Comments Add Comment

बढ्दो ब्याजदरले एक महिनामै थपिए ६ लाख निक्षेप खाता


१० जेठ, काठमाडौं । २०७२ को चैतमा बैंक तथा वित्तीय संस्थाहरुमा कुल १ करोड ६१ लाख निक्षेप खाता खोलिएकोमा एक वर्षमा निक्षेप खाता संख्या २७ लाख (करिब १७ प्रतिशत)ले बढेको छ ।

२०७३ चैतसम्ममा कुल निक्षेप खाताको संख्या १ करोड ८८ लाख ४३ हजार पुगेको छ । खाता संख्याकै आधारलाई मानेर हेर्ने हो भने कुल जनसंख्याको लगभग ७१ प्रतिशतमा वित्तीय पहुँच पुगेको मान्न सकिन्छ । तर, एक व्यक्ति वा संस्थाले एक भन्दा बढि बैंक खाता खोल्ने गरेकोले वित्तीय पहुँचकै सन्दर्भमा यो संख्यालाई लिन भने नमिल्ने देखिन्छ । राष्ट्र बैंकले भने कुल जनसंख्याको ६० प्रतिशत मानिसमा वित्तीय पहुँच पुग्दै आएको मान्ने गरेको छ ।

रोचक पक्ष के छ भने पछिल्लो एक महिना (२०७३ चैत)को अवधिमा बैंकमा खाता खोल्नेको संख्यामा ६ लाखले वृद्धि भएको छ । यस्तो हुनुमा चैत ताका बैंकहरुमा बढ्न गएको मुद्दती निक्षेपको व्याजदरलाई लिन सकिन्छ । हुनत : चैतको अन्तिम साताबाट बैंकहरुले बचत निक्षेपमा समेत ८ प्रतिशतसम्म ब्याजदर प्रदान गर्न थालिसकेका थिए । राष्ट्र बैंकको तथ्यांक अनुसार पुसदेखि फागुनसम्ममा १ करोड ८२ लाखको संख्यामा निक्षेप खाता रहेकोमा चैतमा बढेर १ करोड ८८ लाख पुगेको हो ।

बैंक तथा वित्तीय संस्थामा कर्जा लगानी योग्य पुँजी अभाव अझै हल नभइसकेको भन्दै अहिले बैंकहरुले पुन:  मुद्दती निक्षेपको व्याजदर समेत बढाउन थालिसकेका छन् । सिभिल बैंकले मुद्दती निक्षेपमा १२.७५ प्रतिशत ब्याजदर प्रस्ताव गरिसकेको छ ।

‘ब्याजदरमा भएको वृद्धिलाई पनि निक्षेप खाता वृद्धिको आधार मान्न सकिएला यसबाहेक बैंकहरुको शाखामा भएको विस्तारले पनि केही हदसम्म वित्तीय पहुँचमा समेत बढ्न पुगेको छ,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने ।

यता, एक वर्षको अवधिमा बैंकहरुको शाखा संख्यामा १ सय ५२ ले वृद्धि भएको छ भने पछिल्लो एक महिनामा मात्रै २३ वटा शाखा थपिएका छन् ।
हुनत:  शाखा संख्यामा भएको वृद्धिभन्दा पनि मुद्दती निक्षेप खातामा भएको वृद्धिले नै कुद निक्षेप खाताको संख्या बढेको मान्न सकिने अन्य आधारहरु पनि छन् । चैत एक महिनामा कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ३६.७४ बाट बढेर ३९.४३ पुगेको छ । अर्कोतर्फ, साधारण बचतको हिस्सा कुल निक्षेपमा ३५.९८ बाट घटेर ३५.१९ रहेको छ ।

बैंकहरुले ९० दिने, ६ महिने जस्तो छोटो अवधिका मुद्दती निक्षेप योजना समेत सञ्चालनमा ल्याएपछि पनि यस्तो प्रभाव देखिएको हो ।

एक वर्षमा मोबाइल ग्राहक बढे, शाखा रहितबाट सेवा लिने घटे

एक वर्षको अवधिमा भने मोबाइल प्रयोग गरेर बैंकिङ सेवा लिनेको संख्या ८ लाख ३७ हजारले बढेर २४ लाख २६ हजार पुगेको छ । त्यस्तै, शाखा रहित सेवा लिने ग्राहकको संख्या भने २ लाख १४ हजारबाट घटेर १ लाख २४ हजारमा सिमित भएको छ ।

बैंकहरुको शाखा संख्या बिस्तार भईरहेकोले पनि यसअघि बैंकहरुको शाखा रहित क्षेत्रबाट सेवा लिइरहेका ग्राहकहरु शाखाको दायारमा आएको हुनसक्ने राष्ट्र बैंकका सहप्रवक्ता पण्डित बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment