Comments Add Comment

हेटौंडाको लालकिल्ला जोगाउँदै हरिबोलको हृयाट्रिक

३० वर्षअघि कमल थापालाई छोडेेः यसपालि गृहराज्यमन्त्रीको प्रतिष्ठा तोडे

१० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरालिकाको चुनाव तातिरहेका बेला एउटा फोटो सोसियल मिडियामा भाइरल बन्यो । जुन फोटोमा मेयरका एमाले उम्मेदवर हरिबोल महत तीब्र गतिमा सडकमा दौडिरहेका थिए । महत दौडिएका हुन् वा भागिरहेका हुन् भन्ने कोणबाट निकै धेरै टीकाटिप्पणी भए ।

खेलाडी पृष्ठभूमिका महतले ‘दाैड प्रतियोगिता’का बेला दौडिएको फोटो त्यतिबेला भाइरल बन्यो, जतिबेला उनलाई परास्त गर्न सत्तारुढ कांग्रेस र माओवादीको बलियो गठबन्धन बनिसकेको थियो । र, राप्रपाको एउटा पक्षले कांग्रेस-माओवादी गठबन्धनलाई भित्री साथ दिइसकेको थियो ।

हेटौंडाको मतगणना सकिँदै गर्दा फेरि त्यही फोटो भाइरल बन्यो, जुन फोटोमा लेखिएको थियो- पौने तीन भर्सेस एक हरिबोल गोल हान्दै । पौने तीन अर्थात कांग्रेस, माओवादी र आधा राप्रपा ।

अन्त्यमा महतले ११ नम्बर वडाबाट गोल हान्दा एमालेले बिजयको पोष्ट चुम्न सफल भएको छ ।

जोगियो लालकिल्ला

अन्ततः निकै संघर्षपूर्ण र लामो दौडमा एमालेका नेता महतले सत्तारुढ गठबन्धलाई पछि पार्दै हेटौंडाको लालकिल्ला जोगाउन सफल भए । मतगणनाको शुरुदेखि नै कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीभन्दा केही मतले पछि पर्दै गएपछि लालकिल्ला भत्किने हल्ला हेटौंडमा चलिसकेको थियो । तर, एमालेको लालकिल्ला जोगियो ।

पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये हेटौंडा एकमात्रै उपमहानगरपालिका हो । मेयरमा महतले निकै चुनौतिपूर्ण दौडमा जिते पनि उपमेयरमा एमालेकै मीना लामा भारी मतान्तरले सहजै बिजयी भइन् । बहुमत वडाध्यक्ष जितेर एमाले उपमहानगरमा बिजेता बन्यो ।

हेटौंडा एमालेको लालकिला मानिन्छ । आजसम्मका सबै चुनावमा हेटौडा नगरमा एमाले बाहेक अरु पार्टीले जितेका छैनन् । ०४९ र ०५४ मा एमालेका डोरमणि पौडेलले मेयर जित्दा हरिबोल महत दुवैपटक उपमेयर जितेका थिए । यो संयोग नै मान्नुपर्छ, शुरुदेखि नै मतगणनामा पछि पर्दै गएका महतलाई अग्रता दिलाउने वडा पनि डोरमणिकै भयो ।

को हुन् हरिबोल महत ?

हरिबहादुर महत पनि भन्छन् उनलाई । तर, हेटौंडाका युवामाझ उनी हरिबोल दाइका रुपमा प्रख्यात छन् । खेलाडी भएका कारण पनि उनी युवाबीच बढी लोकपि्रय छन् । मार्सल आर्ट, भलिबल र तेक्वान्दोका खेलाडी महत जिल्ला खेलकुद विकस समितिका पनि संस्थापक नै हुन् ।

५८ वर्षीय महत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । ३१ वर्षअघि अर्थात २७ वर्षको उमेरमै तत्कालीन हेटौंडा नगर पञ्चायतको वडाध्यक्ष निर्वाचित भएका थिए ।

त्यसबेला उनले कमल थापालाई साथ दिएका थिए । तर, थापाले चुनावको दिन मतदातालाई भोट हाल्न नदिएर बुथ कब्जा गरेपछि सोही दिनबाट थापाको साथ छाडेको महत बताउँछन् । ‘जनताको मत रोक्ने मान्छे लोकतान्त्रिक हुन सक्दैन भन्ने लागेर उनको साथ छाडेँ’ महतले भने ।

त्यसपछि तत्कालीन नेकपा माले हुँदै एमालेको राजनीतिमा लागेका महत दुई पटक हेटौंडाको उपमेयर भए भने, एमालेको जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर रहेकै ३ नम्बर क्षेत्रीय इञ्चार्ज छन् ।

केपी ओली र माधव नेपाल गुटको चरम लडाइ चल्दा पनि आफू दुवैतिर नलागी जोगिनु उनको सफलता थियो ।

उनको यही विशेषताका कारण हेटौंडाको मेयरमा उम्मेद्वार बन्न पार्टीभित्रका आकांक्षीहरुका बीच मतदान हुँदा १६४ सदस्यीय कमिटीमा उनले १३२ मत प्राप्त गरेर टिकट पाए । गुटको लडाइमा उनलाई ओली पक्षले साथ दियो ।

उनको विशेषता के हो भने देखेको कुरा बोल्छन् । कोही रिसाउँछ कि भनेर रिजर्भ बस्न सक्दैनन् । महतसँग नजिकको संगत गरेका हेटौंडाका पत्रकार शिवकुमार काशी भन्छन्- उनको विशेषता भनेकै शान्त स्वाभाव, तत्काल प्रतिक्रिया नदिने शैली, गुटभन्दा बाहिर रहने तरिका र युवाहरुबीच घुलमिल नै हुन् ।

छोरीको उपहारले स्कूलः गृहराज्यमन्त्रीलाई धक्का

हेटौंडा उपमहानगरपालिकामा यसपटक एमालेका उम्मेदवारले चुनाव जित्नु फलामकै च्यूरा चपाए सरह थियो । सिंगो मकवानपुरमा आफ्नो प्रभाव बढाउदै लगेका गृहराज्यमन्त्री तथा कांग्रेस नेता इन्द्र बानियाँको प्रतिष्ठाको विषय थियो हेटौंडा ।

कांग्रेस माओवादी गठबन्धनका मेयर उम्मेदवार आनन्दराम पराजुली आफैं पनि ठेकेदार भएकाले साधन स्रोतको कमी थिएन । राप्रपाको एउटा ठूलो समूह भित्रभित्रै पराजुलीको पक्षमा लागेको थियो । महत निकै कठिन दौडमा थिए । तर, जिते ।

जित्नुका पछाडि धेरै कारण होलान्, मुख्यतः एमालेको मजबुत संगठन र हरिबोल महतको व्यक्तिगत प्रभाव नै हो । महत जिल्लामा सामाजिक अगुवाका रुपमा स्थापित छन्, जसको प्रभाव मतदातामा पर्ने नै भयो ।

उनको कुनै व्यापार व्यवसाय छैन । राजनीति बाहेक खेलकुद र रोटरी लगायतका संस्था मार्फत उनले सामाजिक काम गरिरहेकै थिए । उनले आफ्नी छोरीको बिहेमा जम्मा भएको नगद उपहारबाट स्कूल खोलेको कुरा हेटौंडामा नमूना बनेको छ ।

केही वर्षअघि छोरीको विहेमा उनले निम्ता कार्ड पठाउँदा उनले लेखेका थिए-कृपया जिन्सी उपहार नल्याउनुहोला, नगद ल्याए ठिकै छ । छोरीको विहेमा आएको नगद उपहारले उनले हेटौंडाको सुकुम्बासी टोलमा स्कूल चलाएका छन् ।

हेटौंडा उपमहानगरपालिमा एमालेको जितले गृहराज्यमन्त्री बानियाँलाई धक्का लागेको छ । उनले एमालेको लालकिल्ला तोडेर कांग्रेसको केन्द्रीय राजनीतिमा आफ्नो पल्ला भारी पार्ने सोचेका थिए ।

जो कहिल्यै हारेनन्ः सहोदर भाइ नै प्रतिस्पर्धी

हरिबोल महतको विशेषता नै हो कि उनले कुनै चुनाव हार्नुपरेको छैन । ०४३ देखिका सबै चुनाव जित्दै आएका महतका लागि यसपटक ठूलो खड्गो टरेको छ । महतले यसपटक दोहोरो हृयाटि्रक गरेका छन् ।

पहिलो हृयाटि्रक हेटौंडा उपमहानगरपालिकामा तेस्रो पटक एमाले जितेर भएको छ भने अर्को हृयाटि्रक भनेको लगातार ४ पटक हेटौंडामा वडाध्यक्ष, उपमेयर र मेयर जितेर उनी आफैंले गरेका छन् ।

अझ रोचक प्रसंग चाहिँ के भने यसपटक उनी मेयरको लडाइमा रहँदा घरभित्रैबाट चुनौति थियो । उनका सहोदर भाइ भीमसेन महत नेकपा मालेबाट मेयरको उम्मेदवार थिए । घरकै भोट बाँडिने अवस्थाबाट उनी चुनाव लडिरहेका थिए ।

डोरमणिले डोर्‍याएको बाटोमा हिँड्लान् ?

अब डोरमणि मेयर र उनी उपमेयर हुँदा हेटौंडालाई नेपालकै नमूना नगरपालिका बनाएको जस यथावत राख्दै बृहत्तर हेटौंडाको विकास गरेर नमूना उपमहानगर बनाउने चुनौति महतमाथि छ ।

डोरमणिले डोर्‍याएको बाटोमा हिँड्ने प्रतिवद्धता उनले जनाइसकेका छन् । त्यसो त उनलाई मेयरको टिकट दिलाउन पनि डोरमणि आफैं लागे । स्थ्ानीय तह संरचना आयोगको सदस्य बनेका डोरमणि नगरपालिका संघका अध्यक्ष अहिलेसम्म छन् ।

हेटौंडाको हरियाली विस्तार, सडक विस्तार, खानेपानी, सरसफाइ जस्ता अत्यावश्यक कामहरुलाई उनले पहिलो प्राथमिकतामा राखेका छन् । मधेस र पहाडको ‘हब’ हेटौडा बनाउने उनको योजना छ । हेटौंडा धेरै सम्भावनाहरु बोकेको शहर हो, यसको दीर्घकालीन विकासका लागि महतले कस्ता योजना बनाउँछन्, त्यसप्रति अब देशकै चासो हुनेछ ।

पहिलो मधेस आन्दोलनपछि जनकपुर, वीरगञ्ज लगायत मधेसबाट धेरै पहाडे र मधेसीहरु विस्थापित भएर हेटौंडातिर उक्लिए । बिस्तारै हेटौंडा ब्यापारिक केन्द्र बन्दैछ । हरेक दृष्टिबाट हेटौंडा राजधानीको प्रवेशद्वार जस्तो बनिरहेका बेला सम्वृद्ध हेटौंडा निर्माणका लागि उनले घोषणापत्रमा उल्लेख गरेका विषय पूरा गर्ने बाचा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment