Comments Add Comment

रञ्जु यसकारण हाम्रो नेता

विवेकशील नेपालीको १० हजार मत कट्नै लाग्दा सबैभन्दा बढी मत ल्याएर लिड गरिरहेका विद्यासुन्दर शाक्य राष्ट्रिय सभागृहकै प्राङ्गणमा हुनुहुन्थ्यो । रञ्जु अनि हामीलाई देख्नासाथ उनले ‘मैले तपाईंहरुले यति मत ल्याउनुहुन्छ भन्ने सोचेको थिइनँ, अब परिणामपछि एकचोटि बस्नुपर्छ’ भन्नुभयो । धेरै राजनीतिक विश्लेषकले नसोचेको कुरा भयो भन्नुभयो ।

तर, हाम्रो लागि यो अनपेक्षित थिएन । हामी यो राजनीतिक भूकम्प तथा धक्काका निम्ति तयार थियौं । दुई वर्षअघिदेखि हामी यो निर्वाचनका निम्ति तयारीमा जुटेका थियौं । तसर्थ, हाम्रा निम्ति यो राजनीतिक भूकम्प अपेक्षित नै थियो । तर, आम नागरिकको विकल्पको चाहनाले हाम्रो उम्मेदवारी अनि अभियानलाई थप ऊर्जा दिएको भने पक्कै हो ।

निर्वाचनको अघिल्लो दिन हामी पशुपतिनाथ दर्शन गर्न गएका थियौं । फर्कँदै गर्दा एक जना करिब ५० वर्षीया आमाले रञ्जुलाई देख्ने बित्तिकै ‘रञ्जु, तिमी मेरी छोरी हौ’ भनेर अँगालो हालिन् ।

ती आमाको आवाजमा एउटा छुट्टै अपिल थियो । रञ्जुलाई भेट्न पाएकोमा उनका आँखा रसाएका थिए । त्यो ‘कलिङ अपिल’ अनि आमाको अँगालोमा बाँधिँदा रञ्जुका आँखा पनि रसाएका थिए । यो सबै हेर्दै गरेका हाम्रा आँखा पनि रसाउन थाले ।

रञ्जुको उम्मेदवारीदेखि निर्वाचनसम्म २५ दिनको फरक थियो । त्यो २५ दिनमा हामीले अकल्पनीय माया पायौं । अपार र नसोचेको माया । यति छोटो समयमा यति धेरै माया, यति ठूलो जिम्मेवारी पाएका छौं ।

हामीले बितेका हप्तामा काठमाडौंका हजारौं मतदातालाई भेटेका छौं । हामीले त्यस्ता युवाहरु भेटेका छौं, जसले आफ्नो आमा-बुवालाई वंशज आस्थाको राजनीतिक दललाई छाडेर रञ्जुलाई भोट हाल्न लगाएका छन् ।

यो सबै माया र विश्वासलाई सम्हालेर अनि हामीलाई यो मोडसम्म नेतृत्व गरेर तिमीले आफूलाई प्रमाणित गरिसक्यौ । त्यसैले रञ्जु, तिमी मेरो नेता हौ ।

गत २५ दिनमा तिमीले हजारौं मान्छेलाई भेट्यौ । मानिसहरु तिमीलाई सहयोग गर्न चाहन्छन् । आफ्नो मनको कुरा पोख्न चाहन्छन् । तिमीमा आफ्नो प्रतिविम्ब देख्दै छन् ।

मिलन पाण्डे

राजनीतिमा अहिले हाम्रा नेताहरु किन असफल हुँदै छन् थाहा छ रञ्जु ? उनीहरु आम नागरिकसँग भिज्न सकेका छैनन् । आम नागरिकले आफ्नो कुरा उनीहरुलाई भन्न सक्ने वातावरण र त्यो आत्मीयता देखाउन सकेका छैनन् । यो २५ दिनको तिम्रो उम्मेदवारी यात्रा अनि ४ वर्षे राजनीतिक यात्रामा मैले देखेको तिम्रो सबैभन्दा सबल पक्ष यही हो ।

तिमीमा हामी हाम्रो प्रतिविम्ब देख्छौं अनि तिमी हामीलाई आफ्नै परिवारको सदस्य झैं लाग्छ । तिमी काठमाडौंकी छोरी बन्न सफल भएकी छ्यौ । अबको नेता सरकार होइन, परिवार बन्न सक्नुपर्छ । काठमाडौंवासीले तिमीलाई आफ्नो परिवारको रुपमा स्वीकार गरिसकेका छन् ।
निर्वाचन प्रचार-प्रसारकै दौरान वसन्तपुर घुम्दै गर्दा एक जना बुवाले रञ्जुलाई भन्दै थिए, ‘रञ्जु, मेरी ८५ वर्षीया आमाले हिजो मलाई बोलाउनुभयो अनि छोरा मलाई त्यो रञ्जुलाई भोट हाल्न सिका त भन्नुभयो । मेरी नातिनी जस्तै रै’छे अब गर्ने यिनीहरुले नै हो भन्नुभयो ।’

प्रत्येक पाइलामा हामीले यस्तै विश्वास अनि माया पाउँदै छौं । यस्तो प्रतिक्रिया पाउँदा हामीसँग कृतज्ञता व्यक्त गर्ने शब्द हुँदैनथ्यो । हामी सुन्थ्यौं अनि धन्यवाद भन्दै अझ धेरै मिहिनेत गरेर आफूलाई अनि विवेकशील नेपालीलाई प्रमाणित गर्ने दृढता व्यक्त गर्थ्यौं ।

रञ्जु, पहिलो कुरा त तिमीले राजनीतिक सिण्डिकेटको मानसिकता तोडेकी छौ । समाधान ठूला तीन दलभन्दा बाहिर पनि छ भनेर देखाएकी छ्यौ । अब नागरिकहरु पार्टीभन्दा माथि उठ्न थालेका छन् ।

हामीले बितेका हप्तामा काठमाडौंका हजारौं मतदातालाई भेटेका छौं । हामीले त्यस्ता युवाहरु भेटेका छौं, जसले आफ्नो आमा-बुवालाई वंशज आस्थाको राजनीतिक दललाई छाडेर रञ्जुलाई भोट हाल्न लगाएका छन् । मैले आफू हिंड्दै गर्दा बाटोमा श्रीमतीले श्रीमान्‌लाई रञ्जुलाई भोट हाल्न भनेर घुर्क्याउँदै गरेको देखेको छु ।

कालिमाटीको बुथ अवलोकनका क्रममा एक जना बाजेले ‘अरुहरुले देश खाइसके, अब मेरी नातिनी रञ्जुलाई भोट दिने हो, मैले पनि स्टकोट नै लगाइराछु’ भन्दै बोल्दै हिँडेको देखेको छु ।

मैले अस्पतालबाट तिम्रो लागि एक भोट हाल्न भनेर अक्सिजनको सिलिण्डर नै बोकेर आएको आमा देखेको छु ।

मैले कतिपयले कांग्रेसको झण्डा बोकेर रञ्जुलाई भोट हालेको थाहा पाएको छु । मैले एमालेको वडाध्यक्षमा उठेको मान्छेले रञ्जुको लागि भोट मागेको देखेको छु । मैले माओवादीका अनि राप्रपाका नेताहरुले रञ्जुको लागि सहयोग गरेको देखेको छु । यी सहयोग कति भोटमा बदलिए त्यो अर्कै कुरा हो ।

पहिलो कुरा त तिमीले राजनीतिक सिण्डिकेटको मानसिकता तोडेकी छौ । समाधान ठूला तीन दलभन्दा बाहिर पनि छ भनेर देखाएकी छ्यौ । अब नागरिकहरु पार्टीभन्दा माथि उठ्न थालेका छन् । बधाई छ रञ्जु । तिमीले राजनीतिमा क्रान्ति ल्याउँदै छ्यौ । राजनीतिमा एउटा युग परिवर्तन गर्दै छ्यौ ।

निर्वाचनको दिन निर्वाचन अवलोकन, मतदातालाई भेट्न अनि आफ्ना प्रतिनिधिलाई हौस्याउन हामी बैशाख ३१ गते करिब ५० वटा बुथ पुगेका थियौं । प्रत्येक बुथमा तालीसहित रञ्जुको स्वागत भएको थियो । धेरै आमा-बुवाहरु, दिदी-बहिनीहरु, दाजुभाइहरु अनि युवा साथीहरु आफूले परिवर्तनको पक्षमा भोट हालेको जानकारी दिँदै थिए ।

एक जना बहिनी स्टकोट फेला परेन भनेर रुँदै मतदान केन्द्रबाट बाहिर आएको घटना सुनेर हाम्रो मन कुँढिएको थियो । जसले देश बिगार्दै छन्, उनीहरुले आफ्नो चुनाव चिह्न एउटै र सबैले देख्ने ठाउँमा राखे । जसले केही बनाउन खोज्दै छ, उसले चुनाव चिह्न नै पाएन ।

अब राजनीतिमा एउटा सुनामी आउनेछ अनि असक्षम पुस्तालाई बढारेर लानेछ । अब युवा अनि महिलाहरु राजनीतिमा आउनेछन् । अब आरक्षणको कोटा भर्न मात्रै होइन, नेतृत्व लिन नै महिला राजनीतिमा आउनेछन् अनि प्रत्येक पार्टीभित्र क्रान्ति हुनेछ ।

५ सय ९ वटा चित्र भएको खोज्नै नसकिने चिह्न अनि देख्दै आत्तिनुपर्ने ५१ x ७३ सेमी मतपत्रभित्र तिमीलाई अलपत्र पार्दा पनि तिमीले हिम्मत हारिनौ । बरु ६ दिन दिइएको चुनावचिह्नको प्रचार-प्रसारमा दिनरात एक गरेर हाम्रो पुस्ताको नेतृत्व गर्‍यौ । यो निर्वाचनको नतिजा मार्फत पनि तिमीले आफ्नो नेतृत्व देखाइसकेकी छ्यौ । कांग्रेस, एमाले, माओवादीको सिण्डिकेट तोडिसकेकी छ्यौ । यो तिम्रो नेतृत्व, यो युगको राजनीतिक थालनीको प्रस्थान विन्दु बन्दै छ । यसले युग परिवर्तन गर्नेछ ।

नेपाली राजनीतिमा दुई वटा वर्ग सधैं राजनीतिबाट टाढा रहे वा भनौं टाढा पारिए । युवा वर्ग अनि महिला । रञ्जु, तिम्रो नेतृत्वले यो दुई वर्गलाई नेपाली राजनीतिमा चलायमान बनाइदिएको छ । अब राजनीतिमा एउटा सुनामी आउनेछ अनि असक्षम पुस्तालाई बढारेर लानेछ । अब युवा अनि महिलाहरु राजनीतिमा आउनेछन् । अब आरक्षणको कोटा भर्न मात्रै होइन, नेतृत्व लिन नै महिला राजनीतिमा आउनेछन् अनि प्रत्येक पार्टीभित्र क्रान्ति हुनेछ ।

त्यो साँचो परिवर्तनको नेतृत्व तिमीले गर्नुपर्नेछ । तिम्रो पछाडि एउटा सक्षम विवेकशील टोली अनि सारा नेपालीको माया अनि सहयोग हुनेछ ।

तिमीले सक्छौ, यसमा कहिल्यै शंका थिएन । तर, तिमीले यति चाँडो सक्छौ अनि यति चाँडो आफूलाई त्यो सबल चित्रको रुपमा प्रस्तुत गर्न सक्छौ भनेर मैले सोचेको थिइनँ ।

रञ्जु, मैले तिमीमा त्यो २५ दिनमा धेरै गुणा परिवर्तन भएको देखेको छु । तिमी खारिएको देखेको छु । तिमीले आफ्नो नेतृत्वमा सुधार ल्याएको देखेको छु । यही सुधार नै तिम्रो सक्षमताको प्रमाण हो । तिमीले २५ दिनमा यति धेरै आशाको सञ्चार भर्न सक्छौ भने तिमी तिमीले भन्ने गरे जस्तै यो शहर अनि यो देशको ‘चिफ इनर्जी अफिसर’ बन्न सक्छौ । यसमा मलाई पूरा विश्वास छ ।

यही २५ दिने अभियानमै पनि तिमीले ५०सौं कार्यक्रमको नेतृत्व गर्‍यौ । हजारौं मानिसको प्रश्नको सामना गर्‍यौ । आलोचना खेप्यौ, कैयौं कटु प्रश्नको सामना पनि गर्‍यौ । साथै हजारौं समस्याको समाधान तिमीलाई सोधियो र तिमीले प्रत्येक समस्याको समाधानमा आफ्नो राय राख्न सफल भयौ ।

अब गाउँ-गाउँबाट रञ्जुहरु निस्कनेछन् अनि आफ्नो ठाउँको नेतृत्व गर्नेछन् । अब महिला अगाडि बढेर नेतृत्व गर्नेछन् । अब हाम्रो पुस्ता विकल्प कुर्दै होइन, विकल्प आफैं बन्न तयार हुनेछ ।

तिमीलाई एउटा कार्यक्रममा ‘तपाईं आमा-बुवा नभएको बालबालिकालाई कसरी व्यवस्थापन गर्नुहुन्छ’ भन्ने प्रश्नमा तिमीले भनेकी थियौ, ‘म बालबालिकालाई छुट्टै आवास बनाएर व्यवस्थापन गर्ने पक्षमा छैन । म उनीहरुलाई वृद्धाश्रममा राख्न सक्ने व्यवस्था मिलाउँछु, जहाँ हजुरबुवा-हजुरआमा ती बच्चाहरुसँगै खेल्न सकुन् । आफ्नो ज्ञान अनुभव बाँड्न सकून् ।’

तिम्रो यो योजना अनि यस्तै अन्य योजना सुनेर मलाई निकै खुशी लागेको छ । अब यस्तै नयाँ सोच भएका व्यक्तिले नेतृत्व गर्नुपर्छ । तिमो नेतृत्वसँगै अब प्रत्येक पार्टीमा युवा अनि महिला जाग्दै छन् । अब राजनीतिले कोल्टो फेर्नेछ ।

तिम्रो नेतृत्वमा जुन शंका गरिएको थियो, त्यो तिमीमाथिको मात्र शंका होइन, तिम्रो पुस्तामाथिको शंका र अविश्वास हो । अब जसले हाम्रो पुस्तामा विश्वास गर्छ अनि साथ दिन्छ, ती समयसँगै अघि बढ्नेछन् अनि जसले साथ दिँदैन र अविश्वास गर्छ, उनीहरु समयको वेगसँगै पाखा लाग्नेछन् ।

अब हामी अघि बढ्नुको विकल्प छैन । अब विगतको असफल अनुभव होइन, सुनौलो भविष्य कोर्न सक्ने नेतृत्व अगाडि आउनेछन् ।

रञ्जु, तिमीले चाहेर या नचाहेर, तिमी भावनामात्मक रुपमा त्यो पात्र बन्न सफल भएकी छ्यौ, जो अबको राजनीतिको केन्द्रमा हुनेछ अनि धेरै नेपालीले आश गर्नेछन् । अब राजनीतिबाट टाढा रहेका धेरै व्यक्तिहरु राजनीतिमा आकर्षित हुनेछन् ।

अब युवाहरु फोहोरी खेल सफा गर्न राजनीतिक पोखरीमा हामफाल्नेछन् । अब गाउँ-गाउँबाट रञ्जुहरु निस्कनेछन् अनि आफ्नो ठाउँको नेतृत्व गर्नेछन् । अब महिला अगाडि बढेर नेतृत्व गर्नेछन् । अब हाम्रो पुस्ता विकल्प कुर्दै होइन, विकल्प आफैं बन्न तयार हुनेछ ।

रञ्जु, तिमी यो दशकको त्यस्तो पात्र बन्दै छ्यौ, जसले फेरि एकचोटि आम नागरिकको माया अनि विश्वास पाउँदै छ । तिम्रो उम्मेदवारी र निर्वाचनको नतिजाले तिमीले आम नागरिकको मनसँगै राजनीति पनि जितिसक्यौ । तिमीले धेरै पुराना पार्टी अनि नेताहरुलाई मात्रै हैन, पुराना सोच अनि संस्कारलाई समेत पछि छाडिसक्यौ ।

नेतृत्व भनेकै आम मानिसहरुलाई जोड्नु हो । आम मानिसमा नयाँ आशा, उत्साह अनि उमंग भर्नु हो । समाजलाई नयाँ दिशा दिनु हो । तिमीले आजसम्म त्यो गर्न सफल भएकी छ्यौ । आम नागरिकको मुहारमा खुशी छर्न सफल भएकी छ्यौ । त्यसैले तिमी हाम्रो नेता हौ ।

अब राजनीतिमा आएको भूकम्पपश्चात् तिमीले राजनीतिक पुनर्संरचनाको नेतृत्व लिनुपर्छ । तिम्रो पछाडि लाखौं युवा, आमा-बुवा हुनुहुन्छ । दर्शना, तिमीलाई शुभकामना !

(पाण्डे विवेकशील नेपाली दलका संस्थापक सदस्य, केन्द्रीय कमिटि सदस्य हुन् ।)

फेसबुक – Milan Pandey / ट्विटर – @milanleads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment