Comments Add Comment

६ देशमा श्रम सहचारी र काउन्सिलर नियुक्त गरिँदै

मन्त्रालय भन्छ-जोसुकै श्रम सहचारी बन्ने दिन सकियो


७ जेठ, काठमाडौं । सरकारले विभिन्न श्रम गन्तब्य मुलुकमा रिक्त श्रम सहचारीर काउन्सिलर नियुक्तिको प्रक्रिया थालेको छ । श्रम तथा रोजगार मन्त्रालयले यसका लागि दरखास्त आह्वान गरेको छ । त्यसमा आवेदन दिन चालक अनुमतिपत्र र टोफेल-आइइएलटीएस उत्तीर्ण हुनैपर्ने छ ।

मलेसिया, दक्षिण कोरिया, साउदी अरबको जेद्दाह, युएई, कुवेत र ओमनका लागि मन्त्रालयले श्रम सहचारी र काउन्सिलरको पदमा दरखास्त मागेको हो ।

यी मुलुकहरुमा अहिले श्रम सहचारीका पदहरु खाली हुँदा कामदारहरु समस्यामा छन् । कामदारहरुले दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो ब्याप्त छ । यसैलाई सम्बोधन गर्न रिक्त रहेका देशमा श्रम सहचारी नियुक्तिका लागि दरखास्त मागिएको हो ।

नेपालीको प्रमुख श्रम गन्तब्यका श्रम सहचारी नियुक्तिको लागि पछिल्लो समयमा कडा मापदण्ड बनाइएको छ । मापदण्ड बलियो बनाउँदा शक्ति केन्द्रको भनसुन र पैसाको भरमा श्रम सहचारी हुन रोक्ने विश्वास लिइएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले कडा प्रावधानसहित कार्यविधि पारित गर्दै नयाँ मापदण्ड बनाएको छ । जसअनुसार यो पटक श्रम सहचारीमा दावी गर्न टोफेल र आइइएलटीएसमा न्यूनतम ५ अंक ल्याउनै पर्नेछ । पीटीई परीक्षामा ३५ अंक ल्याएकाले पनि श्रम सहचारीमा आवेदन गर्न सक्नेछन् ।

साथै सवारी चालक अनुमतिपत्र पनि अनिवार्य गरिएको छ भने निजामति सेवामा कम्तिमा अधिकृतस्तरमा ३ वर्ष सेवा गरेकै हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि अंग्रेजी भाषा सिकेको प्रमाणपत्र ल्याएकै भरमा सहचारी बन्ने प्रवृत्ति थियो । भाषा कमजोर भएकै कारण श्रम सहचारी र काउन्सिलरले कामदारलाई परेको समस्या सम्बन्धित मुलुकमा सरकारी निकायसँग प्रष्ट रुपमा राख्न नसक्ने समस्या अब हट्ने विश्वास गरिएको छ ।

बिगतमा अन्य मन्त्रालयमा रहेकाहरु सेटिङ मिलाएर श्रम मन्त्रालयमा आउने र मोटो रकम बुझाएर श्रम सहचारी बनेर विदेश जाने प्रचलन ब्याप्त थियो । अहिले मन्त्रालयमै काम काम गरेका र कामदारको हित थथा विदेशी कानुन, आप्रवासी कामदारको मुद्दा र विषयवस्तुमा जानकारी भएकाहरुलाई प्राथमिकता दिनेगरी मूल्यांकन विधि बनाएको छ ।

अब पैसा खुवाएरै श्रम सहचारी बन्ने सम्भावना सकिएको मन्त्रालयले जनाएको छ । कम्तीमा अंग्रेजी भाषामा दक्ष र विषयवस्तुको ज्ञान हुनैपर्ने प्रावधानले अयोग्य ब्यक्ति जानबाट केही हदसम्म रोक्ने अपेक्षा गरिएको छ ।

अहिले खाडीका ५ राष्ट्रसहित मलेसिया र कोरियामा श्रम सहचारीहरु पठाउने गरिएको छ । मलेसियामा श्रम काउन्सिलर र सहचारी दुबै राख्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment