Comments Add Comment

पश्चिम चितवनले यसरी गर्दैछ रेणु र देवीको फैसला

७ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मतगणना र मत परिणामका विषयमा सबैको चासो उत्तिकै छ । कारण प्रधानमन्त्री पुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेससँग चुनावी गठवन्धन गरेर उठेकी छन् ।

महानगरको हालसम्म ११ वटाको मतगणना गरिसकिएको छ । गणना भएका वडामध्ये एमालेले वडा नः २,४,५,७,९, १० र २९ मा जित हात पारिसकेको छ भने कांग्रेसले वडा नं ३, ६ र ८ विजय हात पारेको छ ।

वडा नः ६ बाहेक सबै वडामा माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । तथापि कांग्रेसको मतका आधारमा माओवादी केन्द्र महानगरमा कमजोर नै भए पनि एमाले उम्मेदवार देवी ज्ञवालीको हाराहारीमा रेणुको मत आएको छ ।

कतिपय स्थानमा कांग्रेसको मत गठवन्धनको पक्षमा अलि बढी देखिए पनि कुनै वडामा भने कमजोर देखिँदा मत परिणामको आकंलन गर्न मुस्किल बनेको छ ।

कांग्रेसले जितेको वडा नं १ र ३ मा एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीलाई सम्मानजनक मत आएको छ । कांग्रेसले नै जितेका वडा नं ६ र ८ मा भने ज्ञवालीको पक्षमा अतिरिक्त मत कम आएको देखिन्छ ।
वडा नं १, ४ र ७ मा अति नै कम मतान्तरले वडाध्यक्षका उम्मेदवारहरुले जितेका छन् । वडा नम्वर १ मा कांग्रेसले १४ मतले जित हात पार्दा वडा नः ४ र ७ मा एमाले उम्मेदवारहरुले क्रमशः ७ र १४ मतले नै निर्वाचन जितेका छन् ।

वडा नः ४, ५ र ७ मा एमालेले अप्रत्याशित नतिजा निकालेको छ । यी वडामा एमालेले जित्ला भनेर आँकलन स्वयं एमाले वृत्तमा थिएन । माओवादीले कांग्रेससँग गठवन्धन गरेर मेयर हुत्याउने दाउ कसे पनि उसले महानगरका २९ वटा वडामा एक जना पनि वडाध्यक्ष जित्ने सम्भावना कमजोर छ ।

एमालेलाई अपेक्षाकृत मत आएन

रेणु दाहालका लागि चुनौतीपूर्ण वडाहरुमा अहिले मतगणना जारी छ । महानगरको वडा नः १०, ११ र १२ रेणुलाई समस्या पार्ने वडाका रुपमा लिइएको भए पनि वडा नः १० वाट उनले कांग्रेसको सन्तोषजनक मत पाएको देखिएको छ ।

भरतपुरको मुटु रहेको वडा नं १० बाट माओवादीले ६९५ मात्रै मत पाएको छ । यहाँबाट देवीले एमालेबाहेक अत्तिरिक्त १२० मत ज्यादा पाउँदा रेणुले वडा नः १० वाट १८९७ मत प्राप्त गरिन् । कांग्रेसले यस वडाबाट १८५८ मत ल्याएको छ । रेणुले प्राप्त गरेको मतबाट माओवादीले प्राप्त गरेको मत घटाउँदा कांग्रेसको १२०२ भोट मात्रै उनले पाएको देखिन्छ । ६५६ कांग्रेसको मत अन्यत्र गएको देखिन्छ ।

गणना गरिएका वडा नं १० र वडा नं २९ बाट एमालेले सोचेजस्तो मत प्राप्त गरेको देखिँदैन ।

कांग्रेसको ठूलो संख्याका मतदाताले रेणुका पक्षमा मत हालेको देखिन्छ । वडा नं ११ गणना गर्नुअघिसम्म १२२५ मतले ज्ञवालीको अग्रता छ ।

वडा नः ९ मा एमालेबाट वडाध्यक्ष यमलाल कंँडेलले ४१३ मतले जित्दा देवीले जम्मा मेयरमा ३४६ को लिड लिएर वडा नं १० मा गएका थिए । यही वडामा एमाले अध्यक्ष कृष्णभक्त पोखरेलको समेत घर छ । एमाले वडाध्यक्षका उम्मेदवार अरुणपीडित भण्डारीलाई २३१६ मत आउँदा देवी ज्ञवालीले १२० मत मात्रै बढी मत ल्याए ।

वडा नं १० मा एमालेलाई अपेक्षा गरेको जति मत आएको देखिएन । वडा नं २९ पनि एमालेकै प्रभाव क्षेत्र हो । वडा तहमा नै कांग्रेस र माओवादीको गठवन्धन भए पनि एमाले उम्मेदवार मानबहादुर रानामगरले ४२ मतले प्यानलसहित चुनाव जिते । तर, यहाँबाट पनि देवी ज्ञवालीलाई अपेक्षा गरेअनुसारको मत आएको देखिँदैन ।

प्यानलसहित चुनाव जितेका एमाले वडाध्यक्षका उम्मेदवार मानबहादुर रानाले भन्दा जम्मा ९७ मत मात्रै देवीको पक्षमा बढी आयो । यस वडामा रेणुले कांग्रेस माओवादी गठवन्धनबाट ८८७ मत थपिन् । तर, अध्यक्षका प्रत्यासीले भन्दा १२२ मत मात्रै कम ल्याइन् । तुलानात्मक रुपमा कांग्रेस माओवादीभन्दा राम्रो प्रभाव क्षेत्र मानिएको वडा नं २९ वाट पनि एमालेको भोट सन्तोषजनक आउन सकेन । यसले एमालेमाथि दबाव बढाइरहेको देखिन्छ ।

एमालेलाई वडा नं ११ र १२ को भरोसा 

महानगरकै सबैभन्दा धेरै मतदाता भएको वडा हो ११ नम्वर । यस वडामा १००३४ मतदाता रहेकामा ७५९३ मत खसेको छ । एमालेले महानगरको वडा नं ११ लाई सबैभन्दा बढी प्रभाव भएको क्षेत्रमा रुपमा लिने गरेको छ ।

अहिले मतगणना यसैमा चलिरहेको छ । मतगणनाको प्रारम्भिक अवस्थालाई हेर्दा एमालेले अग्रता बढाएको छ । १८ सय मत गन्दा रेणुभन्दा १५ सय मतले देवी अगाडि गएका छन् ।

यस्तै एमालेको अर्को पकड भएको वडा नं १२ पनि हो । यहाँ ५४७४ मतदाता छन् । यहाँ ३९५५ मत खसेको छ । एमाले उम्मेदवार देवी ज्ञवालीले यहाँबाट लिने लिडले कसको पक्षमा नतिजा जाला भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।

एमालेले आफ्नो सबैभन्दा कम प्रभाव भएको वडा नं ६ को ‘खड्को’ काटेको दाबी गरेको छ । सो वडामा पुगेपछि नै रेणुले देवीसँगको दुरीलाई घटाएर ९ सयको हाराहारीमा ल्याएकी थिइन् ।

बाँकी वडामा को कस्तो ?

मतगणना र परिणाम विषयमा दल र प्रमुख निर्वाचन अधिकृतका वीचमा विवाद भएपछि गरिएको सहमति बमोजिम वडाहरुलाई घट्दो क्रममा र बढ्दो क्रममा क्रमैसँग गणना गर्ने सहमति भएको छ । जसअनुसार वडा नं १० पछि वडा नं २९ को गणना गरियो भने अहिले ११ नम्वरको गणना भैरहेको छ ।

अब यसपछि वडा नं २८ र त्यसपछि १२ नम्वर वडाको मत गणना गरिनेछ । अब गणना हुने वडाहरु मध्ये धेरैजसो कांग्रेसको प्रभाव क्षेत्र बढी भएका वडाहरु पर्दछ ।

कांग्रेसले माओवादीसँगको गठवन्धनबमोजिम इमान्दारिता प्रर्दशन गरेको देखिएमा एमाले उम्मेदवार देवी ज्ञवालीका लागि यसले समस्या पार्न सक्ने देखिन्छ ।

एमालेले वडा नं ११, २८ र १२ गणना हुँदा कम्तिमा पनि ३५ देखि ४ हजारसम्मको अग्रता लिएर जाने अपेक्षा गरेको छ । यसो हुँदा कांग्रेसको प्रभाव क्षेत्रबाट रेणुलाई मत गए पनि क्षतिपूर्ति गराउन सकियोस् । तर, शुरुवाती लक्षण एमालेको पक्षमा यति राम्रो देखिएको छैन ।

अब माओवादीको सामान्य प्रभाव क्षेत्र भएका वडाहरु वडा नं १३, १४ र २५ हुन् । वडा नं १४ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाल्यकाल बिताएको ठाउँ पनि हो ।

वडा नं १५ र १६ मा सबैभन्दा बढी क्रमशः ५५२३ र ५७२३ मत खसेको छ । साविक मंगलपुर गाविसमा पर्ने यो क्षेत्रको एउटा वडा एमालेको र अर्को कांग्रेसको प्रभाव क्षेत्रमा पर्दछन् ।

महानगरको पश्चिमी वडाहरु कांग्रेसको प्रभाव भएका क्षेत्र हुन् । साविक चित्रवन नगरपालिका कांग्रेसको गढ हो । यहाँबाट आउने भोटले नै महानगरको भावी मेयरको फैसला गर्ने देखिन्छ । यो क्षेत्रमा माओवादीको प्रभाव खासै छैन ।

वडा नं १७, १८, १९, २० कांग्रेसको पकड क्षेत्र हुन् । वडा नं २६ साविक दिव्यनगर गाविस पर्छ । यसको वडाध्यक्ष एमालेको सहयोगमा माओवादीबाट उठेका छन् । वडाध्यक्ष उठेका माओवादीका उम्मेदवार ज्ञानप्रसाद खनालले देवी ज्ञवालीलाई मेयरमा सर्मथन गर्ने शर्तमा एमालेसँग एलायन्स गरेका हुन् । उनलाई पार्टी कारर्वाही गरिसकेको छ । यद्यपि यहाँ कांग्रेस नै बलियो छ ।

वडा नं २१ मा एमाले र कांग्रेसका वीचमा प्रतिस्पर्धा हुने देखिन्छ, वडा नं २३ र २४ मा अरु भन्दा तुलानात्मक रुपमा एमाले बलियो छ । वडा नं २७ र २८ मा एमाले पहिलो बन्न सक्छ । यहाँ राप्रपाको प्रभाव पनि राम्रो छ । माओवादीको प्रभाव देखिँदैन । कांग्रेसको प्रभाव सामान्य छ ।

पश्चिम चितवनमा एमालेलाई कमजोर नबनाइकन कांग्रेस बलियो हुँदैन भन्ने भावना मतदानमा प्रकट भए एमाले पराजयको दिशातर्फ जाने छ भने विगतमा माओवादीका गतिविधि मन नपराउने कांग्रेसहरुको अभिमत मतपत्रमा पोखिए माओवादीले पराजय भोग्ने छ ।

पश्चिम चितवन रेणुलाई कति मत आउँछ भन्ने कुरा यसै भन्न सकिने अवस्था छैन । त्यसैले महानगरको परिणामले कौतुहल सबैलाई छ ।

कांग्रेसकै मत आउने बलमा नै एमाले उम्मेदवार देवी ज्ञवालीले जित देखेका छन् भने रेणु पनि ढुक्क छैनन् । अंकगणितले गठवन्धनको पक्षमा पल्ला भारी हुनुपर्ने हो, तर त्यो अवस्था भरतपुरमा अहिलेसम्म देखिएको छैन । तर, एमालेले सोचेजस्तो पनि हुन सकिरहेको छैन । जसले गर्दा यहाँको मत गणना निकै रोचक बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment