Comments Add Comment

छायामा परेको ललितपुर महानगरः हारजितमा कोही ढुक्क छैनन्

जातीय फ्याक्टर, क्यामेरा र सेलरोटीको चमत्कार, गाईको बिजोग

८ जेठ, ललितपुर । क्यामेराले कसलाई डुबायो ? सेलरोटीको सम्भावना अझै छ र ? माओवादीका मेयरलाई आउनुपर्ने ४ हजार भोट कसरी कांग्रेसतिर गयो ? ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिसरमा यिनै प्रश्न र आ-आफ्ना तर्कका आधारमा गफगाफ चलिरहेका छन् । भित्र मतगणना भइरहेको छ ।

सबै पार्टीका कार्यकर्ताहरु एउटा कुरामा भने सहमत छन्- ललितपुर महानगरमा जसले जिते पनि ५ सय भन्दा बढी मतको अन्तर नहुने भयो ।

मुलुकका ४ महानगरपालिकाको मतगणना चलिरहेका बेला काठमाडौं, भरतपुर र पोखरा जसरी चर्चामा छन्, ठीक विपरीत ललितपुरको खासै चालचुल छैन । भरतपुर र पोखरा कांग्रेस माओवादी तालमेलका बाबजुद एमालेले अग्रता लिएको र भरतपुरमा प्रचण्डकी छोरी उम्मेदवार भएका कारण पनि चर्चामा हुने नै भयो ।

काठमाडौं महानगर कांग्रेसको अनपेक्षित कम मत आउनु र विवेकशील नेपाली दलले १० हजार मत कटाउनुले पनि चर्चामै छ । तर, ललितपुरमा के छ ? यसको जवाफ खोज्न अनलाइनखबरको टीम जावलाखेल मतगणनास्थलमा पुग्दा विशेष गरी कांग्रेस र एमाले कार्यकर्ता आ-आफ्नो आँकलनमा थिए ।

एकैछिन भेटिएका कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अनुहारमा पनि चमक थिएन । उनले आफूलाई आफ्नै वडाले धोका दिएको गुनासो गरे । महर्जनले भने- आफ्नै वडाले धोका दियो, ५ हजारले लिड गर्छु भनेको ठाउँमा १ हजारको अग्रता पनि भएन । अब के हुन्छ, यसै भन्न सकिन्न ।

चिरिबाबु महर्जन र हरिकृष्ण व्यञ्जनकार

हामीले एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारलाई खोज्यौं । मतगणनास्थलभन्दा पछाडि एउटा टहरोमा केही कार्यकर्ताको बीचमा उनी कलम लिएर मतको हिसाब-किताब गर्दै थिए । नेवारी भाषामा उनले एक कार्यकर्तालाई भने- आश गरेको वडाबाटै कम भोट आइरहेको छ । छु ड्या, छु ड्या ! के भो के भो)

ललितपुरको मतगणना चलिरहँदा शुरुमा केही समय एमालेका हरिकृष्ण व्यञ्जनकारले अग्रता लिए पनि त्यसपछि लगातार ५ सय देखि २ हजारसम्मको अग्रता कांग्रेसका चिरिबाबुले लिइरहेका छन् । तर, अग्रता लिने र अग्रतामा केही मतले पछि पर्ने दुवै उम्मेदवार विजय र पराजयप्रति ढुक्क छैनन् ।

जसले जिते पनि ५ सय मतको भित्र हारजित हुने व्यञ्जनकारले बताए । चिरिबाबु भने आफूले जिते १ हजारसम्मको अन्तर हुन सक्ने बताउँछन् । एमालेले जितेमा डेढ सयदेखि दुई सय मतले लैजान सक्ने उनको आँकलन छ । मतगणना रोचक हुनुको कारण पनि यही छ कि-दुबै पार्टीजति जितप्रति आशावादी छन्, हारप्रति पनि उत्तिकै चिन्तित छन् ।

मतगणनास्थलबाट बाहिरिँदै गर्दा एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्त पनि पार्टीका उम्मेदवारका जितप्रति ढुक्क देखिएनन् । उनले भने-५ सय मतभित्र हारजित हुन सक्छ, अहिले यस्तो प्रतिस्पर्धा छ कि भन्न सकिन्न, २० नम्बर वडापछि अलिकति हामो अवस्था मजबुत हुनसक्छ ।

रघु पन्तले यसो भनेर हिँडेको केही घण्टापछि स्टाफ कलेज परिसरमा माओवादी नेता कार्यकर्ताको चहलपहल बढ्यो । ललितपुर महानगरपालिका जित्ने लिष्टमा राखेको माओवादीले साझा पार्टीलाई जित्न नसकेर चौथो स्थानमा पुगेपछि माओवादी उममेदवारले हार स्वीकार गरिसकेका थिए ।

एकाएक पूर्वसभासद राजकाजी महर्जन सहितका नेता कार्यकर्ताको प्रवेश हुनुको अर्थ के रहेछ भने- ललितपुरका २१ र २२ नम्बर वडाका वडाध्यक्ष माओवादी उम्मेदवारले जितेका रहेछन् । बुङमती र खोकना क्षेत्रका यी वडामा माओवादीले जितेर ललितपुर महानगरपालिकामा खाता खोल्दा एमाले वृत्तमा खैलाबैला मच्चियो ।

उनीहरुले २० वडापछि एमालेेले बढी मत पाउने अपेक्षा गरेका थिए । अझै पनि २९ वडासम्म पुग्दा झिनो मतले जित्ने आशा एमालेले राखेको छ भने कांग्रेसले अहिलेको अग्रता २४ नम्बरसम्म पुग्दा केही खुम्चिए पनि एमालेले ठूलो मतान्तरले अग्रता लिन नसक्ने अपेक्षा गरेको छ ।

उम्मेदवारका दुःख

मतपरिणामको अझै आँकलन गर्न नसकेका उम्मेदवारका आ आफ्नै दुःख छन् । कांग्रेसका चिरिबाबु महर्जन मतदाताको दैलोमा पुग्दा प्रायः सबैको मुखबाट एउटै प्रश्न सुने- प्रधान न्यायाधीश विरुद्ध कांग्रेसले किन महाअभियोग लगाएको ? उनले यसको जवाफ दिन सकेका थिएनन् ।

मतगणनाका क्रममा अपेक्षित मत नआइरहेका बेला उनले भने-पार्टीको केन्द्रीय नीति र नेतृत्वको क्रियाकलापको असर पनि प्रत्यक्ष रुपमा पर्‍यो । अलि अलि अन्तर्घातको कारण पनि भयो । क्यामेरा (साझा)ले पनि मेरो धेरै भोट लग्यो । अब यसै हो भन्ने अवस्था छैन, तर जित्छु भन्नेमा ढुक्कै छु ।

एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारको भने पार्टी नीति र नेतृत्वप्रति कुनै गुनासो छैन । बरु पार्टी अध्यक्ष केपी ओलीको राष्ट्रवादी अडान र पछिल्ला सत्तापक्षका क्रियाकलापको विपक्षमा एमाले खरो रुपमा उभिएका कारण आफूले राम्रो मत पाएको उनले बताए ।

तर, उम्मेदवारी ढीलो घोषणा हुँदा सबै मतदातासम्म पुग्न नसक्नु र वडाध्यक्षका उम्मेदवारहरु आफू आफू जित्नेमा केन्दि्रत हुँदा मेयरमा अपेक्षित भोट नआएको उनले स्वीका गरे । उनले भने- वडाध्यक्ष जिते अनुसार मेयरमा पनि मत आउँछ भन्ने थियो तर त्यसअनुसार भएन ।

कसले कति वडा जिते ?

अहिलेसम्म मतगणना भएका ललितपुरका वडाहरुमध्ये एमालेेले धेरै जितेको छ । एमालेले वडा नम्बर २ देखि ८ सम्म लगातार जितेको छ । त्यस्तै ११, १२, १५, १७, १८ र १९ वडा पनि एमालेले जितेको छ । कांग्रेसले १, ९, १३, १४, १६ र २० नम्बर वडामा जितेको छ । १० नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन् । भने २१ र २२ माओवादीले जितेको छ ।

अब मतगणना गर्न बाँकी २३ देखि २९ नम्बर वडाको मतले ललितपुरको मेयर र उपमेयरको भाग्य फैसला गर्नेछ । एमालेे अबका वडाहरुबाट आफूले राम्रो मत पाउने अपेक्षा गरेको छ । तर कांग्रेसले पनि आफ्नो अवस्था मजबुत हुने अपेक्षा गरेको छ ।

जातीय फ्याक्टर

ललितपुरको मेयरको मतदमा जातीय फ्याक्टरले पनि काम गरेको चर्चा चल्न थालेको छ । ललितपुरमा सबैभन्दा धेरै मतदाता ज्यापू समुदायका छन् । महर्जन समुदायको ठूलो बाहुल्य रहेको महानगरमा एमाले बाहेक सबै दलका मेयर उम्मेदवार महर्जन नै छन् ।

जातीय फ्याक्टरले पनि व्यञ्जनकारलाई केही समस्या परेको एमालेका एक नेताले बताए । अर्को कुरा माओवादीका उम्मेदवार दिनेश महर्जनले उपमेयर उम्मेदवार हशिना शाक्यको भन्दा करिव ३ हजार मत कम पाएका छन् । यसले गर्दा माओवादीभित्रै अन्तरघातको खैलाबैला शुरु भएको छ ।

विशेष गरी केही नेताकै संलग्नतामा कांग्रेसका चिरिबाबु महर्जनलाई मेयरमा मत हालिएको आरोप दिनेश पक्षले लगाएको छ । यदि मेयरमा पार्टीको सबै मत पाएको भए माओवादी साझा पार्टीभन्दा पछाडि हुने थिएन भन्ने उनीहरुको तर्क छ ।

सेलरोटी र गाईको चर्चा

उपमेयरमा साझा पार्टीकी शोभा शाक्यले कांग्रेसकी गीता सत्याललाई आश्चर्यजनक ढंगले टक्कर दिइरहेकी छन् । सेलरोटी चिन्ह लिएकी शोभा करीव २ हजार मतको अन्तरमा कांग्रेसभन्दा पछाडि छिन् । उनले पनि जितको आशा मारिसकेकी छैनन् ।

उपमेयरमा राप्रपाका बाबुराजा शाक्यलाई एमालेले साथ दिएको थियो । तर, मतगणनाका क्रममा उम्मेदवार नै नभएको सूर्य चिन्हमा ८ हजार भन्दा बढी मत प्राप्त भइसकेको छ । जब कि बाबुकाजी प्रधानले ७ हजार कटाउन सकेका छैनन् ।

अब मतगणना हुने दुई वडामा राप्रपाको पनि केही मत छ । यदि राप्रपाको मत हरिकृष्ण व्यञ्जनकारले बाबुकाजीले पाए जसरी नै पाउने हो भने डेढ दुई सय मतान्तरमा जित्न सकिने आँकलन एमालेको छ । कांग्रेसको आँकलन भने एमालेले सोचे जस्तो मत नआइदिए जितिन्थ्यो भन्ने छ ।

ललितपुर महानगरपालिकाको मतगणना भइरहेका बेला साझा पार्टीका मेयर उम्मेदवार रमेश महर्जन र उपमेयर उम्मेदवार शोभा शाक्यले लोभलाग्दो ढंगले मत प्राप्त गरिरहेका छन् । जित्ने आशा गरेको माओवादी चौथो स्थानमा छ । रमेश र शोभाले कसको मत काटे भन्ने भन्दा पनि विकल्प खोज्ने मतदाताले उनीरुलाई रोजेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment