Comments Add Comment

रुकुममा चम्किएको हँसिया-हथौडाः स्थानीय तह प्रमुखका यस्ता छन् प्राथमिकता

११ जेठ, रुकुम । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा माओवादी केन्द्रको अवस्था कमजोर रह्यो । सत्ताधारी दल नेपाली कांग्रेससँग चुनावी तालमेल गरे पनि धेरै ठाउँमा अनपेक्षित परिणाम आयो ।

तर, युद्धकालको एउटा किल्ला रहेको रुकुम जिल्लामा भने माओवादी केन्द्रले ‘क्लिन स्विप’ नै गर्‍यो । तीन नगरपालिकासहित ६ वटा स्थानीय तहको प्रमुख र उपप्रमुखमा माओवादीका उम्मेदवारहरु विजयी भए ।

जनयुद्धको उद्गम थलोकै बासिन्दा माओवादीप्रति असन्तुष्ट र रुष्ट रहेको देखिरहँदा एउटा ‘लाल किल्ला’को यो परिणामले धेरैलाई आश्चर्यमा पार्‍यो ।

निर्वाचित पदाधिकारीहरु पदभार ग्रहण गरेसँगै अहिले मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिइरहेका छन् । यस क्रममा उनीहरुले चुनावअघि गरेका वाचा पूरा गर्ने वचन पनि दिइरहेका छन् ।

निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पूर्ण प्रभाव रहेको क्षेत्रमा के-कस्ता योजना बनाएका छन् त ? नगर र गाउँ तहका प्रमुखहरुले आफ्नो प्राथमिकताका विषय यसरी सुनाएः

देवीलाल गौतम, मेयर, मुसिकोट नगरपालिका

मेरो पहिलो काम बेरोजगारी अन्त्य गर्ने हो । विकास-निर्माणमा युवाहरुलाई सहभागी गराएर अधिकतम रोजगारी सिर्जना गर्ने मेरो लक्ष्य छ । त्यस्तै, पर्यटन र खेलकुदको माध्यमबाट पनि युवाहरुलाई स्वरोजगार बनाउने योजना बनाएको छु ।

सदरमुकाम भएर पनि नगरपालिकाका धेरै वडामा अझै पनि विद्युत् पुगेको छैन । विद्युतीकरण विस्तार गरेर उज्यालो नगर बनाउने योजना छ । अर्कोतिर, मुसिकोट नगरपालिकामा रिङरोड निर्माण गर्ने पनि मेरो योजना छ ।

यहाँ पर्यटनको पनि सम्भावना छ । डिग्रेसाइकुमारी लगायत यस क्षेत्रका पर्यटकीय क्षेत्रको पहिचान गरी विकास गर्ने पनि मेरो प्राथमिकतामा छ ।

विशाल शर्मा, मेयर, चौरजहारी नरपालिकाका

नगरपालिकाको विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन गरी तीन तहको योजना बनाएर काम गर्ने मेरो तयारी छ ।

मेरो नगरपालिकामा मुख्यगरी खानेपानीको ठूलो समस्या छ । त्यसैले पर्याप्त खानेपानीको व्यवस्था कसरी गर्ने भन्नेमा म बढी चिन्तित छु । नगरपालिकामा पहिलो काम नै यहीँबाट थाल्नुपर्ने महसुस गरेको छु ।

त्यसपछिको प्राथमिकता सडक सुविधा हो । नगरपालिकामा खनिएका सडकहरुलाई व्यवस्थित गरी चालू अवस्थामा ल्याउने लक्ष्य छ ।

मेरो ठाउँको मुख्य पेशा नै खेती-किसानी हो । तर, अहिलेसम्म परम्परागत खेती प्रणाली कायम रहेकाले किसानहरुलाई गुजाराको अवस्था देखिँदैन । खेती प्रणालीमा आधुनिकीकरण गरी व्यावसायिकतामा जोड दिनु र व्यवस्थित बजार बनाउनु मेरो प्राथमिकता हुन् ।

गोर्खबहादुर केसी, प्रमुख, आठविसकोट नगरपालिका

रुकुमको कान्छो नगरपालिका हो आठबिसकोट । अन्य नगरपालिकाको तुलनामा यहाँको भूबनोट विकट छ ।

अहिलेको समयमा आधारभूत सेवा मानिने टेलिफोनको पहुँच समेत अधिकांश ठाउँमा छैन । त्यसैले नगरपालिकाका सबै ठाउँमा सञ्चार सुविधा पुर्‍याउनु मेरो पहिलो काम हुनेछ । टेलिफोनको विस्तार गर्नेबारे योजना बनाइरहेको छु ।

अर्को कुरा, यो नगरपालिकामा सडक सञ्जाल राम्रो छैन । भएका सडकको स्तरोन्नति नहुँदा वषर्ायाममा चल्न नसक्ने खालका छन् । नगरपालिकाका सडकहरुलाई १२ महिना नै चल्ने बनाउनु छ ।

आठविसकोटको राडी बजारलाई नमूनाको रुपमा विकास गर्ने योजना बनाएको छु । नगरपालिकाको समग्र विकासका लागि गुरुयोजना नै बनाएर काम गर्ने तयारी छ ।

नरबहादुर पुन, अध्यक्ष, सानीभेरी गाउँपालिका

मध्यपहाडी राजमार्गले छोए पनि सानीभेरी गाउँपालिकामा सडक सुविधा राम्रो छैन । लथालिंग अवस्थामा रहेको सडक निर्माणमा मेरो जोड रहनेछ । गाउँपालिकाभरि विद्युतीकरण गर्ने र सञ्चारमा हरेक घरधुरीको पहुँच बढाउने कुरालाई मैले प्राथमिकता दिनेछु ।

कलिला बालबालिका रहने विद्यालय जस्तो संवेदनशील ठाउँको संरचना बलियो हुनुपर्ने हो । तर, यहाँका अधिकांश विद्यालयको भौतिक पूर्वाधार कमजोर छ । त्यसैले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ध्यान केन्दि्रत गर्छु ।

यहाँको मौराखारालाई पर्यटकीय क्षेत्र बनाउन पहल गर्नेछु ।

धर्मबहादुर केसी, अध्यक्ष, बाँफिकोट गाउँपालिका

गाउँपालिकाका सबै ठाउँमा मोटरबाटो पुर्‍याउने मेरो पहिलो प्राथमिकता हो । बिजुली र खानेपानी जनताको घर-घरमा पुर्‍याउनु छ ।

जिल्लाकै ठूलो स्यार्पु ताल मेरै गाउँपालिकामा छ । त्यसको पर्यटकीय सम्भावनालाई विस्तार गर्न भौतिक पूर्वाधार निर्माण गर्नेछु ।

नेपालमा भ्रष्टाचारले गर्दा कुनै पनि काम प्रभावकारी हुन सकेको छैन । त्यसैले भ्रष्टाचारलाई निर्मूल पार्नु मेरो लक्ष्य हुनेछ ।

झक्कुप्रसाद घर्ती, अध्यक्ष, त्रिवेणी गाउँपालिका

मेरो गाउँपालिकाको सबै ठाउँमा बिजुली पुगेको छैन । विद्युतीकरणलाई जोड दिनु मेरो पहिलो काम हुनेछ । यस्तै, सम्पूर्ण ठाउँमा सडक पुर्‍याउने योजना छ । सडक पुगेका ठाउँमा स्तरोन्नति गर्ने कामलाई पनि प्राथमिकता दिनेछु ।

गाउँपालिकामा एउटा प्राविधिक क्याम्पस स्थापना गर्ने मेरो पहिलेकै योजना हो । त्यो पुरा गर्नेछु । आधारभूत स्वास्थ्य सुविधा सर्वसाधारणले सहज रुपमा पाऊ भनेर स्वास्थ्य बिमा पनि लागू गर्ने सोच छ ।

गाउँपालिकाभित्र कहाँ के गर्ने भनेर निर्वाचित सबै साथीसँग छलफल गरी गुरुयोजना बनाएरै काम गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment