Comments Add Comment

विदेशबाट फर्केर गाउँपालिका उपप्रमुखको उम्मेदवार

'विदेशको मोह त्यागेर आएँ, बेरोजगारी समस्या हटाउँछु'

११ जेठ, गुल्मी । देशको बेरोजगारी समस्यादेखि दिक्क भएर उनी वैदेशिक रोजगारीमा गएकी थिइन् । साइप्रसमा पुगेकी उनले त्यहाँ कामको राम्रै मेसो बसाइसकेकी थिइन् । तर, त्यो सबै चटक्कै छाडेर उनी स्थानीय चुनावमा उठ्न देश फर्किएकी छन् ।

उनी हुन् गुल्मीको इश्मा गाउँपालिका १ की विमला खत्री । दोस्रो चरणको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट इश्मा गाउँपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी छन् । एमालेले लक्ष्मण विष्टलाई प्रमुख र उनलाई उपप्रमुखको उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको छ ।

दुई महिनाअघि नेपाल फर्किएकी उनले त्यसयता थकाइ मार्न पाएकी छैनन् । चुनावको तयारीमा कार्यकर्ता भेटघाट र प्रचारप्रसारमै दिन बित्ने गरेको छ ।

बेरोजगारीका कारण परदेशी भूमिमा पुगेकी उनलाई हरदम देशको यही समस्याले पिरोल्ने गरेको छ । बेरोजगारी समस्यालाई नै उनले मुख्य चुनौती देखेकी छिन् ।

यतिबेला चुनावको लागि घरदैलोमा व्यस्त रहेकी विमलाले अनलाइनखबरसँग भनिन्, ‘देशमा राजनीतिक अस्थिरतासँगै युवा पिँढी बेरोजगारीको मारमा छन् । यो मार खेप्दै म आफैं विदेश गएँ । यो सबै अन्त्य गर्नको लागि विदेशमोह त्यागेर आएँ ।’

अखिलकी ती लडाकु चेली

देशमा स्थानीय तहको निर्वाचन हुने भयो भन्ने खबर विमलाले साइप्रसमा छँदै सुनेकी थिइन् । तर, यति सुन्नासाथै उनी विना आधार उम्मेदवार बन्न कस्सिएकी थिइनन्, न त एमालेले उनलाई यत्तिकै गाउँपालिकाको उपप्रमुखमा टिकट दिएको हो ।

विदेश जानुअघि उनले लामो समयको राजनीतिक यात्रा तय गरेकी थिइन् ।

विमलाले ०५४ सालबाट अनेरास्ववियुबाट एमालेको राजनीतिमा सक्रियता बढाएकी थिइन् । स्थानीय जनज्योति निम्न माध्यमिक विद्यालयमा करिब ८ वर्ष शिक्षिका भएर काम गरिन् ।

साविकको हस्तिचौर गाविसमा उनको सक्रियता पार्टीको संगठनमा मात्र सीमित थिएन । उनले समुदाय स्तरका काममा पनि अग्रसरता जनाएकी थिइन् ।
०६८ सालमा टोल सुधार समिति गठन गरेर उनले मदिरा निषेधित क्षेत्र घोषणा गर्न सक्रिय भूमिका निर्वाह गरिन् ।

विद्यार्थी जीवनबाटै राजनीतिमा लागेर समाज सुधार, महिला अधिकार र उत्पीडित वर्गको उत्थानमा काम गरेकी उनी आफ्नो क्षेत्रमा लोकपि्रय महिला नेतृको रुपमा चिनिएकी छन् ।

घरदैलोको क्रममा साथ र सहयोगको वाचा पाउँदा चुनाव जित्नेमा उनी ढुक्क भएकी छन् । उनले भनिन्, ‘महिला पनि नेतृत्वदायी भूमिकामा पुग्न सक्छन् भन्ने विश्वास म गाउँपालिकाको निर्वाचनबाट दिलाउनेछु ।’

उपप्रमुखका रुपमा योजना

विमलाले देशमा केही गर्न सकिन्न भन्ने कुरा नै सुन्दै आइन् । आफ्नो पुस्ताका युवा पनि त्यही थेगो दोहोर्‍याउँदै विदेश पलायन भइरहेको साक्षी बन्दै आएकी छिन् । यो अवस्थालाई बदल्ने उनको सोच छ ।

‘देशमा केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्नु मेरो मुख्य भूमिका रहेको छ’, उनले भनिन् ।

गाउँपालिकाको उपप्रमुख निर्वाचित भएमा उनले स्थानीय उत्पादनलाई बढावा दिने योजना बुनेकी छन् । त्यसबाट रोजगारी बढाउने उनको सोच छ ।

यस्तै, सडक, खानेपानीको सुविधा विस्तार गर्ने र अधिकारमा सबैको पहुँच पुर्‍याउनेमा आफनो पहलकदमी रहने उनले बताइन् ।

-अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment