Comments Add Comment

ललितपुरको ‘नयाँ शक्ति’ क्यामेरा र सेलरोटी !

साझा पार्टीका रमेश र शोभाले कसरी ल्याए यत्रो भोट ?

१० जेठ, ललितपुर । काठमाडौं महानगरपालिकामा रञ्जु दर्शना र किशोर थापाको धेरै नै चर्चा-परिचर्चा भयो । ललितपुर महानगरपालिकामा कुनै हल्लाबिनै क्यामेराको पक्षमा १३ हजार र सेलरोटीमा १४ हजारबढी मत खस्यो ।

‘अरुलाई हेर्‍यौं पटक-पटक, हामीलाई हेरौं एकपटक’ भन्दै पछिल्लो संसदीय निर्वाचनमा घरदैलो चाहारेका थिए माओवादीले । तर, जारी स्थानीय निर्वाचनमा माओवादी केन्द्रका लागि यो शब्दावली लायकको रहेन ।

बाबुराम भट्टराईले अघि सारेको नयाँ शक्ति पार्टीका लागि पनि राजधानीको जनमत अनुकुल देखिएन । बरु रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले भने ललितपुर महानगरपालिका यसलाई नयाँ ढंगले पेश गरेर जिल्लाको ‘नयाँ शक्ति’मा आफूलाई सावित गर्‍यो ।

‘नयाँ अनुहार’ले हो वा मतदाताको मनै पग्लिएको हो, उपमेयरकी स्वतन्त्र उम्मेदवार शोभा शाक्य राप्रपा-एमाले गठबन्धनलाई समेत पछि पार्दै दोस्रो स्थानसम्म आइपुगिन् । उपमेयरकी विजेताले १९ हजार ८१९ मत पाउँदा शोभा शाक्यले १४ हजार २४० मत पाएकी छन् ।

कांग्रेस-एमालेजस्ता बर्षौदेखि जरा गाडेका पार्टीको ‘राप र ताप’मा उभिएका उम्मेदवारसँगको भिडन्तमा यतिको नतिजा हासिल गर्नु आफैंमा एक ‘उपलब्धी’ हो भन्ने शोभाको ठम्याइ छ । ‘चुनावमा मैले हारें’ मिजासिलो स्वाभावकी शाक्य भन्छिन्, ‘तर मेरा मतदातालाई हार्न दिन्न ।’

उपमेयरमा शोभा शाक्यजस्तै ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका रमेश महर्जनको भनाइ र बुझाइमा समानता छ । उनीहरु एकै लहरमा उभिएका छन्, जसलाई ‘भर्जिन दल’ साझा पार्टीको समर्थन छ ।

रमेश महर्जन र शोभा शाक्य दुबै राजनीतिक पृष्टभूमिका होइनन् । राजनीतिक घनचक्करमा उनीहरु सायदै फसेका होलान् । आफ्नै मर्जी अनुसार आभुषण व्यवसाय गरिरहेका रमेश महर्जन र टोलका महिलाहरुलाई सीप-व्यवसाय सिकाइरहेकी शोभा शाक्यले यसअघि रजानीति गर्ने सोचेकै थिएनन् ।

तर, खेती किसानी गर्दै किशोरवय गुजारेका, श्रम भिसामा विदेशी भूमिमा ८ बर्ष बिताएका र नेपाल फर्किएर सुन-चाँदीको कारोबार सम्हालेका रमेश महर्जनलाई व्यवसायिक जीवनको उत्तरार्द्धमा ‘समाजसेवा’ गर्ने जाँगर चल्यो ।

त्यसैगरी, टोलका महिलाहरुलाई एकजुट गरेर उनीहरुलाई सीपमूलक काममा लगाइरहेकी, पूख्र्यौली हस्तशिल्पीको कामलाई पनि सामानन्तर अगाडि बढाइरहेकी शोभा शाक्यलाई ‘अझ फराकिलो बाटोबाट’ अघि बढ्न मन लाग्यो ।

शाक्य र महर्जन दुबैले मेयर र उप-मेयरमा उम्मेदवारी दिए । भोट माग्दै लतिपुरका टोल, गल्ली छिचोले । विकासको कुरा गरे । सम्भावनाको कुरा गरे । संस्कृति जगेर्नाको कुरा गरे । सम्पदाको कुरा गरे । अनि ‘कुरा मात्र होइन, काम पनि गर्ने’ प्रतिवद्धता गरे ।

कसरी भोट मागे ?

करिब तीन लाख जनसंख्या रहेको ललितपुर महानगरपालिकामा एक लाख १२ हजार मतदाता छन् । यो महानगर प्राचीन सम्पदाको सग्लो इतिहास हो । झट्ट हेर्दा समृद्ध देखिने यो शहरभित्रका अनेक कठिनाइ छन्, जसको राम्रो हेक्का छ महर्जन र शाक्यलाई ।

‘बाटो, बिजुली सबै भएर पनि यो शहर व्यवस्थित छैन । अव्यवस्थित ढलको कारण खोलानाला प्रदूषित छ’ रमेश महर्जनको बुझाइ छ, ‘यी तमाम भौतिक कुरालाई व्यवस्थित ढंगले विकास गर्नु जरुरी छ ।’ यस्तै स-साना तर व्यवहारिक मुद्दा बोकेर उनीहरु जनताको घरदैलो पुगे । अपेक्षाकृत जनताले पत्याए पनि ।

शाक्य र महर्जनसँग जम्माजम्मी ६ दिन मात्र थियो, मतदातासँग भलाकुसारी गर्ने । आफैंमा यो अपर्याप्त समय थियो ।

प्रशिक्षणबिना मैदान प्रवेश गरेका खेलाडीझैं मनमा संशय बोकेर उनीहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । ‘भोट माग्ने समय नभए पनि हामी बीसौं बर्षदेखि यही समाजमा छौं, स्थानीयसँग राम्ररी भिजेका छौं’ महर्जन भन्छन्, ‘त्यसैले उहाँहरुको पीर-मर्कालाई नजिकबाट बुझेका छौं, नियालेका छौं ।’

अधिकांश चाहन्थे, कोही आइदियोस् । हाम्रो दुःख पखालिदियोस् । शहरको विकास गरिदियोस् । यही मनोभावलाई सम्बोधन गरे महर्जनले । उनले ठूला सपना बाँडेनन् । आधारभूत आवश्यकताको कुरा गरे ।

विगतदेखि सामाजिक क्षेत्रमा काम गरिरहेका कारण आफूलाई जनताको घरदैलोमा पुग्न सहज भएको शोभा शाक्यको भनाइ छ । महावौद्ध ऊल क्राफ्ट भन्ने संस्था खोलेर पाँच सय भन्दा बढी महिलालाई रोजगारमुखी क्षेत्रमा लगाइरहेकी शाक्य ललितपुरकी रैथाने हुन् । टोलमा उनी महिला सशक्तीकरणको क्षेत्रमा काम गरिरहेकी छिन् । मेटल क्राफ्टको व्यवसायबाट उनको परिवार धानिएको छ । उनका श्रीमान् सानुराज्य शाक्य मेटल क्राफ्टको व्यवसाय गर्छन् । महाबौद्ध कार्पेट उद्योगमार्फत थाङ्काको व्यवसाय पनि गर्छन् । ‘मलाई मेरा श्रीमानले औधी सघाउनुभएको छ’ शाक्य भन्छिन् ।

‘म सामाजिक काममा खटिएकी मान्छे’ शाक्यले भनिन्, ‘जब उहाँहरुको दैलोमा पुगें, सबैले खुसीसाथ मेरो स्वागत गर्नुभयो ।’

शाक्यको चुनाव चिन्ह ‘सेलरोटी’ थियो भने महर्जनको ‘क्यामेरा’ ।

कतिले यसो पनि भने, ‘साह्रै छोटो समय भयो, अलि अघिदेखि लाग्नुभएको भए भोट धेरै आउँथ्यो ।’ महर्जनलाई पनि त्यस्तै लाग्यो । उनी दाबी गर्छन्, ‘केही समय अघिदेखि तयारी गर्न पाएको भए सत प्रतिशत जितिन्थ्यो ।’

मेयर भएको भए ?

यदि मेयरमा निर्वाचित भइदिएको भए रमेश महर्जनले के गर्ने मनोकांक्षा पालेका थिए ?

उनी चाहन्थे, ललितपुरको सम्पदा संरक्षण गर्दै आधुनिक शहर विकास गर्ने । निजी क्षेत्र, समुदाय र सरकारी निकायलाई एकमुष्ठ गरेर विकासको काममा अघि बढाउने । पब्लिक बैंकलाई परिचालन गरेर आर्थिक, सामाजिक विकास गर्ने ।

ललितपुर महानगरपालिकालाई प्रादेशिक राजधानीका रुपमा विकास गर्ने । राजधानीको गेट वे बनाउने । चोभार, हरिसिद्धी, बुङमती जस्ता शहरको सम्पदा र संस्कृतिलाई विश्व बजारमा फैलाउने । ठाउँ-ठाउँमा मल्टिपोलिक्लिनक राखेर निशुल्क स्वास्थ्य परीक्षण सेवा दिने ।

तर, नतिजा महर्जनको पक्षमा आएन । उनी ललितपुरको मेयर बन्न सकेनन् ।

‘मैले भोटमा नजिते पनि अब आफ्नो काममा भने डटेर लाग्नेछु’ महर्जन भन्छन्, ‘मैले छोराछोरीलाई अमेरिकामा हिरा तथा आभूषण विषयमै पढाएर यहाँ काममा लगाएको छु । अब म व्यवसाय गर्ने होइन, समाजसेवा गर्ने हो भनेर उनीहरुसँग बिदा पनि मागिसकेको छु ।’

प्रमाणत्रसम्म पढेका ललितपुरका रैथाने महर्जन युवावयमा काम खोज्दै हङकङ पुगेका थिए । संयोगले उनले त्यहाँ हिराको कारोबार गर्ने कम्पनीमा काम पाए । काम सिके । हङकङमा करिब ८ बर्ष बिताएका उनी घर फर्केर आभूषण व्यवसायमा लागे ।
यतिबेला उनलाई राजनीतिक आभुषणले तानेको छ ।

अहिले महानगरपालिकामा त सेलरोटी र क्यामेरालाई पुराना र ठूला भनिएका दललाई जित्न सकेन, तर आगामी प्रदेश र केन्द्रको चुनावमा शोभा र रमेश थप चुनौती बन्न सक्ने देखिएको छ, अहिलेको चुनावी परिणामले ।

मंगलबार राति आएको ललितपुरको चुनावी परिणाम अनुसार साझा पार्टीकी शोभा शाक्य १४ हजार २४० मत ल्याएर दोस्रो स्थानमा पुगिन् । जबकि एमालेसँगको गठबन्धनमा उपमेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १० हजार ५ सय ४० मतमात्रै पाए ।

मेयरमा साझा पार्टीका रमेश महर्जनले १३ हजार ४ सय ५८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment