Comments Add Comment

हरिप्रभा खड्गीः उपमेयर बन्न लेखेको रहेछ र माननीय भइनछु

९ जेठ, काठमाडौं । देशकै पुरानो महानगरपालिका काठमाडौंको जारी मत गणनामा नेपाली कांग्रेसका लागि अनौठो संयोग जुर्दैछ । मेयरका उम्मेदवार राजुराज जोशी हारतर्फ उन्मुख हुँदैछन् भने उपमेयरमा हरिप्रभा खड्कीको जितको औपचारिक घोषणा हुन मात्र बाँकी छ ।

हरेक वडामा पार्टीका मेयरका उम्मेदवारले संघर्ष गरिरहँदा हरिप्रभालाई मत दिन भने कांग्रेसका भोटरले कुनै कन्जुस्याई गरेको देखिँदैन ।त्यसैले होला, हरिप्रभा स्वयंमले पनि उपमेयरमा आफ्नो जित सुनिश्चित भएको मानेकी छन् ।

मतगणना भइरहेको राष्ट्रिय सभा गृहबाट केही सय मिटरको दुरीमा रहेको आफ्नै घरमा भेटिएकी हरिप्रभाले अनलाइनखबरसँग भनिन्, ‘आज यो सफलता पाउन लेखेको रहेछ र म माननीय भएको रहेनछु ।’

कांग्रेसले हरिप्रभालाई दुई संविधानसभाको चुनावमा समानुपातिकको सूचीमा राखेको रहेछ । तर, दुबै पटक उनी सभासद हुनबाट बञ्चित भइन् ।

सभासदको सूचीबाट नाम काटिँदा हरिप्रभालाई चित्त पनि दुखेको थियो । तर, अहिले काठमाडौं महानगरको उपमेयर बन्ने पक्का जस्तै भएपछि खुसीको सीमा छैन । अनलाइनखबरसँग कुराकानी गरिरहँदा उनलाई आफन्त तथा शुभेच्छुकले भेटेर बधाई पनि दिइरहेका थिए ।

हरिप्रभाले भने पार्टीको गुटगत राजनीतिको कोपभाजनमा परिन् र सभासद बन्न नपाएको त्यो क्षण सम्झिइन् ।

‘गिरिजाबाबुले मलाई घरमै बोलाएर सम्झाउनु भयो । मैले मेरो जनाधार राम्रो छ, मलाई सभासद बनाउँदा पार्टीलाई पनि राम्रो हुन्छ भनें,’ उनले पहिलो संविधानसभाको समानुपातिक सभासद छनोट नहुँदाको क्षण सम्झिइन्, ‘तर, म गिरिजाबाबुको आग्रहअनुसार पछि हटें । अहिले स्थानीय चुनावमा थाहा भयो मलाई जनताले कति धेरै चाहेका रहेछन् भन्ने कुरा ।’

निर्विकल्प हरिप्रभा

कांग्रेसले काठमाडौं महानगरको मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभालाई उम्मेदवार बनायो । तर, राजुराज एमालेका विद्यासुन्दर शाक्यभन्दा निक्कै  पछि परिसकेका छन् । यद्यपि उनले अझै हार मानिसकेका छैनन् । हरिप्रभा भने एमालेको समेत समर्थन पाएका राप्रपाका राजाराम श्रेष्ठलाई १५ हजार बढी मतले पछि पारेकी छन् ।

कांग्रेसका भ्रातृ संस्थाका इकाइ, क्षेत्र, जिल्ला हुँदै उनी केन्द्रको राजनीतिमा आएकी थिइन् ।

कांग्रेस निकट नेपाल महिला संघको ०६४ र ०६९ सालमा दुई कार्यकाल केन्द्रीय सदस्य बनिन् । सायद यसैको मूल्यांकन स्वरुप उनी काठमाडौंको उमपेयर पदमा कांग्रेसबाट निर्विकल्प उम्मेदवार बनेकी थिइन् । उनी भन्छिन्, ‘ग्रास रुटदेखि नै काम गरेर आएको मेरो राजनीतिक योगदानलाई देखेर नै मलाई पार्टी र महानगरबासीले छाने । मैले उपमेयरको टिकट पाउँदा पनि कसैले विरोध गरेन ।’

मंगलादेवीको सम्झना

राजनीतिमा धेरै नेताहरुसँग उनको संगत र चिनजान भयो । तर उनी मंगलादेवी सिंह र गिरिजाप्रसाद कोइरालालाई आदर्शको पात्र मान्दछिन् ।

सबैभन्दा धेरै माया, सहयोग र राजनीतिमा लाग्ने प्रेरणा गणेशमान सिंहकी श्रीमती मंगलादेवीबाट पाएको उनी बताउँछिन् ।

त्यसैले हरिप्रभाले लक्ष्मी प्रभा खड्गीलाई जन्म दिने आमा र मंगलादेवी सिंहलाई कर्म दिने आमाको रुपमा लिन्छिन् । ‘उहाँ (मंगलादेवी) त मेरो कर्म दिने आमा नै हो । उहाँबाट मैले धेरै कुरा सिकें,’ हरिप्रभाले भनिन्, ‘अहिले यो खुसीमा म मंगलादेवी सिंहलाई सम्झिरहेकी छु ।’

बागबजारमा घाइते भएको त्यो दिन

भक्तपुरे बासिन्दा हरिप्रभाको स्थायी ठेगाना बिहेपछि ‘काठमाडौं वडानम्बर २८ बागबजार’को रुपमा बदलियो । उनी त्यहाँ कांग्रेस निकट महिला संघको वडा कमिटीमा संगठित भइन् र सचिवको जिम्मेवारी सम्हालिन् । वडा कमिटीको अध्यक्ष भने लिला भण्डारी थिइन् ।

त्यतिबेला ०४६ सालको आन्दोलन चर्किंदै थियो । हरिप्रभाले आन्दोलनमा पार्टीले तोकिदिएको जिम्मेवारी सम्हाल्न थालिन् । उनलाई सडक आन्दोलनमा उत्रिएकाहरुलाई पानीको व्यवस्था मिलाउने र सुरक्षाकर्मीको आक्रमणबाट घाइते भएकाहरुलाई सुरक्षित स्थानमा लैजाने जिम्मेवारी दिइयो।

आन्दोलनको केन्द्र प्रायजसो बागबजार र त्यस आसपासका क्षेत्र हुन्थे। प्रहरीले अश्रुग्याँस हानेकाहरुलाई कम असर परोस् भनेर एकदिन उनले झ्यालबाट पानी फ्याँकेर आन्दोलनकारीलाई सघाउँदै थिइन् । त्यहिबेला सुरक्षाकर्मीले हरिप्रभालाई ताकेर ढंगा बर्साए ।

आन्दोलनको स्मरणमा भावुक बनेकी हरिप्रभाले भनिन्, ‘सुरक्षाकर्मीले हानेको ढुंगाले मेरो घरको झ्यालको सिसा फुट्यो । सिसा मेरो आँखामा पर्‍यो । निधारमा पनि घाउ भयो । निधारको घाउमा टाँका लगाउनुपर्‍यो । आँखामा चोट लागेपछि धेरै दिनसम्म हेर्नै सकिन । दृष्टी नै गुम्छ कि भन्ने चिन्ता थियो तर, तुरुन्तै बीर अस्पतालमा उपचार गर्न लगेकाले होला ठीक भयो ।’

प्रेम विवाह र वकील बन्ने सपना

हरिप्रभाको बुवा हरिशचन्द्रदास श्रेष्ठ डाक्टर थिए । उनी छोरीलाई वकील बनेको देख्न चाहान्थे । आमा लक्ष्मीप्रभा खड्गीको चाहाना पनि योभन्दा फरक थिएन । त्यसैले उनी पढ्नका लागि भक्तपुर-१७ भारवाचोबाट ल क्याम्पस धाउन थालिन् ।

त्यतिबेला बहुदलको राजनीतिक आन्दोलन सुरुवाति चरणमा थियो । युवा विद्यार्थीहरु आन्दोलनको तयारीको अग्रमोर्चामा थिए । आन्दोलनको तयारीबारे छलफल गर्न बिभिन्न कलेजका विद्यार्थीहरुबीच आवत-जावत, छलफल, चिनजान चलिरहन्थ्यो । त्यो छलफलमा बागबजारका प्रकाश खड्गी पनि थिए । त्रिचन्द्र क्याम्पसमा बीएससी पढ्दै गरेका प्रकाश र हरिप्रभाको चिनजान मायाप्रेममा बदलिएको थियो ।

अन्तत उनीहरुले २०४३ सालमा प्रेम विवाह गरे । प्रकाशले हाल पाटन क्याम्पसमा वनस्पती विज्ञान पढाउँछन् ।

विवाहपछि हरिप्रभाले भने आईएलको पढाई अघि बढाउन सकिनन् । र आईए अध्ययनका लागि घर नजिकैको बागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भइन् । त्यतिबेला क्लासमेट कांग्रेस नेतृ कमला पन्त थिइन् । आईए पास भए पनि बीएको पढाई बीचमै रोकियो । छोरीको जन्म र राजनीतिप्रतिको लगावका कारण आफूले पढाइ पूरा गर्न नपाएको हरिप्रभाले बताइन् । ‘बिहे भएको दुई वर्षपछि ४५ सालमा छोरीको जन्म भयो । त्यसपछि मेरो पढाइ रोकियो,’ हरिप्रभाले अनलाइनखबरसँग भनिन्, ‘तर राजनीति रोकिएन । घरबाट पनि सपोर्ट पाइरहेँ ।’

उनका छोरी-छोरा दुबै अमेरिका छन् ।

आगामी योजना के छ ?

उपमेयर बन्ने तरखरमा रहेकी हरिप्रभाले भोलि जितेपछि के गर्लिन् ? अनलाइनखबरको यो जिज्ञासामा उनले संक्षिप्त उत्तर दिइन्, ‘महिला सशक्तिकरण ।’ थप व्याख्या गर्न आग्रह गरेपछि उनले भनिन्, ‘महिलाहरुलाई अघि बढ्न अझै पनि सहज छैन । समाज, परिवारमात्रै होइन सरकारका नियम कानुनहरु पनि बाधक छन् । म यी सबै सुधार गर्न लाग्छु । महानगरबासीले सुधारको अनुभूति गर्न पाउनेछन् ।’

त्यसबाहेक कांग्रेसको घोषणापत्र अनुसार विकास निर्माणका कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment