Comments Add Comment

यस्ता छन् रामेछाप हाँक्ने सारथीहरु

अस्थिर नेतादेखि उदार निर्माण व्यवसायीसम्म

 

११ जेठ, रामेछाप । पहिलो चरणको निर्वाचनमा रामेछापको २ नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहको नतिजा आइसकेको छ । नयाँ निर्वाचित जनप्रतिनिधिहरुले पदभार सम्हालेर काम सुरु पनि गरिसकेका छन् ।

रामेछापका ८ स्थानीय तहमध्ये ५ स्थानमा नेकपा एमाले, दुई स्थानमा माओवादी केन्द्र र एकमा नेपाली कांग्रेस विजयी भएको छ । दुई नगरपालिकामध्ये मन्थलीमा एमाले र रामेछापमा कांग्रेसले जित हासिल गरेको छ ।

जिल्लाका दुई वटै नगरपालिका र ६ वटा गाउँपालिकामा निर्वाचित हुने प्रमुखहरु सबै पुरुष छन् । उपप्रमुखमा भने सबै महिलाहरु छन् । नगर र गाउँ तहमा आएका अधिकांश जनप्रतिनिधि अनुभवी नै छन् ।

नगर र गाउँपालिकाको प्रमुखमा निर्वाचितहरुको राजनीतिक जीवन र उनीहरुले अबको योजना के-कस्ता छन् त ? बुझौंः

रमेश बस्नेत, मेयर, मन्थली नगरपालिका

रामेछापको साविकको सालु गाविस घर भएका रमेश बस्नेत नेकपा एमालेबाट मन्थलीको मेयरमा निर्वाचित भएका हुन् । राजनीतिक यात्रामा केही चलायमान र अस्थिर देखिए पनि स्थानीय निकायमा उनी राम्रो अनुभव भएका व्यक्ति हुन् ।

बस्नेतले मशालको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन् । पञ्चायत कालमा वाम राजनीतिमा सक्रिय रहेर उनले संघर्ष गरे ।

०४६ को परिवर्तनपछि जनमोर्चाको राजनीतिमा लागेका बस्नेत एमालेमा प्रवेश गरेपछि दोस्रो पटक भएको स्थानीय निकायको निर्वाचनमा रामेछाप जिविसको उपसभापति बनेका थिए । राजाको प्रत्यक्ष शासनकालमा उनी रामेछाप जिविसको सभापति बने । शाही शासन अन्त्यपछि माओवादीमा सक्रिय रहेका बस्नेत संविधानसभा निर्वाचनसम्म माओवादी पार्टीमा सक्रिय थिए ।

त्यसपछि माओवादी परित्याग गरी एमालेमा आएका उनी यस पटक सोही पार्टीबाट मन्थलीका नगर प्रमुख बन्न सफल भए ।

कमर्सका विद्यार्थी उनी मान्यताप्राप्त लेखापरीक्षक समेत हुन् । यसैले बजेट व्यवस्थापनबारे उनीमा राम्रो दखल रहेको मानिन्छ ।

नगर प्रमुख बनेपछि उनले मन्थली नगरको विकास गर्ने केही योजना सार्वजनिक गरेका छन् । अबको तीन महिनाभित्र मन्थलीको विकासको गुरुयोजना बनाई अघि बढ्ने उनको प्रतिबद्धता छ ।

मन्थली बजारलाई व्यवस्थित बनाउने, नगरपालिकाभित्र खानेपानीको उचित व्यवस्थापन गर्ने, सुकाजोर खोलको बाँझो जग्गामा औद्यौगिक क्षेत्र स्थापना गर्ने, तामाकोसी करिडोरमा बस्ती विस्तार गर्ने, हरेक वडा कार्यालयसम्म पुग्ने पक्कीबाटो निर्माण गर्ने लगायत योजना उनले अघि सारेका छन् ।

नरबहादुर मगर, मेयर, रामेछाप नगरपालिका

रामेछाप साविकको हिमगंगा गाविस घर भएका नरबहादुर मगर नेपाली कांग्रेसबाट रामेछाप नगरपालिकाको प्रमुख बनेका हुन् । उनी कांग्रेसभित्र सोझा र इमानदार नेता मानिन्छन् ।

माओवादीको सशस्त्र द्वन्द्व सुरु भएपछि उनी लामो समयसम्म गाउँबाट विस्थापित भएर राजधानी बसेका थिए ।

शान्ति प्रक्रियापछि पनि उनी जिल्लाको राजनीतिमा त्यति सक्रिय भएनन् ।

जनप्रतिनिधिको रुपमा काम गरेको खासै अनुभव नभए भए पनि जनताको माझमा रहेर काम गरेकाले उनले जनभावना बुझेका छन् ।

जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको प्रमुख बनेका मगरले सडक, खानेपानी, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

 

शेरबहादुर सुनुवार, प्रमुख, उमाकुण्ड गाउँपालिका

रामेछापको सबैभन्दा दुर्गममा रहेको उमाकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित शेरबहादुर सुनुवार एमालेबाट निर्वाचित भएका हन् ।

उनलाई पार्टी पंक्तिमा सोझा र इमानदार छविको नेता मानिन्छ ।

सुनुवार समुदायकै बाहुल्य रहेको उमाकुण्डका उनी प्रिय नेता हुन् । किनकि उनी गाउँमा बसेर स्थानीयको दुःख-सुख हेर्ने पात्रको रुपमा परिचित छन् ।

उनी अनुभवी नेता पनि मानिन्छन् ।

सुनुवारले स्थानीय निकाय सञ्चालनको अनुभव लिइसकेका छन् । विगतमा गाउँ विकास समितिको अध्यक्ष भएर काम गरेका छन् ।

गाविस अध्यक्षको जिम्मेवारीमा रहेको पुरानो अनुभवले उनलाई गाउँपालिका चलाउन सहयोग गर्ने देखिन्छ ।

खड्ग सुनुवार, प्रमुख, गोकुलगंगा गाउँपालिका

सुनुवार समुदायकै बाहुल्य रहेको क्षेत्रबाट निर्वाचित भएका खड्ग सुनुवार एमालेबाट गोकुलगंगा गाउँपालिकामा निर्वाचित भएका हुन् ।

उनी एमालेका पुराना र गाउँमा नियमित बस्ने नेता हुन् । उनले साविकको रस्नालु गाविसको अध्यक्षको समेत जिम्मेवारी वहन गरिसकेका छन् ।

गाउँपालिकाको कुनै पनि संरचना तयार नभएको अहिलेको अवस्थामा आफूले शून्यबाट काम सुरु गर्नुपर्ने सुनुवार बताउँछन् ।

गोकुलगंगा गाउँपालिकामा अधिकांश बासिन्दा कृृषि पेशामा निर्भर छन् ।

त्यसैले कृषिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको योजना छ ।
गोविन्द खड्का, प्रमुख, लिखु गाउँपालिका

एमालेबाट लिखु गाउँपालिकाको अध्यक्षमा निर्वाचित गोविन्द खड्का निर्माण व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन् ।

गत संविधानसभा निर्वाचनमा उनी राप्रपाबाट उम्मेदवार बनेका थिए । यस पटक गाउँपालिकामा एमालेका अन्य नेताहरुलाई पछि पार्दै टिकट पाउन सफल मात्र भएनन्, निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मतको अन्तरले विजयी समेत भए ।

खड्कालाई पैसामा लोभ नगर्ने व्यक्ति भनिन्छ । उनको यो उदारता गाउँपालिकाको विकासको लागि सहायक हुने अपेक्षा गरिएको छ । उनले गाउँपालिका अध्यक्षका रुपमा आफूले पाउने पारिश्रमिक नलिने घोषणा निर्वाचन अगाडि नै गरिसकेका छन् । आफ्नो पारिश्रमिक गाउँका ज्येष्ठ नागरिकलाई दामासाहीले वितरण गर्ने उनले घोषणा गरेका थिए ।

खड्कालाई अलि बढी भावनामा बग्ने नेता भनेर हेरिन्छ । त्यसैले उनलाई सल्लाह दिने राम्रो मान्छे भएमा लिखु गाउँपालिकाको कायापलट गर्ने उनको चाहनाले सार्थकता पाउने यस क्षेत्रका मतदाताको अपेक्षा छ ।

प्रेम तामाङ, प्रमुख, खाँडादेवी गाउँपालिका

विगतको राजनीतिक जीवन केलाउँदा प्रेम तामाङ जनमोर्चाको पृष्ठभूमिबाट नेकपा एमालेमा आएका नेता हुन् ।

उनी एमालेबाट खाँडादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । तामाङ समुदायको बाहुल्य रहेको साविकको पिङ्खुरी, खाँडादेवी, गागल, राकाथुम लगायत गाविसलाई समेटेर खाँडादेवी गाउँपालिका बनाइएको हो ।

एमालेभित्र इमानदार नेताको रुपमा चिनिने तामाङ अहिले पार्टीको जिल्ला कमिटीका उपाध्यक्ष समेत छन् । जननिर्वाचित प्रतिनिधिको रुपमा काम गरेको अनुभव उनीसँग छैन ।

तर, जिविस जनप्रतिनिधिविहीन भएको बेलामा उनले एमालेको तर्फबाट प्रतिनिधित्व गरी जिविसका योजना निर्माण, वितरण र कार्यान्वयनमा काम गरेका थिए ।

सबै राजनीतिक दलसँग सहकार्य गरेर जिविसमा काम गरेको अनुभवले अहिले उनलाई कार्यसम्पादन गर्न सजिलो हुने देखिएको छ ।

कमानसिंह मोक्तान, प्रमुख, दोरम्बा गाउँपालिका

लडाकु पृष्ठभूमिबाट आएका कमानसिंह मोक्तान माओवादी केन्द्रबाट दोरम्बा गाउँपालिकाको अध्यक्ष बनेका हुन् ।

जनप्रतिनिधिको रुपमा काम गरेको अनुभव उनीसँग छैन । माओवादी सेनाका कमाण्डर भएर सेना परिचालन तथा संगठन गरेको अनुभव नै उनको पुँजी हो ।

यही अनुभवलाई प्रयोग गरेर एतिहासिक दोरम्बाका जनताको अपेक्षा पूरा गर्ने चुनौतीपूर्ण जिम्मेवारी उनको काँधमा आएको छ ।

मोक्तान जनयुद्धको लडाकु भएको र जनयुद्धमा धेरै रगत पोखिएको दोरम्बाको जनप्रतिनिधि भएको हिसाबले पनि उनी चुनौती र सम्भावनाको दोसाँधमा छन् ।
धावा लामा, प्रमुख, सुनापति गाउँपालिका

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका धावा लामालाई धेरैले अबको व्यवस्थापिका निर्वाचनमा माओवादीको तर्फबाट उम्मेदवारको आकलन गरेका थिए । तर, उनी सुनापति गाउँपालिकाको निर्वाचनमा होमिँदै अध्यक्षमा निर्वाचित भए ।

माओवादीको सबैभन्दा सुरक्षित गाउँपालिका मानिए पनि सुनापतिमा उनले अप्ठेरो परिस्थितिका बीच चुनाव जिते । उनलाई आफन्तहरुले नै असहयोग गरे । उनको आफ्नै वडा बेथानमा पार्टीकै कार्यकर्ता विद्रोह गरेर कांग्रेससँग मिल्दै चुनावमा उठे र वडामा माओवादीलाई हराइदिए ।

अन्यत्र सबै वडामा चुनाव जितेको माओवादीले लामाको वडामा भने चुनाव हार्‍यो । यो लामाको लागि चुनौती र नेतृत्वप्रति कार्यकर्ताको असन्तुष्टि पनि मानिन्छ ।

तथापि लामा लप्पनछप्पन नगर्ने इमानदार नेतामा गनिन्छन् । जनमोर्चाको राजनीतिबाट आएका उनीसँग पार्टी सञ्चालनको पुरानो अनुभव छ । यही अनुभवलाई उनले स्थानीय निकाय सञ्चालनमा प्रयोग गरे भने त्यसले गाउँलाई समृद्ध बनाउने सहयोग पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment