Comments Add Comment

गाउँपालिकाका कान्छा प्रमुख कान्छालालः संयोगको छलाङ !

११ जेठ, काठमाडाैं । दार्शनिकहरुले मानव जीवनलाई संयोगको नाम दिने गरेका छन् । संयोगले चुनौतीसँग मुकाबिला गर्नुपर्ने हुन्छ, संयोगले सुखद मोडसँग जम्काभेट भइदिन्छ ।

कक्षा ८ मा पढ्दापढ्दै किताब छाडेर बन्दुक समाएका काभ्रे महाभारतका कान्छालाल जिम्बालाई यस्तो दार्शनिक व्याख्यासँग कुनै सरोकार नहोला । तर, उनको जीवन संयोगको यात्रा भइदिइएको छ ।

२६ वर्षे कान्छालाल यो स्थानीय चुनावबाट गाउँपालिकाको सबैभन्दा कान्छा प्रमुख बनेका छन् ।

काभ्रेको महाभारत गाउँपालिकाको कार्यभार सम्हालेका उनको विगत हेर्ने हो भन्ने उनलाई ‘कान्छा’ विशेषणले उहिलेदेखि नै पछ्याएको देखिन्छ ।

‘भूमिगत कान्छा’ को क्रान्तिकारी सफर

कान्छालाल जिम्बा ०४७ जेठ ९ मा काभ्रेको विकट क्षेत्र महाभारतमा जन्मिएका हुन् । अहिले २६ वर्ष पुगेका उनी १३ वर्षअघि तत्कालीन विद्रोही माओवादीमा लागेका थिए ।

०६० सालको कुरा हो, कक्षा ८ मा पढ्दापढ्दै उनले भूमिगत जीवन अँगाले । किताबसँगको साइनो टुटे पनि माओवादीको विद्यार्थी संगठनमा रहेर उनले राजनीतिक यात्रामा पाइला चाले । त्यतिबेला काभ्रेमा उनी सबैभन्दा कान्छा माओवादी कार्यकर्ता थिए ।

पार्टीभित्र विभिन्न समूह गठन हुन्थे । हरेक समूहमा उनको परिचय बन्थ्यो, कान्छा सदस्य ।

कान्छाको यो विशेषण कान्छालालको जीवनमा एकपल्ट फेरि फर्किएको छ । हालै भएको पहिलो चरणको स्थानीय चुनावमा अहिलेसम्मको सबैभन्दा कान्छा गाउँपालिका प्रमुखको रुपमा उनी निर्वाचित भए । उनी माओवादी केन्द्रबाट महाभारत गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् ।

माओवादी केन्द्रले गाउँपालिकाको उम्मेदवार चयन गर्ने बेलामा उनका लागि यही कान्छो परिचय झन्डै समस्या पनि बनेको थियो । पार्टीले उनलाई अझै उमेर बाँकी छ, अर्को पाँच वर्ष कुर्ने कि भन्ने प्रस्ताव गरेका थिए । तर, उनले मानेनन् ।

‘यही बेला केही गर्नुपर्छ भन्ने मेरो सोचाइ थियो । मैले भन्दा पनि कार्यकर्ताले मलाई उम्मेदवार बन्न दबाव दिए’, उनले भने ।

गाउँपालिका प्रमुख बनेपछि अहिले कान्छालाललाई पहिले भूमिगत कालमा मार्चपास गरेका डाँडापाखालाई विकासले कसरी सिञ्चित गर्ने भनेर चुनौतीको पहाडले थिचेको छ ।

काभ्रेको ‘कर्णाली’ मा चुनौतीको चाङ

भौगोलिक अवस्था र विकासको दृष्टिले काभ्रेको महाभारत गाउँपालिका प्रदेश नम्बर ३ को कणर्ाली नै हो भन्दा फरक पर्दैन । न बाटोको सुविधा छ, न दैनिक उपभोग्य सामग्री सहज र सुपथ रुपमा स्थानीयले उपभोग गर्न पाएका छन् ।

कान्छालाल भन्छन्, ‘मेरो गाउँपालिकामा अहिलेसम्म गाडी पुगेको छैन, एक किलो नुनको ७० रुपैयाँ पर्छ ।’

दुर्गम भेगको यही दुःख अनुभव गरेर उनले आफ्नो गाउँपालिकासम्म सडक पुर्‍याउने कामलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

युद्धकालमा धेरै पटक मृत्युको मुखबाट फर्किएर आएका हुन् उनी । यसैले व्यक्तिगत नाफा-घाटा नहेरी अब समाज र समुदायकै स्वार्थको लागि जीवन खर्चने उनको सोच छ ।

‘यो नाफाको जीवनमा मेरो कुनै लोभ-लालच छैन’, उनले गम्भीर हुँदै भने ।

यति कुरा गरिरहँदा उनले तीन दिनमा आफूसँग हिँड्दाहिँड्दै शहीद बनेका योद्धाहरुलाई सम्भिmए । भने, ‘मैले उहाँहरुको आत्मा रुवाएर कुनै काम नगर्ने कसम आएको छु ।’

कान्छालालले हरेक घरमा आर्थिक समृद्धि पुर्‍याउने योजना बुनेका छन् । गाउँपालिकाभित्र योजनाहरु सञ्चालनका लागि उनले एउटा विज्ञ समूह गठन गरेर काम अगाडि बढाउने रणनीति रहेको सुनाए ।

क्याम्पस खोल्ने सपना

निर्वाचित भएपछि कान्छालालले गर्वसाथ कार्यकक्षमा पस्दै फूलमालाले स्वागत हुने सौभाग्य नै पाएनन् । किनभने गाउँपालिका कार्यालय नै थिएन । उनले गाउँपालिका प्रमुखका रुपमा चौरमा उभिएर सपथ खाए ।

यस्तो स्थितिमा उनले आफ्नो क्षेत्रमा क्याम्पस खोल्ने सपना देखेका छन् ।

‘मेरो गाउँपालिकामा एउटा पनि क्याम्पस छैन, यहाँका भाइबहिनीका लागि एउटा उच्चमावि सञ्चालनमा ल्याउनु छ’, उनले सुनाए ।

आफू बस्ने कार्यालय भवनकै अभावमा रुमल्लिएका उनले एकसरो विश्लेषण गरे, ‘सरसर्ती हेर्दा धेरै चुनौतीले घेरिएको देख्छु, तर सबै चुनौती स्वीकार्य छ ।’

कान्छालालले कार्यकालको ५ वर्ष पार्टीको झोला नबोकी पूरै विकास-निर्माणमा केन्दि्रत हुने सोच बनाएका छन् । त्यसपछि पनि जनताले रुचाए भने राजनीतिक जीवनलाई निरन्तरता दिने उनले बताए ।

निर्वाचित सबै जनप्रतिनिधिसँग उनको अपील छ-

‘हामी अहिलेसम्म राजनीतिक परिवर्तनमा केन्दि्रत भयौं, अबको ५ वर्ष सबै जनप्रतिनिधि आर्थिक विकासको एजेण्डामा केन्दि्रत होऔं । यो अवधिमा हामीले आर्थिक समृद्धिलाई मात्र ध्यान दियौं भने देशको मुहार अर्कै हुन्छ ।’

एनजीओलाई नियन्त्रण गरिन्छ

कान्छालालले गाउँ तहको विकास नहुनुमा बहुसंख्यक गैरसरकारी संस्थाको विकृतिलाई कारण देखेका छन् । उनले अब आफ्नो गाउँपालिकाभित्र त्यस्ता संस्थाहरुलाई नियन्त्रण गर्ने रणनीति बनाएका छन् ।

केही एनजीओले राम्रा काम गरे पनि धेरैले पार्टीका झोले कार्यकर्ता बोक्ने गरेको उनको आरोप छ ।

उनले भने, ‘दलको कार्यकर्ता बोक्ने, सामाजिक सद्भाव भाँड्ने एनजीओलाई असहयोग र जनताको समस्यासँग जोडिएर आएका एनजीओलाई सहयोग गरिन्छ । अब एनजीओलाई डलरका भरमा गाउँमा मनलाग्दी गर्दै हिँड्न दिइनेछैन ।’

चुनाव कसरी जिते ?

कान्छालाल महाभारत गाउँपालिका प्रमुखको उम्मेदवारी दिएर र्फकदा पार्टीका मान्छेले उनलाई भनेका थिए, ‘त्यहाँ चुनाव जितिँदैन, संगठन बचाउने काम गर्नुहोला ।’

तर, कान्छालालले चुनाव जितेर देखाए ।

कसरी त ?

मतदातामा आफूप्रति विश्वास जगाउन सक्नुलाई नै उनी जितको कारण मान्छन् ।

दोस्रो चरणमा चुनाव हुने ठाउँका माओवादी उम्मेदवारलाई सुझाव दिँदै उनले भने, ‘सबैभन्दा पहिले जनतामा उम्मेदवारप्रति विश्वास जगाउन सक्नुपर्छ । यो मान्छे आयो भने विकास हुन्छ भन्ने अनुभूति गराउन सक्नुपर्छ । माओवादी नेतृत्वको सरकारले गरेका राम्रा काम जनतालाई बुझाउँदै इमानदार भएर अगाडि बढ्नुस् ।’

यिनै कुरा बुझाउन नसक्दा पहिलो चरणको निर्वाचनमा माओवादी कमजोर भएको उनको ठम्याइ छ ।

स्थानीय चुनाव हार्ने निश्चित हुँदाहुँदै माओवादी नेतृत्वको सरकारले देशको हितका लागि चुनाव गराएको उनको बुझाइ छ । पार्टी नेतृत्वको यस्तो इमानदारी, माओवादीले उठाएका मुद्दा र तिनले जनतालाई पुर्‍याएको फाइदाबारे दोस्रो चरणमा चुनाव हुने ठाउँका उम्मेदवारहरुले मतदातालाई बुझाउनुपर्ने उनी सुझाव दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment