Comments Add Comment

उपेन्द्रजीबाट जनताको अपेक्षामाथि ठूलो घात भएको छ

६ वटा मधेसकेन्द्रित  दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)मा अन्तरविरोध चर्किएको छ । दोस्रो चरणको स्थानीय निर्वाचनमा भाग लिने कि बहिस्कार गर्ने गर्ने भन्नेबारे राजपामा विवादमा चुलिएको हो ।

पार्टी एकताका लागि निर्णायक भूमिका खेलेका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव निर्वाचन बहिस्कारको पक्षमा खुलेर उत्रिएका छन् ।

निर्वाचनमा भाग लिने कि बहिस्कार गर्ने भन्ने विषयमा निर्णय गर्न बुधबार दिउँसो राजधानीमा राजपाको बैठक डाकिएको छ । वीरगञ्ज पुगेका राजेन्द्र महतो र अनिल झा बैठकमा सहभागी हुन आजै राजधानी फर्किएका छन् । आजको बैठकले राजपा चुनावमा सहभागी हुने निर्णय लिने सम्भावना छ ।

तर, आजकै बैठकबाट चुनाव बहिस्कारको निर्णय गराउन र आन्दोलनका कार्यक्रम घोषणा गराउन राजकिशोर यादवले शीर्षनेताहरुलाई दबाव दिइरहेका छन् ।

राजपाका बहुसंख्यक नेता भने तराईमा स्थानीय तहको संख्या थपिएकाले अब चुनावमा जानुपर्ने पक्षमा छन् । प्रमुख विपक्षी एमालेको विरोधका बीच सरकारले वीरगञ्ज र बिराटनगरलाई महानगर बनाउनुका साथै २२ स्थानीय तह थप गरेको छ । तराई मधेसका जिल्लामा २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय समेत गरेको छ । र, उसमा राजपाको सहमति छ ।

तर, राजकिशोरसहितका केही नेता भने संविधान संशोधन नभई चुनावमा जानु हुन्न भन्ने अड्डी कसिरहेका छन् ।

यसै सन्दर्भमा हामीले चुनाव बहिस्कारका पक्षधर राजकिशोर यादवलाई किन चुनाव बहिस्कार गर्न लागेको भनेर सोध्यौं

अब राजपा चुनावमा जान्छ कि जाँदैन ?

यो चुनाव सामान्य अवस्थाको होइन, संविधान कार्यान्वयनसँग जोडिएको चुनाव हो । संविधानको विरोधमा मधेसमा ठूलो आन्दोलन भएको र त्यो आन्दोलनमा हाम्रा ५४ जना वीरहरुले साहदात दिएर क्रान्तिलाई अगाडि बढाएको स्थिति छ । त्यसैले यथास्थितिमा राजपा चुनावमा जाँदैन । र, जानु पनि हुँदैन ।

तर, तपाईहरुले भनेको मागअनुसार नै सरकारले स्थानीय तहको संख्या थपिसक्यो, अझै किन यस्तो कुरा ?

हाम्रो माग त यो संविधानलाई पूर्ण बनाउने हो । यो बाटोमा हामी हदैसम्मको लचक छौं । राष्ट्रिय राजनीतिले निकास पाओस् भनेर मुलुकप्रतिको जिम्मेवारी र अहिलेको समयको मागलाई ध्यानमा राख्दै निकास दिनुपर्छ । त्यो निकास भनेको संविधान संशोधन हो ।तर, राज्यको उदानसीनता र दलहरुको धुत्र्याइँका कारणले यो वा त्यो नाममा संविधान संशोधनलाई, हाम्रा मागहरुलाई डिफ्युज गर्ने षडयन्त्र भइरहेको छ । यो कुरा बुझ्दाबुझ्दै हामी कसरी निर्वाचनमा भाग लिन सक्छौं ?

स्थानीय तहको चुनावले संविधान संशोधनको मागलाई के असर गर्छ ? जेठ ३१ को चुनावपछि संविधान संशोधनको माग उठाए हुँदैन ? यो चुनावले संविधान संशोधनलाई के असर गर्छ ?

यहाँ त विश्वासको संकट न देखियो । तपाई जुन निर्वाचनको कुरा गर्दै हुनुहुन्छ, यो आज आएको कुरा हो ? हामीले दुई वर्षअघि देखि आन्दोलन गरिरहेका छौं । यदि यिनीहरुको नियत साफ भइदिएको भए र यिनीहरुले यो दुईसालभित्र किन गरेनन् ?

र, अर्को प्रश्न के हो भने ०६३ देखिको आन्दोलनको निश्कर्ष निकाल्ने चरणमा हामी छौं । राज्यले हामीसँग कहिले २२ बुँदे, कहिले ८ बुँदे सम्झौता गरेको छ । यी सबै सम्झौतालाई लत्याएर पश्चगामी संविधान निर्माण गरियो । अब यसलाई सच्याउने हो भने संविधान संशोधन गर्नुपर्छ ।

हाम्रो प्रश्न के हो भने स्थानीय चुनावमा गएर भोलि चुनावपछि संविधान संशोधनका लागि आन्दोलन गरे भैहाल्यो नि, केन्द्रीय मागका लागि स्थानीय चुनाव किन बहिस्कार गर्ने ?

आज चुनाव गरौं, फेरि आन्दोलन गरौं । भोलि फेरि आन्दोलन छाडेर अर्को चुनाव गरौं, अनि फेरि आन्दोलन गरौं । यो त सबै कुरा बुझ्दा बुझ्दै आफैंलाई चित्त बुझाउने बाटोबाहेक अरु केही हुन सक्दैन ।

तपाईहरुलाई संसदको गणित राम्रोसित थाहा छ । सत्तापक्ष संविधान संशोधनको पक्षमा आउँदा पनि एमालेले मानेन । अन्तिम समयमा राप्रपाका १०/१२ जना सांसदै गायव भए । सरकारले गर्न नखोजेको हो र ? संशोधन किन पास भएन भन्ने तपाईहरुलाई थाहा छैन ?

हाम्रो लडाइँ त राज्य विरुद्धको लडाइँ हो । यो राष्ट्रिय मुक्ति आन्दोलनको चरित्र बोकेको आन्दोलन हो

तर, सरकार तपाईहरुको माग पूरा गर्ने पक्षमै छ । प्रतिपक्षचाहिँ तपाईहरुको मागको विपक्षमा छ भन्ने थाहा छ कि छैन ?

त्यसैले हामीले सरकारसँगमात्रै भनेका छैनौं । नेपालमा संविधान निर्माण गर्नेबखत सबै शक्ति मिल्ने, तर जब हाम्रो कुरा आउँछ, कहिले पोजिसनका नाममा, कहिले यो पक्ष मिलेन र उपक्ष मिलेन भनेर जसरी बाहनाबाजी गरिँदैछ, यसपटक हामी सचेत छौं ।

तपाईहरुको माग सत्तापक्षका कारणले पूरा नभएको हो र ?

स्थायी शान्ति त एमालेलाई पनि चाहिएको होला नि । नेपालमा स्थायित्व त राप्रपा लगायत अरु शक्तिलाई पनि चाहिएको होला नि । त्यसैले स्थायित्व र शान्ति खोज्ने हो भने एमाले, राप्रपा लगायतका शक्तिहरु पनि सच्चिएर आउनुपर्छ । अहिले संविधान संशोधन गर्न नचाहने शक्तिको नेतृत्व नेकपा एमालेले गरिरहेको छ, एमाले पनि राज्यको पार्ट हो ।

तपाईहरु के भयो भनेचाहिँ चुनावमा आउनुहुन्छ ? जे गरे पनि नआउने बाहनाबाजी किन ?

हामीले भन्दै आएका छौं, यो संविधान संशोधन भयो भने निर्वाचनमा भाग लिन्छौं । हामीले बारम्बार भन्दै आएका छौं ।

केही मानिसहरुको तर्क के छ भने उपेन्द्र यादव चुनावमा आउने भएपछि राजपाका नेताहरु चुनावमा नआउने भएका हुन् । के यो सत्य घटनामा आधारित हो ?

हैन । यो हल्लामात्रै हो । हामी त के भन्छौं भने उपेन्द्रजी आफैंले आफ्नो नेतृत्वमा भएका निर्णयहरुलाई पालना गरुन् । हामी त यो पनि भन्छौं कि उपेन्द्रजीबाट जनताको अपेक्षामाथि ठूलो घात भएको छ । तर, अहिले पनि केही बिगि्रइसकेको छैन । उपेन्द्रजीले पनि संघर्षको बाटो रोज्नुपर्छ । उहाँले नै संविधानको पुनर्लेखनदेखि लिएर परिमार्जन सम्मको उठान गरेको हो । त्यसैले उपेन्द्र यादव मुद्दाप्रति इमान्दार हो र जनताप्रति इमान्दार हो भने उहाँले अहिले पनि संघर्षको बाटो रोज्नुपर्छ । त्यसो भयो भने हामी सहकार्य गरेर अगाडि बढ्न तयार छौं ।

तर, उपेन्द्र यादवजीलाई चुनावमा जाऊ भनेर माटोले नै भन्यो रे नि ? दोस्रो चरणमा पनि माटोले भन्ला…..

उपेन्द्रजीले यसको जवाफ दिनुपर्छ, उहाँलाई कुन माटोले भन्यो ? हिजो क्रान्तिका नाममा, आन्दोलनका नाममा जनताका छोरा मरिरहँदा त्यतिबेला उहाँलाई माटोले भनेन । उहाँको भावनाले भनेन । उहाँले त्यतिबेला लोकतन्त्र र गणतन्त्र खतरामा परेको देख्नुभएन ।

तर, जब उहाँको असली परीक्षा सुरु भयो, त्यतिबेला उहाँ माटोले भन्यो भन्नुहुन्छ । उपेन्द्रजी आज कठघरामा खडा हुनुहुन्छ, उहाँले यसको जवाफ दिनैपर्छ कि उहाँलाई कुन माटोले भन्यो ? के हिजो गरेको क्रान्ति गलत थियो ? हिजो शाहदात दिएका ती शहीदहरु गलत थिए ?

आज उहाँले जे बाटो अपनाउँदै हुनुहुन्छ, त्यो गलत छ । या त उहाँले हिजो मैले गल्ती गरें भन्नुपर्‍यो, हिजो मैले आन्दोलन गराएर, शाहदात गराएर मान्छेलाई बेवकुफ बनाएँ भन्नुपर्‍यो, हैन भने आज उहाँ जे बाहना बनाएर भाग्न खोज्दै हुनुहुन्छ, यो गलत हो । यसरी दुईवटा नाउँमा सवार हुन सकिँदैन ।

त्यसैले म उपेन्द्रजीलाई बडो आदरका साथ हिजोको क्रान्तिप्रति इमान्दार हुन र जनताको छोरो जनतासँगै हुन आग्रह गर्दछु । उहाँले कुनै शासक बन्ने सपना नदेखे हुन्छ । जनताकै वीचमा रहनुपर्छ ।

राजपाले चुनावमा भाग लिन्न भन्यो भने ‘इण्डिया’ ले नेपालमा चुनाव नचाहेको रहेछ भनेर आरोप लगाउँदा हुन्छ ?

अनुमान त जे गर्दा पनि भैगो । नेपाल हल्लै हल्लाको देश हो । तर, राजपा जनता र आन्दोलनकारी साथीहरुको शुभेच्छा र सहयोगले अघि बढेको पार्टी हो । हामी जनताले जे भन्छन्, जनताको जनादेशलाई पालना गर्छौं । कसले के आरोप लगाउँछ, त्यो आरोपदेखि हामी विचलित हुँदैनौं ।

हामीले मधेसका जनतालाई, जनजातिहरुलाई सोध्ने हो भने उनीहरुको अन्तिम विश्वासको धरोहर भनेको राजपा नै हो । राजपा गठन हुनुको मुख्य उद्देश्य नै यही हो कि जनताको क्रान्तिलाई तार्किक निश्कर्षसम्म पुर्‍याउने ।
तर, आज यो कठघरामा राजपाको नेतृत्व पनि उभिएको छ । राजपाले यो भूमिका खेल्न सकेन भने जनताले राजपालाई पनि छाड्छ र जनताले आफ्नो बाटो आफैं लिन्छ ।

मधेसको आन्दोलनमा उठेका एजेण्डाहरु नेताले उठाएका होइनन्, जनताका एजेण्डा हुन् । जसले त्यसलाई बोक्छ, उही नेता हुन्छ । त्यसैले नेताले चाहँदैमा यो आन्दोलन रोकिनेवाला छैन ।

‘इण्डिया’को लाइन चाहिँ के रहेछ ?

यसमा त जो-जो सम्पर्कमा छन्, तिनीहरुलाई नै थाहा होला । मलाई त केही थाहा छैन । हामीलाई जनताको लाइन आउँछ, हाम्रा कार्यकर्ताको लाइन आउँछ । शहीद परिवारको लाइन आउँछ । हामी उनीहरुप्रति उत्तरदायी छौं । हाम्रो सामु जनताको जनादेश भन्दा ठूलो आदेश अरु केही पनि हुन सक्दैन ।

उपेन्द्र यादवले राजपालाई पनि तालमेल गरेर चुनावमा जाऔं भनिरहेको सुनिन्छ, यसो गरे कसो होला ?

हाम्रो त बाटै अलग-अलग भइसक्यो । राजपा अहिलेसम्म संघर्षको बाटोमै छ । उपेन्द्रजीले संघर्षको बाटो रोजेको खण्डमा सहकार्य हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment